१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

नाम लिक्वानको, काम क्वाँकको!

प्रधानमन्त्री केपी ओलीले मंगलबार विश्व वातावरण दिवसको उपलक्ष्यमा सिंहदरबारमा लिची र एभोकाडोका दुईवटा बिरुवा रोपेपछि देशलाई नै फलफूलमय बनाउने अभियान सुरुभएको दाबी गरेका छन्। तर ओलीले बिरुवा रोपिरहेको बेला उनकै आसेपासेले हजार फिट अग्लो ओलीको कदलाई डेढफुटमा झारिदिएका छन्। लाग्दैछ, ओलीलाई चाकरबाजहरूले यसैगरी डेढफुटको लिची र एभोकाडोको बिरुवाजस्तै गरी झार्दै लैजान सकेभने चाँडै नारायणहरि बनाइदिनेछन्।

समृद्ध नेपाल, सुखी नेपालीको सपना देखेर त्यसै अनुकूल अगाडि बढ्न हौसिएका ओली पछिल्लो समय वरिपरि चक्कर काट्नेहरूको चक्रव्यूहमा पर्दैगएको देखिएको छ। तर क्वाँकको बुद्धिमा ओली जस्ता तीक्ष्ण व्यक्तिके कारणले चल्न थालेका हुन्? मंगलबार डेढ फिटका बिरुवा रोप्दा देखिएको तामझामले नेपाललाई फलफूलमय बनाउने ओलीको ऐलानमा कत्ति सामञ्जस्य देखिएन। के प्रधानमन्त्री ओलीको भाषणलाई सिंहदरबारभित्र रोपिएका डेढफिटका बिरुवाले धान्न सक्छन्?के लिची काठमाडौँको चिसो तापक्रममा सप्रिने बिरुवा हो? कदापि होइन, किनभने लिची न्यानो तापक्रममा हुर्कने र फल्ने बिरुवा हो। तर ओलीजस्ता स्वप्नदृष्टि भएका प्रधानमन्त्रीलाई चाकरबाजहरूले यसरी रिंगाइदिन सक्ने हैसियत राखेको देखियो कि चाँडै ओलीलाई खाल्डामा जाके भने आश्चर्य नमाने हुन्छ।

सबैले आशा गरेको राजनेताले विशेष पास लिएर मात्र जान पाउने, सेनाले सुरक्षा गरेको संवेदनशीलक्षेत्रमा डेढ फिटका दुईवटा बिरुवा रोपेर अहिलेको नेपालका चुनौतीहरूलाई सहजै शिक्षा, ज्ञान र अनुभवप्रदान गर्न सक्छ? ओली पक्कै राजा–महाराजा होइनन्। उनी त जनताको अत्यधिक मत पाएर चुनाव जितेका लोकप्रिय नेता हुन्। विश्ववातावरण जस्तो महत्वपूर्ण दिनमा उनले गरेको कामले जुगजुगसम्म स्मरण मात्र होइन, योगदानसमेत दिने कामको सुरुवात गर्न सक्नुपथ्र्याे। तर डेढ फिटका दुईवटा बिरुवा रोप्न पाँचसय व्यक्तिलाई वरिपरि लगाएर सिंहदरबारमा मञ्चन गरिएको नाटक रिट्ठो नबिराइ हेरियो।

यत्रो अन्तर्राष्ट्रिय उत्सवमा दुईवटा बिरुवा रोपेर हुन्छ के? सातै प्रदेशमा बगैँचा बनाउन प्रदेश सरकारहरूलाई उत्साही बनाउनुपर्ने  होइन ?कमसेकम दश हजार बिरुवाको बगैँचा तयार पार्ने गरी बिरुवा रोप्ने सुरुवात गर्नुपर्ने होइन? अनि,डेढ फिटका दुईवटा बिरुवा रोप्दा वरिपरिका तीन तिघ्रेले एक जग पानी हाल्न तँछाड मछाड गरेर देखाउन खोजेको के? दुईवटा बिरुवा रोप्न वरिपरि उभिने पाँचसय मानिस बेरोजगार हुन्? गरिब जनताले तिरेको राजस्वबाट तलब खानेहरूलाई किन वरिपरि लगाएको?

