१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार देशका पर्यटन व्यवसायी धरान आउँदै

इष्ट टुरिज्म मार्ट २०१८ बारे जानकारी गराउदै आयोजक।   तस्बिर : रोहित/नागरिक

धरान – प्रदेश १ र २ को प्रमुख पर्यटकीय गन्तव्यहरूको प्याकेज तयार गरी बाह्य पर्यटकहरूलाई भित्र्याउने लक्ष्यका साथ आयोजना हुन लागेको ३ दिने इष्ट टुरिज्म मार्टमा छिमेकी चार राष्ट्रबाट ठुलो संख्यामा पर्यटन व्यवसायी धरानमा सहभागी हुने भएका छन्।

इष्ट टुरिज्म मार्ट २०१८ को आयोजना गर्न गठित समितिले सोमबार पत्रकार सम्मेलन गर्दै मार्टमा नेपालका पर्यटन व्यावसायीहरूसहित चीन, बंगलादेश, भारत र भुटानबाट पर्यटन व्यवसायीहरू सहभागी हुने जानकारी गराएको छ। मार्ट यही जेठ २४, २५ र २६ गते धरानमा हुने तयारी भइरहेको छ। 

प्रदेश १ का पर्यटन व्यवसायीहरूले पर्यटकीय गन्तव्यका प्याकेज र आफ्ना सेवाहरूबारे निम्त्याइएका विदेशी तथा स्वेदशी पर्यटन व्यावसायीहरूलाई आकर्षक ढंगले प्रस्तुत गरेर आकर्षित गर्ने आयोजक एवं प्रवक्ता वासुदेव बरालले बताए। उनले भने,‘आफै सहभागी हुने, आफैं बेच्ने र आफैं किन्ने पुरातन शैलीभन्दा यो मार्ट फरक छ। पुर्वका पर्यटन व्यवसायीहरूले काठमाडौं र विदेशबाट आएका व्यवसायीहरूलाई प्याकेज किन्नको लागि आकर्षित गर्नेछन्।’

आयोजकका अनुसार भारतका बिहार, बंगाल, सिक्किम र भुटानका करिब ७० जना व्यवसायीहरू मार्टमा सहभागी हुनेछन् भने काठमाडौं, चीन र बंगलादेशका करिब ३० जना व्यवसायीहरू आउनेछन्। ती व्यवसायीहरू निरन्तर प्याकेज बिक्री गरिरहेका पर्यटनकर्मीहरू हुन्। जसले मार्टमा स्टल राखिएका पूर्वी नेपालका प्याकेजहरू आफ्नो मुलुकमा लगेर बिक्री गर्ने र बाह्य पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि हुने आयोजकको अपेक्षा छ। विदेशी पत्रकारहरू पनि आउने र उनीहरूले आ–आफ्नो मिडियामार्फत यो क्षेत्रको प्रचार गर्नेछन्। 

मार्टमा प्रदेश १ का विभिन्न स्थानका ट्राभल एजेन्सी, होटल व्यवसायीहरूको गरी ५० वटा स्टल रहनेछन्। ती स्टलहरूमा उनीहरूले आकर्षक गन्तव्यहरूको प्याकेज राख्नेछन्। यसबाहेक प्रदेश १ का १४ जिल्ला, जनकपुरधाम भएको धनुषा र संखडा भगवती मन्दिर भएको सप्तरी जिल्ला गरी १६ जिल्लाको पनि पर्यटकीय गन्तव्यहरूको स्टल हुनेछ। ‘पूर्वमा होटलै छैंन भन्ने नराम्रो सन्देश गएको छ, तर हामीसँग ३ स्टार होटल रेडी छ, ४ वटा फाइभ स्टार होटल खुल्दैछ। इलाम र हिलेमा ३ स्टार होटल छ,’ नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ को पर्यटन संयोजक श्रेष्ठले भने।

नेपाल पर्यटन बोर्ड आयोजक, धरान उपमहानगरपालिका संयोजक रहेको मार्टमा बोर्डले ४० लाख बजेट विनियोजन गरेको छ भने उपमहानगरले ६ लाख रुपैयाँ सहकार्य गर्ने जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App