"

जब बाउ प्रेममा खलनायक बने...

सोमबार, २१ फागुन २०७४, २१ : ४३ नागरिक


मधुबाला हिन्दी फिल्मकी सर्वकालिक उम्दा नायिकाका रूपमा चिनिन्छिन्। उनी आफ्नो समयको सबैभन्दा सफल अभिनेत्री मात्र थिइनन्, उनीप्रति प्रख्यात कलाकार नै ‘फिदा’ थिए। उनलाई बिहे गर्न चाहन्थे। उनको सौन्दर्य कस्तो थियो भने सम्मी कपुरले ‘रेलका डिब्बा’ फिल्मको सेटमा उनलाई देख्दा बोल्नुपर्ने संवाद नै बिर्सेका थिए। यसबाट थाहा हुन्छ, मधुबालाको सौन्दर्यको गहिराइ।

मधुबालासँग जोडिन चाहने धेरै थिए तर उनी भने दीलिपकुमारप्रति आशक्त थिइन्। उनीहरुको भेट सन् १९५१ मा ‘तराना’ चलचित्र सुटिङका बेला भएको थियो। दीलिपकुमार त्यो बेला मेघास्टार भइसकेका थिए। मधुबाला दीलिपलाई आफ्नो मनको कुरा भन्न चाहन्थिन्। आफ्नो प्रेम अभिव्यक्तिका लागि मधुबाला उचित समय र मौकाको खोजीमा थिइन्। चलचित्रको सुटिङ सकिँदै जाँदा मधुबालामा अनौठो बेचैनी बढ्दै गयो। दीलिपकै अगाडि बोल्ने हिम्मत उनमा थिएन त्यसैले एउटा प्रेमपत्र लेखिन्। चलचित्रकै सुटिङ स्थलमा एक रातो गुलाबसहितको चिठी दीलिपकुमारको हातमा थमाइन्। चिठीमा लेखिएको थियो– ‘मप्रति तपाईंको कुनै प्रेमपूर्ण भावना छ र मलाई पे्रम गर्नुहुन्छ भने फूल आफैँसँग राख्नु होला।’ दीलिपकुमारले फूल फिर्ता गरेनन् र फूल मात्र होइन, प्रेमप्रस्ताव खुसीसाथ स्वीकार गरे। यसरी दुई चर्चित कलाकारबीचको प्रेमको पहिलो पन्ना लेखियो।

दीलिपकुमार र मधुबालाबीच अंकुरित पे्रमले बलिउड गर्मियो। उनीहरू अब एकसाथ फिल्मका प्रिमियरहरूमा देखिन थाले। ‘इन्सानियत’ फिल्मको सार्वजनिक समारोहमा दुवैसँगै उपस्थित हुँदा मधुबालाका बुबालाई भने मन परेन। मधुबालाले भने आफ्ना बुबाको चाहनाविपरीत गएर हिम्मत देखाइन्। अब बजार गर्माइसकेपछि घरमा किन कुरा नचलाउने भनेर दिलिपकुमारले आफ्नी दिदी सकिनालाई बिहेको कुरा चलाउन मधुबालाको घर पठाए। मधुबालाका बुबा अताउल्लाह खान छोरी दिन तयार भए सात दिनपछि बिहे गर्ने सन्देश पनि दिलिपले पठाए। तर मधुबालाका बुबा त्यस सम्बन्धप्रति अनुदार देखिए। उनी दुई प्रेमीप्रेमिकाबीच पर्खाल बनेर उभिए। घरमा आएको सम्बन्धलाई अताउल्लाह खानले लत्याए। 

यसपछि त दीलिपकुमार र मधुबालाबीचको प्रेममा बादल मडारियो। मधुबालालाई बुबा र दीलिपकुमारबीचको रोज्ने भन्ने समस्या भयो। मधुबाला न त परिवारविरुद्ध भएर नयाँ जीवन सुरुवात गर्न सक्थिन् न त दीलिपलाई बिर्सेर बाँच्न सक्ने अवस्थामा थिइन्। उनी चेपुवामा परिन्।