किसानको खेतबारीमा गएर प्रधानमन्त्री ओलीले बिरुवा रोपेर नमुना बगैँचाको सुरुवात गरेको भए के हुन्थ्यो होला? अनि यस्तो तस्बिरलाई महत्व दिएर प्रकाशित गर्ने? सरकारी मिडियाको दुरुपयोग गर्ने? हजार बोट हुर्काएर फलफूल फलाएको दूरदराजको किसानको कहिल्यै यसरी तस्बिर खिचेर मिडियामा देखाइएको छ? प्रधानमन्त्री कहिल्यै यस्ता कर्मशीलको खेतबारीमा गएर तिनलाई प्रोत्साहित गरेका छन्?

महेश्वर रंजीतकारले केही वर्षअघि नेपालमा फलस्रोतको सम्भावना जलस्रोत जत्तिकै रहेको बताएका थिए। त्यतिबेलै उमेरले अधबैँसे यी उद्यमी नेपाल सरकारलाई धेरै वर्षदेखि जंगली फलफूल प्रयोग गरेर कर तिरिरहेका एक अग्रणी व्यवसायी हुन्।

समाजमा दिनदुईगुना रात चौगुना खपत भइरहेको र नेपालका ठूला सहर र बजारलाई  एकछत्र कब्जा गरिरहेका विदेशी महँगा वाइनलाई विस्थापित गर्न यी रंजीतकार दिलोज्यानले लागेका हिंग्वा वाइन उत्पादक हुन्। यी नेपालका प्रथम हर्टिकल्चरिस्ट सत्यलाल रंजीतकारका छोरा पनि हुन् । सत्यलाल भनिरहन्थे, नेपालमा अनगन्ती किसिमका फलफूल उत्पादन हुन्छ । जसका विभिन्न खाद्यान्न बनाएर जीवनभर प्रयोग गरिरहे।

उनको विचारमा सहमति जनाउँदै आफ्ना कुरा राखे डा. धनपति न्यौपानेले। उनी भन्छन्, नेपालका फलफूलबाट बनेका कुनै पनि पदार्थ विश्वकै ‘हाइभ्यालु प्रडक्ट’ हुन्। किनभने हाम्रो जल, जंगल, जमीन र मौसममा उत्पादन भएका वस्तुहरू उत्कृष्ट मिनरल खाएर बनेका हुन्, विदेशीको जस्तो रासायनिक र फाल्तुवस्तुहरू खुवाएर खोरमा पालेका ब्वाइलर कुखुराजस्ता होइनन्। भर्जिन फर्ममा उत्पादित, प्रकृतिको हावा, पानी, सूर्यको किरण, हिउ–असिनाले धोइएर रमाएर उत्पादित अमृत पो हुन् त। यही हो हाम्रो उत्पादन– मेडइन नेपाल, जो संसारमै हाइभ्यालु मानिन्छ । किनभने यिनमा एल्कोलोइट, क्लोलिफिनोस, एन्टिअक्सिडेन्ट, मेडिकेटेड सब्सटेन्स हुन्छ, जसले वृद्ध र बिरामीहरूलाई पनि सक्रिय बनाउने तागत राख्छ।

प्रधानमन्त्रीको मंगलबारे चालाले न उत्पादकत्व कहिल्यै बढ्छ, नत फलफूलमा देश आत्मनिर्भर नै हुनसक्छ ! मंगलबार रोपिएको बिरुवा, रोप्ने शैली र तरिकाले भक्तपुरमा फलेको काउलीलाई हेलिकोप्टरमा हालेर सुर्खेत पु-याएर रोपेपछि राजा वीरेन्द्रले काउली उत्पादन यस्तो पो हुनुपर्छ भनेर भोलिपल्ट गरेको उद्घाटनभन्दा कुन मानेमा विश्ववातावरण दिवसको कार्यक्रम भिन्न थियो ? ओली, बेलैमा आफ्ना कामहरूको पुनरावलोकन गर!

