१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

बलात्कारको मनोविज्ञान

गाउँगाउँदेखि, चोकचोकदेखि आवज उठेको छ। आक्रोशित जनता सडकमा उत्रिएका छन् । दुई महिना बितिसक्दा पनि न्याय नपाएपछि पीडित परिवारले प्रधानमन्त्री तथा राष्ट्रपतिको ढोका ढकढकाउनु परेको छ। प्रधानमन्त्रीको आश्वसानपछि पनि बलात्कारपछि हत्या गरिएकी कलकलाउँदो उमेरकी १३ वर्षीय बालिका निर्मला पन्तले न्याय पाउने कुरामा अझै जनता सशंकित छन् । त्यो किनभने सुरुदेखि नै घटनाको सत्यतथ्य पत्ता लगाउनुभन्दा पनि अपराधीहरूको दबाबमा घटना दबाउन र निर्दोषलाई फसाउन प्रशासन लागेको प्रस्ट देखिन्छ । गृह प्रशासनको अकर्मण्यता कारण धमिलो पानीमा माछा मार्न खोज्नेहरू पनि निर्मलाको न्यायका नाममा उत्तिकै सलबलाइरहेका छन्।

निर्मलाको न्याय अहिले राष्ट्रिय चासोको विषय भएको छ । निर्मला बलात्कारको घटनाले बलात्कार विरुद्धमा जनतालाई तताएको छ । जनमानसमा सजगता पनि बढाएको छ ।  तर पनि बलात्कारका घटनाहरू घटि नै रहेका छन् । निर्मला बलात्कारको घटनापछि मात्रै ३० वटा बलात्कार घटनाहरू प्रकाशमा आएका छन् । प्रायः अबोध बालबालिका तथा किशोरीहरू नै बढी बलात्कारको शिकार भएका छन्।

बलात्कार केवल आधुनिक युगको उपज होइनन् । पहिला पहिला पनि बलात्कार नहुने होइनन्, हुन्थे । इतिहास हेर्ने हो भने आदिकालदेखि नै बलात्कारका घटनाहरू हरेक समाज र संस्कृतिमा घट्दै आएको देखिन्छ । तर यस्ता घटनाहरू छोपिन्थे, दबाइन्थे र बाहिर प्रकाशमा त्यति धेरै आउँदैनथे । पहिला पहिला नैतिक मूल्यमान्यतामाथि बढी नै जोड दिइने हुनाले त्यस्ता घटना निकै कम हुन्थे । हिजोआज भने आधुुनिकीरणसँगै नैतिक मूल्य, मान्यता र आदर्शमा ठूलो ह्रास आएको छ । त्यसैले पनि प्राचीन समयमा भन्दा आधुनिक कालमा बलात्कारका घटनाहरू निकै बढेको चाहिँ पक्कै हो । अतः बलात्कारका घटनाहरू यसरी बढ्नुका पछाडि स्वयं समाज पनि दोषी छ।

थुप्रै सामाज शास्त्रीहरूले बलात्कारलाई एक जघन्य अपराध मात्र होइन कि एक अस्वस्थ समाज, जहाँ महिलामाथि डरधाक देखाउने तथा महिलालाई अनादर गर्ने गरिन्छ, को लक्षण पनि हो भनेका छन् । अर्को कुरा हाम्रो जस्तो समाजले बेइज्जती हुने डरका कारण यस्ता घटनाहरूलाई लुकाउन छुपाउन नै ठीक ठान्छ। यसरी बलात्कारका घटनाहरूलाई लुकाउने छुपाउने प्रवृत्तिका कारणले बलात्कारीका मनोबल बढ्ने गर्छ।

सामान्यतयाः कुनै व्यक्ति बलात्कार गर्न त्यस समय उत्तेजित हुन्छ, जब उसमा यौन उत्तेजना धेरै देखिन्छ, तर यौन उत्तेजना मेट्ने साधन प्राप्त हुँदैन । वास्तवमा पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलात्कारको घटना घट्ने गर्छ।

बलात्कारका अनेक कारणहरू हुन्छन्। तीमध्ये अनुकूल परिस्थिति र कामुक वातावरणले पनि बलात्कारीलाई बलात्कारका लागि उत्प्रेरित गर्ने गर्छ । जस्तो कि, पोर्नोग्राफी हेर्ने व्यक्तिको मस्तिष्क बढी अब्सेसिव हुनुको साथै मन कामुक हुने गर्छ । अधिकांश यस्ता व्यक्तिहरूमा पोर्न भिडियोमाझैँ यौनक्रिया गर्ने लालसा पैदा हुन्छ । अनि जब अनुकूल वातावरण पैदा हुन्छ, यस्ता व्यक्तिहरू बलात्कार गर्न पनि पछि पर्दैनन् । मौका मिल्यो र समातिने डर नहुने हो भने मानिस रेप गर्न संकोच मान्दैन । धेरैलाई अचम्म लाग्न सक्छ, तर सत्य के हो भने मौका मिल्यो र समातिने डर नहुने हो भने समाजका पाँच जनामध्ये तीन जना व्यक्ति बलात्कारी निस्किन्छन्।

