"

समृद्धि सपना

मङ्गलबार, २२ फागुन २०७४, १० : ५३ नागरिक


कृष्णप्रसाद पौडेल
पूर्वप्रधानमन्त्रीका आवेशपूर्ण निर्णय, अहिलेका प्रधानमन्त्रीको अवैध धनबारेको बोली, एनसेलको कर छली, लोकमानको मनपरीतन्त्र, सुशीला कार्कीमाथि लगाएको महाभियोग, मेडिकल तथा शिक्षा क्षेत्रमा माफियाको चलखेल, चूडामणि शर्माको अकूत सम्पत्ति आर्जन, गोपाल पराजुलीको मानहानि मुद्दा तत्कालीन नेपालको राजनैतिक तथा प्रशासनिक नेतृत्व जन्माउने र जोगाइराख्ने संस्कृतिका केही प्रतिनिधि उदाहरण मात्र हुन्।

यी कुराको पृष्ठभूमि केलाउँदा, नेपाली राजनीतिको रंगमञ्च मुख्यतः वंशीय तथा जहानियाँ शासनका प्रतिनिधि, भ्रष्टाचारको उर्वरतामा उदाउँदो मध्यम वर्ग, बिचौलिया र दलालहरूले कब्जा जमाएका छन् । यी प्रतिनिधि पात्रकोे राजनैतिक संस्कृतिको चर्चा नगरी नेपालको राजनीति बुझ्न सकिँदैन।

कुरा सुरु गरौँ, वंशीय तथा जहानियाँ शासनका प्रतिनिधिबाट । बेथिति र भ्रष्टाचारलाई संस्थागत गर्ने राजनैतिक नेतृत्व बनाउन यिनको निकै ठूलो योगदान छ । आफ्ना मान्छेको चाकडी, भनसुन र चलखेलमा मात्र विश्वास गर्ने यो समूह ‘दिनमध्ये आज र मान्छेमध्ये म’मा मात्र विश्वास गर्छ । यीमहाभारत कथाका धृतराष्ट्रझैँआफ्ना मान्छेका लागि अन्धा भएका हुन्छन् । यिनकै सिको गरेर समग्र नेपाली समाजको सबै तह र तप्कामा यो प्रवृत्तिमौलाएको छ।

निम्न आर्थिक वर्गबाट आएका भएपनि सबै पार्टीहरूमा यिनै सामन्ती नेताहरूको  बोलवाला छ । उनीहरूले रैती नेता कार्यकर्ता उत्पादन कारखाना चलाएका छन् । यो कुरा स्थानीय, प्रदेश सभा, समानुपातिक, राष्ट्रिय सभा, प्रतिनिधिदेखि सरकारमा प्रतिनिधित्व गर्ने सवालमा पनि उस्तै देखिन्छ।

यस्तो प्रवृत्तिको सामना गर्ने आँट धेरैले गुमाइसकेका छन् । पार्टी मात्र हैन, गुट फेर्ने दौड तीव्र छ । सबैलाई हेक्का रहोस्, गुट उपगुटका हेकुलाले ठेलेर समाजवादी या लोकतान्त्रिक पार्र्टी बन्दैन बरू आ–आफ्नै बेसुुरमा हराएका पाटीपौवामा बस्ने रमितेको जमात बन्छ । यो कुरा अब नेताले मात्र हैन, कार्यकर्ताले ख्याल गर्न जरुरी छ किनकि गुटका मतियारको आरोप नेताहरूले हैन, कार्यकर्ताले खेप्ने गरेका छन् । तसर्थ समय छँदै यो आरोपबाट मुक्त हुँदै पार्टीभित्र लोकतन्त्रको बीउ रोप्न नसक्ने हो भने पार्टीहरूले बाँडेको ‘समृद्धिको फल आँखा तरी मर’ हुने पक्का छ ।  

