१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

सुदामाहरूको पक्षमा डा. केसी

आठौं अनशनको दशौँ दिन अनशनस्थल पुग्दा कपाल फूलेको पाको वयका डा. गोविन्द केसी निदाएका थिए।  अनुहार गलेको देखिए पनि त्यहाँ कुनै बेचैनी  थिएन। एकखाले निश्चिन्तता झल्किएको देखिन्थ्यो अनुहारमा। लगातारको स्लाइन पानीपछि अक्सिजन दिन थालिएको रहेछ। उनको स्वास्थ्यको निगरानी गर्न केही उपकरण राखिएका थिए नजिकै र उनका चेलाहरू रेखदेखमा तल्लीन देखिन्थे। उपकरण थप्दै जानुको अर्थ उनको खस्कँदो स्वास्थ्य जोखिममय अवस्थामा पुर्‍याएको आकलन भइरहेका थियो। केही पत्रकार, केसीका चेला र उनी अनशन बसेको भवनको तल्लो तलादेखि तेस्रो तलाको कोठाको ढोकासम्म प्रहरी तैनाथ थिए। उनीहरू सुरक्षा र सूचनाका निम्ति चनाखो बनेको अनुभव हुन्थ्यो। शिक्षण अस्पतालको रोग, शोक र भिडभाडभन्दा टाढा अस्पताल परिसरको एउटा भवनको कक्ष जुन उपचारका निम्ति प्रयोग हुँदैनथ्यो, त्यहीँ सत्याग्रह शैलीमा केसी बसिरहेका छन्, आन्दोलन छेड्ने नायकको भूमिका  खेल्दैछन्।

मैले आठौं आठौं पटक अनशन बसेर मुलुकको स्वास्थ्य सेवा सुधार्न लागिपरेको त्यो शालीन तर बहादुर आत्मालाई मनबाटै नमन गरेँ, उनी निदाएकै अवस्थामा। उनको नजिक एउटा मोबाइल थियो। सोधीखोजी गर्दा थाहा भयो, मोबाइलमा मधुर मेलेडीका संगीत, भजन छन्, त्यही श्रवण गर्न केसीले त्यो साथामा राखेका रहेछन्। कसैसँग कुरा गर्न, च्याट गर्नका लागि त्यो त्यहाँ थिएन। मधुर संगीत, भजन सुनेर बेडमा लम्पसार भएको अभियन्ताले मुलुक र जनसाधारण नेपालीको स्वास्थ्य चिन्तन गरिराखेको थियो दशौँ दिनदेखि निराहार रहेर। केहीबेरमै ती नायकको आँखा खुल्यो।  उनको पहिलो नजर स्लाइन पानीको बोटलमा अडेको मैले अनुभव गरँे। हुन सक्छ, उनी आफ्नो जीवनदायिनी त्यो पानीलाई आभार दिइरहेका थिए। वा आफ्ना चेलाहरूले कुनै कैफियत गरेर पानीमा अन्य औषधि मिलाएका त छैनन् भनेर नियालेका थिए। स्लाइनमा अन्य कुनै औषधि नहाल्न उनी कट्टर छन्। जे भए पनि उनीभित्रको मनोविज्ञान मैले पढ्न सक्ने कुरा थिएन। केहीबेरको बसाइपछि म निस्किएँ। मौनता साँधेको सरकार अनि केसीले राजनीतिक माग गरेको आरोप लगाउँदै उनका मागबाट टाढिँदै गएका मूलधारका पार्टीहरूप्रति दुःख व्यक्त गर्नुबाहेकको विकल्प मसँग थिएन। केसीलाई भेटेर निस्कँदा लागेको थियो, केसीबारे लेखेर केही हुँदैन। कारण, हामी जस्ता पत्रकारले लेखेका कुरालाई हावामा उडाउने सत्ता र राजनीतिक पार्टीहरूले मुलुक हाँकेको समय छ अहिले। गैरजिम्मेवारी, जवाफदेहीविहीनता र संवेदनहीन राजनीतिक संस्कार विकसित भएको छ यहाँ। दशौँ दिनसम्म पनि कुनै राजनीतिक दलका शीर्ष नेता त्यहाँ पुगेका छैनन्। नयाँ शक्तिका डा.बाबुराम भट्टराई दुई पटक पुगे। सत्ताबाहिर नयाँ पार्टीलाई आकार दिनु उनको राजनीतिक धर्म हो, त्यसैले सरकार बहिरो बनेको बेलामा उनले मौका लिएका हुन सक्छन्। 

