१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

इलामको मानेभञ्ज्याङमा ल्यान्डरोभर उत्सव

भारतीय सीमावर्ती मानेभज्याङमा आयोजित ल्यान्डरोभरको ७०औं वर्षउत्सवमा भेला गरिएका ल्यान्डरोभर गाडी। तस्बिर/नागरिक

इलाम – पूर्वी सीमावर्ती बजार मानेभञ्ज्याङनजिकैको भारतीय भूमिमा स्थानीय व्यवसायीले ल्यान्डरोभर गाडी उत्पादनको ७०औं वर्षे उत्सव मनाएका छन्। मानेभञ्ज्याङस्थित खेलमैदानमा आयोजित उत्सवमा यो क्षेत्रमा चलाउने गरिएका ४ दर्जन हाराहारी ल्यान्डरोभरको र्यालीसमेत आयोजना गरियो। 

नेपालमा सरकारले गत चैत १ देखि २० वर्ष पुराना सवारी साधन गुड्न प्रतिबन्ध गर्दा सयौं ल्यान्डरोभर थन्किएका छन्। तर, सीमावर्ती भारतीय उच्च पर्यटकीय क्षेत्र घुम्न पर्यटकले ल्यान्डरोभर नै रोज्ने गरेकाले भारतमा ल्यान्डरोभर संरक्षण गरिएको छ। पर्यटकले पहाडी क्षेत्र घुम्न रुचाउने ल्यान्डरोभर उत्पादन भएको ७० वर्ष पुग्दा भारतीय व्यवसायी निकै हर्षित हुँदै उत्सव मनाएका हुन्।

उत्सव मनाउन दार्जिलिङस्थित गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसनका उच्च अधिकारीदेखि ल्यान्डरोभर कम्पनीको कोलकातास्थित कार्यालयका कर्मचारीसमेत मानेभञ्ज्याङ आएका थिए। उनीहरूले ल्यान्डरोभर संरक्षण गर्दा पहाडी क्षेत्रको पर्यटन विकासमा महŒवपूर्ण योगदान पुगेको बताए। कोलकाताबाट आएका ल्यान्डरोभर कम्पनीका कर्मचारी तन्मय सिंहले भारतका पहाडी क्षेत्रमध्ये सबैभन्दा बढी संख्यामा ल्यान्डरोभर चल्ने ठाउँ मानेभञ्ज्याङ आसपासमै ल्यान्डरोभरको ७०औं वर्षउत्सव मनाउँदा आफूहरू हर्षित भएको बताए। 

ल्यान्डरोभर कम्पनी र स्थानीय ल्यान्डरोभर एसोसिएसनले आयोजना गरेको उत्सव अवसरमा यो क्षेत्रमा ल्यान्डरोभर कुदाउने चालकहरूलाई सम्मानसमेत गरियो। ४४ वर्षदेखि ल्यान्डरोभर गाडी चलाइरहेका स्थानीय चालक पासाङ तामाङले पहाडका निकै अप्ठ्यारा सडकमा ल्यान्डरोभर चलाउँदा सहज लाग्ने गरेको सुनाए। 

हिउँदभर इलामकै सन्दकपुरसम्म पर्यटक ओसार्न र वर्षामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का क्याम्पसम्म खाद्यान्न पुर्याउन ल्यान्डरोभर नै यहाँको विकल्प भएको उनले बताए। बेलायतमा निर्माण भएका ल्यान्डरोभर भारतीय र नेपाली सीमावर्ती क्षेत्रमा वर्षाैंदेखि सञ्चालन हुँदा गाउँमा यातायात सुविधा सहज थियो। तर, भारतमा संरक्षण भइरहेका ल्यान्डरोभर नेपालमा चाहिँ प्रतिबन्ध हुँदा व्यवसायी र दुर्गम गाउँका यात्रुलाई सास्ती भइरहेको व्यवसायी बताउँछन्। 

व्यवसायी गृष्म सुब्बाले ल्यान्डरोभर चल्न छाडेपछि गाउँको यातायात सेवा प्रभावित भएको र सहरसँग दुर्गम गाउँको सवारी सम्बन्ध टुटेको बताए। 

इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुरलगायत पूर्वी पहाडका दर्जनौं गाउँमा यातायातका साधनका नाममा तिनै ल्यान्डरोभर थिए। वातावरण प्रदूषण र दुर्घटना कम गर्न भन्दै सरकारले २०७३ फागुन १७ पछि काठमाडौं उपत्यका तथा २०७४ फागुनदेखि उपत्यकाबाहिरबाट २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय २०७२ सालमै गरेको थियो।

पुराना सवारी साधन स्क्याप (कवाडी)मा परिणत गर्ने सरकारको त्यही निर्णयअनुसार चैत १ देखि पुराना सवारी चल्न छाडेका हुन्। सवारी साधनलाई आयुका आधारमा नभई अवस्था (कन्डिसन)का आधारमा चल्न दिन व्यवसायीको माग छ। 

प्रकाशित: २० वैशाख २०७५ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App