१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गोरेसँग बयान जारी, थप रहस्य खुल्ने संकेत

विराटनगर - सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ । बयान लिने काम बिहीबार पनि जारी रहनेछ।

गोरेसँग सुन तस्करी र शाक्य हत्याको पृष्ठभूमिबारे बयान लिइएको अदालत स्रोतले जनाएको छ । ढिलोढिलो थोरै–थोरै बोल्ने गोरेस“ग पहिलो दिन ६ पृष्ठको बयान लिइएको छ । गोरेले सुन तस्करी र शाक्य हत्या विषयमा थप रहस्य खोल्ने संकेत देखाएको स्रोतको दाबी छ ।

‘पहिलो दिन बुधबार लिइएको बयानले घटनाका विषयमा थप रहस्य खोल्ने सम्भावना देखाएको छ,’ स्रोतले भन्यो । गोरेलगायत ६३ जनाविरुद्ध आपरधिक समूह स्थापना तथा सञ्चालन, सुन चोरी पैठारी तथा चोरी निकासी कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानअन्तर्गत अदालतमा मुद्दा दर्ता गरिएको छ । गोरेसँग अभियोगपत्रमा आरोपित अन्य व्यक्तिहरूलाई चिने वा नचिनेको भनी सोधपुछ गरिएको थियो।

हिरासतमा सुरक्षा माग

यसैबीच गोरेले अदालतसमक्ष सुरक्षा प्रबन्ध गरिदिन माग गरेका छन् । उनले आफ्ना वकिलमार्फत अदालतमा निवेदन दर्ता गरी मानवअधिकारकर्मीको रोहवरमा न्यायिक हिरासतमा राख्ने व्यवस्था गरिदिन माग गरेका हुन् । आफूलाई विभिन्न खालका धम्की आएकाले अधिकारकर्मीको निगरानीमा न्यायिक हिरासतमा रहन पाउ“ भनी उनले दिएको निवेदन दर्ता गरेको अदालतले जनाएको छ ।

गोरेले सुरक्षा ‘थ्रेट रहेको भन्दै अदालतमा निवेदन दिएपछि बुधबार नै अदालतले आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन आदेशसमेत दिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले अदालतको आदेशबारे औपचारिक जानकारी आइनसकेको बताए । उनले गोरेको पर्याप्त सुरक्षा प्रबन्ध गरिएकाले डराउनुपर्ने अवस्था नरहेको दाबी गरे । उनले भने, ‘विराटनगर ल्याएदेखि नै विशेष सुरक्षा प्रबन्ध गरिएको छ, डराउनुपर्ने अवस्था छैन।’

२८ जना झुम्का कारागारमा

सुन तस्करी मुद्दाका अभियुक्तमध्ये २८ जनालाई पुर्पक्ष थुनामा राख्न मंगलबार अदालतबाट आदेश भएबमोजिम सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा लगिएको छ । विराटनगर हाटखोलास्थित जिल्ला कारागारमा राख्ने ठाउँ नभएपछि सबैलाई क्षेत्रीय कारागार झुम्कामा पठाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनका अनुसार पुर्पक्ष थुना आदेशपछि मोरङ कारागारमा राख्ने ठाउ“ नभएकाले उनीहरूलाई २४ घन्टासम्म जिल्ला प्रहरी कार्यालयकै हिरासतमा राखिएको थियो ।

सुन तस्करीमा संलग्न भएको अभियोगमा मुद्दा चलाइएका ६३ मध्ये गोरेसहित ३१ जना पक्राउ परेका छन् । गोरेअघि पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्ष थुनामा राख्न आदेश भएको हो । बाँकी दुईमध्ये एक साधारण तारेख र एक धरौटीम मुक्त भएका छन् । फरार अभियुक्तको खोजी जारी छ।

प्रकाशित: १० जेष्ठ २०७५ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App