१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘सिर्जना’मा तीन पुस्ते सिर्जना

काठमाडौं – साढे तीन दशकदेखि कलामा रंग पोतिरहेका कलाकार नविन्द्रमान राजभण्डारी उमेरले ६० छेउछाउ पुग्दा पनि कला सिर्जनामा उत्तिकै सक्रिय छन् । राजधानीमा हुने कला प्रदर्शनीमा सहभागिता जनाइरहने नविन्द्रमान आफूलाई अहिले पनि युवा नै ठान्छन्।

पुरानादेखि नयाँपुस्ताका कलामा अपडेट राख्ने उनको आफूलाई युवा ठान्नुपर्ने आफ्नै तर्क छ। ‘अहिलेको पुस्ताको कलालाई नजिकबाट नियाल्दा त्यो कलामा नयाँपन पाउछु। त्यो नयाँपनले मलाई अझ राम्रा कला सिर्जना गर्ने जोश दिन्छ,’राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नविन्द्रले शनिबार नागरिकसँग भने  , ‘अहिलेका कलाकार जोशिला र जाँगरिला छन्। हाम्रो पालाको कला र अहिलेको कलाको विषयबस्तु पनि फरक छ। हिजोको पुस्ताबाट आजको पुस्ताले सिके र भोलिको पुस्ताले आजको पुस्ताबाट सिक्नेछन् । त्यसले नै भविष्यको मार्गचित्र कोर्छ।’

काउन्सिलमा शुक्रबारबाट सुरु भएको ‘सिर्जना–२०१८’ कला प्रदर्शनीमा ‘पञ्च तत्व’ शीर्षकका दुई कला राखेका नविन्द्रमान अहिलेका पुस्तासँग काम गर्न पाउँदा मख्ख छन्। ‘यो प्रदर्शनीमा तीन पुस्ताको जमघट छ। यस्तो प्रदर्शनीमा आधुनिक नेपाली कलाको प्रतिबिम्ब प्रष्ट रुपमा देख्न पाइन्छ,’उनले प्रष्ट्याए ,‘हरेक कलामा सौन्दर्यको तत्व हुनुपर्छ। नयाँपुस्ताका चित्रमा ती तत्व पाएको छु। उनीहरूबाट हामीले र हामीबाट उनीहरूले सिक्ने कलाका कुरा प्रशस्त छन्। नयाँपुस्ताबाट आशा गर्ने ठाउँ पनि धेरै छन्।’

‘सिर्जना–२०१८’ कला प्रदर्शनीमा तीन पुस्ताको जमघट छ। प्रदर्शनीमा ‘सिनियरः द मास्टर्स’, ‘द मिड जेनेरेसन’ ‘द नेक्स्टः अप एन्ड द कमिङ’ शीर्षकमा चित्रकलाका तीन पुस्ताले बनाएका चित्र राखिएका छन्।

सिर्जना कलेज अफ फाइन आर्टस् र सिर्जना कन्टेम्पोररी आर्ट ग्यालरीको संयुक्त आयोजनामा भइरहेको यो प्रदर्शनीमा तीन पुस्ताका झण्डै तीन दर्जन बढी कलाकारको सहभागिता छ। प्रदर्शनीमा ‘सिनियरः द मास्टर्स’ पुस्तामा शशी विक्रम शाह, कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, मदन चित्रकार, वत्सगोपाल वैद्य, र केके कर्माचार्यका कला राखिएका छन्। त्यस्तै ‘द मिड जेनेरेसन’मा महेन मोहन श्रेष्ठ, रविन्द्र ज्यापु, राधेश्याम मुल्मी, डा. राजेश गौतम, प्रविणकुमार श्रेष्ठ, शारदामान श्रेष्ठ, शरद रञ्जित, अशोकमान सिंह, गौतम मानन्धर, नविन्द्रमान राजभण्डारी र सुनिल रञ्जित छन्।

यस्तै ‘द नेक्स्टः अप एन्ड द कमिङ’को प्रतिनिधित्व गंगाधर सारु, देविना मल्ल, लक्ष्मण भुजेल, देवेन्द्र पाण्डे, सम्झनाराज भण्डारी, भावना मानन्धर, चन्द्रश्याम डंगोल, मनिषलाल श्रेष्ठ, सौरगंगा दर्शनधारी, कृष्णगोपाल श्रेष्ठ, मुकेश श्रेष्ठ, विजय महर्जन, रोशन भण्डारी र दावा ओमु लामाले गरेका छन्।

