७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
विचार

आर्यघाट र आँखाहरू

चार नै दिनको यो पापी चोला यो सानो गुमानी

आखिर एकदिन हावाले छर्छ दुई मुठी खरानी। (देवकोटा)

के साँच्चै भरत दाइ मरेकै हो त? के यो जलिरहेको चीता उसैको हो त? पशुपतिनाथको यही परिसरमा पाँच महिनाअघि भवानी घिमिरेकेा मलामी आउँदा मृत्युसँग असन्तोष व्यक्त गर्दै रसिला आँखा पार्ने र एकवर्ष अघि ईश्वरबल्लभको मलामीमा बैरागी काइँलाको छेऊमा उभिएर टोलाइरहने त्यही भरत भूर्तेलको चीता हो त? ती दुवै चितासँग चित्त दुखाएर उनले मृत्युसँग असन्तोष व्यक्त गर्दै अमरत्वको अभिलाषा व्यक्त गरेका थिए। भन्थे-'कृष्ण! मानिसले यो जीवनलाई किन बु‰दैनन्! हामी प्रत्येकले मर्नुपर्ने रहेछ तर मृत्युको संझना किन हुँदैन?'
आँखाभरि विगतका असख्य पाना खजमजिएर आइरहेछन्। २०३४ सालको त्यो दिन सम्झन्छु जुन दिन उनलाई पहिलो पल्ट देखेको थिएँ- एउटा सिकुटे र तीखो स्वर भएको मभन्दा केही वर्ष जेठोजस्तो तरुण। एउटा कवि गोष्ठीमा उसले अत्यन्त प्रभावकारी शैलीमा कविता वाचन गरेर श्रोताको ताली एकोहोर्‍याएको थियो, हाम्रो लागि छोड्दै नछाडी। मेची क्याम्पसको विद्यार्थी राजनीतिमा सँधै चर्चामा आउने, प्रशासनको टाउको दुखाइरहने, पुलिसको लाठी थापिरहने एउटा निडर र छुकछुके लुते दाइकारूपमा मैले चिनेको उनी कति भारी भएर बसेका रहेछन् दिमाग भरी।
२०३६ सालको जनमतसंग्रहका क्रममा झापा जिल्लाका गाउँ गाउँमा बहुदलको पक्षमा प्रचार गर्न हिड्ने जोसिला बाल नायक थियौँं हामी। स्व. सीके प्रसाईले सँधै माया गरेर संबोधन गरिने'भरत जी!' कानमा अझै ध्वनित भइरहेछन्।
किन? किन उनले यस्तो असहज मृत्युवरण गरे? किन यति चाँडै उनले यस्तो निर्णय गरे? सत्याग्रहमा जेल बस्दा पुलिस हिरासतमा कुटाइ खादा, मातृशोकले विह्वल हुँदा, आर्थिक अभावको असहनीय पीडाले आक्रान्त हुँदा, आफ्नो राजनीतिक आस्थामाथि केन्द्रीय विचलनका पीडाका क्षणमा कहिलै विचलित नभएको, नहारेको, नडराएको, सँधै जुधिरहनुपर्छ, लडिरहनुपर्छ, संघर्ष गरिरहनुपर्छ, भन्ने मान्छे कसरी आज आफँैं सँग हार्‍यो?
२०४३ सालको इलामको दुःखपूर्ण र कष्टकर जीवन संझन्छु, २०४४ सालको झापा भद्रपुरको'आलोक' सम्पादनको क्षण संझन्छु। साप्ताहिक विचारमा जागीर खाएको बेलाको कष्टको स्मरण हुन्छ। अभाव र गरिबीको अव्यक्त पहाडले थिचिएर पनि कुनै न कुनै चेपबाट फुत्किने त्यो साहसी अनुहार संझन्छु। सक्तिन भरत दाइ! तिमीले झुण्डिएर शरीर त्याग गरेको पत्याउन।
'ए कृष्ण! नागरिकता गोजीमा बोकेर गाडीमा चढ्, हिँंड् काठमाडौं।' म एउटै प्रश्न नगरी उनको पछि लागेको थिएँ २०५० साल माघको पहिलो साता। रेडियो नेपालको जिल्ला संवाददाताका लागि उनले मलाई काठमाडौं ल्याएका थिए। २०५० माघ १२ गते इलेक्ट्रोनिक संचार क्षेत्रमा मलाई उनले प्रविष्ट गराए। कति संझनु? के केमात्र संझनु?
हेर्दाहेर्दै उनको बिहे भयो, छोरीहरू जन्मे। काखैमा हुर्के तीनैवटी छोरी। आज मलाई अंँगालो हालेर रोइरहेछन्'अंकल! बाबालाई ल्याइदिनु!' कहाँबाट ल्याउन सकिन्छ अब उनलाई? उनलाई अब त हामीले हावामा अलिकति, पानीमा अलिकति, आगोमा अलिकति, माटोमा अलिकति र आकाशमा अलिकति पाउँछाँैं। एकै ठाउँ एकैचोटी त अब कसरी पाउनु?
कसैले पनि पत्याउन सक्दैन यो समाचार। उनको स्वभावले कहिलै यस्तो गर्न सक्ला भन्दैन तर, अब हामी विवश छौँं यो पत्याउन। यो आगोजस्तै छोइने सत्य भएको छ। त्यस्तो बाटो रोज्न पे्ररित गर्ने कारण के होला हँ? कसरी मान्छेले यति राम्रो संसार, यति जतनले हुर्काएको शरीर यति धेरै आफूले माया गरिरहेका सन्तान, पत्नी र साथीभाइहरूलाई बिर्सन सक्छ? तिमीलाई यति कठोर बाटो समात्न बाध्य पार्ने कस्तो मानसिक तनाब थियो? त्यो कस्तो अव्यक्त दबाब थियो? को थियो त्यसको उत्पादक र कारक?
अब तिम्रा प्रसंग कतिपय, सहरमा जसको चर्चा छ, चरित् चर्चा, कविता, मुक्तक, कथा, जीवनी, सम्पादकीय, छोरीहरू पाठक र शुभचिन्तक मात्र छौँं यहाँ। यो भावुकताको क्षणमा फेरि पनि आँखाभरि धमिलो गरी उदाउँदा तिम्रो अनुहार र बिस्तारै हराउँदै जान्छ आकाशमा धमिलो भएर फैलिंदै। अब तिमी जूनघामजस्तै धरतीतिर फर्किएर हामीलाई हेरिरहन्छौ होला। तर हामीले त देख्यौँ, तिमी निष्ठुरी रहेछौ, हामीले माया गरेभन्दा भिन्दै, रिस उठ्ने खालको। तै पनि किन माया लागेको होला?

प्रकाशित: ३ वैशाख २०६७ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App