१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

भयावह भान्छा

हाम्रो थालमा दैनिक कस्तो खाना परिरहेको छ? आम उपभोक्ताले सबैभन्दा कम चासो दिएको प्रश्न हो यो। उपभोक्ता आफैं सचेत नभई हाम्रो भान्छामा सुधार आउँदैन। पछिल्ला दिनमा हाम्रो भान्छामा आइरहेका सामग्रीबारे जसरी चिन्ताजनक समाचार सञ्चारमाध्यमले पस्किरहेका छन्, त्यसमा आवाज उठाउने काम उपभोक्ता अधिकारकर्मी र स्वयं उपभोक्ताको यसमा ध्यान नपुगेको महसुस भइरहेको छ। यहाँ अनेकन विषयमा आन्दोलन हुन्छन्। अधिकारमुखी आन्दोलन निरन्तर भइरहन्छन्। भान्छालाई भने अधिकारको रुपमा ग्रहण गर्नै सकिएको छैन। खाद्यान्नको गुणस्तरमा ध्यान नदिइएका कारण आज पैसा तिरेर पनि सर्वसाधारणले रोग आर्जन गरिरहेका छन् । पत्रु सामग्रीकै कारण सर्वसाधारण असाध्य रोगको सिकारसमेत हुन थालेका छन्। क्यान्सरजस्तो घातक रोगको कारण तरकारी तथा खाद्यान्न उत्पादनमा प्रयोग हुने कीटनाशकलाई मानिएको छ। क्यान्सरका रोगीहरूमाथि गरिएका प्रारम्भिक अध्ययनले समेत यो तथ्य उजागर गरिसकेका छन्। राजधानी उपत्यकामा मात्र होइन, प्रायः अधिकांश सहरी क्षेत्रमा सर्वसाधारण विभिन्न रोगको सिकार भएका छन्। यी सबै हुनुका पछाडि खाद्यान्नको गुणस्तर मुख्य कारक हो। खाद्यान्नमात्र होइन, सरकारी निकायबाट वितरण हुने पानीको गुणस्तर पनि त्यत्तिकै घटिया स्तरको छ। यसबाहेक सरकारी दुग्ध विकास संस्थानबाट वितरित दूधमा समेत अखाद्य वस्तु फेला परेको तथ्य सार्वजनिक भइसकेको छ । दूधको ‘तर’ पहुँचवालाकहाँ पु-याएर सर्वसाधारणलाई अस्वस्थकर सामग्री वितरण गर्नेमा सरकारी संस्थान नै जिम्मेवार भएपछि निजी क्षेत्रबाट सञ्चालित डेरीप्रति कति भर पर्न सकिएला ? नियामक निकायको कमजोरीको सिकार समग्र मुलुकका उपभोक्ता भइरहेका छन्। यस्तो बेथितिबाट बच्न पनि सर्वसाधारण उपभोक्ताले आफूलाई सचेत तुल्याउनुपर्ने अवस्था छ।

उपभोक्तामाथि अहिले मूल्य र गुणस्तर दुवै हिसाबले ठग्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। महँगो र विषादीयुक्त भान्छाले सर्वसाधारणको जीवन जर्जर बनाएको छ, सबैलाई चेतना होस्।

