"

अलबिदा आइबी राई !

बिहिबार, २४ फागुन २०७४, ०८ : ४५ सम्पादकीय


केही स्रष्टाको निधनले साहित्यमात्र होइन, तिनले भरणपोषण गरिरहेको भाषा पनि टुहुरो हुन्छ । साहित्यकार इन्द्रबहादुरका राईको निधनबाट साहित्यका अभिभावकमात्र होइन, नेपाली भाषाका अथक साधक गुमेको महसुस भएको छ । उनको निधनमा सामाजिक सञ्जालदेखि पत्रपत्रिकासम्म व्यक्त टिप्पणीले नेपाली साहित्यमा उनको योगदानलाई फेरि सम्झाएको छ । नेपाल र भारतबीचको दसगजाले आइबी राई र इन्द्रबहादुर राईलाई छुट्याए पनि उनका सिर्जनाले नेपालको सबैभन्दा ठूलो र जेठो उच्च शिक्षा केन्द्र त्रिभुवन विश्वविद्यायलयका पाठ्यक्रमदेखि कर्णालीका विकट गाउँसम्मलाई उत्तिकै छोएका छन् । भाषाले भूगोल जोड्ने योभन्दा अनुपम दृष्टान्त अरू के हुन सक्छ र ? तुलनात्मक हिसाबले आइबी राईका कृति धेरै होइनन् तर उनैले स्थापित गरिदिएको मानक हो– ‘धेरै होइन, धारिलो लेख ।’ उनले लेखेका कृति दुई हातका औंलामा सजिलै अटाउँछन् तर तिनको गुण लेख्न बस्ने हो भने धेरै मसीको कलम रित्तिन्छन्। सम्भवतः थोरै लेखेर पनि धेरै बाँच्ने साहित्यकारको कोटीमा आइबी राईको नाम अग्रपंक्तिमा आउँछ । आइबी राईलाई साहित्यकारका रुपमा मात्र सीमित गर्दा उनले नेपाली साहित्यमा गरेको योगदानको अवमूल्यन हुन जान्छ। 

नेपाली भाषासेवीका हिसाबले आइबी राईको राज्य भारत थियो तर राष्ट्र नेपाल थियो भन्दा अत्युक्ति हुने छैन । उनले नेपाली भाषालाई भारतमै पनि राष्ट्रिय भाषाको मान्यता दिलाउन लामो संघर्ष गरेका थिए ।

साहित्यकारको भीडमा आइबी राई यस्ता व्यक्ति थिए जो साहित्यकारमात्र होइन, ठूला साहित्यिक चिन्तक पनि थिए । उनी चिन्तक हुनुका परिणाम नेपाली साहित्यका गहना मानिने तेस्रो आयाम र लीलालेखन परम्परा हुन् । चल्तीको बाटो हिँड्न नचाहने उनको यही स्वभावले तेस्रो आयाम र लीलालेखनको नयाँ धार नेपाली साहित्य लेखनमा भित्रिएको थियो । सामाजिक यथार्थवादमा रुमल्लिएको नेपाली साहित्यलाई उनले आयामेली आन्दोलन र लीलालेखनको सिर्कनोले हिर्काएर ब्युँताएका थिए । तेस्रो आयाम हुँदै लीलालेखनसम्मको उनको यात्रा साहित्य चिन्तक हुनुको उम्दा प्रमाण हो । तेस्रो आयाम र लीलालेखन आइबी राईको नामसँग जोडिएका साहित्यिक आन्दोलन हुन् र यसलाई उनले बैरागी काइँला र ईश्वर बल्लभसँगको साझेदारीमा नेपाली साहित्यमा स्थापित गराएका थिए । जीवनलाई सम्पूर्णतामा बुझ्नुपर्छ भन्ने तेस्रो आयामको यो मान्यता पश्चिमा समाजको अस्तित्ववादसँग निकट मानिन्छ । पौरस्त्य र पाश्चात्य साहित्यको उत्तिकै अध्ययन गरेका आइबी राईको तेस्रो आयाम पश्चिममा चलेको सिद्धान्तको लहरसँग प्रभावित भए पनि लीलालेखन उनको नेपाली साहित्यलाई मौलिक योगदान हो । यो सिद्धान्त उत्पादन र प्रचारप्रसारको एकल श्रेय उनैलाई जान्छ । तर, लीलालेखनसम्म आइपुग्नुअघि राईले सामाजिक यथार्थवाद र तेस्रो आयामका रुपमा धेरै भोटा फटाएका थिए । लीलालेखनसम्बन्धी बहस धागो फुकेझैं लामो हुँदै जान थालेपछि उनले सामाजिक यथार्थवादको उच्चतम नमुना मानिने गुरुप्रसाद मैनालीको ‘परालको आगो’ शीर्षकको कथालाई ‘कठपुतलीको मन’ शीर्षकमा लेखेर बहसको बिट मार्ने प्रयास गरेका थिए । उनकै सिको गर्दै पछि कृष्ण धरावासी, रत्नमणि नेपाल आदिले लीलालेखनलाई साहित्यमा निरन्तरता दिइरहेका छन्। 