यी पंक्ति लेखिरहँदा केसीको ११ औँ दिनको अनशन जारी छ। उनको स्वास्थ्य बिगँ्रदो छ। तर केसी बाँच्नुपर्छ, जुनसुकै मूल्यमा पनि भन्ने मान्यतामा हरफहरू कोर्न मन लाग्यो।  निश्चय नै केसीले उठाएका मागमा सबैको एक मत हुनुपर्छ भन्ने छैन। मुलुक राजनीतिक अस्थिरतामा गुजि्रएको, समाजमा सदाचार धुमिल भइरहेको, भ्रष्ट आचरणले राज गरेको नेपाली समाजको अहिलेको कालखण्डमा केसीका मागमा विमति जनाउनेको संख्या ठूलो हुनु स्वाभाविक हो। विरोध गर्न पाइन्छ। सरकारले सबै विद्रोहीका माग पूरा गर्नुपर्छ भन्ने छैन। तर एक पटक केसीका माग र उनको आठौँ अनशनबारे मनन गरौँ।

केसीले जनसाधारण नेपालीले सुलभ स्वास्थ्य सेवा पाउन सक्ने नीतिनियम बनाउनुपर्छ भनेका छन्। गुणस्तरीय स्वास्थ्यकर्मी उत्पादन हुनुपर्छ भन्ने उनको माग हो। जनताको स्वास्थ्य सरकारको जिम्मेवारी हो भन्ने उनको मागको सार हो। नेपालको संविधानले जनताको स्वास्थ्य अधिकार सुनिश्चित गरेको छ। उनका मागमध्ये अधिकांश माग उनीसँग विगतमा गरिएका सम्ंझौता पालना हुनुपर्छ भन्ने छ। उनको के गल्ती? सम्झौता गर्ने अनि त्यसको कार्यान्वयन गर्न नचाहने प्रवृत्तिविरुद्धको केसीको प्रहारको जति विरोध गरे पनि त्यसको औचित्यमा प्रश्न उठाउने ठाउँ छैन। सातवटै प्रदेशमा एउटा मेडिकल कलेज हुनुपर्छ, ती कलेजमा मेधावी विद्यार्थीलाई सित्तँैमा पढाउनुपर्छ र तिनलाई गाउँका निमुखा जनताको सेवामा लगाउनुपर्छ भन्ने मागमा किन विमति? मेडिकल शिक्षा पारदर्शी हुनुपर्छ र यसमा  भइरहेको व्यापारीकरण समाप्त गर्दै मेडिकल शिक्षा सामान्य नेपालीले धान्न सक्ने हुनुपर्छ भन्ने मागमा किन विरोध? त्यो माग पूरा गर्न केको आपत्ति? सहकारीलाई मेडिकल कलेज खोल्न दिनुहुन्न भन्ने केसीको मागमा केको कोकोहोलो? पार्टीविशेषका नेताको नाम भजाएर भइरहेको व्यापारीकरणविरुद्ध बोलिएका आवाजमाथि किन बन्देज? पहिलो अनशनदेखि आठौं अनशनसम्मका सबैजसो माग उही हुन्। प्रत्येक अनशन तोड्न सरकारले सम्झौता गर्ने अनि त्यसको कार्यान्वयन गर्दै नगर्ने परिपाटी किन? अहिले आएर राजनीतिक दलहरूका कतिपय नेता केसीले राजनीतिक माग राखेको र त्यो पूरा गर्न नसकिने भन्दैछन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह काकर्ीैमाथि महाअभियोगको प्रक्रिया थाल्नुपर्ने मागलाई राजनीतिक माग भनिएको छ। एउटा संवैधानिक निकायको प्रमुखलाई पदबाट हटाउनुपर्छ भन्ने मागलाई राजनीतिक चश्माले हेर्न सकिन्छ।  तर त्योभन्दा पहिला मेडिकल शिक्षामाथि अख्तियार प्रमुखले गरेको चलखेलका सिलसिलाबारे चूपचाप बस्न्ो? विराट मेडिकल कलेज, देवदह मेडिकल कलेज हुँदै हालै प्रकट भएको काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेपकारी भूमिकालाई कसरी लिने? अख्तियारको अस्त्र चलाएर मेडिकल शिक्षामा फैलाएको आतंकको लेखाजोखा गर्ने कि नगर्ने? प्रश्न गम्भीर छन्। संवैधानिक निकायको सम्मानित स्थान हुन्छ, उसका आफ्नै परिधि हुन्छन्, नीतिनियमबाट चल्ने उसको माग हुन्छ। तर के अख्तियार संविधानले निर्देश गरेको बाटोबाट हिँड्दैछ छ? छैन भने त्यसलाई छाडा छाड्न मिल्छ? राजनीतिक दलका जिम्मेवारहरूले सोच्ने बेला हो अहिले।

