१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

पासाङ पदचापका २५ वर्ष

नेपाली महिलाले पहिलो पटक सगरमाथामा पाइला टेकेकोमा खुसीयाली कि सगरमाथा टेकेर फर्केकी महिलाको निधनमाचिन्ता ? २५ वर्षअघि नेपाललाई परेको अन्योल हो यो।

२०५० वैशाख १० गते सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरिन् । त्यसअघि सगरमाथाको चुचुरोमा २० महिलाले पाइला टेकिसकेका थिए । तर, नेपाली महिलाले भने पाइला पु¥याउन नसकेको अवस्थामा ३३ वर्षीय पासाङले आफ्ना पदचापलाई चुचुरोमा पुर्‍याइन्।

तर, यो खुसीयालीसँगै पासाङ निधन भएको समाचार फैलियो । जसले नेपाललाई खुसीयाली कि चिन्ताको अन्योलमापु¥यायो । साहस जुटाएर सगरमाथा पुग्ने नेपाली महिला बन्नु आफैँमा खुसीको विषय थियो । ‘नेपाली महिला पनि सक्षम छन्’को सन्देश प्रवाह गरेकी थिइन् पासाङले । तर, उनी आफैँ भने जीवित फर्किन सकिनन् । यो खबरले भने पूरै नेपाल चिन्तित भयो।

जे होस् पासाङले नेपाली महिलामा साहस थपिन् । आफ्नै देशमा रहेको सगरमाथाको चुचुरो पुग्न सकिने उदाहरण प्रस्तुत गरिन् । आज उनको साहसलाई पछ्याउँदै दुई दर्जन बढी नेपाली महिलाले सगरमाथाको चुचुरोमा पाइला टेकिसकेका छन्।

सन् १९७५ मा पहिलो पटक जापानी महिला जुन्को तावईले पाइला पु¥याएयता सन् २०१६ सम्म ३ सय २३ जना महिलाले चुचुरोमा पाइला पु¥याएको तथ्यांक पर्यटन विभागसँग छ । त्यसमा नेपाली महिलाको संख्या भने २३ जना मात्रै छ । सन् २०१७ मा तीन नेपाली महिलाले सफतापूर्वक आरोहण गरेसँगै त्यो संख्या बढेर २६ पुगेको छ।

पासाङ नेपाली महिलाको पाइला चुचुरोमा पु¥याएको वैशाख १० गते अर्थात् सोमबार २५ वर्ष पुग्दैछ । यो अवसरमा उनको नाममा स्थापना भएको पासाङ ल्हामु फाउन्डेसनले २५ औँ पासाङ प्रतिष्ठा रजत दिवस मनाउने तयारी गरेको छ । अर्कोतिर यो अवसरमा फाउन्डेसनले पासाङको तस्बिरलाई समेत चुचुरोमा पु¥याउने अभियानमा छ।

खुसीको कुरा त अर्को छ । पासाङले चुचुरोमा पाइला पु¥याएको २५ वर्षको अवसरमा सबैभन्दा बढी महिला यस पटक सगरमाथा आरोहणको तयारीमा छन् । सोलुखुम्बुकी डोमा शेर्पा, पासाङल्हामु शेर्पा, लाक्पा याङ्जी शेर्पा, याङ्दी शेर्पा, दोलखाकी दाबुटी शेर्पा, छोकी शेर्पा, दादिकी शेर्पा, काभ्रेकी शर्मिला तामाङ, लक्ष्मी तामाङ, संखुवासभाकी दिकी शेर्पा, रोशा बस्नेत, प्रियलक्ष्मी कार्की, कल्पना महर्जन, देउराली चाम्लिङ, रोजिता बज्राचार्य, गोरखाकी फुन्जोसाङ्मु लामा र पूर्णिमा श्रेष्ठ सगरमाथा आरोहण गर्ने तयारीमा छन् । उनीहरू आउँदो सिजनमा सगरमाथा आरोहण गर्नेको लागि सगरमाथातिर लाग्ने क्रममा छन्। यी महिलाले आरोहण जाने भनेर अभियान घोषणा गरेपनि पर्यटन विभागबाट भने सोमबारसम्म ९ महिलाले मात्रै अनुमति लिएका छन् । विभागका अनुसार बाँकी महिलाको अनुमतिका लागि निवेदन आउने क्रममा छ। 

