१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

चुडामणि जस्तै बनेस्!

सरकारी सेवामा रहेका वा जान चाहनेका लागि चुडामणि शर्मा स्याङ्गजा जिल्लामा एउटा आदर्शको नाम हो। म स्याङ्गजा जिल्लाबासी भएकाले सरकारी जागिर खानेका घरमा चुडामणिको नामलाई त्यस्तै बन्न पाए हुन्थ्यो भनेर इर्ष्याले हेरेको, कुरा गरेको देखेको छु। मैले उनलाई व्यक्तिगत तहमा चिन्दिन तर पनि उनको चर्चा बारम्बार सुन्नुपर्थ्याे। जस्तै, सरकारी जागिर खाइसकेपछि चुडामणि जस्तो बन्न सक्नुपर्छ, तीन पुस्तालाई पुग्ने पैसा कमाउनुपर्छ, सबै दल र नेतालाई आफ्नो बनाएर राख्न सक्नुपर्छ आदि।

पटकपटक देशको अर्थमन्त्री बनेका रामशरण महत चुडामणिलाई भ्रष्टाचारमा कारबाही अगाडि बढाउन मिल्दैन भन्दै हिँड्छन्। यसले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच कुन तहको भ्रष्ट साँठगाँठ हुन सक्छ भन्ने देखाउँछ।

अकुपाइ बालुवाटार आन्दोलनका बेला उनी काठमाडौँ जिल्ला प्रमुख थिए। आन्दोलनकै सन्दर्भमा १,२ पटक जिल्ला प्रशासन कार्यालयमा भेट भएको सम्झना छ। उनी सरल र मृदुभाषी रहेछन्। सकारात्मक सोचमा जोड राख्नुपर्छ भनेर हामीलाई सम्झाउन खोज्ने चुडामणि बडो आदर्शवान सरकारी कर्मचारी जस्ता देखिन्थे। अकुपाइ बालुवाटारले उठाएका मुद्दा सबै पुरा हुन्छन् भन्दै हामीलाई दंग बनाएर फर्काएको मलाई अझै पनि याद छ। सफल सरकारी कर्मचारीहरू कहिल्यै कसैलाई पनि हुन्न भन्दैनन् र रिसाउँदैनन्। उनीहरू बडो आदर्शका कुरा गर्छन् र मृदुभाषी हुन्छन्। चुडामणि त्यस्तै लाग्थे।

लोक सेवा तयारी कक्षा लिनेहरूका लागि त उनी चर्चित शिक्षक हुन्। सरकारी जागिरमा चासो नभएकाले मैले उनले लेखेको एउटा पनि किताब देखेको छैन, तैपनि उनी लोक सेवा तयारी गर्नेहरूका लागि सबैभन्दा बढी पुस्तक लेख्ने लेखकका रूपमा चिनिँदारहेछन्। २३ करोडभन्दा बढी किताब बेचेर पैसा कमाएको भन्ने उनको दाबीले पनि उनको कुरामा केही दम देखाउँछ।

गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर आफ्नो पौरखले सरकारी सेवाको उच्च ओहदामा पुग्नु अनि आफूले चाहेको (कर्मचारीको भाषामा 'मालदार') विभाग वा मन्त्रालयमा बसिरहन सक्नु उनको ठूलो सफलता हो। भन्सार विभाग प्रमुखका रूपमा उनले कांग्रेस, माओवादी, एमाले सबै सरकारका प्रधानमन्त्री, अर्थमन्त्रीसँग काम गरे। नजिकबाट चिन्नेहरूका अनुसार चुडामणि सबै मन्त्रीका प्रिय पात्र थिए। मन्त्री र नेताहरूको मात्र होइन, उनी त निवर्तमान अख्तियार प्रमुख लोकमानसिंह कार्कीको समेत अत्यन्त प्रिय र विश्वास पात्र रहेछन्।

समाजले सफल र आदर्श मानेको चुडामणि शर्मा आज नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको मुद्दामा जोडिन पुगेका छन्। कर फर्स्याेट आयोगको सदस्यसचिवका रूपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा हिरासतमा राखेको छ। १० करोड रुपियाँभन्दा माथिका झण्डै १५० फाइल अनुसन्धान सकिँदा २३ अर्ब सरकारी रुपियाँ दुरुपयोग गरेको भन्दै हिरासतमा रहेका चुडामणिसँग हिरासत मुक्त्तिका लागि अख्तियारले ३ अर्ब रुपियाँ धरौटी मागेको छ। यो नेपालको इतिहासमा एउटा व्यक्तिबाट माग गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो धरौटी हो। अझै झण्डै ९०० फाइल अनुसन्धान गर्न बाँकी छन्। उनीमाथि अनुसन्धान सकिँदा शायद धरौटी रकम बढ्न सक्छ।

