१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रहरी र बौद्ध धर्मावलम्बीबीच झडप

तस्विर : एजेन्सी

कोलम्बो– बौद्ध धर्मावलम्बी र अल्पसंख्यक मुसलमानबीच हिंसा भड्किएपछि श्रीलंकाली सरकारले संकटकालको घोषणा गरे पनि बौद्ध धर्मावलम्बीले प्रदर्शन गर्दा प्रहरी र उनीहरुबीच झडप भएको छ।

श्रीलंकाको पर्यटकीय नगरी क्यान्डीमा बौद्ध धर्मावलम्बी आन्दोलनकारीले मुसलमान धर्मावलम्बीको स्वामित्वमा रहेका व्यापार व्यवसाय र मस्जिदमा आक्रमण गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको र स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको बताइएको छ।क्यान्डीमा ट्राफिकसम्बन्धी विवादका क्रममा केही मुसलमानहरूको कुटपिटबाट एक बौद्धमार्गीको ज्यान गएपछि श्रीलंकामा पछिल्लो कलह सुरु भएको हो ।

साम्प्रदायिक दंगा नियन्त्रणका लागि सरकारले लगाएको कफ्र्यु तोड्दै बौद्ध धर्मावलम्बी प्रदर्शनमा उत्रिएका छन् । सरकारले संकटकालको घोषणा गरेकै दिन मंगलबार साँझ भएको झडपका कारण तीन प्रहरी घाइते भएका छन् । देशमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर श्रीलंकाली प्रहरीले सबै प्रहरीको बिदा रद्द गरेको बिबिसीले उल्लेख गरेको छ।
सामाजिक सञ्जालमा प्रतिबन्ध
कोलम्बो– देशमा साम्प्रदायिक हिंसा रोक्नका लागि भन्दै श्रीलंकाली सरकारले बुधबार तीन दिनका लागि प्रख्यात सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ ।श्रीलंका सरकारले फेसबुक, ह्वाट्सयाप, भाइबर र इन्स्टाग्रामलगायत अन्य समाजिक सञ्जाललाई पनि देशैभर प्रतिबन्ध लगाएको बताइएको छ।

‘झुटा समाचार र हल्ला सम्प्रेषणले साम्प्रदायिक मेलमिलापमा चुनौती हुनसक्ने र मानिसमा डर उत्पन्न हुनसक्ने भन्दै श्रीलंकाली रक्षा मन्त्रालयको आग्रह बमोजिम देशमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरुलाई बन्द गरिएको छ,’ श्रीलंकाको टेलिकम्युनिकेसन अनुगमन आयोगले विज्ञप्ति जारी गर्दै बताएको छ।

‘सरकारको निर्णयसँगै श्रीलंकामा हिंसा फैलिएको क्यान्डी जिल्लासहित देशका सबै क्षेत्रका मानिसलाई अब प्रख्यात सामाजिक सञ्जालको पहुँच हुने छैन,’ स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।‘अर्को सूचना जारी नभएसम्मका लागि सामाजिक सञ्जालको पहँुच र म्यासेजिङ सेवालाई प्रतिबन्ध गरिएको छ,’ श्रीलंकाको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक डायलगले विज्ञप्तिमार्फत जनाएको छ ।

मुसलमानविरुद्ध देशमा दंगा भड्किएपछि श्रीलंकाली सरकारले देशमा शान्ति कायम गर्न र साम्प्रदायिक हिंसा फैलिन नदिनका लागि भन्दै मंगलबार बिहान १० दिनका लागि राज्य संकटकालको घोषणा गरेको थियो । बौद्धधर्मावलम्बी र मुसलमान समुदायबीच झडप सुरु भएको क्यान्डी जिल्लामा सोमबारबाट लागू गरिएको कफ्र्यु बुधबारसम्मका लागि थप गरिएको छ।

बौद्धधर्मावलम्बी सिंहाली र मुसलमानबीचको पछिल्लो दंगाका कारण दुई जनाको ज्यान गएपछि श्रीलंकाली सरकारले देशमा संकटकाल घोषणा गरेको हो । यसैबीच पछिल्लो दंगमा संलग्न रहेको आरोपमा देशैभरबाट प्रहरीले दुई दर्जन व्यक्तिलाई पक्राउ गरेको एएनआईले जनाएको छ । दंगमा संलग्न भएको आरोपमा पक्राउ परेका आफ्ना नागरिकलाई रिहा गर्न माग गर्दै बौद्ध धर्मावलम्बी समुदायका मानिसले क्यान्डी जिल्लाको प्रहरी कार्यालय बाहिर घेराउ गरेका छन्।

प्रहरीले विशेष सुरक्षा व्यवस्था देशैभर लागू भएको जनाउँदै शान्ति कायम गर्नका लागि विशेष टास्क फोर्स परिचालन गरिएको बताएको छ ।सन् २०१४ मा श्रीलंकाको दक्षिण पश्चिमी क्षेत्रमा भएको हिंसामा चार जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।

 

प्रकाशित: २४ फाल्गुन २०७४ ०५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App