१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

बुद्ध जन्मस्थलबारे चीनमा यस्तो भ्रम !

चेतनाथ आचार्य

गत वैशाख २९ गते आइतबार चीनमा २५४३औँँ बुद्ध जयन्ती मनाइयो। नेपाली पात्रोअनुसार बुद्ध जयन्ती जेठ ४ गते शनिबार थियो। तर परम्परागत चिनियाँ पात्रोअनुसार एक साताअघि नै बुद्ध जयन्ती परेको थियो। चिनियाँ बुद्धधर्म संघले बेइजिङको पश्चिमस्थित पाताछु मन्दिरमा आयोजना गरेको बुद्ध जयन्ती समारोहमा नेपालसँगै भारत, श्रीलंका, थाइल्यान्ड, म्यान्मार, कम्बोडिया, भियतनामलगायत देशका राजदूतहरूलाई आमन्त्रण गरिएको थियो।

पाताछु– चिनियाँ बौद्ध धर्म मान्नेहरूका लागि सबैभन्दा महत्वपूर्ण मन्दिरमध्ये एक हो। यस मन्दिरमा बुद्धको दाँत संरक्षण गरेर राखिएको छ। समारोहमा भाग लिन जाँदै गर्दा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चिनियाँ बुद्धधर्म संघका उपाध्यक्ष यान चुएको मन्तव्यमा ‘बुद्ध भारतमा जन्मिएका थिए’ भन्ने वाक्यांश परेको सूचना प्राप्त गरे। उनले तुरुन्तै आफ्नी सचिवलाई फोन गरेर आयोजकका तर्फबाट मन्तव्यमा उल्लेख भएको उक्त वाक्यांश (बुद्ध भारतमा जन्मिएका थिए) नसच्याए आफू समारोहमा सहभागी नहुने कुरा भन्न लगाए। राजदूतकी सचिवले तुरुन्तै आयोजकलाई सो जानकारी गराइन्। त्यतिन्जेल राजदूत पौड्याल गाडी रोकेर बाटामै पर्खिरहे। सचिवले राजदूतलाई फोन गरेर भनिन्, ‘मैले आयोजकलाई भनेपछि उनीहरूले सच्याउँछौँ भनेका छन्। तपाईँ जसरी भए पनि समारोहमा सहभागी भइदिनुहोस् भन्ने उहाँहरूको अनुरोध छ।’

राजदूत पौड्याल समारोहमा पुगेपछि गाडीमै आएर आयोजकका एकजना अधिकारीले गल्ती भएको भन्दै माफी मागे। पछि मन्तव्यमा चिनियाँ बुद्धधर्म संघका उपाध्यक्ष यान चुएले ‘बुद्ध भारतमा जन्मिएका थिए’ भन्ने वाक्याशं हटाएर वाचन गरे। झट्ट सुन्दा यो एउटा सामान्य घटना लाग्न सक्छ। तर कुटनीतिक दृष्टिबाट यसको निकै ठूलो अर्थ र महत्व छ। बुद्धधर्म मान्ने ३५ करोड चिनियाँको प्रनिधित्व गर्ने चिनियाँ बुद्धधर्म संघका जिम्मेवार व्यक्तिको लिखित मन्तव्यमा बुद्ध भारतमा जन्मिएका थिए भन्नु एक किसिमको हेलचक्र्याइँ थियो। त्यसलाई नसच्याए आफू कार्यक्रममा सहभागी हुन्न भनेर राजदूतले भन्नु नेपाली अस्मितामाथि असर परेको विरुद्ध कडा कुटनीतिक जवाफ थियो। पाताछु मन्दिरमा चिनियाँ बुद्धधर्म संघका अधिकारीहरूले यस प्रकारका गल्ती आइन्दा नदोहो¥याउने वचनबद्धता पनि राजदूत पौड्यालसमक्ष व्यक्त गरे। शाक्यमुनि बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो। कपिलवस्तुबाट माइत जान लाग्दा बाटोमा पर्ने लुम्बिनीमा मायादेवीले सिद्धार्थ गौतमलाई जन्माएकी थिइन्। सिद्धार्थ गौतमपछि उनी शाक्यमुनि बुद्ध भए। अशोक स्तम्भ र युनेस्कोले प्रमाणित गरेर लुम्बिनीलाई विश्व सम्पदा सूचीमा समावेश गर्नु बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने सबैभन्दा दरिलो प्रमाण हो। तर भगवान् बुद्ध भारतमा जन्मिएको भन्दै भारतले झूटको खेती गरिरहेको छ। भारतीय सञ्चारमाध्यमले जानाजान बुद्ध भारतमा जन्मिएको भ्रम फैलाउने काम गरिरहेका छन्।