खतिजा अकबरको पुस्तक ‘आई वान्ट टु लिभः द स्टोरी अफ मधुबाला’का अनुसार सन् १९५६ मा ‘ढाके कि मलमल’ चलचित्रको सेटमा दीलिपकुमार मधुबालालाई भेट्न गए। सेटमा सोही चलचित्रका अभिनेता ओमप्रकाश पनि उपस्थित थिए। ओमप्रकाशलाई साक्षी राख्दै दिलिपकुमारले मधुबालालाई भने, ‘तिमी मसँग आजै हिँड, म तिमीलाई बिहे गर्छु।’ 
‘म सक्दिनँ,’ मधुबालाले रुँदै भनिन्, ‘म मेरो बाबाको विरुद्धमा गएर तपाईंलाई अपनाउन सक्तिनँ।’

दिलिपकुमारले भने, ‘तिमीलाई बिहे गर्न भनेर मैले सम्पूर्ण तयारी सकेको छु। म आजै जस्तोसुकै अवस्थामा पनि तिमीलाई भित्रयाउँछु। आऊ।’

‘म आउँथेँ तर म बुबालाई त्याग्न सक्तिनँ,’ फेरि पनि मधुबालाको उही उत्तर थियो।

मधुबालाले बिहेपछि बुबासँगको नाता तोड्नुपर्ने सर्त दीलिपकुमारले राखे। ‘प्रेममा सर्त राखिँदैन,’ मधुबालाले भनिन्, ‘तर मन कुँड्याएर बसेका दीलिपकुमारले उनको आग्रह मानेनन्। ‘तिम्रा उनी बाउ होलान् तर मेरा लागि उनी कोही होइनन्,’ दीलिपले रिसाउँदै जवाफ दिए, ‘कैयौँ पटक उनले मेरो बेइज्जत गरेका छन्, त्यस्ता मान्छेसँग न त भविष्यमा मेरो संगत हुनसक्छ न त तिमी नै त्यस्ताका कुरा सुन।’

मधुबाला बुबाबारे केही बोल्न सकिनन्। उनले दिलिपसँग जीवन बिताउने कुरामा पनि निर्णय गर्न सकिनन्। दिलिपले भने, ‘यस मौनताको म के अर्थ लगाऊँ ? के सम्झूँ? तिमी मसँग बिहे गर्न राजी छैनौ?’

मधुबाला मौन बसिरहिन्। उनको मौनता देखेर दिलिपकुमारको रिस चुलिँदै गयो। उनी एकोहोरो बोल्न थाले, ‘आज म यहाँबाट एक्लै जानु प¥यो भने कहिल्यै फर्केर आउने छैन। तिम्रो यादमा म बस्ने छैन न त तिम्रो प्रतीक्षा नै गर्नेछु।’ 

फेरि पनि मधुबाला निःशब्द चुपचाप रहिन्। दिलिपकुमारसँग जान तयार भइनन्। दिलिपकुमार झोँक्किदै निस्किए। उनी त्यो कोठाबाट मात्र निस्किएनन्, मधुबालाको जिन्दगीबाट पनि सधँैका लागि निस्किए। 

