१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

ओलीसरकारले गर्नुपर्ने काम

नेपालमा पानीजहाजको चर्चा धेरै नै छ। खासगरी ओली सरकारको नेतृत्वमा आएपछि। विभिन्न नदीमा सानै किन नहोस्, पानीजहाज चल्नसमेत थालेका समाचार आइरहेका छन्। त्यसैगरी यो सरकारले अन्तरिक्षमा आफ्नै फुच्चे यान पनि पठायो। यो विश्व रंगमंचमा नेपालीका लागि खुसीको खबर हो।

नेपाल संंसारमै अविकसित, अशिक्षित र कमजोर अर्थतन्त्र भएको राष्ट्रका रूपमा चिनिँदै आएको छ। यस अर्थमा नेपालले केही गर्नै सक्दैन भन्नेहरूलाई जवाफ पनि दिएको छ यसरी सरकारले। पहिले पनि मनमोहन नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिने तथा केही मानवीय कामहरू गरेर जनताको मन जितेकै हो।यही कारण त संसारबाट वामपन्थी लोप हुँदैछ भन्ने हल्ला चिर्दै नेपालमा भने ओलीहरू बहुमत ल्याउन सफल भए।

२०७२ सालमा मुलुकमा ठूलो भूकम्प गयो। त्यसैगरी केही महिनाअघि मात्र बारा र पर्सामा टोर्नाडो नामका ठूलो आँधी आयो। यी दुवै प्रकोपले गर्नुसम्म क्षति गरे। अब अन्तरिक्षमा यान पठाउन सक्ने, पानीजहाज बनाइवरी चलाउन पनि सक्ने प्राविधिक जनशक्तिलाई माथि उल्लिखित घटनामा केन्द्रित गराउनुपर्छ। यस्ता घटना कसरी न्यून गराउने र भइहालेमा क्षति कसरी कम गराउने भन्नेबारे अध्ययन÷अनुसन्धान गराउनतर्फ लगाउनुपर्छ। त्यसो भयो भने सही ज्ञान सही ठाउँमा सदुपयोग हुन गई नेपालीले दुःख बेहोर्नुपर्ने अवस्था कम हुँदै जान्छ।

खासमा ओली सरकारले गर्नुपर्ने काम धेरै छ। तर कामलाई प्राथमिकतामा राखेर अघि बढ्न जानेकोचाहिँ देखिएन। अन्तरिक्षमा यान पठाउने र पानीजहाज चलाउने कुराले नेपालीको मनोबल उच्च तुल्याएको साँचो हो तर प्राथमिकता मिलेन कि भन्ने कुरामात्रै हो। जस्तो– यो सरकारले बाटोघाटोलाई प्राथमिकता दिनुपथ्र्यो। अड्डा, अदालतहरूमा आज पनि जनताले दुःख सास्ती खेपिरहेका छन्। उनीहरू सामान्य कामका लागि पनि घूस दिन बाध्य पारिएका छन्। यस्ता विषयमा सरकारको गम्भीर ध्यान पुगेको देखिन्न। जसले गर्दा सरकार सबैको प्यारो बन्न सकेको छैन।

यसैगरी यतिबेला वर्षायाम छ। धेरै ठाउँमा बाढी÷पहिरोले ध्वस्त तुल्याएको छ। कतिले राहत नै पाएका छैनन् भने कतिपयको घर न बासको अवस्था भएको छ। यस्तोमा सरकारले उचित निर्णय तत्काल लिएर त्यसरी मर्कामा परेकालाई सहयोग गर्नुपर्छ। तर कतिपय यस्ता सवालमा सरकार चुकिरहेको देखिन्छ। यसले पनि सरकारलाई जनताले वाहवाही गर्न सकेका छैनन्। खासमा हेलिकोप्टर र मोटरबाट त्यो पनि सडक नजिकैको प्रकोपग्रस्त क्षेत्र निरीक्षण गर्दैमा उनीहरूमाथि न्याय प्राप्त हुन सक्दैन भन्ने बुझ्न आवश्यक छ।

किसानले अहिले पनि मल पाइरहेका छैनन्। बीउको खाँचो उत्तिकै छ। उत्पादित सामानको उचित भाउ मिलिरहेको छैन। बिचौलिया जेमा पनि हाबी छन्। एकातिर ग्राहकले नगदमा चिनी किन्नुपर्छ तर अर्कोतिर त्यही चिनी बनाउन बेचिएको उखुको पैसा भने किसानले वर्षौँदेखि पाउँदैनन्। उल्टै आफ्नो पैसा लेउ भन्नका लागि आन्दोलनसमेत गर्नुपर्छ। यो कस्तो अवस्था हो ? त्यसैले ओली सरकारले यस्ता काम गर्न बाँकी राखेकाले गरेका कामको पनि जस नपाएको हो भन्ने लाग्छ।

प्रकाशित: ३ भाद्र २०७६ ०६:११ मंगलबार

पानीजहाज अन्तरिक्ष