अभियान घोषणा गरेका सबै महिलाले सगरमाथाको चुचुरो चुम्न सफल भएमा सगरमाथा पुग्ने नेपाली महिलाको संख्या त बढ्छ नै । सबैभन्दा बढी महिला सगरमाथा पुगेको वर्षका रूपमा पनि यस पटकलाई लिन सकिन्छ । यसअघि सन् २००८ मा सबैभन्दा धेरै महिलाले सगरमाथाको आरोहण गरेका थिए । त्यो वर्ष विभिन्न देशका २६ महिला चुचुरो पुगेका थिए । त्यसभित्र नेपाली १० चेलीले सगरमाथा पुगेर कीर्तिमान कायम गरेका थिए। 

नेपाली महिलाहरू सगरमाथा पुगेर विभिन्न प्रकारका कीर्तिमान कायम गरेका छन् । पासाङ ल्हामुपछि सन् २००० मा संखुवासभाकी लाक्पा शेर्पाले सगरमाथा चढिन् । पेसागत रूपमा सगरमाथा चढ्न थालेकी लाक्पा वर्षेनि आफ्नै कीर्तिमानलाई तोडिरहेकी छिन् । लाक्पा यस पटक पनि सगरमाथा चढ्दैछिन् । सफल भएमा उनले सगरमाथामा पाइला पु¥याएको नौपटक हुन्छ । अहिलेसम्म सगरमाथामा सबैभन्दा बढी पुग्ने महिलाका रूपमा लाक्पा दरिएकी छिन् । 
सन् २००५ मा चुचुरो पुगेको मनी मुलेपतीले पनि नौलो कीर्तिमान राखिन् । मुलेपतीले चुचुरोमा पुगेर पेम्दोर्जी शेर्पासँग विवाह गरिन् । त्यसैगरी निमा छम्जी शेर्पाले सानो उमेर र छुरिम शेर्पाले हप्तामा दुई पटक सगरमाथा चढेर कीर्तिमान कायम गरिन्। 

रहरका रूपमा सगरमाथा चढ्ने महिलाको पंक्ति लामै छ । यसको तुलनामा पेसागत रूपमा सगरमाथा चढ्ने महिलाको संख्या भने औँलामा गन्न सकिनेछ । नेपालमा माया शेर्पा, दावा यान्जुम शेर्पा, लाक्पा शेर्पा, पासाङ ल्हामु शेर्पा गरेर चार महिला पेसागत रूपमा सगरमाथा चढाउने काममा छन्। 

क्रमिक रूपमा आरोहण पेसामा महिला आउने क्रम बढ्दै गएको २५ वर्षअघि पासाङ ल्हामु शेर्पासँगै सगरमाथाको आरोहणमा गएकी लाक्पा फुटी शेर्पा बताउँछिन् । ‘अहिले महिलाहरू आरोहणमा सक्रिय भएका छन्,’ उनले भनिन्, ‘आरोहण मात्रै होइन्, पेसाकै रूपमा आरोहण गर्नेहरू पनि क्रमिक रूपमा बढिरहेका छन्।’

त्यसो त हिमाल चढ्नेको संख्या पनि बढ्दो छ । विभागका प्रवक्ता रामप्रसाद सापकोटाअनुसार सगरमाथा आरोहणसहित यो सिजनमा ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्न ५५ टोलीबाट ५ सय २८ जनाले अनुमति लिइसकेका छन्। अघिल्लो हप्तासम्ममा विभागबाट सगरमाथा चढ्नका लागि ३ सय १६ विदेशी र २० नेपालीले अनुमति लिएका थिए। उनका अनुसार अनुमतिका लागि निवेदन आउनेक्रम जारी रहेको छ। 

विभागका अनुसार सगरमाथामा यसपटक नयाँ कीर्तिमानसमेत कायम हुनेवाला छ । नेपाली आरोही कामीरिता शेर्पा यसै सिजनमा २२ औँ पटक सगरमाथा आरोहणको तयारी गरेका छन् । अहिलेसम्म आप्पा शेर्पा, फुर्वा ताँसी शेर्पा र कामीरिता शेर्पाले २१ औँ पटक आरोहण गरेका छन् । आप्पा र फुर्वाले भने आरोहण नगर्ने घोषणा गरेपनि कामीरिता २५ औँ पटकसम्म आरोहण गर्ने लक्ष्यसहित २२ औँ आरोहणमा छन् । सन् २०१६ सम्ममा संसारको छानो मानिने सगरमाथामा ५२ सय २ जनाले पाइला पु¥याइसकेका छन् । सन् १९५३ मा पहिलो पटक नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले सगरमाथामा पाइला पु¥याएपछि आरोहण सुुरु भएको थियो।

प्रकाशित: १० वैशाख २०७५ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App