दिलिपकुमार मधुबालाको जीवनबाट अलग रहे पनि उनीहरुले केही चलचित्रमा सँगै काम गरे। त्यो बेला ‘मुगल–ए–आजम’को सुटिङ सक्किइसकेको थिएन। ‘नई दौर’को आउटडोर सुटिङको समय पनि नजिकिदै थियो। ४० दिनसम्म भोपालमा नै सुटिङ गर्नुपर्ने थियो। त्यही बेला सुटिङ गर्दागर्दै केही मानिसले हुलदङ्गा मच्चाए। चलचित्रका प्राविधिक र महिलालाई सुटिङका बेला समयमा दुर्व्यवहार/हातपात गरियो। मधुबालाका बुबा अताउल्लाहले त्यो ठाउँ असुरक्षित रहेको महसुस गर्दै मधुबालालाई त्यो ठाउँमा जान रोक लगाए। प्रोजेक्टबाट हात झिक्न छोरीलाई दबाबसमेत दिए। फिल्मका निर्माता तथा निर्देशक बिआर चोपडाले अताउल्लाहलाई धेरै सम्झाए पनि उनी सजिलै मान्ने किसिमका मान्छे थिएनन्। उनी आफ्नो कुरामा अडिग रहे। मधुबालालाई चलचित्रबाट निकालियो। तुरुन्तै वैजयन्तीमालालाई मधुबालाको ठाउँमा हिरोइन बनाइयो। बिआर चोपडाको रिस मरिसकेको थिएन। त्यसैले चोपडाले ‘नई दौर’ चलचित्रको एउटा विज्ञापन छपाए। विज्ञापनमा दिलिप कुमार, वैजंती माला र मधुबालाको नाम समावेश थियो तर मधुबालाको नाममा क्रस चिह्न अङ्कित थियो। यो विज्ञापन देखेपछि त मधुबालाको बुबाको रिसको कुनै सीमै रहेन। उनले पनि पत्रिकामा एउटा विज्ञापन छपाए। विज्ञापनमा मधुबालाको आउँदो चलचित्रको नाम (फागुन, काला पानी, हाबडा ब्रिज) सँगै ‘नई दौर’ पनि थियो तर ‘नई दौर’मा क्रस चिह्न लगाइएको थियो। यतिले नपुगेर उनले मधुबालालाई गलत कारणले चलचित्रबाट हटाइएको भन्दै बिआर चोपडालाई मुद्दा हाले। त्यस मुद्दाको बदलामा बिआर चोपडाले फिल्म खेल्नुअघि दिइएको रकम (साइनिङ अमाउन्ट) फिर्ता गर्न माग राख्दै मधुबालाको बुबालाई क्रिमिनल केस हाले। घटनाक्रम विकसित हँुदै कोर्ट केसमा रुपान्तरित हुन पुग्यो।

कोर्ट केस हरेक पत्रपत्रिकाका लागि प्राथमिक खुराक बन्न पुग्यो। केस चलिरहँदा हरेक पत्रपत्रिकामा दिलिपले कसको साथ दिन्छन् भन्ने विषयमा छापिन्थ्यो। तर कोर्ट ट्रायलको समयमा दिलिपकुमारले अनपेक्षित कदम चाले। उनले बिआर चोपडालाई साथ दिए। कोर्ट ट्रायलको समय दिलिपकुमार र मधुबालाको पे्रम सम्बन्धबारे चर्चा समेत भयो तर दिलिपकुमारले मधुबालासँगको प्रेमको साटो त्यसबेलाका चर्चित निर्माता÷निर्देशकलाई साथ दिए। कतिसम्म भने अदालतमा दिलिपकुमारले मधुबालाका विरुद्ध अपशब्दसमेत प्रयोग गरे। आफूले घनघोर प्रेम गरेको व्यक्तिको यस्तो रुप देखेर मधुबालाले आफ्नो वकिललाई भनिन्, ‘मलाई विश्वास लागिरहेको छैन। जो व्यक्ति मलाई औधि प्रेम गर्थे, उनले कसरी यी सब बोल्न सक्छ? मैले जसलाई सबैभन्दा बढी प्रेम गरेँ, उसले कसरी साथ छोड्न सक्छ?’ तर यस्तो भइसकेको थियो।

दिलिप कुमारले मधुबालाविरुद्ध बयान दिए पनि उनीप्रतिको प्रेम भने लुकाउन सकेनन्। अदालतमा घुइँचोका बीच उनले भने, ‘योर अनर म उनलाई औधि प्रेम गर्छु। आफ्नो जिन्दगीको अन्तिम दिनसम्म म उनलाई प्रेम गर्नेछु।’ कोर्टको सुनुवाइपछि मधुबाला एक्ली भइन्। मधुबालाको बहिनी मधुर ब्रिज भुषणका अनुसार ब्रेकअपपछि पनि दिलिपकुमार मधुवालालाई फोन गरिरहन्थे। उनी भन्ने गर्थे, ‘अताउल्लाजस्तो पाजीलाई छाडिदेऊ, अझै पनि म तिमीलाई बिहे गर्न तयार छु।’ प्रतिउत्तरमा मधुबाला भन्ने गर्थिन्, ‘पहिले मेरो घर आऊ। बुबासँग माफी माग। बुबालाई अँगालो मार र मलाई माग अनि मात्र म बिहे गर्न तयार हुन्छु। राजी छु।’ 