पोर्नोग्राफीले मात्र होइन, सेन्सर बोर्डले सर्वसाधारणका लागि पास गरेका अधिकांश फिल्महरूले समेत यौन दुव्र्यवहारमा बढवा दिएको देखिन्छ । प्रायः हिन्दी फिल्म, नेपाली फिल्ममा पनि नायिका वा सहनायिका (नायककी बहिनी) भनेको खलनायकले बलात्कार गर्ने चिज हो जस्तो गरेर प्रस्तुत गर्ने गरिन्छ । फिल्ममा देखाइने बलात्कारका यस्ता दृश्यहरूले मानिसको मनमस्तिष्कमा कुप्रभाव पार्छ । त्यसैले त सामूहिक बलात्कारका अधिकांश घटनाहरू फिल्मी शैलीमा हुने गर्छन् । अतः यसरी कतिपय फिल्महरूले समेत बलात्कारका घटनाहरूमा मलजल हाल्ने कार्य गर्छन् । तर यसको मतलब पोर्नोग्राफी तथा फिल्म नै बलात्कारका प्रमुख कारणहरू चाहिँ पक्कै होइनन्।

मनौवैज्ञानिक दृष्टिमा पुरुषमा हुने श्रेष्ठता तथा पुरुषत्वको अहं बलात्कारको एक प्रमुख कारण हो । बलात्कार कामुकता(लस्ट)का कारणले मात्र होइन कि नियन्त्रण र प्रभुत्वको मनोविज्ञानबाट प्रेरित हुने तर्क महिलावादी लेखिका सुशन ब्राउनमिलर छ । हाम्रो समाजले नै सिकाउँछ पुरुष महिला भन्दा ताकतवार हुन्छ, महिला भन्दा श्रेष्ठ भन्ने कुरा । समाजले नै भन्छ, मर्द छोराले जे पनि गर्न सक्छ । श्रेष्ठताको मिथकले गर्दा उसले भुल्छ, सेक्सको आनन्द तब प्राप्त हुन्छ, जब महिला खुसी हुन्छिन् । कतिपय देश र समाजमा त उल्टै बलात्कृत महिलालाई दोषी ठान्छन्।

त्यसो त व्यक्तित्व विकार जस्तो मानसिक समस्या, सेक्सुअल सैडिजम, सबस्टेन्स अब्युज (दूव्र्यसन), गलत सेक्सुअल धारणा तथा रेप कल्चर आदिका कारण पनि बलात्कार हुने गर्छ।

बलात्कार सामाजिक कलंक हो । महिला हिंसाको बर्बरता हो । यो बर्बरताको जति निन्दा गरे पनि कम हुन्छ। त्यो किनभने बलात्कृत महिलालाई शारीरिक, मानसिक तथा भावनात्मक रुपमा समेत चोट परेको हुन्छ। यस्ता महिलाहरूले लोकलाज, अपमानित, भ्रम, भयत्रास, तनाव, क्रोध तथा बदलाको अनुभव गर्छन्। यस्ता लक्षणहरू एक वर्ष वा एक वर्षभन्दा बढी समयसम्म पनि देखा पर्न सक्छन् । तर धेरै बलात्कृत महिला डिप्रेसन तथा पिटिएसडीको शिकार बन्न पुग्छन्।

बलात्कार समाजिक तथा कानुनी रुपमा पनि एक जघन्य अपराध हो । त्यसैले संसारभरि नै बढ्दै गएको बलात्कारका घटनाहरू रोकथाम गर्न हरेक देशले कुनै न कुनै उपायहरू अपनाएका छन् । कतिपय देशमा त बलात्कारीलाई निकै कठोर सजाय र मृत्युदण्ड समेत दिने व्यवस्था छ । नेपालमा पनि बलात्कारको प्रकृति हेरेर बलात्कारीलाई जेलसजायको दण्ड दिइन्छ भने सामाजिक रुपमा पनि बलात्कारीलाई कुट्ने पिट्ने तथा यदाकदा समाजिकरुपमा पनि बहिस्कार गर्ने गरिन्छ।

नेपाल जस्तो गरीब र अशिक्षित देशहरूमा बलात्कारका अधिकांश घटनाहरू प्रकाशमा नै आउँदैनन् । एक अध्ययन भन्छ, ९६ प्रतिशत बलात्कार त घरको चार भित्ताभित्र नै हुने गर्छ । घरभित्र नै हुने यस्ता बलात्कारका घटनालाई कानुनले पनि नियन्त्रण गर्न सक्दैन । दण्डसजाय बलात्कारको एक मात्र समाधान होइन तर पनि दण्डसजायले केही हदसम्म भए पनि बलात्कारका घटनाहरूमा न्यूनीकरण गर्न सक्छ । कतिपय विशेषज्ञको भनाइ छ, यदि सेक्सुअल डिजायर हुँ मास्टरबेट आदिद्वारा डिजायर शान्त गर्ने हो भने बलात्कारको स्थिति सिर्जना हुँदैन । तर मास्टरबेसनमा पनि मानसिक बलात्कार त भएकै हुन्छ।

(लेखक मनोविद् हुन्।)

प्रकाशित: १२ आश्विन २०७५ ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App