१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डेढ सय वर्षपछि नेपाली चियाको लोगो

नेपाली चियाको लोगो ।

इलाम – उत्पादनको डेढ सय वर्ष र अन्तर्राष्ट्रिय बजारमा ‘उच्च गुणस्तर’का रूपमा ख्याती कमाएको लामो समयपछि सरकारले नेपाली अर्गानिक अर्थाेडक्स चियाको लोगोसम्बन्धी निर्देशिका जारी गरेको छ । कृषि मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा चियाको लोगो प्रयोगका लागि ‘नेपाली अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ जारी गरेको हो । 

नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि आवश्यक ठहर भएपनि व्यवसायीबीचकै टकरावले लामो समयसम्म नेपाली चियाले लोगो पाउन सकेको थिएन । चिया उद्योगीको संस्था हिमालयन अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसन (होट्पा)ले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयन’ लेखिएको लोगो तयार गरेर चिया तथा कफी विकास बोर्डमा पेस गरेको थियो ।

लोगो बनेर जारी भएपनि निर्देशिका अभावमा थन्किएको थियो । ‘बोर्डले मन्त्रालयमा पेस गरेपछि कृषिमन्त्रीले लोगो कार्यान्वयन निर्देशिका १७ डिसेम्बरमा जारी गरेका थिए, तर यसको सूचना बाहिर आएको थिएन,’ होट्पाका प्रमुख कार्यकारी अधिकृत तथा चियाविज्ञ चन्द्रभूषण सुब्बाले भने, ‘बोर्डकै स्वामित्वमा रहने यो लोगो सबै चिया उत्पादकका लागि अनिवार्य चाहिँ होइन । तर, जसले नेपाली चियाको लोगो प्रयोग गर्छ, उसले निर्देशिका अक्षरशः पालना गर्नुपर्छ ।’ 

नेपाली चियाको लोगो बोर्डमा आबद्ध अन्तिम उत्पादकले प्रयोग गर्न पाउने छन् । प्याकेजर वा उत्पादकले चियामा तोकिएको गुणस्तर पुगेपछि बोर्डमा निवदेन दिनुपर्ने र बोर्डले आवश्यक परे स्थलगत अवलोकनसमेत गरेपछि मात्रै लोगो प्रयोग गर्न दिने व्यवस्था निर्देशिकामा छ । चियाविज्ञ सुब्बाले चियाको लोगो कार्यान्वयन निर्देशिका तयार गर्दा मुख्य चार पक्षमा ध्यान दिएको बताए ।

‘यो लोगो त्यसले मात्रै प्रयोग गर्न पाउँछ जसले प्रकृति जोगाउने, मानिसलाई आदर गर्ने, स्वच्छ तथा सबैले देख्नेगरी उत्पादन गर्न सक्ने र गुणस्तरमा ध्यान दिएको हुनुपर्ने गरी चार सर्त यसले बोकेको छ,’ सुब्बाले भने, ‘त्यतिमात्र होइन, अर्गानिक र अर्थाेडकस उत्पादन अनिवार्य छ, चिया उत्पादन भएको माटोको परीक्षण, लगाइएका श्रमिकको अधिकार कार्यान्वयनमा पनि ध्यान पु¥याएकै हुनुपर्छ ।’  

निर्देशिकाले हरियोपत्ती उत्पादक, संकलन र ढुवानीकर्ता, प्रशोधनकर्ता, प्याकेजर, वितरकलगायत सामाजिक र वातावरणीय रूपमा सबैले पालना गर्नुपर्ने आचारसंहितासमेत व्यवस्था गरेको छ । उत्पादकले चियाको असर कृषि अभ्यास गर्नुपर्ने, आन्तरिक नियन्त्रण प्रणाली लागू गर्नुपर्ने, दुई पात एक सुइरो मात्र टिपेको हुनुपर्ने, नरम बाँझी पत्ती मात्र टिप्न पाइने, प्लास्टिकको जालीदार झोला वा डोकामा मात्र पत्ती टिप्न पाइने व्यवस्था निर्देशिकामा छ । त्यस्तै, उत्पादकले हरियो पत्ती राख्ने सामग्रीमा रासायनिक मलसमेत मिश्रण गर्न नहुने, टिपेको पत्ती ढुवानी गर्नुअघि सितल छहारीमा राख्नुपर्ने, खाँदेर वा थिचेर पत्ती राख्न नपाइने र पत्ती टिपेको बढीमा आठ घण्टाभित्र प्रशोधनस्थलसम्म पु¥याइसक्नुपर्ने लगायत व्यवस्था निर्देशिकाले गरेको छ । 