२३ अरब सरकारी रुपियाँशर्मा एक्लैले पक्कै पनि दुरुपयोग गरेनन्। लोकमानसिंह कार्की हुँदा त अख्तियारको नजरमा नपरेका चुडामणि के कारणले अहिले आएर अख्तियारको फन्दामा परे?त्यो अर्को बहसको विषय हो। सबै शक्तिकेन्›का प्रिय चुडामणिले शायद सपनामा पनि सोचेका थिएनन् होला उनीमाथि भ्रष्टाचारको यति ठूलो मुद्दा लाग्नेछ भनेर। चुडामणिले कति भ्रष्टाचार गरे, कति पैसा आफैँ राखे, कति मन्त्री, नेता र लोकमानलाई बाँडे भन्ने कुरा गोप्य रहला तर चुडामणिको परिवेश, सफलता र राज्यको साधनस्रोत दुरुपयोग गर्नमा उनको सक्रियता वा उपयोग नेपाली समाजमा संस्थागतरूपमा जरा गाढेर बसेको भ्रष्टाचार बु‰नका लागि अहिलेसम्मको बलियो मुद्दा हो।

नेपालमा राजनीतिक दल, नेता, कर्मचारी, व्यापारी, पुलिस, वकिल, आर्मी, पत्रकार, गैरसरकारी संघ/संस्था, अधिकारकर्मी सबै कुनै न कुनै रूपमा भ्रष्टाचारी हुन्। पेशा फरक भए पनि भ्रष्टाचारलाई हेर्ने र बु‰ने दृष्टिकोण नेपाली समाजमा समान छ।  सबैले बुझेको अनि मौनरूपमा स्वीकारेको तथ्य के हो भने भ्रष्टाचार सामाजिक अपराध होइन। खुलेआम भ्रष्टाचार गरे पनि आरोप नलागेसम्म कोही पनि सामाजिकरूपमा भ्रष्टाचारी हँुदैन। भ्रष्टाचार नगरे पनि कसैलाई भ्रष्टाचारीको आरोप मात्र लाग्यो भने पनि त्यो भ्रष्टाचारी हुन्छ। जतिसुकै भ्रष्टाचार गरे पनि सामाजिकरूपमा तिरस्कृत अनि कलंकित बन्नुपर्दैन। जसका कारण नेपालमा भ्रष्टाचारीहरूको नैतिक बल जहिले पनि उच्च पाइन्छ। आफ्नो आर्थिक हैसियत बलियो बन्छ भने कुनै पनि क्षेत्रमा गर्न हुने र नहुने सामाजिक सीमितता छैन। कसले कसरी पैसा कमायो भन्दा पनि कसले कति पैसा कमायो भनेर व्यक्तिको सफलता मूल्यांकन हुन्छ। जब सामाजिक सफलताको मापक नै गलत हुन्छ, त्यो समाजले सबै क्षेत्रमा भ्रष्टाचारी मात्र जन्माउँछ।

नेपाली समाजको चरित्र पारदर्शी छैन। जबकि चुडामणि अगुवा भ्रष्टाचारी हुन् भन्ने कुरा थाहा हँुदाहँुदै उनलाई आदर्श मान्ने नेपाली समाजले भ्रष्टाचारको आरोप लाग्नेबित्तिकै उनै चुडामणिलाई त्यत्तिकै चर्को स्वरमा छिः छिः र दुरः दुरः गर्न थाल्छ। चुडामणि शर्मा कति राम्रा, कति नराम्रा छुट्टाउने क्षमता मसँग नहुन पनि सक्छ तर हामी सबैले स्वीकार्नुपर्छ– उनी नेपाली समाजको आकांक्षाले जन्माएको एउटा सफल पात्र हुन्। नेपालका हजारौँ सरकारी कर्मचारी भोलिको चुडामणि बन्ने सपना बुनेर बसेका छन्। उनीहरूलाई राम्रोसँग थाहा छ, जतिसुकै भ्रष्टाचार गरे पनि उनीहरूको सामाजिक हैसियतमा कसैले आंैला उठाउन सक्ने छैन। उनीहरू खुलेआम भ्रष्टाचार गरेर पनि चौंडा छाती बनाएर हिँड्न सक्छन्। उनीहरूले नै समाजलाई राम्रो र नराम्रो, गर्न हुने र नहुने पाठ सिकाउन सक्छन्। समाजले नै उनीहरूलाई सम्मान र सत्कार गर्छ।