अहंकार प्रेमका लागि विष हुन्छ। उनीहरुबीचको अहंकारका कारण सम्बन्धमा सुधार आउन सकेन। कुनै एक जना झुकेको भए प्रेमकथामा नयाँ पाना थपिन सक्थ्यो। 

मधुबाला र दिलिपकुमारबीच सम्बन्ध सुधार हुन नसके पनि उनीहरु सँगै काम गर्नु पर्ने बाध्यता थियो। ‘मुगल–ए–आजम’ चलचित्रको सुटिङ सकिन बाँकी नै थियो। धेरै वर्षअघि त्यो चलचित्रको सुटिङ सुरु भएको थियो दुवै गहिरो प्रेममा थिए तर सुटिङ सकिने बेला ती दुईबीच पानी बाराबार भइसकेको थियो। चलचित्रको लागि एउटा खास सिन खिच्न बाँकी थियो। चलचित्रको प्रमुख पात्र सलीम अर्थात् दिलिपकुमारले अनारकलीको भूमिकामा रहेकी मधुबालालाई थप्पड हान्नुपर्ने दृश्य थियो। दृश्य खिच्दै गर्दा दिलिपकुमारले मधुबालालाई साँच्चिकै थप्पड हानिदिए। सट त ओके भयो तर मधुबालाको मानसिक अवस्था भने ओके भएन। सेटमा रहेका सबै किंकर्तव्यविमूढ भए। अब के हुने हो भन्ने आशंका धेरैलाई भयो। अब मधुबाला सेट छाडेर हिँड्छिन्? चलचित्रबाट हात झिक्छिन्? अनेकौँ आशंका निर्माता, निर्देशक, कलाकार र अन्य व्यक्तिको मनमा पैदा भयो। मधुबालाले केही भन्नु र केही गर्नु पहिले फिल्मका निर्देशक के. आसिफले मधुबालालाई एउटा कुनामा लैजाँदै भने, ‘म आज धेरै खुसी छु मधु। आज एउटा कुरा साबित भएको छ, दिलिपले तिमीलाई आजसम्म भुल्न सकेका रहेनछन्। उनी तिमीलाई कति प्रेम गर्छन् भने थप्पड हान्ने हिम्मत गरे। एउटा प्रेम गर्ने व्यक्तिले मात्र यस्तो गर्न सक्छ। तिमी जे सुकै अर्थ लगाऊ, उनले तिमीलाई प्रेम गर्छन्। पे्रम गरिरहने छन्।’

डब्डबिएका आँखाभरि आँशु राख्दै मधुबाला मौन रहिन्। 

मधुबालाकी बहिनीले एउटा अन्तर्वार्तामा भनेकी छन्, ‘मुगल–ए–आजम फिल्ममा अनारकलीलाई जे भए पनि त्यो एउटा चलचित्र थियो तर वास्तविक जीवनमा पनि मधुबालाले कहिल्यै चाहेको प्रेम पूरा गर्न पाइन।’

उनको जीवनमा दिलिपकुमारपछि किशोरकुमार आए। सन् १९६० मा उनीहरु वैवाहिक बन्धनमा बाँधिए। दिलिपकुमारले भने सन् १९६६ मा आफूभन्दा २२ वर्ष कान्छी सायरा बानोसँग बिहे गरे। मधुबालाका बुबा अताउल्लाहको स्वास्थ्य जाँच गराएर मात्र बिहे गराइदिन चाहन्थे तर केही कारणवश सम्भव हुन सकेन। मधुबालालाई सन् १९५४ मा ‘बहुत दिन हुए’ चलचित्र सुटिङ गर्दा मुटुको समस्या देखियो। सन् १९६० सम्म आइपुग्दा उनको स्वास्थ्य स्थिति निकै कमजोर भइसकेको थियो। किशोरकुमार मधुबालालाई लिएर लण्डन गए तर त्यहाँ पनि उपचार नहुने निश्चित भयो। डाक्टरले मधुबाला अब केही वर्षको मात्र पाहुना रहेको घोषित गरिदिए।