स्रष्टा राईको महानता के थियो भने उनले न तेस्रो आयामलाई पूर्ण सिद्धान्त मानेर यसको पक्षपोषणका लागि लडे न लीलालेखनलाई नै पूर्ण माने । उनले लीलालेखनको बाटो समातेपछि त एक समय तेस्रो आयामले कल्पना गरेको ‘सम्पूर्णता’ पुग्दै–नपुगेको स्वीकारोक्ति दिएका थिए । लीलालेखनका सन्दर्भमा पनि उनको मत त्यही थियो, ‘कुनै पनि विचार सार्वकालिक हुँदैनन् । समयक्रमसँगै तिनमा परिवर्तन हुन्छ ।’ दुवै लेखनको जटिलताले नै होला नेपाली साहित्यमा न तेस्रो आयामलाई बोक्ने नयाँ पुस्ताको काँध देखियो, न लीलालेखन अनुसरण गर्ने थुप्रो पैताला । तर, उनको योगदानको उचाइ उनकै पुस्ताका सर्जकसँग तुलना गरेर मापन गर्न सकिन्छ । हो, उनको सिद्धान्तमा पूर्णता थिएन तर कमसे कम सिद्धान्त त आफ्नै थियो ।  सायद आइबी राईलाई बाँकी सर्जकभन्दा भिन्न बनाउने यही एउटा विशेषता हो । नेपाली भाषासेवीका हिसाबले आइबी राईको राज्य भारत थियो तर राष्ट्र नेपाल थियो भन्दा अत्युक्ति हुने छैन । उनले नेपाली भाषालाई भारतमै पनि राष्ट्रिय भाषाको मान्यता दिलाउन लामो संघर्ष गरेका थिए । नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा उनकै प्रयत्नको कारण पर्न सम्भव भएको थियो । नेपाली भाषाका लागि संघर्ष गरिरहँदा उनको व्यक्तिगत घरसम्पत्तिमा पनि क्षति सामना गर्नुपरेको थियो । त्यसैले आज दार्जिलिङमा चलिरहेको गोर्खाल्यान्ड राज्यको सैद्धान्तीकरणमा पनि उनको भूमिका थियो भन्नु उनलाई सम्मान नै हो । किनकि आज त्यहाँका जनताले बेग्लै राज्यको माग गरिरहँदा यसको पहिलो आधार भाषालाई मान्दै आएका छन् । नेपाली भाषासाहित्यको श्रीवृद्धिका निम्ति आजन्म खटेका यी साहित्यिक मनिषीको अवसानले हामी पनि मर्माहत भएका छौं । अलबिदा आइबी राई !







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...