भ्रष्टाचारले नेपाली समाजलाई खोक्रो बनाएको छ। समाजको आँखामा भ्रष्टाचार एउटा सामान्य र नियमित प्रक्रिया हो। आफ्नो साथीभाइ, नातागोता र परिवारको घेरामा भ्रष्टाचारबाट गरेको अर्थोपार्जन गर्वको विषय बन्छ। नेपाली अर्थतन्त्रको ठूलो हिस्सा भ्रष्टाचारमा आश्रित छ। भ्रष्टाचारबिना, एक/दुई अपवादबाहेक, न कुनै नेता न कर्मचारीले काठमाडौँमा घर जग्गा जोड्न सक्छन्। भ्रष्टाचार सर्वत्र छ र देखेर पनि भ्रष्टचारीहरू विरुद्ध प्रमाण जुटाउन गाह्रो छ। जसका कारण, भ्रष्टाचारविरुद्धको कुनै पनि बहस वा अभियान नेपालमा प्रभावकारी बन्न सकेका छैनन्। काठमाडौँका सडकलाई मात्र हेर्‍यो भने पनि धेरै कुरा बु‰न सकिन्छ। हरेक दिन लाखाँै मानिसको स्वास्थ्य र सुरक्षासँग खेलवाड गरिरहँदा एकजना निर्माण व्यवसायी वा ठेकेदार कारबाहीको भागीदार छैनन्। सचेत र सभ्य मानिने लाखाँै मानिसको आँखाअगाडि भएका भ्रष्टाचारमा त डर मान्नुपर्दैन भने प्रमाण नै जुटाउन गाह्रो पर्ने कागजात मिलाएको भरमा हुने भ्रष्टाचारमा को कसैसँग किन डराउनुपर्‍यो?

सर्वस्वीकार्य भ्रष्टाचारले नेपाली समाजमा आर्थिकरूपमा मात्र होइन, नैतिक र मनोवैज्ञानिकरूपमा ठूलो असर परेको छ। भ्रष्टाचारले ग्रस्त समाजमा मेहनत, क्षमता र इमान्दारिताको कुनै स्थान हँुदैन। यसले सामाजिक सिर्जनशीलता र सामाजिक गुणस्तरमा ह्रासमात्र ल्याउँछ जुन हाम्रो समाजमा सबैतिर देख्न सकिन्छ। राजनीतिक व्यवस्था, कर्मचारीतन्त्र र सामाजिक चेतना नै भ्रष्टाचारमैत्री भएपछि क्षमतावान र स्वाभिमानी मानिस बसिटिक्न सक्दैनन्। त्यसैले क्षमतावानका लागि देश कुरा बु‰नु मुग्लान पस्नुजस्तो भएको छ।

भ्रष्टाचारमैत्रीबाट भ्रष्टाचार विरोधी समाज तयार नभएसम्म नेपालमा कुनै पनि किसिमको स्थायित्व सम्भव छैन। भ्रष्टाचारमैत्री समाजको वैचारिक जगमा उभिएका राजनीतिक दल, नेतृत्व, कर्मचारीतन्त्र भ्रष्टाचारको सबैभन्दा ठूलो संरक्षक हुन। उदाहरणका लागि, चुडामणि शर्मालाई लिन सकिन्छ। २३ अरब राजस्व अपचलनका लागि उनीमात्र दोषी नभए पनि, उनी भ्रष्टचारी हुन् भन्ने कुरामा कुनै सन्देह छैन तर पनि पटकपटक देशको अर्थमन्त्री बनेका रामशरण महत चुडामणिलाई भ्रष्टाचारमा कारबाही अगाडि बढाउन मिल्दैन भन्दै हिँड्छन्। यसले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच कुन तहको भ्रष्ट साँठगाँठ हुन सक्छ भन्ने देखाउँछ।

चुडामणिका लागि अझै पनि समाजको आदर्श बन्ने अवसर छ। उनले आफूले गरेको भ्रष्टाचार के/कति हो स्वीकार्ने र भ्रष्टाचारी गिरोहको पोल खोल्ने। नेता, कर्मचारी, व्यापारीहरूले यो देशको राज्यस्रोत कसरी दोहन गर्दैछन् भन्ने कुराको जानकार शायद चुडामणि शर्मा जत्तिको अर्को मान्छे छैन होला। उनको सच्चाइ भ्रष्टाचारमैत्री नेपाली समाजलाई ब्यँुताउन ठूलो पाठ हुनेछ। उनले हिम्मत गरुन्। शुभकामना! फेरि सबैले'चुडामणि शर्मा जस्तै बनेस्' भन्ने दिन आओस्।

प्रकाशित: २३ असार २०७४ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App