८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

सार्वजनिक सवारीसाधनका समस्या

युरोपमा कुनै नेपालीसँग यात्रा गर्दा सुरुमा यातायातकै कुरा हुन्छ। अझै नेपालबाट भर्खर आएकाले यहाँको यातायात विकासक्रम देखेर निकै प्रभावित भई नेपालले के गर्न सक्छ भन्ने तर्कवितर्क गर्छन्। पछिल्लो समय विशेषगरी काठमाडौँलगायत ठूला सहरमा यातायातसम्बन्धी समस्या बढेका छन्। यसले देशविदेश बस्ने सबै नेपालीलाई निराश बनाएको छ। नेपाल त फर्कनुहुन्थ्यो तर त्यो भिडभाड हुने गाडीमा कसरी यात्रा गर्नु, अस्ति गा’को बेला निकै गाह्रो भयो, यस्तै–यस्तै भन्छन्, यहाँ नेपाली। म आफैँले पनि केही समयअघि नेपाल जाँदा यस्तै समस्या भोगेँ।

खै किन हो, नेपालमा सबै सरकारलाई सवारी व्यवस्थान गर्न हम्मे–हम्मे पर्दै आएको छ। पछिल्लो समय ’टुटल र पठाओ’ ले काठमाडौँमा ट्याक्सीको विकल्प सिर्जना गरेर धेरैको मन जितेको छ। छुट्टै ऐन व्यवस्था गरी करको दायरामा ल्याउने सरकारको कदम सह्रानीय छ। सरकारले यातायात सिन्डिकेट हटाएको भने पनि समस्या उस्तै छ। यस्तो अवस्थामा ’टुटल र पठाओ’ को सुरुवातले यातायात सहज हुनाका साथै युवालाई देशमै रोजगारी सिर्जना गरेको छ। सरकारले आफूले समस्या हल गर्न नसकेको अवस्थामा यस्ता सिर्जनात्मक कामलाई हौसला दिनुको विकल्प छैन।
संसारकै उत्कृष्ट यातायात भएको सहरमध्ये फ्रान्सको पेरिस एक हो। युरोपका सबैजसो देशले यहाँको सार्वजनिक यातायात र सेवा–सुविधाले जो कोहीलाई लोभ्याउँछ।  फ्रान्समा रेल (ट्रेन) १८९५ मा सुरु भएको हो। आज पेरिसलगायत सबै सहरमा मेट्रो, ट्रेन सञ्चालनमा छन्। पेरिसको ट्रेन हेरौँ, हामी कहाँ छौँ, थाहा पाउँछौँ।

काठमाडौँको सार्वजनिक यातायातमा सिट पाउन भाग्यै बलियो हुनुपर्छ। सिटभन्दा तीन गुणा बढी मान्छे पशुझैँ खाँदिन्छ। धेरै सवारीसाधनमा त अचेल अगाडिको सिट नै फालेर मानिस उभ्याउन धेरै ठाउँ बनाइएको रहेछ। सिट संख्याजसो मानिस त ढोकामै एउटा खुट्टा टेकेर यात्रा गरिरहेका हुन्छन्, खासगरी बिहान–बेलुका। बालक, वृद्ध, रोगी, महिला सबै बडो मुस्किलले यात्रा गरिरहेको दिनहुँ देख्न सकिन्छ। केही सिट महिला, अपांगता भएका र ज्येष्ठ नागरिकका लागि आरक्षण गरिए पनि कार्यालय समयमा त्यो पर्याप्त हुन्न।

खासगरी काठमाडौँको सार्वजनिक यातायात सेवामुखी भन्दा व्यवसायमुखी भएको देखिन्छ। न समयमा चल्छ न त निश्चित ठाउँमा रोकिन्छ। नेपाल हुँदा म आफैँले प्रहरीलाई रिपोर्ट टिपाएको थिएँ, कारबाही भएको रहेनछ भने पनि आश्चर्य हुन्न। साझा र महानगर यातायातले अरू सवारीसाधनका लागि राम्रो उदाहरण दिएका छन्। कहिलेकाहीँ त गन्तव्यमा पुग्न ढिला भए हाम्रो खराब सडक र प्राविधिक समस्याका कारण भनेर चित्त बुझाउन सकिन्छ तर धेरैजसो अनावश्यक रोकाइ नै प्रमुख समस्या हो।

