"

दासत्वको अभिशाप

शुक्रबार, ०१ मङि्सर २०७४, १० : २६ युवराज गौतम


राजनीतिमा सधैँ स्थायित्व नहुन सक्छ तर राज्यसत्ता अस्थिर भइरहँदा राष्ट्र कमजोर बन्छ भन्ने कुरा निश्चित छ । स्थायी शक्ति आवश्यक छ भन्ने कुरामा धेरेको सहमति पाइन्छ तर ठूला राजनीतिक दलहरू नै अस्थिरतालाई नै उर्वरभूमि मानिरहेका छन् । धमिलो पानीमा धेरै माछा मार्न सकिन्छ भन्ने उनीहरूको धारणा र नियत देखिन्छ । यदि त्यसो नहुँदो हो त २०४७ सालपछिका पच्चीस–छब्बीस वर्षमा सिंहदरबारमा पटकपटक नयाँ प्रधानमन्त्रीको फोटो झुन्ड्याइने थिएन । राजनीति यति तरल हुने पनि थिएन ।


मासु पसलबाट खसीको टाउको किनेर घरैमा अक्षता–सिन्दुर दलेर नेताकी श्रमितीलाई बुझाएर ‘दक्षिणकाली माताको प्रसाद’ भन्ने ‘प्राध्यापक’ पनि देखिए ।


