१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

हाराकिरीको आनन्द

‘एउटाको बिगार गर्नेले अर्कालाई बाँकी राख्दैन’ भन्ने कथन पटकपटक पुष्टि भएरै होला, हाम्रा पुर्खाले उखान बनाए– ‘पाडो खानेले बाछो पनि बाँकी राख्दैन।’ जंगलमा पाडो सिकार गर्ने चितुवाले बाछो भेट्यो भने छाड्ला त ? डलर वा युरो खाएर विदेशीलाई राष्ट्रका गुप्त सूचना बेच्नेहरू हुन् वा विभिन्न भेषमा विदेशीको मात्र हित चिताउनेहरू, उनीहरू राष्ट्रिय राजनीतिलाई ‘अगाडि खोलो, पछाडि भड्खालो’ भन्ने अवस्थातिर धकेलिरहेका छन्। त्यस्तो स्थितिमा आत्मसम्मान त रहँदैन तर हाराकिरीमा आनन्द मान्न तयार छन्, खलनायकहरू।

भारत र चीनसँग नजिक रहेका बाइस÷तेइसवटा राष्ट्रमा शक्तिराष्ट्रहरू आज राजनीति र कूटनीतिको लुकामारी खेलिरहेका छन्। युद्ध गर्न अब सेना पठाइरहनु पर्दैन। त्यसको सट्टा गैरसरकारी संस्था, संस्कृति, धर्म, परम्परा र इतिहास मास्ने विषादी पठाए पनि पुग्छ। स्वदेश गन्हाउँछ र विदेश मग्मगाउँछ भन्ने दासविचार, अभावग्रस्त देशभक्तिभन्दा पराधीन समृद्धिको चिन्तन लादे पनि हुन्छ। यो पनि  हाराकिरीकै आनन्द हो।

द्वितीय विश्वयुद्धपछि जापानीहरूले ठूलो पाठ सिके। तर नीति र पद्धतिभन्दा नेताका भरमा चल्ने नेपालजस्ता राष्ट्रमा कतिपय समस्या २००७ सालभन्दा पुराना पनि छन्। आदिकवि भानुभक्त आचार्य ‘कुमारी चोक’ (तत्कालीन लेखा परीक्षक कार्यालय) मा थुनिए, सरकारी हिसाब बुझाउन नसक्दा। समयमा इन्साफ नपाउँदा झोक्किँदै कविले लेखे ‘की ता सक्दिन भन्नु, कि ता मुद्दा छिनिदिनु, क्यान भन्छन् यी भोलि। भोलि भोलि भन्दैमा सब घर बिति गो, बक्सियोस् आज झोली।’

हाराकिरीमा आनन्द मान्ने बानी परेको हुँदा राष्ट्रघात र राष्ट्रघातीलाई सलाम गर्न ‘बाध्य’ देखिएको छ, राज्यसंयन्त्र।

वि.सं. १८७१ मा जन्मिएका भानुले भोगेका ‘भोलि’ (ढिलासुस्ती) आजको पुस्ताका युवक युवतीले पनि भोगिरहेका छन्। ‘क्यान भन्छन् यी भोलि ?’ शैलीमै युवावर्ग प्रश्न गर्छन्। प्रहरी होस् वा निजामती, गाउँपालिका होस् वा न्यायपालिका, सबैतिर नैतिकता मर्दैछ। स्वाभिमानले हाराकिरी गर्दैछ। हाराकिरी गर्नेहरू शव नै हुन्छन्, शिव हँुदैनन्। शिव (कल्याणभाव) हुने हृदयलाई पीडा हुन्छ। निर्जीवलाई हाराकिरीमै आनन्द लाग्छ। किनभने हाराकिरी गर्दा न कर्तव्यबोधले ठुङ्छ, न चेतनाको मृत्यु हुन्छ !
ओरालोमा ‘ब्रेकफेल’ भए पनि वक्रमार्ग नआएसम्म गाडीको गति तीव्र हुन्छ। हामी त्यसलाई ‘अग्रगमन’ भनिरहेका छौँ। मरेका माछा नदीसँगै बग्छन्, जिउँदा जलप्रवाहविपरीत पनि जान्छन्। त्यसरी ‘एन्टी करेन्ट’ जाने प्रणालीलाई ‘प्रतिगामी’ भनिन्छ नेपालमा। अगाडि अगम्य भीर छ भने पछाडि फर्किन सकिन्छ। त्यो विवेकपूर्ण निर्णय हुन्छ। मृत्युउन्मुख अग्रगमनभन्दा जीवनदायिनी प्रत्यागमन सुखद हुन्छ। तसर्थ प्रत्यागमन गाली होइन।

