७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
विचार

अपांगताविरोधी त्रिवि

उच्च शिक्षाको क्षेत्रमा त्रिभुवन विश्वविद्यालयले पुर्‍याएको योगदानलाई बेवास्ता गर्न सकिँदैन। यहाँबाट प्रशस्त जनशक्ति उत्पादन भई देश विदेशमा आफ्नो पहिचान कायम गरिराखेको छ। तथापि समयसापेक्षरूपमा यस विश्वविद्यालयले आफ्ना कार्यक्रम र योजनामा परिमार्जन गर्दै अघि बढ्न सकेको छैन। यहाँका हरेक कुलपतिले आफ्नो भाषणमा शिक्षाको उज्यालो घामबाट कसैलाई पनि वञ्चित गरिने छैन भन्ने अभिव्यक्ति दिएको सुन्न पाइन्छ तर  महसुस भने गर्न पाइएको छैन।

संविधानले शिक्षालाई मौलिक हकका रूपमा स्थापित गरी समतामुलक शिक्षामा अपांगता भएका व्यक्तिहरूलाई पनि पहुँचको परिकल्पना गरेको छ। यद्यपि अपांगता भएका व्यक्तिहरूमा हुने दुव्र्यवहार, भेदभाव, लाञ्छनाउपर उपयुक्त पूर्वाधार, पाठ्यक्रम, पाठ्यपुस्तक र दक्ष शिक्षक अभावमा विश्वविद्यालय जाने उमेरका अपांगता भएका व्यक्तिहरू गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन्।

समावेशी शिक्षालाई सिद्धान्ततः स्वीकार गर्दै सहयोगी लेखक राख्नेहरूलाई एक घन्टा थप समय प्रदान गर्ने प्रावधान, अपांगता भएका केही व्यक्तिले प्राध्यापकका रूपमा अध्यापन र स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्कायमार्फत विशेष शिक्षा नामक विषयलाई स्थान दिए तापनि यस विश्वविद्यालयभित्र थुप्रै अवरोध विद्यमान छन् जसले दिगो विकास लक्ष्यको गुणस्तरीय शिक्षाको उपहास गरिराखेको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा ह्विलचियर प्रयोगकर्ता व्यक्तिहरूले नियमितरूपमा कलेज आएर बिनाअवरोध आवात–जावत गर्न सकिरहेका छैनन्। झन् महिनावारी हुँदा शौचालयहरू मैत्रीपूर्ण नहुँदा अनुपस्थित हुनु वा विश्वविद्यालयबाट पढाइ बीचैमा छाड्नुपर्ने बाध्यता शारीरिक अपांगता भएका महिलाको छ। दोस्रो, तेस्रो तलामा कक्षा कोठा हुँदा घस्रेर जानुबाहेक अरू विकल्प नरहेको ह्विलचियर प्रयोगकर्ता पार्वती सापकोटा बताउँछिन्। उनी भन्छिन्– हालसम्म त्रिभुवन विश्वविद्यालयको कुनै पनि प्रांगणमा र्‍याम्प देखेको छैन। साङ्केतिक भाषालाई संविधानले राष्ट्रिय मान्यता प्रदान गरे तापनि यस विश्वविद्यालयको आंगिक क्याम्पसहरूमा साङ्केतिक भाषामा उच्च शिक्षा प्रदान नगरिँदा सुनाइ वा बोलाइसम्बन्धी अपांगता भएका व्यक्तिहरूका लागि उच्च शिक्षा कल्पेर हेरिरहने माध्यम मात्र बनेको छ।

यहाँ अपांगता भएका विद्यार्थीको गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि पहुँचयुक्त र नवीनतम प्रविधि प्रयोग गरेको पाइँदैन। सबैका लागि शिक्षा भन्ने भनाइ केहीका लागि मात्र प्रयोग भएको छ। परीक्षामा सहभागी हुँदा दृष्टिसम्बन्धी अपांगता भएका र हातसम्बन्धी शारीरिक अपांगता भएका (हातको अपांगता) र अन्य प्रकृतिका अपांगता भएका व्यक्तिहरू जसलाई कापी र कलममा निर्भर भइ परीक्षा दिन चुनौती भएको छ, उनीहरूसामु सहयोगी लेखकबाहेक अन्य कुनै विकल्प छैन। कम्प्युटर र अत्याधुनिक प्रविधिहरूसँग जति नै परिचित भए तापनि त्यसको माध्यमबाट आत्मनिर्भरताका साथ परीक्षामा सामेल हुने कुरा अपांगता भएका व्यक्तिहरूलाई ‘आकाशको फल आँखा तरी मर’ भएको छ। डिजिटल रूपान्तरण भन्दै अनलाइन प्रणालीबाट परीक्षा आवेदन फारम भर्ने परिपाटी भए तापनि त्यो प्रणालीसमेत पहुँचयुक्त नरहेको कुरा दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिहरू बताउँछन्।