पत्ती ढुवानीकर्ताले अन्य वस्तुसँग हरियोपत्ती भण्डारण गर्न नहुने, प्रदूषणमुक्त वातावरणमा मात्रै भण्डारण गर्नुपर्ने, चियापत्ती बोक्ने सवारी साधनसमेत प्रदूषणमुक्त हुनुपर्नेजस्ता व्यवस्थासमेत निर्देशिकामा छन् । प्रशोधनकर्ताले पनि चियाको असल प्रशोधन अभ्यास गर्नुपर्ने, उत्पादकलाई हरियोपत्तीको उचित मूल्य दिएको हुनुपर्ने, कारखानामा पत्ती आइपुग्नेबित्तिकै गुणस्तर जाँच गर्नुपर्ने, ल्याइएको पत्ती कहाँको हो भन्नेसम्म स्पष्ट विवरण राख्नुपर्ने व्यवस्था पनि यसमा छ । 
अन्तर्राष्ट्रिय बजारमा नेपालको पहाडी क्षेत्रमा उत्पादन भएको अर्गानिक अर्थाेडक्स चियाको बजार सम्भावना उच्च भएपनि पहिचान भने थिएन । व्यवसायी तथा किसानले उत्पादन गरेको उच्च गुणस्तरको तयारी चिया सोझै तेस्रो मुलुकसम्म पुग्ने गरेको थियो । लोगो कार्यान्वयनमा आएपछि भने नेपालको चियाले विश्वबजारमा पहिचान पाउने चिया व्यवसायीको भनाइ छ । ‘लोगो प्रयोग गर्न निश्चित मापदण्ड पूरा गरेपछि उद्यमीले सरकारबाट निश्चित सहुलियत पाउने छन्,’ चिया उद्योगीसमेत रहेका सुब्बाले भने, ‘आचारसंहिता पालन गरेका किसानको चियालाई अर्गानिक प्रमाणीकरण र बजार प्रवद्र्धनमा सरकारले सघाउने छ ।’ 

उनले नेपालको अर्गानिक प्रमाणीकरण भएको चिया बेच्न किसान र उद्यमीले बजार खोज्दै भौंतारिनु नपर्ने बताए । ‘लोगो भनेको हाम्रो आन्तरिक अनुशासन हो,’ उनले भने, ‘यो लोगो प्रयोग गर्ने गुणस्तरको चिया उत्पादन भयो भने तर नेपाली चिया बेच्न कतै जानुपर्दैछ, विदेशी व्यापारी हाम्रो घर–घरमै आइहाल्छन् ।’ चियाविज्ञ सुब्बाले यो लोगो नेपालको चिया बिक्री भइरहेका जर्मनी, स्विजरल्यान्ड, अमेरिका, रुस, चीन, ताइवानलगायत देशमा पनि नेपाली चियाको लोगो चिनाउने बताए । उनले ६, ७ र ८ अप्रिल काठमाडौंमा अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन आयोजना गरी नेपाली चियाको लोगो विश्वभर चिनाउन प्रचार गर्ने तयारी भइरहेको पनि जानकारी दिए । 

लोगो जारी भएपछि चिया उद्योगी तथा किसान पनि हर्षित छन् । चिया उद्योगी तथा होट्पाका अगुवा उदय चापागाईंले लामो समयपछि सरकारीस्तरबाटै अर्गानिक चियाको लोगो जारी हुनु र निर्देशिकामा मन्त्रीले हस्ताक्षर गर्नु उद्यमीका लागि सुखद् भएको बताए । उनले नेपाली चियाले विश्वमा बजार पाइरहेका बेला लोगो प्रयोग गर्न सके नेपाली उत्पादनमा गुणस्तर कायम हुनुका साथै यसले एकरूपता पाउने बताए । 

