२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

विश्व सामाजिक मञ्च: सीमान्त स्वरको सम्बोधन

विश्व सामाजिक मञ्च, संसारभरका प्रगतिशील अभियन्ता र नागरिक संगठनहरूको साझा आन्दोलन हो। जसले न्यायपूर्ण समाज निर्माणको पक्षमा विकल्प र ठोस संघर्षको प्रस्ताव गर्छ। जताततै र सबैजसो क्षेत्रमा हावी हुँदै आएको कर्पोरेट (कु) विकासको विकल्पमा छलफल गर्छ। मञ्चले शिक्षा, स्वास्थ्य जस्ता सेवाहरूको निजीकरण, सैन्यवाद र साम्राज्यवादको विरोध गर्छ।

सामाजिक न्याय र समानताको पक्षमा वैकल्पिक विचारमा बहस गर्न, प्रस्तावहरू तयार गर्न र मानव जातिको वर्तमान संकटका लागि वैकल्पिक समाधान खोज्न ठाउँ दिन्छ।

विश्व तहमा सामाजिक न्याय, वातावरणीय दिगोपना र शान्तिपूर्ण सहअस्तित्वका मुद्दालाई सम्बोधन गर्न जोड दिन्छ। यसको १६ औं संस्करण आज फागुन ३ बाट काठमाडौँमा सुरु हुँदैछ। विश्व सामाजिक मञ्च, न्यायपूर्ण र समतामूलक संसार निर्माणको आन्दोलन हो। जुन अर्को न्यायपूर्ण विश्व सम्भव छ भन्ने विश्वासमा आधारित छ।

सामाजिक अन्याय र असमानताहरू संसारभर बढ्दै गइरहेका छन्। उत्पादनका प्रमुख साधन र सम्पत्ति औँलामा गन्न सकिने थोरै व्यक्तिको कब्जामा केन्द्रीकृत हुँदै गएको छ। जसका कारण राजनीति र सम्पूर्ण अर्थव्यवस्था नियन्त्रण गरिरहेको छ।

चरम असमानताले गरिब विशेषतः भूमिहीन, साना किसान, महिला, बालिका, अपाङ्ग भएका व्यक्तिहरू कडा परिश्रमका बाबजुद आधारभूत अधिकारबाट समेत वञ्चित छन्। धनी र गरिबबीचको खाडल गहिरिँदै गएको छ। झण्डै एक अर्ब मानिस हरेक रात भोकै सुत्छन्।

कृषि एवं खाद्य उत्पादनमा कर्पोरेट शक्तिको बढ्दो हस्तक्षेप, जलवायु संकट र प्राकृतिक स्रोतमा अनुचित पहुँचले भोकमरी बढाएको छ। कृषिमा सबभन्दा बढी काम गर्ने र खाद्यान्न उत्पादन गर्ने महिला किसान र श्रमिक नै भोकमरी खेप्न बाध्य छन्। यसले आर्थिक र लैङ्गिक असमानतालाई व्यापक हिसाबले गहिराउँदै लगेको छ। बढ्दो भोकमरीमा जलवायु संकटले अझै चुनौती थपेको छ। गरिब समुदायको बाँच्ने पहिलो आधार जल, जमिन, जंगल र ऊर्जा स्रोतबाट वञ्चित हुँदै गएका छन्।

आज सामाजिक न्याय, जनस्वास्थ्य, किसानमुखी भूमि–कृषि व्यवस्था, प्रकृतिमैत्री विकासको बाटो र लोकतान्त्रिक सुशासन संसारभर नै छलफल र बहस भइरहेको विषय हो।

वर्तमान विश्व व्यवस्थाको कमजोरी र मूलधारे विकास अवधारणा र अभ्यासमा रहेको आधारभूत खोटहरू औल्याउँदै प्रकृतिमैत्री एवम् सामाजिक न्यायलाई सुनिश्चित गर्ने दिगो विकासको बाटो अपनाउनुपर्नेबारे आवाज यत्रतत्र उठिरहेको छ। तर त्यसको उचित सम्बोधन हुन सकेको छैन। यो विश्व सामाजिक मञ्च पनि यसैको विश्वव्यापी प्रयास हो।