संसद्को निर्वाचनपछि के हुन्छ ? धेरैले प्रश्न गर्न थालेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र तथा क्षेत्रीय एवं साम्प्रदायिक शक्तिहरू चुनावपछि आफ्नो आवाज अरू मुखरित हुने प्रवचन दिइरहेका छन् । राजनीतिक संक्रमण नलम्बियोस्, जनतामा व्याप्त असन्तोष घट्दै जाओस्, स्थायित्व र प्रगति होस्, विदेशीको खटनपटन बन्द होस् भनेर शुभ चिताउनेहरू धेरै छन् । तर शुभकामनाले मात्र काम गर्दैन ।  
‘पब्लिक इन्टलेक्चुअल’ भनेर चिनिएका लेखक, प्राध्यापक, विश्लेषक आदि आफू सदस्य भएको दलको चित्त दुखाउन चाहँदैनन् । सत्य बोल्ने साहस थोरैले मात्र देखाएका छन् । युरो–डलर–भारुमा चलेका बुद्धिजीवीका गुठीहरू धरातलीय यथार्थभन्दा पनि मालिकले लेखिदिएका ‘प्रेस्क्रिप्सन’ पढेर ओखती बेच्न खोज्छन् । पछिल्ला वर्षहरूमा चीनले समेत नेपाली राजनीतिमा अप्रत्यक्ष ढंगले लगानी बढाएको अनुमान गर्न थालिएको छ । विदेशीको प्रतिस्पर्धा बढ्दै जाँदा काठमाडौँ अर्को काबुल बन्ने अवस्था आउन सक्छ ।
नेपाललाई समृद्ध बनाउन संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता भए पुग्छ भन्ने गरिएको छ तर यी तीनवटा महाऔषधि (?) प्रयोग गरेका धेरै राष्ट्र आज किन भिखारी हुँदैछन् ? बुद्धिजीवीहरू त्यसमा बहस गर्न चाहँदैनन् । समाज र राजनीतिले बाटो बिराउँदा मार्गदर्शक बन्नुपर्ने बौद्धिक वर्गका धेरैजसो व्यक्तिले बिहान नेतागणको गुरुदीक्षा लिएर आमसञ्चारका माध्यम, गोष्ठी र सेमिनारमा त्यही कुरा अभिव्यक्त गर्ने गरेको पाइन्छ । त्यसैले स्वतन्त्र बुद्धिजीवी खोज्नु र चकचक नगर्ने केटाकेटी खोज्नु उत्तिकै गाह्रो देखिन्छ ।
‘द रोड टु नो ह्वेर’ (सन् १९७८) पुस्तकमा प्राध्यापक कमल प्रकाश मल्लले बुद्धिजीवीलाई ‘स्थायी प्रतिपक्ष’ भनेका छन् । समाजको वास्तविक मूल्यांकन गर्नुपर्ने ‘परिपक्व’ प्राध्यापक र बसमा सिठ्ठी बजाउँदै ढोकामा झुन्डिने खलासीको टिप्पणी एउटै स्तरको भयो भने समाजले उनीहरूबाट के सिक्ने ?
त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र सेडाजस्ता प्राज्ञिक केन्द्रले पहिले पहिले रचनात्मक काम गर्थे । अनुसन्धानमा आधारित सयकडौँ पुस्तक प्रकाशित गरिन्थ्यो । अहिले सिनासलाई राजनीतिको पिनास लागेको छ । खड्गविक्रम शाह सिनासका प्रमुख छँदा उनको कमलादीस्थित निवासमा बिहानदेखि प्राध्यापकलगायत बौद्धिक व्यक्तिहरूको भिड देखिन्थ्यो । राजा वीरेन्द्रका भिनाजु थिए, खड्गविक्रम । शालीन, भद्र, विनम्र र अध्ययनशील थिए उनी । हिजोआज भारतीय दूतावासका प्रियपात्र बनेका एकजना प्राध्यापकले एकदिन शाहलाई उकास्दै भने, “देश बिग्रियो हजुर, पञ्चायत विरोधी सबै नेतालाई थुन्नुपर्छ ।” शाहले हाँस्दै सम्झाए, “पार्टीहरू प्रतिबन्धित छन् । त्यसैले कमजोर छन् । बिगार्ने त कुर्सीमा बस्ने केही व्यक्तिले नै हो । पञ्चायत व्यवस्थाका विरोधीलाई थुनेर व्यवस्था सुधिँ्रदैन । बरू भ्रष्टाचारीलाई पो थुन्नुपर्छ ।”
शक्तिको स्रोत सुँघेर साखुल्ले बन्ने प्रवत्तिले बुद्धिजीवीहरू नै आक्रान्त र मनोरोगी भए भने सत्य बोल्ने कसले ? सांसद, मन्त्री, राजदूत वा कुनै पदमा पुग्न पहिले राजदरबार निकट व्यक्तिका ढोका धाउनेहरूमध्ये धेरैजसो व्यक्ति २०४७ सालपछि कांग्रेस, एमाले दलका नेताका घरघरमा पुग्न थाले । मासु पसलबाट खसीको टाउको किनेर घरैमा अक्षता–सिन्दुर दल्ने अनि नेताकी श्रमितीलाई बुझाएर ‘दक्षिणकाली माताको प्रसाद’ भन्ने प्राध्यापक पनि देखिए ।