सार्वजनिक यातायातमा बज्ने चर्को संगीतले जोकोहीलाई झर्को लाग्छ। काठमाडौँमा हर्न निषेध गर्न सरकार सफल भएजस्तै सार्वजनिक यातायातमा बज्ने गरेको चर्को संगीत पनि तत्काल बन्द गर्न आवश्यक छ। यो काम गर्न केवल एक निर्णय र एकदिन नै काफी छ।

सार्वजनिक यातायातमा बज्ने चर्को संगीतले जोकोहीलाई झर्को लाग्छ। यात्रुका आआफ्नै इच्छा र चाहना हुन्छन् भन्ने ख्याल नेपालमा खासै गरेको देखिन्न। यात्रा गर्दा कोही आफैँ संगीत सुन्लान्, कोही मोबाइल चलाउलान्, कोही गेम खेल्लान् त कोही पढ्लान्। चालकले आफ्नो स्वार्थका लागि संगीत बजाउनु कदापि राम्रो होइन। छोटै समयमा काठमाडौँमा हर्न निषेध गर्न सरकार सफल भएजस्तै सार्वजनिक यातायातमा बज्ने गरेको चर्को संगीत पनि तत्काल बन्द गर्न आवश्यक छ। यो काम गर्न केवल एक निर्णय र एकदिन नै काफी छ।

दिउँसो पढ्ने विद्यार्थीले साँझ फर्कन कठिनाइ भएको गुनासो गरे। स्कुल÷कलेजनजिकका स्टेसनमा बस नरोक्ने उनीहरू बताउँछन्। किनकि विद्यार्थीलाई छुट दिनुपर्छ जसले गाडी व्यवसायीलाई थोरै फाइदा हुन्छ। सार्वजनिक यातायात बालबालिका, महिला, रोगी, वृद्ध तथा अपांगमैत्री हुनु अति आवश्यक छ। नेपालमा धेरै नेता तथा मन्त्रीले ठूल्ठूला विकास–निर्माण र परियोजनाबारे व्याख्या गर्ने गरेका छन्। धेरैजसो परियोजना देशलाई फाइदा नहुने नाममा अघि नबढेको भन्छन् तर साँच्चै सरकार पैसामुखी मात्रै भएर देश चल्ने हो ? संसारका सबै देशमा यस्तै हुने गरेको छ त ? अवश्य छैन। सरकारको दायित्व त जनताका सेवा–सुविधाका निम्ति काम गर्नु हो तर नेपालमा ठ्याक्कै उल्टो भएको छ। आजको आजै फाइदा नभए पनि भविष्यमा त्यसले देशलाई फाइदा पु¥याएकै हुन्छ, संसारका थुप्रै मुलुकमा यस्तै देखिएको छ।

अहिलेको सरकारले पनि सार्वजनिक यातायात सम्बन्धमा थुप्रै सपना बाँडेको छ। काठमाडौँमा मेट्रो रेलदेखि वाग्मतीमा पानीजहाजसम्मका कुरा चलेका छन् तर ती साँच्चै सम्भव छन् वा छैनन् भनेबारे कतिको अनुसन्धान भएका छन् ? तत्कालका समस्या समाधान गर्नुको साटो सपना मात्रै देख्दा हात लाग्यो शून्यको स्थिति आउन सक्छ। मेट्रो, रेल र पानीजहाज देशलाई आवश्यक नै हो तर यसका लागि उचित अध्ययन र तयारी आवश्यक छ। विदेश भ्रमणका बेला मेट्रो, रेल र पानीजहाज चढेको भरमा ती नेपालमा ल्याउँछु भन्नु भ्रम मात्रै नहोला भन्न सकिन्न। विकसित देशले यहाँ अध्ययन गरी सम्भावना नदेखेका होइनन् तर ती परियोजना किन सुरु भएनन् भन्ने गम्भीर प्रश्न छ।  वास्तवमै सरकारले चाहने हो भने गहिरो अध्ययन गरी विकसित मुलुक तथा तिनमा रहेका नेपाली जनताकै लगानीबाटै यी परियोजना पूरा गर्न सम्भव छ।

