२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सूर्यविनायकको पाखागाउँमा डोजर आंतक

डोजर आतंकले जर्जर बनेको पाँखागाउँ। तस्बिर: नागरिक

भक्तपुरको सूर्यविनायक नगरपालिका वढा ९ नंखेलमा रातिराति चलिरहेको डोजर आतंकले स्थानीय त्रसित बनेका छन्। नंखेलको पाँखागाउँमा जग्गा सम्याउने नाममा अहिले डोजर चलिरहेको छ। जथाभाबी रूपमा रातिराति डोजर चलाएर जग्गा सम्याउँदा स्थानीयवासीमा रातको बीचमा नै केही दुर्घटना हुने हो कि भन्ने त्रास बढेको हो। वनको सिमाना नै गहिरो पार्नेगरी चलाइका डोजरले कुनै पनि बेला वन नै तल खस्ने हो कि भनेर भय स्थानीयमा छ।

‘अब बर्खा आउल लाग्यो, डोजर आतंक रोकिएन भने त हामी बर्खामा पहिरोले पुरिएर मर्न बेर छैन,’ एक स्थानीयले भने, ‘पटकपटक डोजर आतंक रोक्न स्थानीयवासीले वडा कार्यालय, नगरपालिकालगायत सम्बन्धित निकायमा माग गर्दा पनि सुनुवाइ भएको छैन।’

सूर्यविनायक नगरपालिकाले डोजर लगाएर अव्यवस्थित जग्गा सम्याउन अनुमति दिएकाले वडाका कतिपय बस्ती नै जोखिममा पर्ने सम्भावना बढेर गएको स्थानीय बासिन्दाको भनाइ छ।

जग्गाधनीलाई वनको सिमानासँग जोडिएका भिरालो भूबनोटको अध्ययन नै नगरी नगरपालिकाले जग्गा सम्याउन सिफारिस दिएका कारण सो भूगोलसग जोडिएका तल्लो तटीय बस्ती जोखिममा पर्ने सम्भावना बढेर गएकोमा उनीहरूको चिन्ता हो। नगरपालिकाकै मिलोमतोमा तीन–चार ठाउँमा जग्गा सम्याउने नाममा ‘प्लानिङ’ को खेती भइराखेको आरोप स्थानीयको छ।

स्थानीयका अनुसार पहिले जग्गा सम्याउने भनेर नगरपालिकाबाट स्वीकृति लिन्छन् र पछि त्यही ठाउँमा प्लटिङ गरिन्छ। ‘पहिलो चरणमा प्लानिङका लागि सिफारिस दिँदा आफू अप्ठेरोमा पर्ने डर भएकाले जग्गा सम्याउन भनेर स्वीकृति दिने गरिएको छ,’ स्थानीयले भने, ‘नगरपालिकाले प्रायः सबै ठाउँमा यस्तो तरिका अपनाउँदै आएको देखिन्छ।’

एकातिर आफूले प्लानिङका लागि सिफारिस नदिएको भन्ने अर्कोतिर जग्गाधनीहरूले जथाभावी डोजर लगाएर डाँडो सम्याउँदा चुप लागरे बस्ने एक प्रकारको परम्परा नै नगरपालिकाले बसालेको नाम सार्वजनिक नगरिदिन अनुरोध गर्दै एक स्थानीयले भने।

वन अतिक्रमण

पाखागाउँको वन क्षेत्रसमेत अतिक्रमण गरेर जग्गा सम्याउने काम भइराखेको छ। तर नगरपालिका र सम्बन्धित वडा मौन बसेको स्थानीयको आरोप छ। उनीहरूका अनुसार जग्गा सम्याउने नाममा वनको जग्गासमेत अतिक्रमण गर्दै ३०–३५ वटा रुख काटिएका छन् तर पनि नगरपालिकाले त्यसप्रति चासो दिएको छैन।

स्थानीय वन उपभोक्ता समितिले त्यसबारे जानकारी वन विभागलाई गराएपछि वनका कर्मचारी निरीक्षणका लागि आएका थिए। जग्गावालाले आफ्नो जग्गा सम्याउने क्रममा वनसमेत अतिक्रमण गरेको पाइएपछि उनीहरूलाई वनले जरिवाना रकमसमेत तोकेको थियो। तर डोजर आतंक नरोकिएकाले स्थानीय त्रासमा छन्।

जग्गा सम्याउन वडामा निवेदन

जग्गाधनी गोविन्द अधिकारीलगायत ४ जनाले वडा कार्यालयमा २०८० माघ १६ गते निवेदन दिएका थिए। उनीहरूले आफ्नो निवेदनमा जग्जा सम्याउने र त्यसलाई खेतीयोग्य बनाउने भनेर उल्लेख गरेका थिए। यसको अर्थ त्यहाँ प्लानिङ होइन, खेतीयोग्य जग्गा हुनेछ भन्ने विश्वास स्थानीयको थियो। नगरपालिकाले पनि त्यस क्षेत्रलाई खेतीयोग्य जग्गाको रूपमा वर्गीकरण गर्ने विश्वास थियो। तर जग्गाधनीको नियत ‘प्लानिङ’ गर्ने देखिएपछि स्थानीयको विश्वास उडेको छ।

वडामा जग्गाधनीले दिएको निवेदनमा जग्गा सम्याएर खेतीयोग्य जमिन बनाउने उल्लेख छ। वडाले नगरपालिकालाई गरेको सिफारिसपत्रमा डोजर लगाएर जग्गा सम्याउन दिन भनिएको छ। वडाको डोजरमोहलाई स्थानीयवासीले अर्थपूर्ण ढंगबाट हेरेका छन्। ‘किन निवेदकले उल्लेख नै नगरेको डोजरमा वडाको मोह बढेको हो?’ स्थानीयको प्रश्न छ।

माटोको तस्करी

सूर्यविनायक नगरपालिकाका विभिन्त्र ठाउँबाट ठुलो परिमाणमा माटोको तस्करी हुँदै आएको छ। नगरपालिका अवैध रूपमा माटोको तस्करीबाट आउने मोटो कमिसनको खेतीमा रमाउँदै आएको आरोप स्थानीयको छ। यसले गर्दा नगरपालिकाका विभिन्त्र ठाउँ र वन क्षेत्रमा माटो बिक्री गर्ने लोभले असामान्य रूपमा फराकिला संरचनाहरू निर्माण भएका छन्। ‘नगरपालिकाको मिलेमतोमा हुने माटोको तस्करी अहिले पनि रोकिएको छैन,’ स्थानीयले भने। पछिल्लो समय बरु यसले नगरपालिकाको संरक्षणमा तीव्रता पाएको आरोप उनीहरूको छ। सम्याउने क्रममा जति धेरै माटो निकाल्न सकियो त्यति नै धेरै कमिसन नगरपालिकालाई प्राप्त हुने भएकाले रातिराति निर्वाध रूपमा नगरपालिकाले डोजर चलाउन दिएको स्थानीयले सुनाए।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले डोजर चलाउन नदिएको दाबी गरिन्। यस विषयमा प्रतिक्रिया लिन मेयर वासुदेव थापासँग पटकपटक मोबाइलमा सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएन।

प्रकाशित: १५ वैशाख २०८१ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App