१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

काँग्रेस संसदीय दलका नेता, ‘पाका’ की ‘युवा’?

तस्बिर सम्पादनः साइराम उपरकोटी/नागरिक

भोलि बिहान ८ बजे नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान हुँदैछ। संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन्।  

एउटा पाका पुस्ता र अर्का युवा पुस्ताका उम्मेदवार छन्। यसले काँग्रेसमा पुस्तान्तरणको संकेत गरेको छ। हुन त यो गोप्य मतदान नै हो। प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ जितेर आएका काँग्रेसका ८९ जना सांसद यस मतदानमा सहभागी हुनेछन्।  उनीहरु पाका र युवा दुवै पुस्ताका छन्।  

त्यसैले दुवै उम्मेदवारलाई दुवै पुस्ताका सांसदहरुको मत आवश्यक छ। नेता  बन्नका लागि दुवै उमेर समूहका नेताहरुलाई आफ्नो पक्षमा पार्न कसरत गर्नुपर्ने देखिन्छ। तर यहाँ उमेर भन्दा पनि पार्टी भित्रको पकडको भूमिका पनि त्यत्तिकै देखिन्छ जसले दुवै पुस्तालाई आफ्नो पक्षमा पार्न सकोस्।  

पार्टीको होस वा सरकारको नेतृत्व सबैमा उमेर मात्र सहयोग हुदैन। यसले मात्र फरक पार्दैन। तर पछिल्लो समय आम नागरिक यथास्थितिवादबाट अवाक् छन्। पुस्तान्तरण, तीव्र र नवीनतम विकासको अपेक्षा चौतर्फी रुपमा बढेको छ। पछिल्लो प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन परिणामले पनि त्यही संकेत गरेको छ।  

तर निर्वाचन जितेर आएका नेताहरुमा यसको प्रभाव परेको छ की छैनरु भन्ने कुरो निक्र्यौल भइसकेको अवस्था भने छैन। त्यसैले भोलिको संसदीय दलको निर्वाचन नवनिर्वाचित सांसदहरुको परीक्षा पनि हो। यसले काँग्रेसका सांसदहरुको सोच र विवेकको परीक्षा पनि लिँदै छ। यो परीक्षाको नतिजा बुधबार दिउँसोसम्म आइसक्छ।  

देशको प्रमुख राजनीतिक दल। त्यसमा पनि पार्टीको सभापति र पाँच÷पाँच पटक प्रधानमन्त्री भइसकेका नेता शेरबहादुर देउवा यो प्रतिस्पर्धाका एक उम्मेदवार हुन। उनी उमेरका हिसाबले पनि पाका मानिन्छन्। र, पार्टीका महामन्त्री गगनकुमार थापा जो छोटो समयका लागि स्वाथ्यमन्त्री पनि भए उनी अर्का उम्मेदवार हुन। देउवा पार्टी र सरकार संचालनको अनुभवले खारिएका नेता मानिन्छन्। उनले आफूलाई अनुभवी र पाको नेता दाबी गर्दै राजनीतिक स्थायित्व र देशको समृद्धिका लागि आफू उम्मेदवार बन्न लागेको दाबी गरिरहेका छन्।  

गगनको सबैभन्दा बलियो पाटो उनी युवा नेता हुन। उनले रुपान्तरण र पुस्तान्तरणको एजेण्डा अघि सारेका छन्। पार्टी मात्र होइन देशकै रुपान्तरणको योजना र एजेण्डा अघि सारेका छन्। सार्वजनिक पनि गरेका छन्। उनले पार्टी मात्र होइन देशको समृद्धिलाई आफ्नो एजेण्डा बनाएका छन्। त्यसैले पनि काँग्रेस संसदीय दलको नेता को बन्ने भन्ने चर्चा र चासो हुन स्वभाविक हो। झट्ट हेर्दा पनि एक जना उम्मेदवार पाका छन् भने अर्का उम्मेदवार युवा छन्। र, देशको अवस्था सन्तोषजनक छैन्। कुनैपनि संयन्त्रले राम्ररीका काम गरेको छैन। र, सबै क्षेत्र लथालिङ्ग र जनहित विपरीत चलेको देखिन्छ।  

मंगलबार काँग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्ने दिन तोकिएको थियो। बिहानसम्म तीन जनाको उम्मेदवारी पर्ने आकलन गरिएको थियो। त्यसमा संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाको पनि नाम थियो । तर दिनभर डा.कोइराला र गगनबिच विभिन्न स्थानमा विभिन्न पटक र समयमा भएका वार्ता, छलफलबाट दुई जनाबाट एक जनाले उम्मेदवारी दिने निष्कर्ष निस्कियो। र, अन्तमा गगनकुमार थापाले उम्मेदवारी दिए।  सभापति शेरबहादुर देउवाको उम्मेदवारी त लगभग पक्का नै थियो। यी दुवै नेताले एकै पटक आफ्नो उम्मेदवारी दर्ता गराए।

