१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

साइनो गाँस्दै नेपाल–सिक्किम

सिक्किम सरकारका पशु तथा कृषिमन्त्री सोमनाथ पौडेल (बायाँ) लाई इलामका पर्यटकीयस्थलको तस्बिर प्रदान गर्दै इलामको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली। तस्बिरः नागरिक

साङ्कोरादुखान्डु (सिक्किम) – पूर्वी नेपाल र सीमावर्ती भारतीय राज्य सिक्किमको पर्यटन प्रवद्र्धन गर्न दुवै देशका व्यवसायीले सामूहिक पहल थालेका छन्। भौगोलिक, प्राकृतिक र सांस्कृतिक विशेषताले समान दुवै क्षेत्रको समृद्धिका लागि दुवै देशका व्यवसायी–संघसंस्था ‘पर्यटन साइनो’मा गासिँदै छन्।

इलाम, पाँचथर, ताप्लेजुङ, झापा र मोरङका पर्यटनसम्बद्ध सरकारी तथा निजी क्षेत्रले सीमावर्ती सिक्किमका समकक्षीसँग सामूहिक रूपमा दुवैतर्फको पर्यटनका लागि सहकार्य थालेका हुन्। व्यवसायी र सरोकारवालाले पारिवारिक साइनो–सम्बन्धदेखि सीमावर्ती क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण र परस्पर हितमा सहयोग आदान प्रदानबारे छलफल गरेका छन्।

भारत सिक्किम राज्यको गेजिङस्थित साङ्कोरादुखान्डु गाउँमा २२ मार्चदेखि २६ सम्म चलिरहेको ‘नुनथले लालीगुराँस पर्यटन महोत्सव’मा पूर्वी नेपालका पर्यटन व्यवसायी, पर्यटनसँग सम्बद्ध संघ–संस्था र सरोकारवाला पनि सहभागी भए। इलामको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, पर्यटन सरोकार समिति, इलाम उद्योग वाणिज्य संघ, होटल एसोसिएसन तथा विराटनगरस्थित विराट पर्यटन प्रवद्र्धन समितिका पदाधिकारी महोत्सवमा सहभागी भएका हुन्। सिक्किम सरकारको निमन्त्रणामा पूर्वी नेपालका पर्यटकीय क्षेत्रका व्यवसायी र सरकारी निकायका करिब २० प्रतिनिधि महोत्सवमा सहभागी भए। स्थानीय उत्पादनहरू अदुवा, बेसार, आलु, मटरदेखि गुराँसैगुराँसको गाउँ नुनथलेमा पाइने चौंरीसमेत महोत्सवको प्रदर्शनीमा छन्। परम्परागत जाँतो, अलैंची सुकाउने भट्टी, काठको रोटेपिङ, गाई, भेडा, फुसले छाएका घरलगायत महोत्सवका आकर्षण भएका छन्।

मानेबुङ–देन्ताम पर्यटन समितिले नेपालीभाषीकै बसोबास रहेको सिक्किमका दुर्गम क्षेत्रमा हरेक वर्ष पर्यटन महोत्सव आयोजना गरिरहेको छ। यो पटक नुनथलेलाई लक्ष्य बनाएर सिक्किम सरकारका मन्त्री नरेन्द्रकुमार सुब्बाको पहलमा लालीगुराँस महोत्सव आयोजना गरिएको आयोजक समिति अध्यक्ष तुलसीबहादुर क्षेत्रीले बताए। ‘यो दुर्गम क्षेत्र भएपनि कृषि, प्रकृति र पशुपालनको प्रवद्र्धन गर्नसके ग्रामीण पर्यटन फस्टाउने भएकाले महोत्सव आयोजना गरिएको हो,’ साङ्कोरादुखान्डु ग्रामपञ्चायतका अध्यक्षसमेत रहेका क्षेत्रीले भने, ‘महोत्सवले पर्यटन र पर्यटनले दीगो विकासको आधार तयार गर्छ भन्ने हाम्रो बुझाइ हो।’ अध्यक्ष क्षेत्रीले पाँचै दिनको कार्यक्रममा प्रत्येक दिन बेग्लाबेग्लै मन्त्री आएर महोत्सवलाई सम्बोधन गर्ने बताए।

