१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

ट्रम्प–किम वार्ताको सन्देश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच एसियाली सामुद्रिक टापु मुलुक सिंगापुरमा सम्पन्न पहिलो वार्ताले कोरियाली प्रायद्वीपमा आणविक निःशस्त्रीकरणको दिशामा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ। किमले ट्रम्पसँगको वार्ताको अन्त्यमा सहमतिपत्रमा हस्ताक्षर गरी निःशस्त्रीकरणको दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यी दुई नेताबीच रद्द भइसकेको वार्ताले पुनः औपचारिकता पाएको हो। एकपटक रद्द भइसकेको वार्ता पुनः चालू गर्न दुवैतर्फबाट भएका कूटनीतिक प्रयासलाई यो  सफलताको श्रेय जान्छ। उत्तर कोरियाली नेतासँग अमेरिकी राष्ट्रपति ट्रम्पको जुन तीव्र गतिका साथ सिंगापुरमा वार्ता भयो, यसलाई अहिलेको ‘अत्यन्तै ठूलो कूटनीतिक घटना’ का रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चित्रण गरेका छन्।

हजुरबा किम इल सुङ र पिता किम जोङ इलले आफ्नो जीवनकालमा गर्न नसकेको कूटनीतिक अभ्यास अहिले नेता उनले गरेका छन्। एउटा तानाशाही मुलुकको ‘सन्की’ शासकका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रले चिनेका किमले यथार्थमै उच्च कूटनीतिक चातुर्य प्रदर्शन गरेका छन्। संसारकै निम्ति यो अनौठो घटनाका रूपमा चित्रित मात्र भएको छैन, यसले ट्रम्पको छवि निर्माणमा समेत मद्दत गर्ने देखिएको छ।

कोरियाली युद्धपछि कुनै पनि अमेरिकी राष्ट्रपतिसँग यसरी समझदारीपत्रमा हस्ताक्षर त के भेटघाटसमेत हुन सकेको थिएन। किमका लागि सम्पूर्ण सुरक्षाको प्रत्याभूति र कोरियाली प्रायद्वीपमा आणविक हतियारमुक्त गर्ने सहमतिले सकारात्मक परिणाम प्राप्त गर्ने अपेक्षा गरिएको छ।

ट्रम्पलाई अमेरिकाको इतिहासमै सबैभन्दा अवाञ्छित राष्ट्रपतिका रूपमा लिइएको छ। राष्ट्रपतिले राख्ने धारणा, काम गराइ र स्वतन्त्र प्रेसलगायत लोकतन्त्रका संस्थालाई बेवास्ता गर्ने ट्रम्पको व्यक्तित्वलाई धेरै अमेरिकीले नरुचाएको अवस्था छ। तर, उत्तर कोरियाली नेतासँग सीधा वार्तामा बस्ने आँटले भने ट्रम्पलाई साँच्चिकै आँटिला र भनेको कुरा पु-याउने नेताका रूपमा स्थापित गरेको छ। सैद्धान्तिक रुपमा अमेरिका र उत्तर कोरिया अझै युद्धकै अवस्थामा छन्। उत्तर कोरियालाई अमेरिकाले कूटनीतिक मान्यतासमेत दिएको छैन। यस्तो स्थितिमा पनि दुवै देशका झन्डा राखेर व्यवस्थित रूपमा समान हैसियत साथ वार्तालापमा सरिक गराएर अमेरिका र उत्तर कोरिया दुवैले कूटनीतिमा असम्भव भने केही पनि नरहेको सन्देश दिएका छन्।

यो कूटनीतिक घटनाबाट नेपालले पनि सिक्न सक्छ। दुई ठूला मुलुक भारत र चीनबाट घेरिएर रहेको नेपालका सीमालगायतका द्विपक्षीय र बहुपक्षीय विवाद छन्। तिनलाई समाधानतर्फ लैजान नेपालले दुवै देशसँग उच्च कूटनीतिक पहल गर्न सक्छ। देशको आकार र अर्थतन्त्र ठूलो हुनसक्छ, तर सार्वभौमसत्ताका हिसाबले सबै देशको हैसियत समान हो। यो स्थितिमा सम्बन्धित देशका नेताले खेल्नसक्ने कूटनीतिक भूमिकाले त्यो देशको महत्ता बढाउन मद्दत गर्छ।

धेरै ठूलो जनधनको क्षतिपछि पनि वार्ता र संवादको अपरिहार्यता हुन्छ। तर, क्षति हुनुपूर्व नै यस्ता संवाद प्रक्रियाबाट समस्या समाधान निकाल्न सक्नु बुद्धिमान नेतृत्वको भूमिका रहन्छ। कोरियाली प्रायद्वीपको शान्ति पनि यस क्षेत्रको यस्तै एउटा अपेक्षित कार्य हो । खासगरी उत्तर र दक्षिण कोरियामा विभक्त यी दुई मुलुकमा छुट्टिएर रहेका नागरिकको पुनर्मिलनको प्रश्न पनि आफ्ना ठाउँमा छ। यी दुई मुलुकबीचको समस्या त्यतिमै सीमित छैन । उत्तर कोरियाले यसबीच गरेको आणविक परीक्षणले जापान, कोरिया, अमेरिकालगायतका मुलुकको सुरक्षा चासोसमेत बढाएको छ । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम विस्तार नगर्ने विश्वास दिलाएपछि यस किसिमको कूटनीतिक अभ्यास अघि बढेको हो । तर, बीचबीचमा उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिइरह्यो । अहिले पनि उसले सहमति भएका विषयलाई कति कार्यान्वयनमा लैजान्छ भन्ने पक्ष त्यतिकै उत्सुकतापूर्ण छ।

