१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

धार्मिक अतिवाद

‘सर्वधर्म समभाव’ अर्थात् सबै धर्मप्रति समान भावना राख्ने हाम्रो परम्परा हो। यही परम्पराका कारण हाम्रो मुलुकमा विभिन्न धर्मावलम्बीबीच सद्भावपूर्ण सम्बन्ध रहिआएको छ। धर्मका नाममा अन्य मुलुकमा हुने हिंसात्मक घटनालाई हामीले कहिल्यै आफ्ना निम्ति सान्दर्भिक देखेनौं। मुलुक लोकतन्त्रमा प्रवेश गरेसँगै ‘हिन्दु राष्ट्र’ लाई ‘सेक्युलर’ अर्थात् ‘धर्म निरपेक्ष’ बनाउँदा समेत हामीकहाँ ठूलो बाधाविरोध रहेन। मुलुकमा हिन्दु धर्मावलम्बीको ठूलो उपस्थिति रहँदा पनि त्यस निर्णयप्रति आपत्ति नजनाउनुले हामीबीच सदीयौंदेखि हुर्किदै आएको त्यही महान् परम्परालाई श्रेय जान्छ। तर, पछिल्ला वर्षहरूमा मुलुकको ‘धर्म निरपेक्ष’ नीतिलाई उपयोग गर्दै केही धर्म परिवर्तनलाई तीव्र बनाइएको महसुस भइरहेको छ। राज्यले कुनै एक धर्मविशेषलाई प्रोत्साहन नगरी समान व्यवहार गर्ने नीति लिएको स्थितिलाई उपयोग गर्न केही धर्मविशेषका व्यक्ति सक्रिय हुनु आफैंमा आपत्तिजनक स्थिति हो। कतिपय राजदूतावास र अन्तर्राष्ट्रिय संस्थाहरूले समेत धर्म परिवर्तनलाई आफ्नो अजेन्डा बनाएको तथ्य पनि सार्वजनिक भइआएकै छ। बेलायतका तत्कालीन राजदूत एन्डी स्पार्कसले नयाँ संविधान जारी गर्ने बेला नागरिकको भगिनी प्रकाशन रिपब्लिका दैनिकमा लेख लेखेरै धर्म परिवर्तनको अधिकार दिनुपर्ने माग गरेका थिए। यो विषय विवादमा परेपछि उनी जिम्मेवारीबाट मुक्त हुनुपरेको थियो।

परम्परागत रुपमा घर लिपपोत गर्ने कार्यलाई समेत ‘अपवित्र’ भनी अवाञ्छित व्यवहार गरेका घटनादेखि व्यक्तिलाई जबरजस्ती समातेर लगी क्रिस्चियन बन्न बाध्य बनाएका घटनासमेत सार्वजनिक भएका छन्। एकातिर, यस्तो स्थिति छ भने अर्कोतिर मुलुकलाई पुनः ‘हिन्दु राष्ट्र’ बनाउने अभियानका लागि भनेर एकजना श्रीनिवास नामका ‘धर्मगुरु’ ले आफैंलाई गोली हान्न लगाएको घटना सार्वजनिक भएको छ।

