१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक :  बैद्य

नेपालगन्ज– नेकपा (क्रान्तिकारी माओबादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक रहेकोे बताएका छन्। नेकपा एमाले र माओबादी केन्द्रलाई दक्षिणपन्थी कम्युनिष्ट पार्टीको संज्ञा दिदै उनले आफ्नो पार्टीसहित केही क्रान्तिकारी कम्युनिष्ट शक्तिबीच नयाँ ध्रुविकरण र एकता हुने स्पष्ट पारे। 

क्रान्तिकारी पत्रकार महासंघले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव बैद्यले भने, ‘दक्षिणपन्थी धारले एकीकरण गर्दै हुनुहुन्छ, भने क्रान्तिकारी धार पनि एकिकरणको प्रक्रियामा लागेका छौं, कति सफल हुन्छौं अहिले भन्न सक्दैनौं।’ नेपालमा ‘नयाँ जनवादी क्रान्ति’ सफल पार्ने,  बैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा अगाडी बढ्ने उनले बताए। मोहन विक्रम सिंह नेतृत्वको कम्युनिष्ट पार्टीसँग आफुहरुको कुरा मिल्ने बताउँदै कतिपय अवस्थामा कार्यगत एकता पनि हुदै आएको बैद्यले खुलाए।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग कतिपय कुरामा अस्पष्ट भएपनि मिलेको ठाउँमा कार्यगत एकता गरिने बताए। ‘जनवादी क्रान्ति’ ल्याउन पटक–पटक आन्दोलन भएपनि पुरा हुन नसकेको महासचिव बैद्यको बुझाई छ। उनले भने, ‘नेपाली जनताले धेरै रगत बगाए, साहदत भयो, कयौं बेपत्ता पारिए, कयौंको अंगभंग भयो,  तरपनि नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खायो, १० वर्षे जनयुद्धले धक्का खायो।’ नेपाली जनताले आंशिक रुपमा मात्र परिवर्तनको महसुस गरेको जिकिर गरे। 

बैद्यले एमाले र माओबादी केन्द्रले कम्युनिष्टको मुल्य र मान्यतालाई बिर्सिसकेको बताए। ‘उहाँहरु बाम पनि होईन, कम्युनिष्ट पनि होइन, बैद्यले थपे ‘अब नेपाली काँग्रेसभन्दा फरक हुनु भएन।’ मुलुकमा कम्युनिष्टप्रति चलेको आकर्षणको फाइदा एमाले र माओबादी केन्द्रले लिने काम गरेको उनको बुझाई छ।

प्रकाशित: १६ वैशाख २०७५ १५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App