महोत्सवमा आएका मेची पहाडीका कार्यकारी निर्देशक केशव धौरालीले सिक्किमसँग जोडिएको पूर्वी नेपालका पर्यटकीय क्षेत्रमा दुवै देशको सहकार्यमा पर्यटकीय पदमार्ग निर्माण गर्नुपर्ने बताए। उनले इलाम, पाँचथर, ताप्लेजुङलगायतका पूर्वी क्षेत्र र सीमा जोडिएको सिक्किमको कला, संस्कृति, भौगोलिक, प्राकृतिक सबै अवस्था समान रहेकाले पर्यटन विकासमा दुवै देशले सहकार्य गर्नुपर्ने जनाए। ‘सीमावर्ती क्षेत्रको समान विशेषता भएका स्थानमा दुवै देशले सामूहिक रूपमा पर्यटन प्रवद्र्धनको काम गर्नु आवश्यक छ,’ उनले भने, ‘पर्यटकीय पदमार्ग निर्माणदेखि पर्यटकलाई दिने प्याकेज सुविधासम्ममा दुवैतर्फका व्यवसायी सामूहिक रूपमा अघि बढ्नुपर्छ।’

धौरालीले पूर्वी पहाड र सीमा जोडिएको सिक्किमका व्यवसायीले आफ्नो क्षेत्रमा आएका पर्यटकलाई अर्काेतिर पनि घुम्न प्रोत्साहित गर्ने, पर्यटकलाई धेरैभन्दा धेरै गन्तव्यमा पुग्न हौस्याउने गर्नेजस्ता प्रयास दुवैतर्फबाट हुने बताए। ‘हामीले अहिलेसम्म एकतर्फी रूपमा मात्रै पर्यटन प्रवद्र्धनको प्रयास गरिरहेका छौं,’ उनले भने, ‘नेपाल आएका पर्यटकलाई सिक्किम पुग्न र सिक्किम आएका पर्यटकलाई नेपालतिर पनि घुम्न जाने वातावरण बनाउन सके दुवै क्षेत्रको पर्यटनले फड्को मार्छ।’

महोत्सवमा आएका सिक्किम सरकारका पशु तथा कृषिमन्त्री सोमनाथ पौडेलले दुवै देशको पर्यटकीय विकासमा सहकार्य आवश्यक रहेको जनाए। ‘पर्यटनको अथाह सम्भावना भएको सिक्किम र सीमा जोडिएको पूर्वी नेपालका व्यवसायी तथा सरोकारवालाले अब पर्यटनका लागि सामूहिक प्रयास थाल्नुपर्छ,’ उनले भने, ‘कहाँ पूर्वाधार आवश्यक छ, कहाँ समन्वय आवश्यक छ, त्यतातिर ध्यान दिएर, योजना बनाएर अघि बढौं।’ मन्त्री पौडेलले सिक्किमले गरेको प्रगति हेर्न बर्सेनि हजारौं पर्यटक आउने गरेको र सीमावर्ती नेपाली क्षेत्रको जैविक विविधता हेर्न पनि उनीहरू लालयित हुने गरेको बताए। ‘दुवै देशका सरकारी तथा निजी क्षेत्रले पर्यटन प्रवद्र्धनको काम अघि बढाउने हो भने दुवैतिर साँच्चीकै प्रगति हुने सम्भावना देखिन्छ,’ उनले भने।

इलामसहित पूर्वी पहाडी जिल्लाको पर्यटनको भर नै आन्तरिक र भारतीय पर्यटक हुन्। पश्चिम बंगाल र सिक्किमका हजारौं पर्यटक बर्सेनि पूर्वी नेपाल घुम्न आउने गरेका छन्। सिक्किमका पर्यटकलाई नेपाल र नेपालका पर्यटकलाई सिक्किमतिर घुम्ने वातावरण बनाउने प्रयास व्यवसायीले गरेका हुन्। सिक्किम सरकारले नेपाली व्यवसायीलाई निमन्त्रणा गरेजस्तै नेपाली सरोकारवालाले पनि यहाँका व्यवसायी र सरोकारवालालाई नेपालका पर्यटकीय क्षेत्रमा आयोजना गरिने महोत्सवहरूमा निम्तो दिएका छन्।