त्यति मात्र होइन, ३० को दशकका उत्तर कोरियाली नेता किमको कूटनीतिक चातुर्यसमेत यसबीच प्रकट भएको छ । उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनसँग हालै दुई देशबीचको गैरसैनिक इलाका पान्मुन्जोममा भएको भेटवार्तामा देखाएको उच्च कूटनीतिक मर्यादा र ‘बडी ल्याङ्वेज’ लाई समेत लिएर उनको प्रशंसा भएको थियो । ट्रम्पसँगको वार्ताअघि पनि उनले चीनसँग निरन्तर वार्ता अघि बढाएको देखिएको छ । भित्री रुपमा उनको यो कूटनीतिक पहलमा चीनको भूमिका रहे पनि किमले निरन्तर ट्रम्पको प्रशंसा गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि उत्तर कोरियाली नेता किमको व्यवहार र ‘बडी ल्याङ्वेजको पनि उत्तिक चर्चा भइरहेको छ। दुवैले हात मिलाएको, आपसमा मुस्कुराएको र एकअर्कालाई गरेका इसाराको पनि प्रशंसा भइरहेको छ । किमले बोलिसकेपछि ट्रम्पले दहिने हातको बूढीऔंला उचालेर गरिएको ‘थम्स अप’ पनि वार्तापछि सोमबार विश्वभर चर्चाको विषय रहेको छ।

ट्रम्पले किमको शरीरमा अर्को हातले थप्थपाएजसरी किमले पनि पछि त्यसै गरेका छन् । अझै तानाशाही व्यवस्था रहेको उत्तर कोरियाको मानवअधिकारका बारेमा ध्यान नपु-याएकोमा भने अमेरिकी राष्ट्रपतिको आलोचना पनि भइरहेको छ। ट्रम्पले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भूमिका खेलेका आधारमा नोबेल पुरस्कार पाउन यी सबै गरिरहेको टिप्पणी पनि नभएका होइनन्।

कोरियाली प्रायद्वीपमा हुने शान्तिले अमेरिकाको बजेट जोगाउने र आफ्ना सेना फिर्ता ल्याउनसमेत सहज हुने ट्रम्पले दाबी गरिसकेका छन् । अमेरिकाले सन् २०१७ मा ८१८ अर्ब अमेरिकी डलर र सन् २०१६ मा ७६१ अर्ब अमेरिकी डलर आफ्नो सेनाका लागि खर्च गरेको छ । यो धेरै ठूलो रकम हो, जुन कोरियाली प्रायद्वीपको तनावका कारण खर्च हुँदै आएको छ। ट्रम्पले निर्वाचनका बेलामा समेत दक्षिण कोरियामा कार्यरत आफ्ना १६ हजार सेना फिर्ता ल्याउने बताएका थिए।

अमेरिकाका निम्ति पनि यस क्षेत्रको शान्तिकार्य आफ्नो बजेट कटौती गर्न सहज बन्ने अवस्था छ । ट्रम्प–किमबीचको वार्तापछि समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । कोरियाली युद्धपछि कुनै पनि अमेरिकी राष्ट्रपतिसँग यसरी समझदारीपत्रमा हस्ताक्षर त के भेटघाटसमेत हुन सकेको थिएन। अहिलेको घटना वास्तवमै २१ औं शताब्दीको पहिलो १८ वर्षयताको महत्वपूर्ण घटनाक्रम हो।

सत्तरीको दशकमा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनसँग वार्ता गरी कूटनीतिक सम्बन्ध स्थापित गरेको घटनालाई धेरैले उत्कृष्ट कूटनीतिका रुपमा लिन्छन्। त्यसैगरी तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र रुसी राष्ट्रपति मिखाइल गोर्भाचोभबीचको भेटलाई पनि उत्तिकै महत्वका साथ लिइन्छ । रेगनले बर्लिन पर्खाल भत्काउन आग्रह गर्दै सन् १९८७ मा गरेको भाषणमा भनेका थिए– ‘मिस्टर गोर्भाचोभ टियर डाउन द वाल।’

ट्रम्प–किम वार्ताले इतिहासका यी महत्वपूर्ण कूटनीतिक स्तम्भलाई सम्झना गराएको छ । किमका लागि सम्पूर्ण सुरक्षाको प्रत्याभूति र कोरियाली प्रायद्वीपमा आणविक हतियार मुक्त गर्ने सहमतिले सकारात्मक परिणाम प्राप्त गर्ने अपेक्षा गरिएको छ। हिउँदे ओलम्पिकमा किमकी बहिनी किम यो योङको दक्षिण कोरियामा सहभागितापछि अहिलेको कूटनीतिक चरणसम्म उत्तर कोरियाले निरन्तर भूमिका निर्वाह गरेको छ । यसमा अमेरिकी कूटनीतिक व्यक्तिहरूको पनि त्यस्तै सक्रिय भूमिका रहेको छ।

उत्तर कोरियाजस्तो एउटा रुग्ण आर्थिक अवस्था भएको मुलुकले आणविक शक्तिको विस्तारका कारण आजको कूटनीतिसम्म आइपुग्न सफलता पाएको छ। कुनै पनि मुलुकले विज्ञान÷प्रविधि र आणविक विस्तारले शक्तिराष्ट्रको कोटीमा पुग्ने अवसर पाउने रहेछ भन्ने सन्देशसमेत दिएको छ । यो कूटनीतिक प्रयासले यथार्थमै परिणाम दिन सक्यो भने यो क्षेत्रकै आर्थिक विकासका निम्ति समृद्धिको ढोका खुल्ने निश्चित छ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App