बहुलवादी राजनीतिमात्र होइन, बहुसांस्कृतिक र बहुधार्मिक वातावरणतर्फ मुलुक अघि बढिरहेको भए पनि यसमा अतिवाद भिœयाउने प्रयास विभिन्न कोणबाट भइरहेका छन्। हाम्रै छिमेकी भारतमा समेत धार्मिक अतिवादले सिर्जना गरेका हिंसाका खबरप्रति हाम्रो समाज जानकार छ। अन्य मुलुकबाट हामीले विकास निर्माणका पक्षमा प्रेरणा लिए पनि धार्मिक सद्भावका निम्ति अन्यबाट सिकिरहनु पर्दैन। हामीले आजसम्मका परम्परालाई निरन्तरता दिन सकेमात्र पुग्छ। तर, पछिल्ला दिनमा गाउँगाउँबाट धार्मिक सद्भाव बिगार्ने किसिमको गतिविधि भइरहेका समाचार सार्वजनिक हुन थालेका छन्। पछिल्लो समाचारअनुसार दाङमा धर्म परिवर्तनका गतिविधिले तीव्रता पाएको देखिएको छ। त्यतिमात्र होइन, परम्परागत रुपमा घर लिपपोत गर्ने कार्यलाई समेत ‘अपवित्र’ भनी अवाञ्छित व्यवहार गरेका घटनादेखि व्यक्तिलाई जबरजस्ती समातेर लगी क्रिस्चियन बन्न बाध्य बनाएका घटनासमेत सार्वजनिक भएका छन्। एकातिर, यस्तो स्थिति छ भने अर्कोतिर मुलुकलाई पुनः ‘हिन्दु राष्ट्र’ बनाउने अभियानका लागि भनेर एकजना श्रीनिवास नामका ‘धर्मगुरु’ ले आफैंलाई गोली हान्न लगाएको घटना सार्वजनिक भएको छ। धर्मका नाममा इतिहासमा ठूल्ठूला लडाइँ भएका छन्। तर, समाजमा सभ्यतासँगै धर्मलाई हतियार बनाएर हिंसामा उत्रनु उचित होइन भन्ने स्थापित भइसकेको छ । त्यसमा पनि आफूले आफैंलाई गोली हान्न लगाएर समेत हिंसात्मक गतिविधि बढाई आफ्नो अभीष्ट पूरा गर्न खोजेको घटनाले अतिवाद हाम्रो समाजमा टाउको उठाउने प्रयासमा छ भन्ने देखाउँछ।

समाजमा सबै धर्म, संस्कृति, सम्प्रदाय र व्यक्तिको महत्ता छ। यिनीमध्ये कुनै उत्कृष्ट र कुनै निकृष्ट पनि होइनन्। यी सबै आफैंमा अद्वितीय छन्। यसकारण कसैलाई उपल्लो र कसैलाई तल्लो देखाउनु पनि आवश्यक छैन। हाम्रो मुलुकको पछौटेपनका निम्ति कुनै धर्म, सम्प्रदाय वा संस्कृति जिम्मेवार छैनन्। यसको जिम्मेवारी हाम्रो अव्यवस्थापनले लिनुपर्छ। मुलुक धर्म निरपेक्ष भइसकेको स्थितिलाई उपयोग गर्दै धर्मान्तरण गर्न भइरहेको अहिलेको प्रतिस्पर्धा रोकिनु आवश्यक हुन्छ। कुनै खास धर्मले अरूलाई समाप्त पार्न यस्तै आक्रामक व्यवहार गरेको अन्य कतिपय मुलुकमा गरेको देखिएको÷भोगिएकै छ। त्यस्तै व्यवहार यहाँ हुन थाल्छ भने त्यसमा अवश्यै रोक लाग्नुपर्छ। पछिल्ला वर्षहरूमा नेपालमा धर्म परिवर्तन आक्रामक रुपमा हुन थालेको जनगणनाको तथ्यांकले समेत देखाएको छ। सन् २०११ को जनगणनाअनुसार नेपालमा तीन लाख ७५ हजार क्रिस्चियन रहेकामा अहिले यो बढेर १२ देखि १५ लाख पुगेको अनुमान छ। यो वृद्धि स्वाभाविक हो वा अन्य केही कारण छ ? मुलुकमा भएका सबै धर्मावलम्बीले आफ्नो रीतधर्मको पालना गर्न पाउनु संवैधानिक अधिकार हो। यसको अर्थ धर्म परिवर्तन गर्न पाउनुपर्छ भन्ने होइन। आफ्नो धार्मिक अभ्यासको अधिकार र जबरजस्ती धर्म परिवर्तनप्रति समभाव राख्न सकिन्न।

प्रकाशित: २६ वैशाख २०७५ ०६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App