अब कुरा उठ्छ। यी दुई उम्मेवारहरुका सारथिहरू को–को हुन? जो खुलेर लागेका छन्। मंगलबार साँझसम्मको दृश्यमा दुवै उम्मेदवारको पक्षमा केही नेताहरु खुलेर लागेका छन्। रोचक पक्ष त के छ भने पाका पुस्ताका उम्मेदवारको पक्षमा खुलेर लागेका नेताहरु पनि पाकै छन् भने युवा पुस्ताका उम्मेदवारका पक्षमा खुलेर लागेका नेता पनि अधिकांश युवा छन्। त्यसो त यी दुवै उम्मेदवारलाई युवा र पाका पुस्ता दुवैको मत त्यत्तिकै आवश्यक छ।  

सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उप–सभापति पूर्णबहादुर खड्का छन्। अर्का पाका नेता विमलेन्द्र निधि पनि खुलेरै लागेका छन्। यसै गरी गगनको प्रस्तावकमा १४औ महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइराला जो पार्टी संस्थापन इतरका नेताका रुपमा पनि चिनिन्छन्। सर्मथकहरुमा महामन्त्री विश्वप्रकाश शर्मा र १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित अर्का नेता प्रदीप पौडेल छन्। पार्टीका उपसभापति धनराज गुरुङ पनि समर्थकमा रुपमा खुलेका छन्।  

गगन थापाले संसदीय निर्वाचनमै आफू संसदीय दलको नेता बन्ने उद्घोषसहित काठमाडौँ क्षेत्र नम्बर ४ का जनतासँग मत मागेका थिए। उनले डा. शेखर कोइरालालाई मनाउन निकै मेहनत गरे। तर, राजनीतिमा चासो राख्नेहरुले गगन र डा. कोइरालाबिच यस बिषयमा हिजोआज मात्र नभई पहिले नै सहमति भएको अड्कल बाजि काटिरहेका छन्। सोमबार र मंगलबारका दृश्यहरुलाई ‘नाटक’को संज्ञा दिएका छन्।  

सोमबार रातीसम्म र मंगलबार उम्मेदवारी दिने अन्तिम समयसम्म संस्थापन इतर समूहबाट एकै जनाको उम्मेदवारी दर्ता गराउन गगन र शेखरका नेताहरु सक्रिय भए। अन्ततः डा.शेखरलाई पार्टीको १५औ महाअधिवेशनमा सभापतिमा सहयोग गर्ने सहमतिसहित डा. शेखर संसदीय दलको नेताको उम्मेदवारीबाट पछि हटेको बताइन्छ। यति भएपछि डा. शेखर गगनको प्रस्तावक भएको हुन्।  

गत १४ औँ महाधिवेशनमा थापा र कोइरालाले एउटै कित्तामा बसेर देउवालाई चुनौती दिएका थिए। सभापतिमा डा. कोइराला देउवासँग पराजित भएपनि महामन्त्रीमा गगन थापा भारी मतान्तरका साथ विजय भएका थिए। त्यही विजयबाट हौसिएर थापा अहिले संसदीय दलको नेतामा देउवा विरुद्ध उत्रेका हुन्। गगनलाई युवा नेताहरुको साथ छ। तरपनि चुनाव जित्नका लागि यो मात्र पर्याप्त देखिँदैन।  

देउवा पक्षमा पाका उमेरका नेताहरु छन् नै। १४औँ अधिवेशन अघि देउवा विरुद्ध लागेका र पार्टीमा उपसभापति भन्दा माथि पुग्न नसकेका वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टीका उपसभापति पूर्णबहादुर खड्का र विमलेन्द्र निधि जस्ता पाका नेताहरु देउवाको खुलेर समर्थन गरेका छन्।

यो मतदानमा संस्थापन इतर खेमा विभाजित हुँदा देउवालाई बढी फाइदा हुने थियो। तर संस्थापन इतर समूहबाट गगनको मात्र उम्मेदवारी परेकाले देउवालाई यसपालि संसदीय दलको नेता चयनमा विगतमा जस्तो सजिलो भने छैन। दुई जना मात्र प्रतिस्पर्धी भएकाले पहिलो चरणकै मतदानमा दलको नेता चयन हुने देखिन्छ।  

काँग्रेसको संसदीय दलको नेतामा विजयी हुन अनिवार्य ५१ प्रतिशत मत ल्याउनु पर्ने प्रावधान छ। काँग्रेस संसदीय दलमा ८९ सांसद मध्ये ४५ जनाको मत पाउने उम्मेदवार दलको नेतामा विजयी हुनेछन। भोलि बिहानसम्म दुवै जना उम्मेदवारले मतदानलाई आफ्नो पक्षमा पार्न कसरत गर्ने नै छन्। गोप्य मतदान भएकाले संस्थापन पक्ष र संस्थापन इतर पक्ष भन्ने हुँदैन। खुलेर समर्थन नगरेका सांसदले कसलाई मत हाल्छन् गगन कि शेरबहादुरलाई त्यो भने भोलिको मतदान पछि नै थाहा हुनेछ। 

र, अहिलेको अह्म प्रश्न, ‘यो मतदानले पुस्तान्तरणको एजेण्डालाई स्थापित गर्ला त?’

प्रकाशित: ५ पुस २०७९ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App