प्रदर्शनीमा राखिएका तीन पुस्ताका कलामा आफ्नै विशेषता छन्। प्रदर्शनमा ‘सिनियरः द मास्टर्स’ पुस्तामा कलाकार शशीले आफ्नो ब्राण्डका रुपमा रहेको घोडाचित्रलाई राख्दा अर्का कलाकार कृष्णले ‘रक’ सिरिजका चित्र कोरेका छन्। त्यस्तै कलाकार वत्सले धर्मसँग जोडेर गणेश, दश अवतार र सूर्य विनायकको कला उतारेका छन्।

त्यस्तै ‘द मिड जेनेरेसन’का महेनले ‘भिजन’ शीर्षकमा आमा र सन्तानको सम्बन्ध, राधेश्यामले ‘म्युजिकल मुड’ शीर्षकमा संगीतमा रमाउँदै गरेका विविध जाति र शरदले ‘डान्सिङ कलर’ शीर्षकमा नृत्यको फराकिलो विश्वलाई देखाएका छन्।

यसैगरी ‘द नेक्स्टः अप एन्ड द कमिङ’मा गंगाधरले ‘ड्युरिङ द विन्टर’ शीर्षकमा जाडो मौसममा दुई पात्रको अवस्था, चन्द्रश्यामले ‘बुद्ध स्तुपा’ शीर्षकमा ढुंगामा खोपिएका बुद्ध स्तुपालाई प्रस्तुत गरेका छन्। यो प्रदर्शनमा देवेन्द्रको ‘अनटाइटल’ शीर्षकको कला अन्य कलाभन्दा पृथक छ । उनले कागजको प्रयोग गरेर मूर्तिदेखि भवन र मुकुटसम्म बनाएका छन्।

सिर्जना कन्टेम्पोरेरी आर्ट ग्यालरीका अध्यक्ष शरद रञ्जितले तीन पुस्ताको कला प्रदर्शनीलाई सिक्ने र सिकाउने थलोको रुपमा अथ्र्याए। ‘समय र परिवेश अनुसार कलाकार र कला फरक भइसके । यो फरकपन आउनु नै सिक्ने र सिकाउने मेसो हो,’उनले भने ,‘प्रत्येक कालखण्डमा वर्तमान पुस्ताले अघिल्लो पुस्ताबाट कला सिक्दै त्यसलाई आधुनिकतामा ढाल्छन् । यो प्रदर्शनीमा पनि पुस्तागत कलाकारको कलामा त्यही कुरा देखिएको छ।’

भारतको पुने विश्वविद्यालयअन्तर्गतको भारती विद्यापिठ कलेज अफ फाइन आर्टस्बाट फाइन आर्टस्मा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका युवा कलाकार रोशन भण्डारी पहिलोपटक अग्रजसँग सामूहिक कला प्रदर्शनीमा सहभागिता जनाउन पाउँदा मख्ख छन्। ‘मैले यसअघि धेरै प्रदर्शनीमा सहभागिता जनाइसकेको छु । तर तीभन्दा यो प्रदर्शनी मेरा लागि विशेष छ,’उनले कारण बताए,‘मभन्दा अग्रज कलाकारको कला देख्दा आङ सिरिङ हुँदो रहेछ । ती चित्र हेर्दा मलाई पनि कलामा नयाँपन दिने जाँगर बढेको छ। अग्रजसँग प्रदर्शनीमा कला साझेदारी गर्नु  सम्मान र सिकाई दुवै फाइदा हुँदोरहेछ ।’ रोशनले प्रदर्शनीमा ‘कन्टेम्प्लेसन’ शीर्षकमा एकाग्र मान्छेको मनोभावनालाई कलामा उतारेका छन्।

अग्रज कलाकारका कलासँगै धेरै प्रदर्शनीमा आफ्ना कलालाई पनि प्रस्तुत गरेका कलाकार मुकेश श्रेष्ठले बुद्ध र कन्टेम्पोररी आर्टलाई प्रदर्शनीमा राखेका छन्। ‘युवा कलाकारलाई हरेक प्रदर्शनीमा सुरुमा डर  हुन्छ । तर उहाँहरुले दिने सल्लाह सुझावले हामीलाई नयाँ सिर्जनाको ढोका खोलिदिन्छ,’उनले दाबी गरे,‘त्यसकारण पनि मलाई अग्रजसँग कला साझेदारी गर्न डर लाग्दैन । किनकि उहाँको पुस्ताको सिकाईलाई अहिलेको पुस्ताले सिक्दा भविष्य अझ राम्रो हुन्छ।’

यो प्रदर्शनीमा मिक्स मिडिया, एक्रोलिक, तेलिया, पानी रंग, रेसिनलगायतका रंगको प्रयोग गरिएका ८० कला राखिएका छन्। प्रदर्शनी मार्च ३१ सम्म चल्ने प्रदर्शनीमा २० हजारदेखि पाँच लाख मूल्यसम्मका चित्र राखिएका छन्।

प्रकाशित: १३ जेष्ठ २०७५ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App