संवैधानिक निकायहरू हतियारका रूपमा प्रयोग भइरहेका छन् भने त्यसले राम्रो परिणाम दिँदैन। अख्तियार प्रमुखको नियुक्तिदेखि नै विवादको घेरामा थियो, जसको दाग मेटिने भन्दा फैलने क्रममा रहेको घटनाहरूले देखाइरहेका छन्। राजनीतिक दलका जिम्मेवार नेताहरूले समयको माग र परिस्थिति आकलन गर्न सक्नुपर्छ र अवसरहरूबाट लाभ लिन सक्नुपर्छ। नेपाली कांग्रेस केसीले उठाएका राजनीतिकबाहेकका माग पूरा गर्नुपर्ने  निर्णयमा पुगेको छ। राजनीतिक मागबाहेकका भनेर पन्छने कि आफ्नो नेतृत्वमा केसी अनशन अवतरण गर्ने? केसीका मागमा बृहत् छलफल हुँदा उनले उठाएका सबै माग पूरा नहुन सक्छन्। वार्ताको टेबुलमा गर्नुपर्ने कामहरू सार्वजनिक गर्दा त्यो प्रत्युत्पादक बन्न जान्छ। अहिले कांग्रेस आफ्नै कारणले खुम्चिएको देखिँदैछ। एमाले आफ्ना दिंवगत नेता मनमोहन अधिकारीको नाममा प्रस्तावित मेडिकल कलेजको मूल्यमा सती जान खोज्दैछ। मनमोहनको नाममा सहकारी खोलेर मनमोहनलाई व्यापारिक माल बनाउने कि उनको सम्मानमा मनमोहन मेडिकल शिक्षण संस्था वा प्रतिष्ठान परिकल्पना गर्ने? सहकारीबाट मुक्त हुन सकेमा एमालेलाई मनमोहनका नाममा शिक्षण संस्थाहरू खोल्ने एकपछि अर्को विकल्प छन्।

एमाओवादी अध्यक्ष वा सम्भावित प्रधान मन्त्री पुष्पकमल दाहाल राजनीतिकबाहेकका माग पूरा गर्न सकिने अभिव्यक्ति दिँदैछन्। राजनीति गर्ने सबैतिर राजनीति देख्दारहेछन्। राजनीतिक आडमा भइरहेको माफियाकरण छायाँमा पर्दोरहेछ। किन यस्तो? हामीकहाँ मेडिकल शिक्षा र जनसाधारणको स्वास्थ्यबारे दुईटा भिन्न पक्ष छन्। एउटा सु्निल शर्मा प्रवृत्ति, अर्को सुदामाको स्थिति। सुनिल प्रवृत्ति भनेको मेडिकल माफियाको त्यस्तो प्रवृत्ति हो जो आफ्नो स्वार्थका लागि कोइराला निवासदेखि पेरिसडाँडासम्म प्रभाव पार्न सक्छ। राजनीतिक आवरणमा उसले मेडिकल शिक्षामा प्रभाव पारिरहेको छ। राजनीतिक पार्टीका नेताहरू सुनिल प्रवृत्तिबाट दीक्षित देखिन्छन्, त्यतैबाट निर्देशित छन्।  उता डा. केसी लाखौं सुदामाहरूको स्वास्थ्यमा पहुँच पुर्‍याउन आठौं पटक अनशनमा छन्। सुदामाहरूको पक्षमा केसीको समर्थन गरौं, नेताहरूबाट हुँदैन भने जनता सडकमा जाऔँ, जागौं।  

प्रकाशित: ६ श्रावण २०७३ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App