मेची पहाडीका कार्यकारी निर्देशक धौरालीले आउँदो वैशाख १ देखि ३ सम्म इलाम सदरमुकाममा आयोजना गरिने इलाम महोत्सव र पाँचथरको फालोटमा आयोजना गरिने चौंरी महोत्सवमा भारतीयलाई निम्तो दिए। ‘हामीले सिक्किमबासीलाई आफ्नो क्षेत्रमा निम्तो गर्नु भनेको वर्षमा यताका पर्यटक हाम्रोतिर धेरै संख्यामा बढ्नु पनि हो,’ धौरालीले भने, ‘नेपाली पर्यटकीय क्षेत्र घुम्न आएका पर्यटक एकैपटक घुमेर फर्किने होइनन्, उनीहरू फेरि पनि त्यहाँ पुग्छन्, अरूलाई पनि नेपाल घुम्न प्रेरित गर्छन्।’

पारिवारिक साइनो–सम्बन्धले पनि पूर्वी नेपाल र सिक्किम नजिक छन्। आउ–जाउ पनि बाक्लै भइरहन्छ। ‘पूर्वी नेपालका किसानले खेतीपातीमा निकै ध्यान दिएको देखिन्छ,’ आयोजक समिति अध्यक्ष क्षेत्रीले भने, ‘तर, यहाँ पनि अब बाँझो जमिन राख्न नदिन, अर्गानिक खेती गरेर पर्यटक आकर्षित गर्न सरकारले योजना ल्याएको छ।’ नेपाल र भारत आउ–जाउ गर्न कुनै समस्या नभएकाले पनि पर्यटनमा सहकार्य गर्न सजिलो हुने गरेको उनको भनाइ छ। ‘आफन्त मात्रै आउ–जाउ गर्दा पनि पर्यटनमा योगदान पुग्न सक्छ,’ उनले भने, ‘दुवै देशका पर्यटन क्षेत्रमा कार्यरत संघ–संस्थासँग बसेर पर्यटन प्रवद्र्धनको योजना बनाउन आवश्यक भएको छ।’

६ लाख ४७ हजार जनसंख्या रहेको सिक्किम राज्य भारतको निकै विकसित राज्यका रूपमा परिचत छ। सिक्किमको समृद्धि सिंगो भारतका लागि नमुनाका रूपमा लिइन्छ। इलामले सिक्किमसँग भगिनी सम्बन्ध स्थापनाका लागि पनि पहल गर्नुपर्ने मेची पहाडीका कार्यकारी निर्देशक धौराली बताउँछन्। सिक्किमसँग मात्र होइन, नेपाली व्यवसायी र संघ–संस्थाले भारतको पश्चिम बंगालसँग पनि पर्यटन प्रवद्र्धनमा केही समयदेखि सहकार्य गर्दैछन्। गत २२ देखि २४ सेप्टेम्बर (असोज ६–८) मा सिलिगुडीमा चलेको स्थानीय उत्पादनको प्रदर्शनीमा इलामलाई निम्तो गरिएको थियो। त्यहाँको प्रदर्शनीमा मेची पहाडबाट लगिएका अर्गानिक चिया, अलैंची, ललीपप, छुर्पी, बम्बइसन, ढाका, अकबरे खोर्सानीलगायत राखिएको थियो।

फागुनदेखि वैशाख र असोजदेखि मंसिरसम्म मेची पहाड मात्र नभई भारतको दार्जिलिङ, मिरिक, सिक्कमलगायत क्षेत्रको मुख्य पर्यटकीय सिजन हो। यो सिजनमा दुवै देशका सरोकारवाला पर्यटनमा सहकार्य गर्न सक्रिय भएका छन्। ‘पहाडकी रानी’ दार्जिलिङ र मिरिकमा बर्सेनि लाखौं पर्यटक आउँछन्। त्यहाँका पर्यटक नेपालतिर आकर्षित गर्न सरोकारवालाले विशेष चासो दिइरहेका छन्। उनीहरूले बेला–बेला यहाँको कृषिउत्पादन मात्रै होइन, मौलिक संस्कृति झल्किने लोकगीत, नृत्यसमेत पश्चिम बंगालका सहरहरूमा प्रदर्शन गर्ने गरेका छन्। पर्यटन सरोकार समितिका महासचिव देवी पौड्यालले दार्जिलिङ, सिलिगुडी, सिक्किम र कोलकातासम्म पुगेर नेपाली व्यवसायीले आफ्ना उत्पादन प्रदर्शनी गर्दै पर्यटक आकर्षित गरिरहेको बताए।

प्रकाशित: १० चैत्र २०७४ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App