काठमाडौँको समस्या मध्यनजर गर्दा समाधानका लागि सहरी केबलकार एउटा उत्तम उपाय हुन सक्छ। अहिलेसम्म भएका धेरै अनुसन्धानले केबलकार कम समय र रकममा बन्ने देखाएको छ। काठमाडौँको अव्यवस्थित रूपमा निर्माण भएका घर तथा संरचनाले गर्दा पनि केबलकार राम्रो विकल्प हुन सक्छ। जसमा महिलाले पनि माइक्रो बसमा जस्तो उभिएर ठेलमेल भई यात्रा गर्न नपर्ने हुँदा सुरक्षित किसिमले यात्रा पाउँछन्। केबलकार मेट्रो, रेल या पानीजहाजभन्दा कम लागत र २/३ वर्षभित्रै बन्ने धेरै अनुसन्धानले देखाएका छन्। भौतिक संरचनालाई केही बाधा नपु¥याउने हुँदा यो उपाय उत्तम हुन सक्छ।

काठमाडौँमा यातायातसम्बन्धी तत्कालको समस्या समाधान गर्न साझा र महानगरजस्ता यातायातको थप प्रवर्धन र विकाश गर्नुपर्छ। पछिल्लो समय टुटल र पठाओबाट पनि धेरैले राहत महसुस गरेका छन्। काठमाडौँमा अहिले भएका सडक नै तत्कालीन समस्या समाधान गर्न काफी छ। हरेक बस बिसौनीमा बोर्ड राखी ठाउँ लेख्ने र बस आउने समयतालिका राखेर ५÷५ मिनेटमा साझा या महानगर बस आउने हो भने काठमाडौँको हालको ठूलो समस्या समाधान हुन्छ।

त्यस्तै, सबै साना तथा पुराना सवारीसाधन बिस्तारै हटाउनु आवश्यक छ। जसले ट्राफिक जाम र प्रदूषण बढाएका छन्। हामी ठूला सवारीसाधन आयो भने साना चलाउने बेरोजगार हुने भन्ठान्छौँ तर सरल र सहज यात्राले हुने फाइदा र रोजगारीबारे अनभिज्ञ छौँ। केही वर्षअघि पुराना सवारीसाधन हटाउने सरकारी निर्णय विरोधमै अड्कियो। सरकाले नवीकरण गर्न रोकिदिए, कसको के लाग्छ, किन खुट्टा कपाउँछ, सरकार ?

काठमाडौँजस्तो ठूलो र अव्यवस्थित सहरलाई ’साइकलमैत्री’ बनाउन अपरिहार्य छ। यो अभियानमा लागेका धेरैले साइकल चढ्न सुरु गरेका पनि छन् र अन्य पनि धेरै यसो गर्न चाहन्छन्। त्यसैले काठमाडौँका प्रत्येक सडकछेउ फुटपाथ र साइकल लेन अनिवार्य निर्माण हुनुपर्छ। विश्वको धेरै देशले पछिल्लो समय विद्युतीय सवारीसाधन निर्माण गरी प्रयोगमा ल्याएका छन्। हाम्रै छिमेकी मुलुक भारतले ‘महिन्द्रा’ को अहिले धेरै साधन विद्युतीय बनाएको छ। अबको केही वर्षमा विश्वले अहिलेको पेट्रोल÷डिजेलयुक्त साधन प्रतिस्थापन गर्नेछ। हामीले पनि अहिलेको युगअनुसार संसारबाट सिक्नु जरुरी छ।

वास्तवमै गम्भीर भई काठमाडौँको यातायात संरचना, व्यवस्था र सेवा–सुविधामा परिवर्तन गर्नु अहिलेको आवश्यकता हो। वर्तमान ओली सरकारलाई विकास र परिवर्तनको संवाहक बन्ने सुनौलो अवसर यसमा छ।

प्रकाशित: ३ असार २०७६ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App