कुनै बेला कञ्चनपुर जिल्लाको ब्रह्मदेवमण्डी ठूलो बजार थियो। भन्सारका ठेकेदार र तस्करहरू मिलेर नुन लुकाउँँदै कृत्रिम अभाव देखाएर ठग्न थालेपछि भीमदत्त पन्तले त्यहाँ डिठ्ठा धर्मसिंह रावल र सुवेदार जोगराम ऐरका हातखुट्टा बाँधेर नदीमा जिउँदै फ्याँकिदिए। रावल डुबेर मरे। ऐर डोरी चुँडाएर पौडिँदै भारततिर भागे। (स्रोत  सुदूरपश्चिमको इतिहास परिचय, आत्मराम ओझा)

आज नुन तस्कर होइन, सुन तस्करहरू सत्ता÷प्रतिपक्ष सबै दलका प्रिय बनेका छन्। राष्ट्रघाती र जनविरोधीलाई हातखुट्टा बाँधेर नदीमा हुत्याइदिने ‘भीमदत्त’ कोही देखिएनन्। सेनगोकु जिदाइ, ओदा नोबुनागा, तोयोतोमी हिदेयोशी, तोगुगावा लेयासुजस्ता राजनेतालाई राष्ट्र एकीकरणका सुत्रधार मान्छन्, जापानीहरू। तर भारतका राष्ट्रपति प्रणव मुखर्जीले सन् २०१६ को सेप्टेम्बर २१ मा बोल्दै फलामकोे रेलमार्गले ‘भारतलाई एकीकरण गरेको’ कथा सुनाए। (स्रोत ः प्रेस ट्रस्ट अफ इन्डिया) मुखर्जीले रेललाई एकीकणकर्ता माने भने भारतीय जनता पार्टी बल्लभभाइ पटेललाई एकीकरणकर्ता मान्छ। महात्मा गान्धीबारे भाजपाको दृष्टिकोण आलोचनात्मक पाइन्छ। नेपालमा बाह्यशक्तिको निर्देशन मान्नेहरूबाहेक सबैले पृथ्वीनारायण शाहलाई नै राष्ट्रनिर्माता मानेका छन्। अर्थात्, हाराकिरी नगर्नेहरू यहाँ धेरै छन्। आत्मसमर्पण नगर्ने धेरै छन्।

आज नुन तस्कर होइन, सुन तस्करहरू सत्ता/रतिपक्ष सबै दलका प्रिय बनेका छन्। राष्ट्रघाती र जनविरोधीलाई हातखुट्टा बाँधेर नदीमा हुत्याइदिने ‘भीमदत्त’ कोही देखिएनन्।