गैरसरकारी संस्था प्रयत्न नेपालले गरेको पहुँचयुक्तताको लेखा परीक्षण प्रतिवेदनअनुसार, यस विश्वविद्यालयको वेबसाइट हेर्ने हो भने त अवरोधहरूको ज्वलन्त नमुना भेटिन्छ। वेबसाइटमा सामग्रीको दोहोरिने ब्लकलाई बाइपास गर्ने संयन्त्र नहुँदा कम्प्युटर सञ्चालन गर्दा किबोर्डमा निर्भर रहनुपर्ने व्यक्तिहरूले मुख्य सामग्री (विषय) मा पुग्न प्रत्येक पटक दोहोर्‍याएर सबै सामग्री पार गर्नुपर्छ। यस विश्वविद्यालयको वेबसाइटमा प्रयोग भएका चित्रहरूको वैकल्पिक अक्षर ‘एएलटी टिइएक्सटी’ र ‘क्याप्सन’ नराखिदिँदा दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिहरू सत्य र तथ्य सूचना लिनबाट वञ्चित भइरहेका छन्।

शीर्षकहरूलाई तार्किक पदानुक्रममा नराखिदिँदा दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिहरूले शीर्षक र उप–शीर्षकहरूको तार्किक संरचनाहरू बुझ्न कठिनाइहरूको सामना गर्नुपरिरहेको छ। थप पढ्नुहोस् र यहाँ क्लिक गर्नुहोस्, जस्ता अस्पष्ट कुरा उल्लेख गरी लिङ्कहरू राखिदिँदा स्क्रिन रिडर प्रयोगकर्ताहरूलाई ती लिङ्क बुझ्न र अन्तरक्रिया गर्न समस्याहरूको सामना गर्नुपरेको छ। वेबसाइटमा प्रायःजसो सामग्रीहरू नेपाली भाषाको प्रीति फन्टमा कि युनिकोडमा भए तापनि पिडिएफ ढाँचामा राखेको पाइन्छ जसले अध्ययन प्रक्रियामा अवरोध हुने गरेको छ। त्यसैगरी वेबसाइटमा प्रयोग भएका तŒवहरूको नाम सहज तरिकाले बुझिने र स्पष्ट नहुँदा प्रभावकारी देखिएको छैन।

चाल्नुपर्ने कदम

– विश्वविद्यालयद्वारा कर्मचारीका लागि प्रदान गरिने सेवा प्रवेश तथा सेवाकालीन तालिमहरूमा पहुँचयुक्त डिजिटल सामग्री निर्माणको विषय समावेश गर्नुपर्छ।

– दृष्टिबिहीन, बहिरा, सुस्त श्रवण, श्रवणदृष्टिबिहीन जस्ता अपांगता भएका व्यक्तिलाई उपयुक्त भाषा, तरिका, लिपि, पाठ्यक्रम, पाठ्यपुस्तक, अपांगतामैत्री शैक्षिक सामग्रीको व्यवस्थालगायतका पहुँचयुक्त सूचना प्रविधिको माध्यमबाट शिक्षा प्रदान गरिनुपर्छ।

– अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ को अक्षरशः कार्यान्वयन तथा पालना गर्दै हरेक तह र क्षेत्रका सरकारी, गैरसरकारी, निजी शैक्षिक तथा सार्वजनिक संरचना अपांगतामैत्री बनाइनुपर्छ।

– विश्वविद्यालयको वेबसाइटको पहुँचयुक्तताको परीक्षणबाट आएका निष्कर्षहरूलाई अंगीकार गरी पहुँचयुक्त बनाइ लोगो तथा सबै तस्बिरमा वैकल्पिक अक्षर ‘अल्टरनेटिभ टेक्स्ट÷एएलटीटेक्स्ट’ र क्याप्सनिङको प्रयोग गरिनुपर्छ।

– विश्वविद्यालयबाट प्रकाशन गरिने सबै डिजिटल सामग्रीहरू नेपाली युनिकोड फन्ट प्रयोग गरी डक, टिएक्सटी वा एचटिएमएल ढाँचामा राखियोस्।

– विश्वविद्यालयद्वारा निर्माण गरिने सबै अडियो र भिडियो सामग्रीहरूमा क्याप्सनका साथै साङ्केतिक भाषा र ट्रान्सक्रिप्ट।

प्रकाशित: २४ पुस २०८० ००:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App