मधुबाला दिन–प्रतिदिन सिकिस्त बिरामी हुँदै गइन्। उनको शरीरले चाहिनेभन्दा बढी मात्रामा रगत उत्पादन गथ्र्यो। जसका कारण उनको नाक र मुखबाट रगत बग्ने गथ्र्यो। डाक्टर उनको घर आएर उनको शरीरबाट अनावश्यक रगत फ्याँक्थे। उनी प्रायः खोकिरहन्थिन्। उनलाई हरेक ४ देखि ५ घण्टा अवधिमा अक्सिजन दिनुपथ्र्यो। अन्ततः हिन्दी चलचित्रकी सुन्दरी हाड र छालामा परिणत भइन्। उनलाई पाउन हतारिने किशोरकुमारले समेत त्यस्तो अवस्थामा साथ दिन रुचि राखेनन्। उनले आफू व्यस्त भएको देखाउँदै मधुबालालाई उनकै परिवारकहाँ छाडिदिन्थे। उनी दुई महिनामा एक पटक मात्र भेट्न आउँथे। मधुबालाले जीवनका अन्तिम दिनहरु दिलिपकुमारसँग बिताउन चाहन्थिन्। यद्यपि उनको चाहना पूरा हुन सकेन। 

सन् १९६६ मधुबालाले दिलिपकुमारलाई भेट्न बोलाइन्। उनले दिलिपकुमार र सायरा बानुबीच विवाह भएकामा खुसी प्रकट गरिन् । उनले भेटमा सोधिन्, ‘यदि मलाई ठीक भयो र म पहिलेजस्तै स्वस्थ भएँ भने के तपाइँ मसँग चलचित्रमा काम गर्नु हुन्छ?’

दिलिपकुमारले उनलाई हौसला दिँदै भने, ‘तिमी चाँडै निको हुन्छ्यौ। तिमी ठीकै छौ। तिमी निको होऊ। म वचन दिन्छु, म तिमीसँग फेरि चलचित्रमा काम गर्नेछु।’ तर त्यो वचन पूरा हुन सकेन। मधुबालाको रोग पनि निको भएन न त उनले कुनै नयाँ फिल्ममा काम पाइन्। सन् १९६९, २३ फेबु्रअरीका दिन ३६ वर्षकै उमेरमा सदाका लागि मधुबालाले यस संसारबाट बिदा लिइन्। उनकी बहिनी त्यस क्षणलाई यसरी सम्झन्छिन्, ‘मधुबाला मर्न चाहन्न थिइन्। उनी भगवानसँग पुकार्ने गर्थिन्– अल्लाह मलाई बाँच्न देऊ, म बाँच्न चाहन्छु, ठीक हुन चाहन्छु। मलाई थोरै भए पनि जिन्दगी देऊ। समय देऊ। म स्वस्थ हुन चाहन्छु। फिल्मका हरेक चिज मैले ‘मिस’ गरिरहेकी छु। म त्यहाँ फर्कन चाहन्छु। बल्ल त म काम  सिक्दैछु। अझै धेरै काम गर्न चाहन्छु।’

उनको त्यो पुकार उनको अल्लाहले सुनेनन्। 

मधुबालाको निधन हुँदा दिलिपकुमार मद्रास (चेन्नई)मा ‘गोपी’ चलचित्रको सुटिङ गर्दै थिए। दुःखद् खबर पाएलगत्तै उनी मुम्बाई हान्निए तर उनले मधुबालाको अन्तिम झलक भने देख्न पाएनन्। उनी मधुबालालाई गाढिएको कब्रस्तान (चिहान) गए। मधुबालाको कफन अगाडि निकै समय उभिए। एक नासले हेरिरहे। उनको आत्माको शान्तिका लागि प्रार्थना गरिरहे। उनीसँग बिताएका क्षण सम्झना गरिरहे। उनीसँग बिताएका पलपल आँखाअगाडि बगिरहे, आँसुका धारा बनेर। 
न दिलिपकुमारले आफ्नो अहंकारलाई सानो बनाउन सके, न त मधुबालाले नै आफ्ना बाबु अताउल्लाहको मानका खातिर आफू दिलिपकुमारसँग भाग्न सकिन् न त अताउल्लाहले नै छोरीको खुसीमा रत्तिभर ध्यान दिए। तीन जनाको अहंकारले एउटा प्रेमकथाको दर्दनाक अन्त्य भयो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...