प्राचीन इजिप्टका प्रथम राजा नार्मर त्यहाँका एकीकरणकर्ता हुन्। २ सय २५ राजाले शासन गरेको इथियोपियामा राष्ट्रिय स्वाभिमान सिध्याउन प्राचीन धर्मसंस्कृति मास्दै इसाईको जनसंख्या बिस्तारै बढाइयो। आज त्यहाँ ६२ प्रतिशत इसाई छन्। सुन र तामाका मात्र मुद्दा चल्ने त्यो राष्ट्रलाई कंगाल बनाउन माक्र्सवादीलाई प्रयोग गरे, विदेशीले। फलतः गृहयुद्ध भयो। अफ्रिकाको शान्त, समृद्ध  राष्ट्र इथियोपियाका अन्तिम राजा हेली सेलासीको दरबारमा राजा वीरेन्द्रसमेत पाहुना भएर बसेका थिए। भ्रमणदलका एक सदस्य पुराना कुरा सम्झिँदै भन्छन्, ‘विदेशी शक्तिको दबाब र स्वार्थमा हिँड्न चाहेनन् सेलासीले।’ त्यही कारण भूतपे्रतका रूपमा कम्युनिस्ट प्रयोग गरेर राजतन्त्र सिध्याइयो। कम्बोडिया वा अफगानिस्तानमा जस्तै त्यहाँ विदेशीले खेल्ने मौका पाए। धेरै देशमा इतिहास, धर्म र संस्कृति मास्न साम्राज्यवादी र विस्तारवादीले कम्युनिस्टलाई बुल्डोजरझैँ प्रयोग गरेका उदाहरण छन्। दोस्रो विश्वयुद्धपछि धेरै देशले आफ्नो अस्तित्व गुमाए। राष्ट्र हाँक्नेहरूले नै पराधीन बन्न स्वीकार गरेपछि कतिपय देश विश्व मानचित्रबाट हराए।

राष्ट्रलाई खण्डित गर्न प्रयोग हुने सबै हतियार नेपालमा देखिन थालेका छन्। ‘द गार्जियन’ पत्रिकामा (सन् २०१८, अप्रिल ५) एउटा लेख छापियो। राष्ट्रको अवसान कसरी हुन्छ भन्ने बहस छ, त्यसमा। तानाशाह भनिएका गद्दाफी (लिबियाका राष्ट्रपति) र उनको शासन ढले पनि किन त्यहाँ शान्ति र स्थायित्व हुन सकेन ? लेखकले प्रश्न गरेका छन्। हुन पनि हो– मानवअधिकार, प्रजातन्त्र र स्वन्त्रतता भएन भन्दै ‘क्रान्ति’ गराइएका राष्ट्र झन् अशान्त, अस्थिर र बेचैन छन्। मनोवैज्ञानिक र भावनात्मक रूपमै राष्ट्र कमजोर भइसक्यो भनेर नेपालका कैयन् राजनीतिज्ञ, शिक्षित  र प्रायः सबैले स्वीकार गरेका छन्। हाराकिरीमा आनन्द मान्ने बानी परेको हुँदा राष्ट्रघात र राष्ट्रघातीलाई सलाम गर्न ‘बाध्य’ देखिएको छ, राज्यसंयन्त्र। घर जलिरहँदा पनि आँगनमा भेला भएर कान्छाकान्छीका गीत गाउने जनता र मज्जाले देश लुट्ने नेतागण भएपछि अरू के पो चाहियो र !

राष्ट्रिय एकताका चुनौती र खतरा समयमै पहिचान गर्न सकिएन भने त्यसले भित्रभित्रै राष्ट्र कमजोर बनाउने विद्वान्हरूको तर्क छ। क्षेत्रीयता, साम्प्रदायिकता, भाषाको विवाद, आतंकवाद, बेरोजगारी, सुशासन अभाव र आन्तरिक सुरक्षामा फितलोपनजस्ता कुराले राष्ट्रिय सुरक्षा कमजोर बनाउने विभिन्न देशका विद्वान्हरूको तर्क छ। तसर्थ यस्ता विषयमा समय छँदै गम्भीर चिन्तन मनन गरेर राष्ट्रिय लक्ष्य पहिल्याउनु आवश्यक देखिन्छ। राष्ट्रिय एकता बलियो बनाउन राष्ट्रवादी भावना कुनै न कुनै रूपले युवा, विद्यार्थीदेखि सर्वसाधारणसम्म सञ्चार गर्नुपर्ने हुन्छ।

