१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

नयाँ शक्ति, पुराना समस्या

नयाँशक्ति नेपाल नामक पार्टीको गठनसँगै यस्को चर्चा व्यापक छ। राजनीतिक दल र ती दलका नेतामा यसको झस्को परिसकेको छ। प्रधानमन्त्री केपी ओलीले त यो पार्टीको घोषणा समारोहमा नै एमालेबाहेक सबै पार्टीलाई धक्का दिन सक्छ भनेपछि समाजमा झनै तरंग उब्जिएको छ। डा. बाबुराम भट्टराई प्रधानमन्त्री र अर्थमन्त्री हुँदा उनले गरेको कामलाई मूल्यांकन गरेर, लौ बाबुरामले पो गरिहाल्छन् कि भन्ने झिनो आशा जनतामा छ तर सशस्त्र युद्धबाट आएका नेता भएकाले अन्य विचारधाराका मान्छे समेट्ने प्रयास गरे पनि उनको यो पार्टी कतै अर्काे कम्युनिस्ट पार्टी त होइन भन्ने प्रश्न पनि आम मानिसमा व्याप्त छ। जेहोस्, झण्डै तीन दशक राजनीतिक समस्यामा रुमल्लिएका नेपालीबीच आर्थिक विकास र समृद्धिको नारा लिएर नयाँ पार्टी बनाएका छन्। मुलकलाई अब भड्खालोमा जान दिनु हुन्न भन्नेहरुले उनको यो सोचलाई सकारात्मक रुपमा लिएका छन् र विकासमा साथ दिन अग्रसर पनि देखिएका छन्। 

विशेष गरी प्रजातन्त्र पुनर्स्थापनापछि जनताले जुन रुपमा देशमा विकास हुने सपना देखेका थिए त्यो हुन नसकेको यथार्थ हो। प्रजातन्त्र आएपछि स्वतन्त्रता त प्राप्त भयो तर विकास निर्माणका कामहरु सोचेअनुरुप हुन सकेनन्। २०४६ पछि देशमा प्रजातन्त्र आउनासाथ सन्त नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडौँ पखालिदिने आश्वासन काठमाडौंबासीलाई दिएका थिए तर काठमाडौँबासी एकलोटा पानी पिउन नपाएर अझै काकाकुल हुन परिरहेको अवस्था छ। यसैगरी कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पञ्चायतले ३० वर्षसम्म नगरेको विकास कांग्रेसले ३ वर्षमा गर्छ भनेका थिए। एमाले अध्यक्ष प्रधानमन्त्री बनेपछि त झन् हामीलाई प्रधानमन्त्री बनेलगत्तैदेखि नै हावाबाट बिजुली निकाल्ने र घरघरमा ग्यासको पाइप लाइन जोड्ने आश्वासन दिए। यसैगरी ओलीले, नेपालले आफ्नै राष्ट्रिय झण्डा सहितका पानी जहाज प्रशान्त र हिन्द महासागरमा सञ्चालन गर्ने उद्घोष गरे। पछिल्लो समयमा आएर प्रधानमन्त्री ओलीले नेपाललाई दक्षिण एसियाकै नमुना देश बनाउने ‘मास्टर प्लान’ सार्वजनिक गरेका छन्। नेपाली जनतालाई दिउँसै मिठो–मिठो सपना देखाउने नेता त हामीले धेरै फेला पारिसक्यौं तर जनताको दुःखमा साथ दिने नेता भने अझै फेला पार्न सकेका छैनौं। यो हिसाबले हेर्दा कतै मल्लकालीन राजा महिन्द्र मल्ल पो जनताका दुःख बु‰ने राजा थिए कि भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो। किनभने जनताको घरमा खाना पाकेको छ कि छैन भनी धुँवा पुताएको हेरेर खाने राजा त नेपालको इतिहासमा उनै महिन्द्र मल्ल मात्रै रहे। अहिलेको समयमा जनताको घरघरमा धुँवा पुताएको हेर्न सम्भव नहोला तर चरम अभाव र दुःखबाट पिल्सिएका जनतासँग चिल्लो र मिठो कुरा गर्ने तर कामको नाममा सिन्को नभाँच्ने नेतालाई जनताले कसरी विश्वास गर्ने? नेपाली जनतासमक्ष यो गर्छु, त्यो गर्छु भनेर सपना देखाउने नेता त धेरै जन्मिसके। त्यसैले मुलकका लागि मिठा–मिठा गफ दिने नेताभन्दा ज्यान दिएर काम गर्ने इमान्दार नेता चाहेका छन् नेपाली जनताले यतिबेला। कम्युनिस्ट, कांग्रेस, राजावादी, मधेसवादी जोसुकै होस्।