अन्य मुलुकमा झैँ नेपालमा पनि कथित नवउदारवादी विकासको मोडलले धनी अझै धनी र गरिब झन् गरिब बन्दै गइरहेका छन्। खासगरी भूमिहीन, कृषि श्रमिक, मजदूरहरू स्वतन्त्र जीवन जिउनबाट वञ्चित छन्।

आफ्ना कुनै दोषबिना आवास, रोजगारी, स्वास्थ्य सेवा, शिक्षा, पोषण जस्ता आधारभूत सुविधाबाट वञ्चित छन्। यो परिवेशमा सामाजिक न्यायको सवाल झन् महत्त्वपूर्ण बन्दै गइरहेको छ।

सामाजिक न्याय भनेको समाजमा रहेका कुनै एक कुलीन वर्गको मात्र नभएर सबै प्रकारका व्यक्तिका स्वतन्त्रता, अधिकार सुनिश्चित गर्नु हो। अवसरहरूमा समान पहुँच कायम गराउनु हो।

नेपालको संविधानले समानता, समावेशिता, मर्यादित जीवनलगायतका विषयलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको छ। तर व्यवहारमा भने यसको प्रभावकारी कार्यान्वयन भएको छैन्। तसर्थ यो सामाजिक मञ्चले नेपाल र विश्वभर नै नागरिकका आधारभूत अधिकार प्रत्याभूतिका लागि सशक्त दबाब सिर्जना गर्न सक्नुपर्छ।

सामाजिक न्यायसँग जोडिएको महत्त्वपूर्ण विषय भनेको मानिसको पहिचान र अस्तित्व पनि हो। अस्तित्व, पहिचान भनेको गरिबको पनि हुन्छ। मजदूरको पनि हुन्छ। भूमिहीन सुकुमबासीको पनि हुन्छ।

सबैको पहिचान र अस्तित्वको सम्मान हुन आवश्यक छ। जसको शक्ति उसको भक्ति भन्ने नीति मानवोचित होइन। गरिब र वञ्चित जनताप्रति अपहेलना र विभेद होइन, उनीहरूलाई त्यो अवस्थाबाट उँभो लगाउने प्रयास जरुरी छ।

विगत लामो समयदेखि नै विश्वभर न्याय, स्वतन्त्रता र समानताको पक्षमा आवाज उठिरहेका छन्। अन्याय, अत्याचार, शोषण, उत्पीडन, थिचोमिचो र भ्रष्टाचारको विरोध भइरहेको छ।

विभिन्न आन्दोलन भइरहेका छन्। तर यी आन्दोलन अझै सशक्त बनाउनु जरुरी छ। संसारभर भएका न्याय, समानता र लोकतन्त्रका आन्दोलन अझै बलियो बनाउन आवश्यक छ। त्यसतर्फ पनि काठमाडौँमा हुने सामाजिक मञ्च कोशेढुंगा बन्नुपर्छ।

विकास दिगो हुनुपर्छ। विकासले व्यक्ति, परिवार, समाज, विश्व मानवता र प्रकृतिलाई न्याय दिनुपर्छ। दिगो विकासको चुरो भनेकै सामाजिक न्याय र प्रकृतिप्रति न्यायको सुनिश्चितता हो। उत्पीडनकारी सामाजिक सम्बन्धहरू यथावत राखेर दिगो विकास सम्भव छैन।

यदि त्यो समावेशी र समतामूलक भएन भने आर्थिक वृद्धि हुँदैमा त्यो दिगो हुँदैन। समतामूलक भूमि सुधार र जैविक विविधतायुक्त पर्यावरणीय कृषि प्रणाली दिगो विकासको महत्त्वपूर्ण आधार हो।