उपभोक्ता दोहोरो मारमा परेका छन् । एक, उनीहरू अनियन्त्रित बजारको सिकार भएका छन् । अर्कोतिर तिनले उपभोग गर्ने सामग्री न्यून गुणस्तरको छ । बजेट आउनेबित्तिकै अनायासै बजार भाउ अकासिन्छ । तर, त्यसलाई नियन्त्रण गर्न सरकारी संयन्त्र असफल छ । बजारमा गुणस्तर कम भएका सामग्रीको निर्बाध प्रवेश भए पनि सर्वसाधारणले केही गर्न सक्दैनन् । बजार अनुगमन गर्ने सरकारी निकाय मौसमी अनुगमनमा सक्रिय हुन्छन् । तिनको उद्देश्य बजारलाई व्यवस्थित गर्ने हुँदैन बरु त्यसलाई उपयोग गरी आफ्नै खल्ती भर्नेतिर तिनको ध्यान हुने गरेको देखिएको छ । त्यस्तो हुँदैनथ्यो भने प्रत्येक पटकको अनुगमनमा किन एउटै किसिमको स्थिति देखिन्छ ? होटल तथा रेस्टुरेन्टले कुहिएका तथा सडेगलेका सामग्री बेचिरहेका हुन्छन् । अझ दिनुपर्नेजति परिणाम तिनले दिएका पनि छैनन् । बोतलको पानीका लागि उपभोक्ताले महँगो मूल्य तिर्छन् तर त्यसको गुणस्तरमा जहिल्यै प्रश्न उठेको छ । दूधमा अनेकन अखाद्य सामग्री मिसाइएको समाचार जहिल्यै आउँछ । तर, त्यसलाई नदोहोरिने गरी सुधार गर्नुपर्ने आवश्यकता महसुस कहिल्यै भएन । सरकारी संस्थानबाट उत्पादन भएका सामग्री त कमसेकम उपभोक्ताले ढुक्कसँग उपभोग गर्ने अवस्था हुनुपर्ने हो। तर, त्यो हुन सकेन । यस्तो अवस्थामा सुधार गर्नुपर्ने दायित्व सरकारकै निकायको हो । तर, सरकारी निकाय ‘श्राद्धमा बिरालो बाँध्ने’ शैलीमा क्रियाशील भएको पाइन्छ । उपभोक्ताले दैनिक उपभोग गर्ने तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट सबै गुणस्तरहीन भेटिएका छन् । सरकारकै गुण नियन्त्रण विभागले दिएको प्रतिवेदनमा मात्र पनि ध्यान पु¥याएको भए स्थिति यति भयावह हुने थिएन।

दक्षिण एसियाका मुलुकमध्ये हाम्रो देश सबैभन्दा महँगीको चपेटामा परेको छ। एउटा सामान्य कमाइ भएको व्यक्तिले आफ्नो जीवन धान्नै नसक्ने अवस्था छ । छिमेकी भारतमै पनि सामान्य आय भएका व्यक्तिलाई बजारको निर्दयी अवस्थाबाट जोगाउन आवश्यक प्रक्रिया अपनाएको देखिन्छ। हामीकहाँ भने बजारमा खानै नहुने खाद्य वस्तु महँगोमा बेच्दा समेत कुनै ध्यानाकर्षण हुँदैन। हाम्रा धैर्यशील नागरिककै कारण यस्तो विषम परिस्थिति पैदा भएको छ । जसले जति मूल्य तोके पनि सहजै स्वीकार्ने र गुणस्तरको विषयमा ध्यानै नदिने अहिलेको उपभोक्ता प्रवृत्तिमा परिवर्तन आवश्यक छ। आधुनिक बजारले उपभोक्तालाई ‘राजा’ मान्छ । तर, हामीकहाँ उपभोक्ता सबैभन्दा कमजोर अवस्थामा छन्। यस्तो अन्यायपूर्ण तरिकाबाट पनि बजार चल्न सक्छ ? कुनै बेला हाम्रो समाजमा अरुलाई ठग्नुहुन्न भन्ने बलियो मान्यता रहन्थ्यो । त्यसैका आधारमा सकेसम्म धर्म भाकेर मानिसले काम गर्ने गर्दथे। कतै नजानेर ठगियो भने पनि त्यसबाट मुक्त हुन उनीहरूले विशेष ध्यान दिन्थे। अहिले बजारमा उपभोक्तालाई जति ठग्न सक्यो त्यति नै सम्बन्धित व्यापारी वा आपूर्तिकर्ता मालामाल हुने अवस्था छ। बजारलाई यति निर्मम बनाउने अहिलेको प्रवृत्तिमा कतै न कतै रोक लाग्नुपर्छ। आफूले उत्पादन गरेको र बेचेको सामग्री गुणस्तरयुक्त होस् भन्नेमा सम्बन्धित उत्पादक र आपूर्तिकर्ताको चासो बढी हुनुपर्ने हो। उनीहरूमा जिम्मेवारी बोध हुँदैन भने कानुनी हिसाबले पनि नियन्त्रण गर्ने व्यवस्था हुनुपर्छ। उपभोक्तामाथि अहिले मूल्य र गुणस्तर दुवै हिसाबले ठग्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। महँगो र विषादीयुक्त भान्छाले सर्वसाधारणको जीवन जर्जर बनाएको छ, सबैलाई चेतना होस्।

प्रकाशित: ४ असार २०७५ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App