अर्को, राजनीतिको मियोमा जहिले पनि मध्यम वर्ग हाबी हुन्छ किनकियो जर्ज अरबेलले चारखुट्टेको घरजममा बयान गरे जस्तो अरूलाई देखाउने र चपाउने छुट्टाछुट्टै दाँत राखेर बसेको हुन्छ । यसले भित्री मनले भ्रष्ट हुनुमासधैँ गर्व गर्छभने बाहिर लोकाचारका लागि समृद्धिको भाषण गर्नमै रमाउँछ । यो प्रवृत्ति सबैखाले साँठगाँठ, मिलेमतो र लेनदेनमा छर्लंगै देखिन्छ । यस्तो बेथितिमा मौलाएको राजनीतिको मुहान सफा गर्नेतर्फ कुनै पाइला नचाली समृद्धिको मात्र भाषण गर्नु यो वर्गको विशेषता हो । यसले कुशासन, बेथिति र भ्रष्टाचारविरुद्धको अभियानमा सकेसम्म बाँदरले जस्तो नदेखेको अभिनय गर्छ केही गरी नसके सुतुरमुर्गको चाल चल्छ।

बिचौलिया, सत्ताको अर्को गहना हो । यो छेपारोजस्तै रंग फेरिरहन्छ । यो मुख्यतः नेपालको कर्मचारीतन्त्र र यसले मलजल गरेर हुर्काएको बौद्धिक वर्ग हो जुन राजनैतिक चाकडीमा लिप्तभइरहन्छ । यो सुदखोर राजनैतिक गुट बनाउन सधैँसक्रिय भइरहन्छ । यो भ्रष्ट कर्मचारीतन्त्रको तालमेलमा अपवित्र क्रियाकलापमा मात्र संलग्न हुन्छ।

बिचौलियाहरू आम मानिसका अगाडि एक अर्कालाई औँला देखाएर आफू पन्छिने उपाय मात्र खोज्ने गर्छन् । उदाहरणका लागि, कर्मचारीहरूयिनैबौद्धिकतर्फ औँलो देखाउँछन् किनकि आधिकारिक निर्णयकर्ता नेताका हर्ताकर्ता तिनै हुन्।तरयी बिचौलियाहरू सार्वजनिक रूपमा र कार्यगत रूपमा समेत कर्मचारीहरूप्रति निरीह नै देखिन्छन् । यो कुरा राज्य पुनर्संरचनादेखि संघीयता कार्यान्वयनसम्म कर्मचारीतन्त्रको पुनर्संरचना गर्न राजनैतिक नेतृत्वले खुट्टा कमाएको बाट पनि प्रस्ट हुन्छ । 

यहीकमजोरीको जगमा टेकेर निजामती कर्मचारीहरू मानमनितो र थप सुविधाको किचलो गर्दै स्थानीय र प्रदेशतहमा जान आनाकानी गरिरहेका छन् । सँगै, यतै सिहंदरबार वरपरबाटै यी सरकारका लागि नीति निर्णय र कार्यसूची बनाउने गरेकाछन् । भुक्तभोगी भन्छन्, निरंकुश राजनैतिक व्यवस्था परिवर्तन गरियो तर राणाहरूले रोपेको र सामन्तहरूले हुर्काएको निजामती नामको विष वृक्ष जरैदेखि उखेलेर फाल्न सकिएन । यो नै अहिले हाम्रो समृद्धि हुने सपनाको सबैभन्दा ठूलो तगारो बनेको छ।

वाम गठबन्धनका एकजना शुभेच्छुकले अलि कडै शब्दमा भनेका थिए, ‘नेताहरूले भनेको समृद्धिको यात्रा सिंहदरबार दक्षिणढोका नजिक रहेको निजामती कर्मचारी टे«ड युनियनको कार्यालय बन्द गर्न सकेमात्र सुरु हुन्छ, हैन भने यो भाषणमा मात्र सीमित हुन्छ ।’हेरौँ, अब बन्ने सरकारले के गर्छ ? तर यो कुराको छनक नै नभए जस्तो गरेर बुझपचाएका छन् हाम्रा पार्टीका कार्यकर्ता र नेतागण।

अर्को, दलाल हुनु र दलाली गर्नु हाम्रो सामाजिक प्रवृत्ति हो । यसको सबैभन्दा राम्रो उदाहरण तथाकथित नागरिक समाज हो । बेथितिविरुद्ध औँला ठडाउनुपर्ने गैरसरकारी नामको नागरिक समाज आफैँ बेथितिको सिकार भएको छ । यो आफ्नै केही आन्तरिक र केही बाहिरी कारणहरूले मरिच जस्तै चाउरीपरेको छ । मुख्यतः राजनैतिक तथा प्रशासनिक नेतृत्वविरुद्ध सार्वजनिक बहस बढेसँगै समग्र गैरसरकारीक्षेत्र प्रशासनिक घेराबन्दीमा परेको छ । उसो त यस्ता केही गैरसकारी संघसंस्थाहरू समाजप्रति जवाफदेही र पारदर्शी हुने गरेका छैनन्।