यद्यपि बाबुरामले सुरुका दिनमा आफ्नो पार्टी कम्युनिस्ट नरहने अभिव्यक्ति दिँदै आए पनि अहिले उनको पार्टी बाम लोकतान्त्रिक रहको पुष्टि भइसकेको छ। गैर कम्युनिस्टका लागि उनको यो शक्ति केही काम न काजको लाग्न सक्छ तर बाबुरामले काम गरेर देखाए भने कम्युनिस्ट नरुचाउनेको मन सजिलै जित्न सक्नेछन्। रेमिट्यान्सबाट चलेको मुलकका युवालाई स्वदेशमा नै रोजगार उपलब्ध गराई प्रतिदिन १५ सय युवालाई विदेश जान रोक्न सक्यो भने मात्र पनि डा. भट्टराईले साँच्चिकै काम गर्दा रहेछन् भनेर वाहवाही कमाउने छन्।

हामी नेपाली, राजनीतिक समस्याबाट अल्भि्कएको ३० वर्ष हुन लागिसक्यो। २०४६ मा मुलकमा प्रजातन्त्र त आयो तर यसले दीगो शान्ति ल्याएन। यसलगत्तै सशस्त्र युद्ध सुरु भयो सशस्त्र युद्ध मुलुकमा रहँदा आफ्नो ज्यान जोगिनु र जोगाउनु नै ठूलो कुरा थियो। त्यसैले त्यो समयमा विकास निर्माणका काम प्रायः ठप्प भए। भएका भौतिक संरचना र पूर्वाधारसमेत ध्वस्त पारिए। यसले हामीलाई ३० वर्ष पछाडि धकेल्यो। मुलकमा गणतन्त्र आयो। दुब्ला नेताहरु मोटाउँदै गए तर देश मोटाउन सकेन। देशका लागि केही कुरा फलिफाप हुन सकेन। २०४६ सालमा १६ वर्ष पुगेका युवाहरु अहिले ४० वर्ष पूरा गरिसकेका छन्। राजनीतिक अस्थिरताले यो समयकालका युवाले मुलुकका लागि खासै उल्लेखनीय काम गर्न सकिरहेको अवस्था छैन। अन्तर्राष्ट्रिय मुद्रा कोष, वर्ल्ड इकोनोमिक आउटलुकका अनुसार कुल गार्हस्थ उत्पादन आधारित प्रतिव्यक्ति आयका हिसाबले अमेरिकी डलरमा माल्दिभ्स (८३४२), श्रीलंका (३५५८), भुटान (२७३०), भारत (१६२७) पाकिस्तान (१३४३) र बंगलादेश (११७२) भन्दा नेपाल निकै तल ६९९ छ। दक्षिण एसियामै सबभन्दा थोरै आय भएका हामी नेपालीहरुको जीवनस्तरमा सुधार ल्याउन धेरै नै मिहेनत गरेर काम गर्नु आवश्यक छ। कोसिस र मिहिनेत गर्‍यो भने असम्भव भन्ने के नै छ र? १० लाखभन्दा बढीको ज्यान जाने भयावह द्वन्द्व भोगेका कम्बोडियाको प्रतिव्यक्ति आय १०८१ डलर र ३० वर्ष लामो सशस्त्र द्वन्द्व झेलेको श्रीलंकाले द्वन्द्वका बीचमा पनि विकास गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गरिसकेका छन्। त्यसैले मुलुकलाई समृद्ध बनाउन आर्थिक विकास नै गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेका डा. भट्टराईले अहिले यो कुरालाई महसुस गरी आर्थिक विकासको नारालाई लिएर नयाँ पार्टी गठन गरेका छन्। तर आर्थिक विकास कसरी गर्ने भन्नेबारे योजनाहरु अझै पनि सार्वजनिक गर्न सकेका छैनन्। आर्थिक विकासका योजनाहरु के के छन्? ती योजनाहरु कसरी कार्यान्वयन गरिन्छन्? देशमा व्याप्त बेरोजगारी र भ्रष्टाचारलाई निर्मूल पार्ने काम त्यति सजिलो छैन। बेथिति र विसंगतिबाट मुक्त गरी कसरी मुलुकलाई समृद्ध पार्ने, नयाँ शक्तिले प्रष्ट पार्नै पर्छ। यसैगरी नेपालीको जीवन २५ वर्षसम्ममा परिवर्तन आउन सक्ने डा. भट्टराईले बताए पनि यस विषयमा नयाँ शक्तिले गरेको अध्ययन, अनुसन्धान र कार्ययोजना सार्वजनिक गर्नु जरुरी छ। यदि डा. भट्टराईले कार्ययोजना जनतासामु प्रस्तुत गर्न सकेनन् भने र काम कछुवा गतिको तालमा सुरु गर्छन् भने डा. भट्टराईको नयाँ शक्तिप्रति पनि जनताले विश्वास गर्न छाड्ने छन्। र, अरु पार्टीजस्तै केही फरक रहेनछ भन्न बाध्य हुनेछन्। 

