१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘हनी हन्टिङ’ (फोटो फिचर)

बागलुङ–कहालीलाग्दो अनकन्टार पहरा र भीर । जिल्लाको गलकोट नगरपालिका—१० पाण्डवखानी रमुवाका ३५ वर्षीय नवीन राना ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुंग झुन्डिएर मह सिकारका लागि माथिबाट झरिरहेका छन्। फागुनको अन्तिम सातादेखि जेठ अन्तिम सातासम्मको समयलाई मह सिकारको मौसम मानिन्छ।

गलकोट नगरपालिका–४ निलुवाको भीरमा नवीनको मह सिकार कौसल हेर्ने रमितेहरूको पनि ठूलै घुइँचो छ। बाँसको चोया र काठ प्रयोग गरी बनाइएको एक सय मिटरको भर्याङ (पराङ)मा झुन्डिएर उनी मह सिकारमा व्यस्त छन्। भगवान् नजाने, केही गरी तलमाथि हुन पुगे जीवितै भेटिने सम्भावना छैन । यता उनलाई हेर्नेहरूको मुटुले थातथलो छोडेको छ । कोही भन्दै छन्– त्यस्तो पहरामा पनि जान सक्ने यो मान्छेको त मुटु पनि छैन कि क्या हो?

भीरमौरीको मह स्वादिलो र विभिन्न रोगविरुद्धको औषधिको रूपमा प्रयोग गरिन्छ । भीरमौरीको चरन क्षेत्र फराकिलो हुने र विभिन्न फलपूलदेखि जडीबुटीको रस खाने हुँदा भीरमह औषधिको रूपमा प्रयोग गरिन्छ ।

बितेको चैत अन्तिम साता गलकोट नगरपालिका–४ निलुवामा आयोजना गरिएको हनी हन्टिङ महोत्सवको दृश्य हो यो । उक्त महोत्सवमा नवीनसँगै ११ जनाको टोलीले मह सिकार गर्यो । ३६ वर्षपछि उक्त भीरमा मह सिकार गरिएको हो । पर्यटनसँग जोड्ने निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्र गलकोटले मह सिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको हो । सिकार टोलीको नेतृत्व ५४ वर्षीय धनबहादुर घर्तीले गरे । मह काढ्ने काम सोही टोलीका गिरिप्रसाद घर्ती र नवीन रानाले गरेका हुन् । लामो समयदेखि घर्ती र रानाले यसरी नै ज्यान हत्केलामा राखेर मह काढ्दै आएका छन् ।

टोलीमा रहेका कोही भिरमा जाने, कोही तल बस्ने, कोहीले महकाढेको मह निचोर्ने गरी कामको बाँडफाँट गरिएको हुन्छ । सुरुमा हरियो घाँसको धूवाँ मौरी भएको ठाउँसम्म पुर्याइन्छ । धूवाँले मौरी लट्ठ परेर चाका छाड्छन् अनि मात्र बल्ल सिकारी मह काढ्ने काम सुरु हुन्छ ।

सुरुमा डर लागे पनि अहिले बानी भइसकेकाले त्यस्तो अनुभूत नहुने राना बताउँछन् । ‘सानैदेखि हामीले यो काम हेरेर हुर्कियौं,’ राना भन्छन्, ‘पहिले त डर पनि लाग्थ्यो अहिले बानी परिसक्यो डर पनि लाग्दैन ।’ माहुरी नजिकै पुगेर चाका निकाल्दा उनी पूरै माहुरीले घेरिएका हुन्छन् । भीरमा झुन्डिएर माहुरीको सामना गर्दै मह काढ्नु चानचुने कुरा अवश्य होइन । उनी भन्छन्, ‘परम्परागत प्रविधि अपनाएर मह काढ्ने गरेका छौं । हाम्रा पुर्खाहरूले जसरी मह सिकार गर्थे, त्यही प्रविधि र सीप हामीले अपनाएको छौं ।’ मह सिकारमा पराङ, सुथरी (डोरी), झापा (चोयाबाट निर्माण गरिएको टोकरी जस्तो भाँडो), दाबिलोलगायतका सामग्री प्रयोग गर्ने गर्दछन्। सिकारी टोलीले सिकारमा जाँदा आफूसँग भएका ती सामग्री साथै लिएर जाने गरेका छन्। आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै सिकारका लागि छनोट हुने गरेको सिकारी नाइके धनबहादुर घर्ती बताउँछन्।