भगवान् बुद्धको जन्मस्थलबारे भारतले भ्रम छर्ने काम गरेको छ भने नेपालको अर्को छिमेकी मुलुक चीन भने आफैँ भ्रममा छ ।

भगवान् बुद्धको जन्मस्थलबारे भारतले भ्रम छर्ने काम गरेको छ भने नेपालको अर्को छिमेकी मुलुक चीन भने आफैँ भ्रममा छ। भारतले चाहिँ नियतवश बुद्धको जन्म आफ्नो देशमा भएको प्रचार गर्छ भने चीनले चाहिँ थाहा नपाएर अथवा दुविधामा परेर भ्रम छर्ने काम गरिरहेको छ। फलतः थुप्रै चिनियाँलाई भगवान् बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा थाहा छैन। चीनमा लगभग ३५ करोड मान्छे बौद्ध धर्मका अनुयायी छन्। अधिकतर बौद्धमार्गी चिनियाँ जीवनमा एकपटक भगवान् बुद्धको जन्मस्थल पुग्ने चाहना राख्छन्। चिनियाँ पर्यटकले भारत भ्रमण गर्न नेपालजस्तो सहज र सुरक्षित नठान्ने भएकाले भगवान् बुद्धको जन्मस्थल पुग्ने उनीहरूको इच्छा अधुरै रहने गरेको छ।

लुम्बिनी र कपिलवस्तु भारतमा पर्छन् भनेर चिनियाँ पाठ्यक्रममा लेखिएको पहिलो पुस्ताका चिनियाँहरूले बताउने गरेका छन्। विद्यालयमा त्यही कुरा रटेर आएका चिनियाँहरूलाई नेपालका उल्लिखित दुई स्थान भारतमा पर्छन् भन्ने भ्रम हुनु स्वाभाविकै हो। पछिल्लो समय जुन चिनियाँ नेपाल गएका छन् अथवा नेपालबारे राम्रो जानकारी राख्छन्, तिनले यस प्रकारको भ्रम चिर्न केही प्रयास पनि गरेका छन्।

बेइजिङको पश्चिमपट्टि वल्लो सान्सी प्रान्तमा प्रख्यात उथाइसान पर्यकीय स्थल छ। त्यहाँ शाक्यमुनि बुद्धका छोरा राहुलको पनि मन्दिर छ। सम्भवतः राहुलको मन्दिर भएको यो विश्वकै एकमात्र स्थान हो। सो मन्दिरमा पर्यटकलाई गाइड गर्ने व्यक्तिले बुद्ध भारतमा जन्मिएका हुन् भनेर व्याख्या गरिरहेको सुनेपछि आफूले प्रतिवाद गरेको प्राध्यापक चौ च्याउचुन बताउँछिन्। सत्यमोहन जोशीबाट सन् १९६५ मा नेपाली भाषा सिकेकी चौ च्याउचुन चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको प्रमुख भएर सन् २००५ मा सेवा निवृत्त भएकी हुन्। उनले लामो समय नेपाल बसेर अध्ययन तथा विभिन्न चिनियाँ कम्पनीमा काम पनि गरेकी छन्।

बुद्ध भूमिको नेपाली भाषा सिकेर त्यसैमा जीवन बिताएकामा गौरव गर्ने प्राध्यापक चौलाई बुद्ध भारतमा जन्मिएका हुन् भनेको सुन्दा सह्य हुने कुरै भएन। तत्काल आफूले ती पर्यटक गाइडलाई बुद्ध नेपालमा जन्मिएका हुन्, भारतमा होइन भन्दै गल्ती सच्याउन आग्रह गर्दा सुनुवाइ नभएको उनी बताउँछिन्। ती पर्यटक गाइडले आफूले जे पढेको हो त्यही जानकारी दिने भन्दै आफूलाई त्यही भन्नका लागि लाइसेन्स दिइएको हुनाले कसले के भन्छ त्यसको पछि लाग्न नसक्ने टर्रो जवाफ फर्काएको प्राध्यापक चौ सुनाउँछिन्। बुद्धधर्मसम्बन्धी चीनका कतिपय मन्दिरमा राखिएका सूचनापाटीमा अहिले पनि बुद्ध भारतमा जन्मिएका हुन् भनेर लेखिएको उनको भनाइ छ। चीनमा बुद्धधर्मलाई प्रवेश गराउने काममा नेपाली भिक्षु बुद्धभद्रले महŒवपूर्ण योगदान दिएका छन्। उनले पाँचौ शताब्दीमा चीन आएर बुद्धधर्म प्रचारप्रसार गरेका थिए। चीनको स्वायत्त प्रदेश तिब्बतदेखि चीनका विभिन्न प्रान्तसम्म नेपालले उपहार दिएका बुद्धका मूर्तिहरू सजिएका छन्। पल्लो सान्सी प्रान्तको पावोचीस्थित फामन मन्दिरमा बुद्धको साइँली औँला राखिएको छ भने बेइजिङको पश्चिममा पर्ने पाताछु मन्दिरमा बुद्धको दाँत राखिएको छ। त्यसैगरी चीनको च्यान्सी प्रान्तमा पनि बुद्धको अस्तु राखिएको छ। कान्सु प्रान्तको प्रख्यात गुम्बामा रहेको बुद्धमूर्ति नेपाली कालिगढले बनाएका हुन्।