अहिले नेपालको राजनीतिप्रति नेपाली वाक्क, दिक्क र दुःखी छन्। जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान यथार्थ बन्न गएको छ। नेतालाई विश्वास गर्ने वातावरण कत्ति पनि छैन र जनताले नेतालाई इज्जत पनि गर्दैनन्। डा. भट्टराईले अहिलेसम्म नेपालको राजनीतिमा खेलेको भूमिकाको मूल्यांकन गर्दा भट्टराईप्रति पूरै विश्वास गुमाइसकेको अवस्था होइन। भटराईलाई ‘भिजन’ भएको नेताका रुपमा लिन्छन् नेपाली जनता। त्यसैले अवसर दियो भने केही गर्छन् कि भन्ने आशा केही मात्रामा छ तर नेपालमा रहेको खुट्टा तान्ने राजनीतिक प्रवृत्तिले के भट्टराईले सोचेजस्तै आर्थिक विकास लागि काम गर्न सकलान् भन्ने प्रश्न पनि कायमै छ।

समाजशास्त्री भन्ने गर्छन्, विकास एउटा राजनीतिक मुद्दा हो। विकास भनेको नितान्त स्थानीय मुद्दा पनि हो। त्यसैले राजनीतिकर्मी विकास शब्दको प्रयोग गर्न बढी मन पराउने गर्छन्। राजनीति सँगसँगै विकास जोड्न सकियो भने आम जनताको मन जित्न सकिने समाजशास्त्रीको धारणा छ। त्यसैले हाम्रा नेताले विकासका थुप्रै योजना बाँड्दै आएका छन्। पञ्चायत कालमा हाम्रा नेताले नेपाललाई एसियाली मापदण्डमा पुर्‍याउने कुरा खुबै सुनाए। हरेक राजनीतिक पार्टीले आफ्नो घोषणापत्रमा विकासका कुरा थुप्रै लेखे। विकासबारे थुप्रै बहस भयो तर शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सरकारले सजिलै उपलब्ध गराउनुपर्ने कुरामा समेत नेपालीको पहुँच पुग्न सकेको छैन।

नेपाली कांग्रेसका नेता बिपी कोइराला भन्ने गर्थे, देशको विकासका आयोजनाहरु बनाउँदा गरिब किसानलाई हेरेर बनाउनू, ठूला–ठूला सडकभन्दा गाउँ–गाउँसम्म पुग्न सकिने कच्ची मोटर बाटो बनाउनू र यदि जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन सकियो भने ठूला अस्पतालमा हुने खर्च कम हुनुको साथै ८० प्रतिशत रोग कम गराउन सकिन्छ। सरकारले जनताको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य, शिक्षा र यातायातको जिम्मेवारी आफैंले लिनु पर्दछ र निजी क्षेत्रलाई उत्पादनको अन्य क्षेत्रमा सहभागी बनाउँदै लैजानुपर्छ। अहिलेसम्म यसरी गरिब असहाय, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलित जनजातिलाई ध्यानमा राखेर योजना बनाइए पनि काम हुन नसकेको पक्कै हो। त्यसैले नयाँशक्तिका डा. भट्टराईले अरु भन्दा भिन्न भएर काम गर्नलाई नै जोड दिन सके अन्य पार्टीभन्दा अवश्य भिन्न रहनेछन्। अनि अहिलेका सबै पार्टीलाई धक्का भने अवश्य पुग्नेछ।

प्रकाशित: २६ असार २०७३ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App