अर्का अर्गानिक अर्थाेडक्स चिया उत्पादक कमल मैनालीले लोगोले अहिलेको नेपाली चियाको बजारलाई दीर्घकालीन रूपमा फाइदा पु¥याउने बताए । ‘सुरुमा नेपाली चियाको प्रचार गर्न समय लाग्छ तर अहिले तेस्रो मुलुक गइरहेको नेपाली चियाको गुणस्तर कायम नै रहे केही वर्षपछि नेपाली चियाले विश्व बजारमा उच्च मूल्य पाउँछ,’ उनले भने, ‘सुरुमा लोगो चिन्न नै समय लाग्न सक्छ ।’ 

चिया किसानसमेत नेपाली चियाले लोगो पाउने भएपछि खुसी छन् । सुलुबुङ गाउँका चिया किसान हरिकृष्ण खतिवडाले अहिलेसम्म नेपाली चियामा गुणस्तर राम्रो भएपनि ‘दार्जिलिङको चिया’का रूपमा तेस्रो मुलुक बिक्री हुँदा आफूहरूलाई दुःख लागेको सुनाए । ‘अब लोगो कार्यान्वयनमा आएपछि हाम्रो उत्पादन हाम्रै पहिचानमा विश्व पुग्ने र मूल्य पनि राम्रो पाउने आस छ,’ उनले भने । होट्पाले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र उन्नति परियोजनासँगको सहकार्यमा जिल्लाको जस्बिरेमा कार्यशाला आयोजना गरी किसानलाई लोगोको प्रयोग, यसका फाइदा र निर्देशिकाको कार्यान्वयनबारे जानकारीसमेत दिएको छ ।   

इलाम, पाँचथर र धनकुटाका उद्योगले उत्पादन गरेको अर्गानिक तयारी चिया उद्योगकै पहलमा सोझै अमेरिका, बेलायत, जापान, चीन, चेक गणतन्त्र, स्लोभाकिया, फ्रान्सलगायत देशमा निर्यात हुन्छ ।  यसको मूल्य पनि उच्च छ । ठूलो परिमाणमा उत्पादन हुने अर्थाेडक्स नन अर्गानिक चिया भारतको कोलाकातामा बिक्री हुन्छ । सरकारी बगान भाडामा लिएको त्रिबेणी सांघाई समूहसहित जिल्लाका करिब २० ठूला कारखानामा नन अर्गानिक चिया उत्पादन हुने गरेको छ । जिल्लाका दर्जन ठूला चिया उद्योगी भारतीय नै भएकाले उनीहरू यहाँको चिया बिक्रीका लागि कोलकाता लैजान्छन् । कोलकाताबाट नेपाली चिया ‘दार्जिलिङको चिया’का नाममा अन्य बजारमा जान्छ ।

सूर्याेदय नगरपालिकाको सुन्दरपानीस्थित गोर्खा टी स्टेटका सञ्चालकसमेत रहेका चापागाईंले उच्च व्यापार सम्भावना भएर पनि ब्रान्ड नहुँदा नेपाली अर्गानिक चिया युरोपमा नगन्य रहेको बताए । उनले भने, ‘यो नेपालको चिया हो भनेर बेच्न सके त्यहाँ उच्च मूल्य पाउने सम्भावना धेरै छ । तर, हामी उद्योगीहरूले आ–आफ्ना ब्रान्डमा बेच्दा यहाँको चियाको एकरूपता छैन ।’ गोर्खाले हरेक वर्ष उत्पादन गरिरहेको पौने लाख हाराहारी किलो तयारी चिया तेस्रो मुलुकमा ‘सुन्दरपानी टी’का नाममा बिक्री हुने गरेको छ ।

साखेजुङको हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालि, पाँचथरको फिदिमस्थित कञ्चनजंघा टी र धनकुटाका अर्गानिक चिया उद्योगले आ–आफ्नै नाममा तेस्रो मुलुकमा चिया बेच्छन् । २०२० सालमा इलामबाट खेती सुरु भएको नेपाली चियाको लोगो बनाउने प्रक्रिया सात वर्षअघि सुरु भएको थियो । 

 

 

प्रकाशित: २४ पुस २०७४ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App