ओली जस्तो छिमेकी भारतका शक्तिशाली प्रधानमन्त्रीलाई नेपालमाथि लगाएको नाकाबन्दीमा गलत साबित गर्न सक्ने छविलाई उनकै हनुमानहरूले जसरी भुइँमा पछारेका छन्, तिनलाई सर्वसाधारणले कोटीकोटी नमस्कार मात्र गर्न सक्छन् । क्यावात्, खुब ग-यौ ढेडुहरू!

आफ्नो कार्यकाललाई साँच्चिकै सफल बनाउन चाहन्छौ भने हे ओली, आइन्दा यस्ता गल्तीहरू कुनै हालतमा नदोहो-याऊ। फुकीफुकी चल। बुद्धिजीवी, विशेषज्ञ र विषयविद्को योजना र कार्यक्रममा छलफल गरेर मात्र अगाडि बढ। राणाले रोपेका खरीका बोटले पनि सय वर्ष आयु पाएको इतिहास छ तर तिमीले हनुमानको लहैलहैमा रोपेका डेढ फिटका बिरुवालाई कसले पानी हाल्ने? कसले गोडमेल गर्ने ? कसले यो प्रधानमन्त्रीले रोपेको बिरुवा भनेर चिनाउने?

तिमीले यी बिरुवा रोप्नुको खास सन्देश भनेको यी बिरुवा यस्तो गुणले युक्त हुन्, यी यसरी फल्छन्। देश, जनता र किसानले यसवाट यति फाइदा पाउन सक्छन् भनेर आकर्षित गराउने हो । यी बिरुवाका यीयी गुण भएकाले कसले खान हुन्छ र कसले खान हुन्न भन्ने जानकारी सर्वसाधारणलाई दिने पनि हो । यी बिरुवाको उत्पादनबाट यी खाद्य र पेय पदार्थ बन्न सक्छन् भनेर जनतामा सचेतता भर्ने पनि हो।

त्यसैले तिमीले जे बिरुवा रोप्छौ, ओली त्यसको आद्योपान्त जानकारी दिने पुस्तिका पनि त्यति नै बेला देशव्यापी रूपमा वितरण गर्नुपर्छ । कुनै पनि बिरुवा रोप्दा त्यसमा मल कसरी हाल्ने ?कति गहिरो खन्ने हो? त्यो तिमीले बिरुवा रोप्दा सहज ढंगमा गरेर देखाउनु पनि पर्छ । यसका लागि तिमीले डोकोमा मल बोकेर ल्याएको भए किसानले पनि त्यसैगरी मल बोकेर हाल्नेछन्।

तर दौरा, सुरुवाल, कोट र टोपी ढल्काएर, पन्जा उनेर रोप्ने र हनुमान र अझ तिम्रा सुरक्षामा खटिएकाले पानी समेत बोकेर चाकरी गर्ने नाटक प्रर्दशन गरेर तिमीले हाल्यौ। हे ओली,यसको नकारात्मक सन्देश प्रवाहित भएको छ । यो कुरा बुझ र मनन गर । यसको असर टिभीमा लाइभ हेरिरहेका सर्वसाधारणहरूमा के परेको होला?

त्यसैले तिमीले गर्ने हरेक काम जो सार्वजनिक रूपमा प्रसारण र प्रकाशन हुन्छन्, त्यसबारे तिमी सचेत हुनैपर्छ। त्यसको के असर पर्छ भनेर तिमीले अगाडि नै अनुमान लगाइसक्नु पर्छ । होइन भने त्यो गाईजात्रा मात्र हुन्छ र त्यसको केन्द्रीय पात्र तिमी मात्र हुनेछौ, चाकरबाजहरू होइनन्।