लुम्बिनी र कपिलवस्तु भारतमा पर्छन् भनेर चिनियाँ पाठ्यक्रममा लेखिएको पहिलो पुस्ताका चिनियाँहरूले बताउने गरेका छन्। विद्यालयमा त्यही कुरा रटेर आएका चिनियाँहरूलाई नेपालका उल्लिखित दुई स्थान भारतमा पर्छन् भन्ने भ्रम हुनु स्वाभाविकै हो। पछिल्लो समय जुन चिनियाँ नेपाल गएका छन् अथवा नेपालबारे राम्रो जानकारी राख्छन्, तिनले यो भ्रम चिर्ने प्रयास गरेका छन्।

नेपाल र चीनबीच युगौँदेखि सुमधुर सम्बन्ध रहँदै आएको छ। दुई देशबीच सरकारी स्तरमा मात्र नभएर जनस्तरमा समेत सुमधुर सम्बन्ध छ। जनस्तरमा सम्बन्ध विस्तार गर्ने विभिन्न कडीमध्ये बौद्धधर्म पनि एक हो। उक्त धर्मका प्रवर्तक शाक्यमुनि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा चिनियाँ शासक वर्गलाई राम्ररी थाहा छ। बुद्ध जयन्तीका अवसरमा बेइजिङस्थित नेपाली दूतावासले हरेक वर्ष चिनियाँ बुद्धधर्म संघका भिक्षुहरू बोलाएर विशेष प्रार्थनासहित कार्यक्रम गर्ने गरेको छ। नेपाली नेताहरूले चिनियाँ नेताहरूसँग औपचारिक तथा अनौपचारिक कुराकानी गर्दा बुद्ध जन्मस्थलको कुरा स्वाभाविक रूपमा आउँछ। यही जेठ ४ गते बेइजिङस्थित नेपाली दूतावासको प्रांगणमा आयोजित २५४३औँ बुद्ध जयन्ती कार्यक्रममा कानुनविद् तथा विश्लेषक प्राध्यापक डाक्टर युवराज संग्रौलाले सम्बोधनका क्रममा अघिल्लो दिनमात्र चिनियाँ सरकारी टेलिभिजन सिजिटिएनको बहस कार्यक्रममा बुद्ध भारतमा जन्मिएका हुन् भनिएको जानकारी गराउँदै चीनले यस्ता त्रुटि सच्याउनुपर्ने सुझाव दिए। 

बुद्ध जन्मस्थलबारे चिनियाँमा रहेका दुविधा र भ्रमका सन्दर्भमा चिनियाँ बुद्धिजीवीले चलाखीपूर्वक तर्क गर्छन्। उनीहरू भन्ने गर्छन्– ‘बुद्ध नेपालमा जन्मिए पनि उनले ज्ञान प्राप्तचाहिँ भारतमा गरेका हुन्।’ त्यसैगरी बुद्ध जन्मेका बेला नेपाल भन्ने देश नै नरहेको दाबी गर्दै त्यतिबेला लुम्बिनी सायद भारतमा पथ्र्याे भन्ने तर्क पनि उनीहरू गर्छन्। तर जतिबेला बुद्ध जन्मिएका थिए त्यतिबेला भारत भन्ने देश नै नभएको कुरा उनीहरू ख्याल गर्दैनन्। विभिन्न गणराज्य रहेका अहिलेको भारत अंग्रेजको गुलामबाट स्वतन्त्र भएको भर्खर ७ दशक मात्र हुँदै छ। तर नेपाल, इतिहासमा कसैको गुलाम बनेको थिएन। स्वतन्त्र नेपालको इतिहास हजारौँ वर्षदेखि जीवित छ। बुद्धले भारतमा ज्ञान प्राप्त गरेको कुरामा कुनै  विवाद छैन। तर कुनै व्यक्तिले ज्ञान प्राप्त गरेको स्थानभन्दा जन्मिएको ठाउँ महत्वपूर्ण हुन्छ। त्यसकारण ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारा हुन्छन् भनिएको हो।

(बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआई नेपाली सेवामा विदेशी विशेषज्ञ)

प्रकाशित: ३० जेष्ठ २०७६ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App