सार्वभौम नागरिकमा अन्तरनिहित शक्ति नै सकारात्मक सामाजिक परिवर्तनको मुहान हो। मानव समाजका विभिन्न आवश्यकता पूरा गर्न र सामाजिक सम्बन्धहरूको व्यवस्थापन गर्नका लागि ऐतिहासिक रूपमा राज्य वा सरकारी संस्थाहरू, बजार वा नाफामुखी निजी क्षेत्र लगायत गैरनाफामुखी, स्वतन्त्र तथा सामुदायिक नागरिक सङ्गठनहरूको उद्भव र विकास हुँदै आएको छ। यस अर्थमा नागरिक आन्दोलन समाज रूपान्तरण एक अभिन्न खम्बा हो।

आज नाफाखोरहरूले नागरिक संगठनहरूको भूमिकालाई कमजोर बनाउन भूमिका खेलिरहेका छन्। यसका लागि व्यापक स्वयंसेवीपन, संवाद र नवरचनामा जोड दिन आवश्यक छ। आफ्नै बुतामा नागरिक सामथ्र्य बुलन्दरूपमा बाहिर आउन जरुरी छ।

हामीले खोजेको शान्ति, सुरक्षा, लोकतन्त्र, समता र न्यायिक परिवर्तनका लागि विश्वव्यापी एकता अपरिहार्य छ। दक्षिणपन्थी, लोकतन्त्र विरोधी र चरमपन्थी शक्तिको उदयले हाम्रो समाजमा गम्भीर खतरा पैदा गरेको छ।

नेपालमा पनि यतिखेर लोकतन्त्र विरोधीहरू सल्बलाउन थालेका स्थिति छ। यो सामाजिक आन्दोलनहरू कमजोर हँुदै जानुको पनि परिणाम हो। दुर्भाग्य, यी शक्तिले समाजका केही वर्गबाट समर्थन हासिल गरिरहेका छन्।

चुनाव जितिरहेका छन्। समाजमा द्वेष फैलाउने र विभाजनको बिउ रोप्ने काम गरिरहेका छन्। विश्व सामाजिक मञ्चले यस्ता नागरिक र लोकतन्त्रका विरोधीहरूलाई पनि उनीहरूका कुकर्ममा खबरदारी  गर्न सक्नुपर्छ।

नेपाल पर्याप्त प्राकृतिक स्रोत भएर पनि चरम गरिबी भोग्न बाध्य मुलुक हो। पछिल्ला प्रयासबाट यसमा कमी हुँदै गइरहेको छ। जातीय विभेद अझ पनि कुनै न कुनै रूपमा व्याप्त छ। यसका बाबजुद सशस्त्र द्वन्द्व भोगेर शान्तिको बाटोमा फर्केको मुलक हो।

नयाँ संविधान प्राप्त गरेको दशक पुग्दैछ। जहाँ नागरिकका कैयन् मौलिक हकको व्यवस्था गरिएको छ। तर सोको कार्यान्वयन भने सन्तोषजनक छैन। सबै समय भाषण र एकले अर्कोलाई दोषारोपणमा बितिरहेको छ।

यही कमजोरीलाई निरकुंशवादीहरू आफ्ना स्वार्थ पूरा गर्ने माध्यम बनाउने प्रयत्न गरिरहेका छन्। यस्तो समयमा हुन लागेको यो मञ्चले निरकुंशवादीलाई व्यर्थको प्रयास सार्थक नहुने सन्देश पनि दिन सक्नुपर्छ।

यो नेपालको राजनीतिक एवं सामाजिक आन्दोलनका अनुभवलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने अवसर हो। राजनीतिक आन्दोलन, अभियन्ता, नागरिक समाज÷समूह र व्यक्तिको विश्वव्यापी जमघटले विश्वका जल्दाबल्दा विषयमा अर्थपूर्ण संवादको मौका जुराउनेछ।

यी छलफल सामाजिक न्याय, समानता, लोकतन्त्र, जलवायु न्याय र खाद्य सम्प्रभुता जस्ता मुद्दामा विकल्प अघि सार्न र खासगरी भुइँमान्छेका सवाललाई सघनरूपमा गुञ्जिने अवसर बन्नुपर्छ। र, विश्वभरका सामाजिक आन्दोलनहरूले सिक्ने थलो बन्नुपर्छ। 

प्रकाशित: ३ फाल्गुन २०८० ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App