१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

चेलीको चित्कार

रुकुमको चौखावाङ– ७ का दम्पती गोपाल खड्का र भावनाको जीवनमा सिनेमाको दृश्यभन्दा पनि अनौठा घटनाक्रमहरू घुमेका छन्। गाउँबाट नेपालगन्जमा आफन्त भेट्न आएका यी दम्पतीलाई अनायासै सन्तान सुख प्राप्त भयो। नवजात शिशु नचल्मलाएपछि अस्पताल पुर्‍याइयो। त्यहाँ शिशुको निधन भइसकेको ठानेर सत्गत्का निम्ति नजिकै गाड्न पुर्‍याइयो। त्यही बेला ती बालिका रोएको आवाज आयो– च्याहाँ–च्याहाँ–च्याहाँ। मानिस श्मसानमा पुगेर फर्कंदा बैराग्य बोकेर फर्कन्छ। तर, यी सानीको आवाजले ती दम्पतीमा सीमातीत खुसी उत्पन्न भयो। त्यही खुसी बोकेर फर्के उनीहरू। प्रहरीलाई खबर गरे, अरुले शंकास्पद ठानी। तर, प्रहरीले तिनलाई अस्पताल पुर्‍यायो। यतिबेला ती नवजात शिशु र आमाको अस्पतालमा उपचार भइरहेको छ। पत्रकारितामा समाचार बन्न अस्वाभाविक घटना हुनुपर्छ भनिन्छ। नभन्दै त्यस्तै भयो– श्मसानघाट पुर्‍याइएकी बालिका फेरि जीवन प्राप्त गरेर फर्केकी छन्। यदाकदा यस्ता घटना सुन्नमा आउँछ। तर, तिनले विरलै समाचार बन्ने मौका पाउँछन्। अझ धेरै यस्ता घटनाहरू आमजीवनमा छलफलको विषय मात्र बन्छन्। धन्य, ती बालिकाको जीवन जोगिएको छ। तिनले रुन ढिलाइ गरेको भए के हुन्थ्यो होला? कल्पना गर्दा पनि जिऊ सिरिङ्ङ हुन्छ।

यस घटनाले एकसाथ हाम्रा थुप्रै कमजोरी उजागर गरिदिएको छ। एक, यी दम्पतीलाई गर्भावस्थामा कठिन यात्रा तय गर्न हुन्न भन्ने ज्ञान नरहेको देखिन्छ। दुई, गाउँघरबाट आउने नौला मानिसका निम्ति स्वास्थ्य सेवामा पहुँच सहज छैन। वास्तवमा ती महिलाको पेट दुख्नासाथ अस्पतालमा पुर्‍याउने व्यवस्था हुनुपर्ने थियो। तर, तिनलाई कहाँ जाने भन्ने जानकारी भएन। जतिबेला उनीहरूले जानकारी पाए त्यो बेला अस्पतालमा तिनलाई मार्गदर्शन गर्ने काम हुन सकेन। सामान्यतः हाम्रा सरकारी कार्यालय हुन् वा अस्पताल सेवाग्राही आइपुग्दा अलमलिने अवस्था हुन्छ। उनीहरू त्यहाँ पुग्नासाथ जिम्मेवारी लिएर सोधपुछ गरिदिने कर्मचारीहरू उपलब्ध हुनुपर्ने हो। सरकारले यसका निम्ति खर्च गर्न सक्दैन भने अस्पतालले आफै पनि स्वयंसेवी राखेर यो कामको जिम्मेवारी दिन सक्छ। अधिकांश सरकारी अस्पतालमा आइपुग्ने सर्वसाधारणलाई जानुपर्ने विभाग वा सेवातर्फको कुनै दिशाबोध हुँदैन। उनीहरूले राम्ररी बु‰ने गरी संकेत, चिह्न वा रंगको प्रयोग गर्नुपर्ने हो।

संविधानतः हामीले स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिसकेका छौँ। तैपनि यो अधिकारको प्रयोग कसरी हुने हो भन्ने तय हुन सकेको छैन। सरकारले गाउँ तहसम्म स्वास्थ्य सेवा पुर्‍याउने प्रतिवद्धता जनाएको छ। त्यस्ता स्वास्थ्य सेवामा कम्तीमा एकजना चिकित्सकको व्यवस्था हुनेछ भन्ने प्रतिवद्धता पनि सरकारको रहेको छ। तर, हाम्रो स्वास्थ्य सेवा अत्यन्तै रुग्ण अवस्थामा छ। केही निजी र सामुदायिक अस्पतालले उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन सक्षम भएको देख्दादेख्दै पनि सरकारी सेवाको अवस्था भने अत्यन्तै निराशाजनक छ। सरकारी सेवालाई भरपर्दो नबनाइ कुनै हालतमा पनि गाउँमा बस्ने सर्वसाधारणले राम्रो सेवा पाउन सक्ने छैनन्। पहुँच भएका व्यक्ति र नेताहरूले स्वदेशमै उपलब्ध भएका स्वास्थ्य सेवाका निम्ति पनि राष्ट्रको ढुकुटी खर्च गरेर विदेश जान सक्ने अवस्था छ। तर, सर्वसाधारणले चाहेर पनि देशभित्र उपचार पाउने अवस्था छैन। उनीहरूलाई उपयुक्त सेवा दिने व्यवस्था नहुँदासम्म खड्का दम्पतीमाथि आएको जस्तो आपत् अन्यमा समेत आइरहन्छ। आखिर अकालमै धेरैले ज्यान गुमाएका रहेछन् भन्ने समेत यो घटनाले पुष्टि गरेको छ। ती बालिकालाई गाड्न खाल्डो खनिरहेका बेला च्याहाँ गरेर नकराएकी भए त उनीहरूले त्यहाँ पुरेरै आउने थिए। यस्तो अकल्पनीय घटना हुँदा पनि हामीमा चेत आएको भने देखिन्न। पहुँचवालाले विदेशमा उपचार पाउने भएपछि स्वदेशमा स्वास्थ्य सेवा र शिक्षामा सुधार गर्ने काम हुँदैन। यो अवस्थाप्रति सरोकारवालाहरूको ध्यान जानु अत्यावश्यक छ। ती नवजात शिशुको चित्कारले उनीजस्तै आगामी दिनमा जन्मनेहरूको जीवन रक्षाका निम्ति चेतनाको भूमिका खेल्न सकोस्।

प्रकाशित: २० भाद्र २०७३ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App