९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

यान्त्रिक कुचोको यात्रा

राजधानी काठमाडौँमा केही वर्षयता धुलोका कारण सबैभन्दा धेरै पीडादायी अवस्था देखिएको छ। धुलोबाट सिर्जित श्वासप्रश्वाससम्बन्धी रोगबाट सर्वसाधारण पीडित भएका छन्। नयाँ वर्षमा नयाँ उत्साह र समृद्धिका कुरा जति गरे पनि धुले सहरको बासिन्दा हुनुको पीडा असह्य छ। यो समस्या सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाले इटालीबाट ल्याएका पाँचवटा बु्रमरले धुलो उठाउन थालेका छन्। बु्रमर अर्थात् यान्त्रिक कुचो प्रयोग गरिए पनि सहरमा धुलो कम भएको छैन। यान्त्रिक कुचोले बढार्छ तर फेरि धुलो जस्ताकोतस्तै आइहाल्छ।

ह्वार्र पानी पर्छ, सुकेपछि सहर धुलाम्य हुन्छ। सहरमा पैदल र सार्वजनिक यातायातमार्फत यात्रा गर्ने सर्वसाधारण धुलोको मारमा सहजै पर्छन्। हामीकहाँ रोगको लक्षणको उपचार गर्ने चलन छ। समस्याको कारण पहिचान गरी तदनुकूल कदम चाल्दा मात्र अपेक्षित परिणाम प्राप्त हुन्छ। राजधानी काठमाडौँमा जनसंख्याको चाप छ। यहाँ सवारीसाधन पनि त्यतिकै वृद्धि भइरहेको छ। तर, धुलोको समस्या यहाँको जनसंख्या र सवारीसाधनका कारण भन्दा बढ्ता अधुरो विकास निर्माणका कारण सिर्जना भएको हो। रत्नपार्क आसपासमा बु्रमर लागेको देखिन्छ। खुलामञ्चबाट हिलो लिएर गाडी बाहिर निस्कन्छन् र सहरलाई धुलाम्य बनाउँछन्। बु्रमर लगाउनुअघि कम्तीमा त्यहाँबाट धुलो ननिस्कने व्यवस्था गरेको भए मेहनत खेर जाने थिएन। सहरमा विकास निर्माणका निम्ति खनेको ठाउँ त्यतिकै छाड्ने गरिएको छ। त्यसलाई समयमै पूरा गर्ने हो भने धुलोको समस्या धेरै हदसम्म हट्नेछ।

महानगरपालिकाले विगतमा पनि बु्रमर ल्याएको थियो। तिनलाई प्रयोग गर्दै नगरी थन्क्याएर राख्ने काम भयो। अहिले ल्याइएका बु्रमर प्रयोग भएका छन्। यो सकारात्मक भए पनि धुलो आउने स्रोतमै हस्तक्षेप गर्नतिर लागेको भने देखिएन। काठमाडौँका सबै ठाउँमा धुलोले गम्भीर समस्या पैदा गरेको छ। थालेको काम पूरा नगर्ने ठेकेदारहरूलाई कारबाही गर्न सकेको भए धुलो कम गर्न सहज हुने थियो। थानकोट पुग्ने सडकको अवस्थाबारे सरकारको जति ध्यानाकर्षण गरे पनि कार्यान्वयन भएको छैन। निर्माणाधीन सडक आसपास बस्ने सर्वसाधारणलाई केही वर्षयता परिरहेको समस्याबारे कसैको ध्यान पुगेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एउटा वक्तव्यमा, त्यहाँ धुलो उड्न छाडिसकेको भन्ने धारणा सार्वजनिक भएको थियो। तर, स्थानीय स्तरमा अवस्था त्यस्तो थिएन।

राजधानीका केही सडक पूरा नभएको गुनासो आइरहेको छ। केही समयअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ यी सडक निरीक्षणमा गएको पनि देखियो। कलंकी र बौद्ध क्षेत्रको भ्रमण गरिए पनि काममा प्रगति हुन सकेको छैन। बौद्ध क्षेत्रका बासिन्दाले आज पनि उही पीडा भोगिरहेका छन्। अहिले धुलैधुलो छ, चाँडै मनसुन आएपछि फेरि स्थिति अरू भयावह हुनेछ। सहरका मुख्य भागमा सडक सुधारका काम थोरै भएको देखिए पनि भित्री सडकमा बसोबास गर्नेको अवस्था उस्तै छ। कपन क्षेत्रमा पुग्नेले यो पीडा सहजै देख्न सक्छन्। काम भइहाले पनि साह्रै सुस्त छ। जसले गर्दा सर्वसाधारणको नियमित आवगमनमै असर पर्ने गरेको छ।

सडकमा बु्रमर लगाएपछि पनि धुलो नहटेको समस्या समाधान गर्न काठमाडौं महानगपालिका तत्पर हुनु आवश्यक छ। नगरपालिका आफैँले बनाउनसक्ने सडकका निम्ति पहल गर्नुपर्छ। प्रदेश र केन्द्र सरकारले गर्ने काम हो भने तिनलाई जिम्मेवार बन्न पनि पालिका सरकारहरूले घच्घच्याउन सक्नुपर्छ। राजधानी काठमाडौँकै अन्य नगरपालिका र गाउँपालिकाहरूले धुलोको यो समस्या हल गर्न विकास निर्माणलाई तीव्रता दिनुपर्ने देखिन्छ। रातभर ब्रुमरले मेहनत गरेर धुलो उठाए पनि बिहान जस्ताको तस्तै देखिनु गाडीहरूले अन्य ठाउँबाट हिलो र धुलो बोकेर ल्याउनु हो। युरोप–अमेरिकाजस्ता मुलुकमा बु्रमरले धुलो उठाइरहेका हुन्छन्। त्यसले थोरैथोरै धुलोसमेत टिप्ने गरेका कारण त्यहाँ सडक सफा देखिएका हुन्। अनि सडक किनारमा हिँड्नेलाई पनि यसले सहज बनाउँछ।

हामीकहाँ प्रविधि आयो। चैत १२ देखि ब्रुमरले सडक सफा गर्न थालेको छ। यस क्रममा १ सय ३० टन धुलो निकालिसकेको महानगरपालिकाले जनाएको छ। यो धेरै ठूलो परिमाण हो। वास्तवमा हाम्रा सडकमा धुलो अत्यधिक छ भन्ने प्रमाण पनि हो यो। वास्तवमा यो नयाँ वर्ष २०७६ मा धुवाँ, धुलोमुक्त राजधानी बनाउनेतर्फ स्थानीयदेखि केन्द्र सरकारसम्मको ध्यान पुग्नु आवश्यक छ। त्यसो भयो भने मात्र आगामी वर्ष सन् २०२० मा आयोजना हुने नेपाल भ्रमण वर्षमा आउने पाहुनाका निम्ति पनि काठमाडौँ उपत्यका रहरलाग्दो हुनेछ। हाम्रो सुस्वास्थ्य र दीर्घ जीवनका निम्ति पनि सडकको धुलो उठ्न यान्त्रिक कुचो सक्रियतापूर्वक प्रयोग गर्नैपर्ने हुन्छ।

प्रकाशित: २ वैशाख २०७६ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App