डा. सूर्य पाण्डेजस्ता कर्मशील वैज्ञानिकले सरकारसँग सुको नलिइकन किबी र ड्रागन फ्रुटमा गरिरहेको अनुसन्धान र त्यो ज्ञान र सीप प्रयोग गरेर देशभर जटिल मौसममा पनि व्यावसायिक उत्पादन गर्न लागेका कर्मशीलहरूको संख्या हजारौँमा पुगिसकेको छ । पाण्डेजस्ता सपुतहरू अरू कहाँकहाँ छन् ? जसका कारण फलफूल बजारमा स्वदेशी उत्पादनले बिस्तारै उपस्थिति जनाइरहेको छ । तर खै पाण्डे र उनीजस्ता काम गरेर सफलता पाइरहेका (मेचीदेखि महाकालीसम्मका कर्मवीरहरू)लाई सरकारले वातावरण दिवसमा सम्मान गर्न सकेको ? यिनीहरू त यस्ता व्यक्तित्व हुन्, जसको तस्बिर देशका हरेक अड्डा, संसद् र स्थानीय निकायमा झुन्ड्याउने सुरुवात हुनुपर्ने थियो विश्व वातावरण दिवस!

तिमी लिची रोप वा सुपारी, केरा रोप वा आँप, कटहर रोप वा भुइँकटहर तर तिमीले दिने भनेको आमजनतालाई खेती गर्न प्रोत्साहन नै हो ! त्यति नै बेला तिमीले जुन जातका बिरुवा रोप्छौ, ती कुन वातावरणमा र कुन प्रदेश वा गाविसमा हुन सक्छ त्यसको उचित जानकारी मात्र होइन, यो बिरुवा यसरी रोपियो, यसरी मलपानी हालियो, गोडमेल गरियो भने यति क्विन्टल वा यति टन फल्छ भनेर विषयविद्हरूको सल्लाहअनुसार मात्र तिमीले बोल्नुपर्छ । र, तिमीले भन्नुपर्छ किसानलाई कि यो लक्ष्य जस्ले पूरा गर्छ, त्यसलाई सरकारले यो र यति सहयोग गर्छ।

योयो फलफूल वा अन्न उत्पादन गर्नेलाई प्राथमिकता तोकेर सरकारले यति सहुलियत दिन्छ भनेर घोषणा गर्नुपर्छ । भनौँ न, उत्पादित फलफूलबाट जामजेली, सर्बत, वाइन बनाउने मेसिन, टेट्रा प्याक किन्न भन्सार छुट दिन्छ । जंगली फलफूल टिप्न जानेको जीवन बिमा गरिदिन्छ । आयकरमा यति सहुलियत दिन्छ जसले विदेशी आयातलाई रोक्न सक्छ । तर जसले राज्यको सहयोग लिएर दुरुपयोग गर्छ त्यसलाई यो यो दण्ड, सजाय र जरिवाना गरिनेछ भनेर स्पष्ट घोषणा गर्नुपर्छ।

नाम सिंगापुरका लिक्यान युको लिने, मलेसियाका महाथिरको लिने अनि काम भने आफू वरिपरि परिक्रमा लगाउने अज्ञानी, अबुझ, अयोग्य, क्वाँक चाकरबाजको लिएर फेरि पनि अगाडि बढ्यौ भने हे ओली तिमी त बदनाम भएर डुब्नेछौ । यसमा कुनै शंका छैन । तर मुलुकलाई लामो समयपछि प्राप्त अवसर भने सदाका लागि गुम्नेछ।

त्यसैले वातावरण दिवस जस्तो अवसरमा वैज्ञानिक योजनासहितको योजनाबद्ध काम र तरिका लिएर तिमीअगाडि देखिएको भए सजिलै उपयुक्त ठाउँमा उपयुक्त दुई चार हजार बिरुवा रोपिन सक्थे ।त्यहाँ भएको उत्पादन सबैका लागि उदाहरणीय त हुन्थ्यो नै, त्यो ठाउँ नै फलफूल उत्पादनको नमुनापनि बन्न सक्थ्यो, देशभरका लागि।

प्रकाशित: २५ जेष्ठ २०७५ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App