१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

संक्रमणको सकस

नेपालले सरकार परिवर्तन गर्ने विषयमा दक्षिण एसियामै कीर्तिमान राखेको छ। २५ वर्ष अवधिमा २३ वटा सरकारले राज गरेका छन्। जनआन्दोलन २०४६को परिवर्तनपश्चात् गठित अन्तरिम सरकारको नेतृत्व नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईले गरेका थिए। त्यसपछि २०४८ सालमा सम्पन्न पहिलो आमनिर्वाचनदेखि हालसम्मको अवधिमा बुधवार पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि देशले २३औँ नयाँ कार्यकारी प्रमुख पाएको हो। दाहाल दोस्रो पटक उक्त पदमा पुगेका हुन् भने वामपन्थी नेतृत्वको हिसाब गर्दा उनी सातौँ प्रधानमन्त्री हुन्। नेतृत्वदायी भूमिकामा सबैभन्दा बढी राज गर्ने दल नेपाली कांग्रेस हो बढी पटक सत्तासयर गर्नेमा वामपन्थी अगाडि रहेका छन्। वामपन्थी दलहरू सत्ताको नेतृत्व गर्दै होस् या अन्य राजनीतिक दलको नेतृत्वमा सहयोगी बनेर, सत्ताबाहिर कम समयमात्र रहेका छन्। यसको अर्थ हुन्छ, देशमा हरेक विचार, सिद्धान्त, पृष्ठभूमि राजनीतिक दर्शन भएका दलका शीर्ष नेताको शासन देश र जनताले चाखिसकेका छन्। लोकतन्त्रवादी, प्रगतिवादी, राजावादी, समाजवादी सबैले राज्यसत्ताको बागडोर कुनै न कुनै रूपमा सम्हालिसकेका छन्। तर, मुलुकको अवस्थामा कुनै सुधार आउन सकेको छैन। अर्थतन्त्र, गरिबी, प्रतिव्यक्ति आय, रोजगारीजस्ता समृद्धिका आधार बलिया बन्न सकेका छैनन्। यसबाट के बुझिन्छ भने, कुनै पनि राजनीतिक प्रणालीले मात्र देश समृद्ध हुने होइन, नेतृत्वमा इच्छाशक्ति आवश्यक पर्छ। 'राजनीति सम्भावनाको खेल हो' भन्ने विश्वव्यापी मान्यता नेपालमा जति साकार सायद अन्त कतै हुन सकेको छैन। तर, जनताले पाए के? तिनका दुःख–कष्टमा साथ दियो कसले? तिनलाई चरम गरिबीबाट मुक्त गराउने पहल गर्‍यो कुन राजनीतिक दल वा नेताले? यी यक्ष प्रश्नहरूको उत्तर दिन सक्ने नेतृत्व अहिलेको आवश्यकता हो।

२५ वर्षको अवधिमा नेपालमा २३ पटक सरकार परिवर्तन हुँदा सार्क (दक्षिण एसियाली सहयोग संगठन)मा आवद्ध मुलुक भारतमा ११, पाकिस्तानमा १२, बंगलादेशमा ६ तथा श्रीलंकामा १० पटक सत्ता फेरिएको छ। दक्षिण एसियाली मुलुकमध्ये पनि नेपाल अति कम विकसित दर्जामा पर्छ। पछिल्लो समय छिमेकी भारतमा राजनीतिक स्थिरताको संकेत देखापरेको छ। कम्तीमा पनि पूरा अवधि काम गर्न दिने वातावरण बन्दै गएको छ। यही कारण पनि भारत विकासको मार्गमा निर्धक्क लम्कन थालेको छ र ऊ उदीयमान अर्थतन्त्रयुक्त देशका रूपमा आफ्नो परिचय बनाउँदैछ। तर, हामीकहाँ बहुदलपछिका कुनै पनि सरकार पूरा समय टिकेनन्। सबैभन्दा बढी समय (२९ महिना) टिकेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुन पुगे। कोइराला ४, सोही दलका शेरबहादुर देउवा ३, कृष्णप्रसाद भट्टराई २, माओवादीका दाहाल २, राजावादी भनिएका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पनि २/२ पटक मुलुकको प्रधानमन्त्री भए। एउटा सानो मुलुकमा भएको राजनीतिक प्रयोगको यो भन्दा चित्ताकर्षक नमूना संसारमा अन्त कहाँ पाइएला? यहीँनिर अर्को प्रश्न पनि उठ्छ, किन र कसका कारण स्थिर सरकार बन्न सकेन? अचेल सर्वत्र चर्चा हुन थालेको छ– कतै हाम्रो राजनीतिक प्रणाली नै गलत भएका कारण सरकार स्थिर बन्न नसकेको त होइन! निश्चय पनि हामीले अहिले अंगीकार गरेको राजनीतिक प्रणालीबाट पूरा समय अर्थात् पाँच वर्ष टिक्ने सरकार पाउन गाह्रो छ।

दाहाललाई प्रधानमन्त्री बनाउन ठूलो दल नेपाली कांग्रेससँग गरिएको सम्झौताले नै स्पष्ट पार्छ, उनको कार्यकाल जम्माजम्मी नौ महिना हो। त्यसपछि कांग्रेसको पालो आउनेछ। घोर वामपन्थी माओवादीको विचार, उसले अँगालेको विकास पद्धति र कांग्रेसको सिद्धान्त कहीँकतै मेल खाँदैन। दाहालले कथंकदाचित विकासको पद्धति बसाल्नै खोजे भने पनि त्यसलाई पछ्याउन कांग्रेसले चाहने छैन। यसले अर्को राजनीतिक अस्थिरता र दलहरूबीचको बेमेल बढाउने र संक्रमणलाई बलियो पार्ने काममात्र गर्छ। मधेस, पहाड, हिमाल सबैतिरका दल मिलेर सहमतीय आधारमा बलियो सरकार बनाउन नसक्ने हो भने देशको मुहार कुनै पनि हालतमा फेरिने छैन। त्यसतर्फ दलहरूको ध्यान पुगेको छैन। आफू र आफ्नो दललाई मात्र ठीक देख्ने एकांगी दृष्टिकोणमा परिवर्तन नआएसम्म राजनीतिक संक्रमणको अन्त्य हुन सक्दैन। दाहाल देशको नयाँ प्रधानमन्त्री हुनु राजनीतिक संक्रमणको पुनरावृत्तिमात्र हो। यही कारण पनि केपी शर्मा ओली बालुवाटारबाट बाल्कोट फर्किंदा जसरी जनतामा कुनै दिग्दारी देखिएन, त्यसैगरी दाहाल लाजिम्पाटबाट बालुवाटार जाँदा पनि कुनै उत्साह पैदा भएन।

प्रकाशित: २१ श्रावण २०७३ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App