यसमाथि गैरसरकारी संस्थाहरूलाई साक्षी मात्र राखेर दाताहरू आफूखुसी परियोजना चलाउने हुनाले स्थानीय आवश्यकताको सम्बोधनभन्दा कागजमा विकास दुरुस्त हुने गरेको छ । यसले गर्दा पनि स्थानीय समुदायले गैरसरकारी संस्थाहरूलाई साथ दिने त परै जाओस् खुच्चिङ भन्न थालेका छन् । यसैबाट हौसिएर नै समाजकल्याण नामको सिन्डिकेटले लेनदेनको नापतौल गर्दै गैरसरकारी संस्थाहरूलाई धम्काउँदैछ । हुन त टाठाबाठा हाकिमहरू यिनीसँगै मिलेर आफ्नो काम पट्याउन छाडेका छैनन् ।

नेताहरूले भनेको समृद्धिको यात्रा सिंहदरबार दक्षिणढोका नजिक रहेको निजामती कर्मचारी टे«ड युनियनको कार्यालय बन्द गर्न सकेमात्र सुरु हुन्छ, हैन भने यो भाषणमा मात्र सीमित हुन्छ ।

यी माथिका कुरा सुन्दा आरोप जस्तो लागे पनि हाम्रो समाजको आजको तीतो यथार्थ यहीहो । यो भनेर समाज परिवर्तनको दृढ अठोट बोकेरसमाज फेर्ने अभियानमा जुटेका इमानदारसामाजिक अगुवा, नेता तथा कार्यकर्ताको बद्ख्वाइँ गर्न खोजिएको हैन । बरूयी वा यस्तै कारणले सम्भावित दुर्घटनाबाट जोगिन र जोगाउन कस्तो सार्थक पहल आवश्यक छ भनेर चर्र्चा गर्न खोजिएको हो । तर यस्तो अभियानको सुरुवातका भने केही पूर्वसर्त छन् । मुख्यतः दलहरूको आन्तरिक गुटतन्त्र, प्रशासनिक नेतृत्वको लुटतन्त्र र नागरिक समाजको निरीहपन नफेरी यो मुलुक फेरिँदैन । यी प्रवृत्तिलाई फेर्ने राजनीतिक कार्यकर्ता र नेतृत्वले नै हो अरूले त घच्घच्याउने र सघाउने मात्र हो।

मुख्यतः अहिले दलहरूको आन्तरिक लोकतन्त्र सबैभन्दा संकटमा छ ।सबै पार्टीहरू राजनीतिक वेश्यालयजस्तै बनेका छन् । धेरै पार्टीहरूलाई दर्शन, विचार र दृष्टिकोणको कुनै अर्थ छैन । बुद्धले कति कक्षा पढेका थिए र ? बाबुराम धेरै पढेर बिग्रिए भनेर ज्ञानको उपहास गर्नेहरू अहिले सत्ताको शीर्ष स्थानमा छन् । मुर्कट्टा संस्कृतिमा रमाउने यो जमातआफ्नो गुटको स्वार्थमा चुर्लुम्म डुबेको छ। आन्तरिक लोकतन्त्रको खडेरी नै छ । कति राजनैतिक पार्टीको दर्जा त जुवाको खालको च्याँखेभन्दा माथि राख्नुपर्ने कुनै कारणसमेत छैन।

यति हुँदाहुँदै पनि फेरिने प्रतिबद्धता र फेर्ने दबाब दुवैको नेतृत्व राजनीतिक वृत्तबाटै हुने हो । बदलिएको परिवेशमा नयाँ ढंगले राजनीतिलाई परिभाषित र परिमार्जन गर्दै समृद्धिको यात्रामा अघि बढ्नुको विकल्प छैन ।आफू, समाज र देश बनाउने हो भने अब फेरिने पालो हामी सबैको हो । आफू नफेरिने अनि समाज र देश फेरिएन भनेर रोइलो गर्नु बकवास मात्र हो । त्यसो हो भने हाम्रा यी बेथिति हटाउने र प्रवृत्ति फेर्ने कामको सुरुवात कसरी र कहाँबाट गर्ने होला? आजको सबैभन्दा पेचिलो प्रश्न यही हाे।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...