भारतमा विभिन्न जातजाति, धार्मिक समूह र भौगोलिक विविधताका कारण अखण्ड भारतको नारा व्यवहारमा देखिँदैन। आसाममा बस्ने लाखौँ हिन्दी भाषीलाई असमिया भाषा बोल्नेहरूले लखेटे भने महाराष्ट्रमा मराठीभाषीहरूले हिन्दी बोल्ने भारतीयहरूलाई बिहारी भन्दै लखेटेका खबर सञ्चारमाध्यममा समेत आएका थिए। सन् १९६५ मा भारतले देवनागरी लिपिलाई सरकारी लिखतमा प्रयोग गर्ने निर्णय गर्दै हिन्दी भाषालाई राष्ट्रिय भाषाका रूपमा अंगिकार गर्दा विभिन्न ठाउँमा हिंसात्मक घटनासमेत भएका थिए। तमिलनाडु र पश्चिमबंगालजस्ता क्षेत्रमा ‘हिन्दी हटाऊ’ नारासमेत लागेको थियो।

सांस्कृतिक विविधता नेपालमा पनि छ। तर नेपालको प्राचीन संस्कृतिप्रति सबैको सम्मान देखिन्छ। भारतीयहरू आफूलाई भारतीयभन्दा पनि पञ्जाबी, बंगाली, गुजराती, मद्रासी, बिहारी आदि भनेर चिनाउन चाहन्छन्। ५ सय ६५ राजा र सयौँ किसिमका सांस्कृतिक पहिचान निमोठेर भारत निर्माण गरिएको हँुदा अहिले पनि कैयन् भूखण्डमा व्यापक असन्तुष्टि छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र विदेशबाट आएका इसाई धर्मावलम्बी गुरुहरूको प्रभावले भारतले आफ्नो प्राचीन धर्म–संस्कृति एवं राष्ट्रिय एकता गुमाउने खतरा रहेको राजीव मल्होत्रालगायतका विद्वान्ले स्वीकार गरेका छन्। अमेरिका वा फ्रान्समा जस्तो एउटै  धर्मको व्यापक दबाब, प्रभाव र एउटै भाषामा व्यवहार हुने अवस्था भारतमा छैन। त्यसैले विदेशीहरूले खेलिरहेका छन् भने त्यो रोक्न नसक्दा विखण्डनको खतरा देखिएको हो। हालै श्रीलंकाले, राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको भन्दै सयौँ विदेशीलाई देश निकाला गर्‍यो। त्यहाँको सरकार र सेना मिलेर गरेको निर्णयको सबैले प्रशंसा गरेका छन्। यसरी देश निकाला हुनेहरूमा कैयन् भारतीय पनि छन्। आर्थिक सहायता गर्छन् भन्दैमा विदेशीका अनावश्यक दबाब र धम्की मान्नुपर्छ भन्ने केही छैन। तसर्थ श्रीलंकाले पनि राष्ट्रिय सुरक्षाका लागि साहसपूर्ण निर्णय गरेको देखिन्छ।

राष्ट्रिय एकताको कुरा गर्दा विविधता संरक्षण गर्दै एकताको सूत्र खोज्नुपर्ने हुन्छ। राजनीतिक नेतृत्व, संविधान, कानुन र व्यवहारमा तारतम्य मिलाउन जनतालाई समान व्यवहार गर्नुुपर्ने हुन्छ। त्यसकारण जातीय, साम्प्रदायिक वा कुनै पनि किसिमको आगो नसल्कियोस् भन्ने सदाशय राखेर काम गर्न सके मात्र त्यसले राष्ट्रिय एकता बलियो बनाउने र सबै जातजाति एवं सम्प्रदायले आफूलाई समान व्यवहार भएको ठान्ने अवस्था रहन्छ। अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन र समन्वय भएन भने समस्या आइरहन्छ। त्यस्तै हुने र नहुनेबीच दूरी बढ्दै गयो भने जनतामा निराशा बढ्नसक्छ। स्वदेशी विचार, उद्योग र चेतना दबाएर हरेक ठाउँमा विदेशीलाई धुरीमा चढाउँदा नेपालले भोलि गएर ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ। त्यो भनेको पनि हाराकिरी नै हो।

प्रकाशित: २७ वैशाख २०७६ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App