‘जिन्दगी दाउमा राखेर सिकार खेल्नुपर्छ,’ उनले भने, ‘यो निकै साहसिक र जोखिमपूर्ण काम हो ।’ बाउबाजेका पालादेखि नै मह सिकारको चलन रहेकाले आफूहरुले पनि निरन्तरता दिएको उनको भनाइ छ । उनीहरूले झुन्डिएर घन्टौंको प्रयासपछि मह निकाल्न सफल हुने गरेका छन्। टोलीमा रहेका कोही भिरमा जाने, कोही तल बस्ने, कोहीले महकाढेको मह निचोर्ने गरी कामको बाँडफाँट गरिएको हुन्छ। सुरुमा हरियो घाँसको धूवाँ मौरी भएको ठाउँसम्म पुर्याइन्छ । धूवाँले मौरी लट्ठ परेर चाका छाड्छन् अनि मात्र बल्ल सिकारी मह काढ्ने काम सुरु हुन्छ । पुनः माहुरी आएर बसोबास गरोस् भनेर केही साना चाका सोही स्थानमा छाड्ने गरिन्छ । निलुवाको मौरीभीर महका लागि निकै उत्तम रहेको सिकार टोलीले जनाएको छ। दुई घारको मात्र मह सिकार गर्दा झन्डै १० किलो मह निकालिएको छ ।
निलुवा क्षेत्रमा भीरमौरी निकै रहेकाले यसलाई पर्यटन गन्तव्यकै रूपमा विकास गर्न सकिने निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रका अध्यक्ष ओमकार सुवेदी बताउँछन्। ‘भीर मौरीको प्रचार प्रसारका लागि हामीले यसपटक ‘हनी हन्टिङ’ महोत्सवको पनि आयोजना गर्यौ,’ उनले भने, ‘मह सिकार गर्न चाहने स्वदेशी तथा विदेशी पाहुनालाई भित्र्याएर  पर्यटन केन्द्रको रूपमा विकास गर्न सकिन्छ भन्ने विश्वास जागेको छ।’ भर्खर मौरीले मह जम्मा गर्न सुरु गरेको हुँदा जेठमा सबै घारको मह काढ्न उपयुक्त हुने सिकारीले सुझावअनुसार महोत्सवमा दुईवटा घारको मात्रै मह काढिएको छ । उक्त भीरमा ३० भन्दा बढी भीरमौरीको घार रहेका छन्। अब व्यावसायिक रूपमा मह सिकार गराइने गलकोट नगरपालिका–४ का अध्यक्ष बलबहादुर खत्री बताउँछन्।

भीरमौरीको मह स्वास्थ्यवद्र्धक मानिने हुँदा व्यावसायिक बनाउन सकिने उनको भनाइ छ । ‘बिरलै हुने गरेको मह सिकार निलुवामा गर्न सकिने देखिएको छ,’ अध्यक्ष खत्रीले भने, ‘यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास छ । हामी व्यावसायिक रूपमा यसको सिकारका लागि पहल थाल्छौं ।’ पछिल्लो समय निलुवा प्राकृतिक सुन्दरतायुक्त पर्यटकीय गन्तव्यको रूपमा परिचित रहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत गैरेले बताए । ‘मह सिकार साहसिक कला भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ,’ उनले भने, ‘लेकाली हावापानीमा अवस्थित निलुवामा पर्यटकीय पूर्वाधारको अभाव रहेका कारण यस क्षेत्रको विकासका लागि नगरपालिकाले गुरुयोजना बनाउने तयारीमा लागेको छ।’

बागलुङ सदरमुकामदेखि ४५ किमि गाडीको यात्रापछि निलुवा पुग्न सकिन्छ । भीरमौरीको मह स्वादिलो र विभिन्न रोगविरुद्धको औषधिको रूपमा प्रयोग गरिन्छ। भीरमाहुरीको चरन क्षेत्र फराकिलो हुने र विभिन्न फलपूmलदेखि जडीबुटीको रस खाने हुँदा भीरमह औषधिको रूपमा प्रयोग गरिन्छ। जिल्लाको ताराखोला, रणसिंहकिटेनी, पाण्डवखानीको रमुवालगायतको क्षेत्रमा प्रत्येक वर्ष भीरमौरीको सिकार हुने गरेको छ। साहसी मह सिकारीहरूले गर्ने ठूलो जोखिम लिएर गर्ने मह सिकार पर्यटकका लागि नौलो र आकर्षणको विषय हुन सक्छ । उचित सुरक्षाका साधनहरूको उपयोग गरी पर्यटकहरूलाई आफै महको सिकारमा सहभागी हुने अवस्थाको सिर्जना गर्न सके ‘हनी हन्टिङ’ पनि पर्यटनको अर्को गन्तव्य बन्न सक्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App