१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बजेट अभावले टेम्केमा टावर बन्न सकेन

भोजपुर – पूर्वको रमणीय डाँडा टेम्के आफैंमा विशाल टावर हो । त्यहाँबाट मनास्लुदेखि कञ्चनजंघा हिमालसम्मको लामो लर्कन देखिन्छ । त्यही डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा चम्काउन चिण्डो आकारको टावर बनाउने अभियान सुरु गरिएको थियो । तर, बजेट अभावले त्यो बीचमै रोकिएको छ।     

सरकारले पर्याप्त बजेट नछुट्याएकाले महत्वाकांक्षी योजना अघि बढ्न नसकेको हो । माओवादी नेता गोपाल किरातीको योजना अनुसार त्यहाँ तीन सय ६५ फिट अग्लो ३३ तले किरात गणतन्त्र टावर बनाउने अभियान थालिएको हो । टावर बनाउन एक अर्ब रुपैयाँ चाहिने किरात गणतन्त्र टावर फाउन्डेसनका अध्यक्षसमेत रहेका किराती बताउँछन् । २०६६ देखि हालसम्म त्यहाँ एक करोड ७४ लाख रुपैयाँ खर्च भइसकेको उनले बताए । भञ्ज्याङदेखि डाँडासम्म मोटर बाटो खन्न, बेस क्याम्पमा भवन बनाउन र डाँडाको माटो परिक्षणमा उक्त रकम खर्च गरिएको हो।   

‘हामीले एक अर्ब रुपैयाँको योजना बनाएका हौं । बजेट अभावले टावर निर्माण अलपत्र परेको छ,’ किराती भन्छन्, ‘यसका लागि सरकारले ठूलै बजेट छुट्याउनु पर्छ ।’ गणतन्त्रका लागि लडेको पुस्ताको सम्मान गर्न र पूर्वी नेपालको पर्यटनमा नयाँ आयाम थप्दै युवालाई गाउँमै गरिखाने वातावरण बनाउन टावर बनाउन लागिएको उनले प्रस्ट्याए । टावरसँगै बुद्ध, महादेव र यलम्बरका ठूल्ठूला मूर्ति राखिनेछ । यसो हुन सके टेम्के त्रिधार्मिक संगम बन्नेछ।

डाँडामा एउटा शिवालय छ । डाँडाको काखमा एकजना जोगीले उहिल्यै तपस्या गरेको साँघुरो गुफा छ । गुफाभित्र त्रिशुल र मूर्ति छन् । टावर बनाएपछि टेम्केको दक्षिणपट्टि सेल्मे डाँडामा अन्तर्राष्ट्रिय मूर्ति पार्क बनाउने फाउन्डेसनको योजना छ।    

किरातीका अनुसार टावरको शिरमा विशाल बिजुली राखिनेछ । राती टाढाबाट त्यसको उज्यालो देख्न सकिनेछ । २०औं तलाबाट दृश्यावलोकन गरिनेछ भने त्यहाँभन्दा माथि सर्वसाधारण जान पाउने छैनन्, माथि प्राविधिकमात्र जान पाउनेछन् । टावरको १८औं तलामा ८८ जना क्षमताको सभाकक्ष बनाइने छ । टावरमा किरात संग्रहालय, सूचना केन्द्र, होटल, लज र रेस्टुँरा समेत हुनेछन् ।
मुन्दुम ट्रेल एक्सप्लोरेसनमा काठमाडौंबाट गत पुस तेस्रो साता टेम्के पुगेका पर्यटनविज्ञको टोली चिण्डो आकारमा बन्ने टावरको योजना सुनेर उत्साहित बन्यो । ‘यस्तो खालको टावर बनाउन सके त्यो आफैंमा राम्रो पर्यटन प्रोडक्ट बन्न सक्छ,’ हिमालयन म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्यले भने, ‘टावरै हेर्न पनि पर्यटक आउनेछन्।’

टेम्के (तीन हजार मिटर) भोजपुर र खोटाङको संगमस्थल मानिन्छ । त्यहाँबाट मनास्लु, दोर्जे लाक्पा, नुम्बुर, कार्यालुङ, गौरीशंकर, क्वाङदे, चोयु, कुसुम कँगारु, थामसेर्कु, खाङतेगा, क्यासर, मेरा पिक, नुप्से, सगरमाथा, ल्होत्से, चामलाङ, मकालु, कुम्भकर्णदेखि कञ्चनजंघा हिमालसम्म देखिन्छ । सूर्योदय र सूर्यास्तसमेत चित्ताकर्षक देखिन्छ ।

टेम्केमा शिवरात्री, बाला चतुर्दशी र रामनवमीमा मेला लाग्छ । मध्य पहाडी लोकमार्गको चखेवा भञ्ज्याङबाट करिब आठ किमिमा अबस्थित डाँडामा खाने–बस्ने सुविधा छैन । तैपनी दिनहुँ घुमन्ते टेम्के चढ्छन् । खाना र बासका लागि भञ्ज्याङमा सामान्य होटल छन् । भञ्ज्याङबाट तीन घन्टा हिँडे टेम्के पुगिन्छ।  

टेम्केको पर्यटन प्रवद्र्धनमा स्थानीय टेम्के–मैयुङ गाउँपालिका तातेको छ । उसले डाँडाभन्दा मुन्तिरको पानी डाँडामा उकाल्ने तयारी गरेको छ । ‘हामी टावर बनाउने विषयमा छलफल चलाइरहेका छौं,’ गाउँपालिकाका प्रमुख धु्रब राई भन्छन्, ‘गाउँमा होमस्टे गराउने तयारीमा पनि छौं ।’ बेस क्याम्पमा बनाइएको आकर्षक भवन प्रयोगविहीन अवस्थामा छ । त्यसलाई गाउँपालिकाले पाहुना घरका रुपमा व्यवस्थित गर्नु पर्ने देखिन्छ।

लोकमार्ग खुलेसँगै टेम्केका दिन फिरेको स्थानीयको अनुभव छ । ‘अब टेम्के चम्किन्छ’, मुन्दुम ट्रेलका अभियन्ता रमेश राई भन्छन्, ‘बेस क्याम्प र चखेवा भञ्ज्याङमा राम्रा होटल तथा रेस्टुरेन्ट खोल्ने बेला भइसक्यो ।’ भञ्ज्याङबाट ४८ किमि दूरीमा दिक्तेल बजार पर्छ भने ४२ किमिमा भोजपुर बजार । टेम्के धेरैतिरबाट चढ्न सकिन्छ । खोटाङका रतन्छा, खिदिमाबाट प्रबेश गर्न सकिन्छ भने भोजपुरका नागी, खाबा, लेखर्क–पान्धारे र चखेवाबाट।

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App