अमेरिकी विद्वान् आलन लाइटम्यानको तर्क छ, “जुन कुराको ज्ञान छैन, विद्वान्हरूले त्यसबारे बोल्नै हुँदैन । त्यो अपरिपक्व विचार ठहरिन सक्छ ।” कोलम्बिया विश्वविद्यालयका प्राध्यापक एडवार्ड सइदले भनेका छन्, “ज्ञान बढाउने र मानवीय स्वतन्त्रताको वकालत गर्ने प्रमुख दायित्व हुन्छ बुद्धिजीवीको । नागरिक समाज, दबाब समूह (जिन्जर ग्रुप) वा बौद्धिक फोरमबाट समाजले सत्यपूर्ण तटस्थताको अपेक्षा गर्छ । तर हाम्रो नगारिक समाज राजनीतिक दलका पिँजरामा बसेका ‘तोतामैना’ जस्तो देखिन्छ । प्राज्ञिक र बौद्धिक ढंगले भन्दा पनि ‘कार्यकर्ता’ भएर उनीहरू बहस गर्छन् ।
अल्बर्ट आइन्स्टाइनलाई हामीले वैज्ञानिक हुन् भन्ने मात्र बुझेका छौँ । तर उनी दर्शन, साहित्य, धर्म, संस्कृति, नीतिशास्त्र आदि विविध विषयका ज्ञाता थिए । उनका प्रवचनहरू पढ्दा त्यो छर्लंग हुन्छ । बर्टान्ड रसेल सामान्य साहित्यकार र दार्शनिक मात्र थिएनन्, धेरै विषयका ज्ञाता थिए । उनले बीबीसी रेडियोलाई दिएको प्रवचन “ह्वाई आई एम नट् ए क्रिश्चियन” (म किन क्रिश्चियन होइन) जगत् प्रसिद्ध भयो । त्यो प्रवचन सुनेपछि लाखौँ क्रिश्चियनले बाटो बदले । भारतमा राजा राममनोहरले सतिप्रथा हटाउन तत्कालीन अंग्रेज सरकारलाई दबाब दिए । ती ठूला विद्वान् थिए । दलको कोटामा “प्राज्ञ” र प्राध्यापकको पगरी लगाएर पदेन बुद्धिजीवी हुनु अर्कै कुरा हो तर समाजलाई बाटो देखाउन चाहने नागरिक समाज र बुद्धिजीवीहरू वस्तुपरक (अब्जेक्टिभ) हुनैपर्छ ।
समस्या जहाँ पनि हुन्छ । तर बद्धिजीवीहरूले पार्टीकरणको सिकार भएर आफ्नो शक्तिलाई खण्डित गरिरहेका छन् । प्राध्यापक संघको चुनावदेखि पत्रकार महासंघमा समेत दलको स्टिकर टाँसेर चुनाव लड्ने ? अलिकति पनि लाज हुँदैन ? विचार, साहस, आदर्श र अडान खोइ ? केही दैनिक पत्रिकाका सम्पादकले पार्टीका मुखपत्रले झैँ लेख र सम्पादकीय लेखेर २०६२÷६३ सालको आन्दोलनमा तत्कालीन राज्यसत्ताको जरो उधिने । बितेका दश वर्षमा देखिएको अस्थिरताले बेरोजगारी समस्या हल नभएपछि ३७ लाखभन्दा धेरै युवक–युवती रुँदैरुँदै आज पनि विदेसिइरहेका छन्, कामको खोजीमा । नागरिक समाज वा प्रेस जगत्ले राज्य हाँक्नेहरूलाई घेरामा पारेर देश किन जर्जर हुँदै छ भन्ने प्रश्न किन गर्दैनन् ? महँगीले आकाश छोएको छ । भ्रष्टाचारले जनता रोएका छन् । स्कुलमा केटाकेटीको शुल्क तिर्न नसकेर लाखौँ बालबालिकाका अभिभावक छटपटाएका छन् । संविधान बनाउनसमेत पचासौँ अर्ब रुपियाँ दान माग्नेहरूले सधैँ भिक्षाटन गरेर कहिलेसम्म चलाउँछन् देश ?
अन्तर्राष्ट्रिय शान्ति मिसनको भेषमा नेपालमा ‘अनमिन’ प्रवेश गरेपछि १०९ वटा सशस्त्र संगठन जन्मिए । अनमिन फर्काइएपछि ती गुण्डादल स्वतः हराए । नेपाललाई भाँड्ने र बाँड्ने काममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, कूटनीतिक नियोगहरू र उनीहरूको दानापानीमा बाँचेका केही बुद्धिजीवी नै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय सुरक्षाविरुद्धका षड्यन्त्रमा सक्रिय रहेको पाइन्छ । ‘देश नरहे के हुन्छ, मधेस त रहन्छ’ भन्ने परजीवीहरू बुद्धिजीवी मानिन्छन् भने ‘राजा वीरेन्द्रलाई पाता कसेर लडाउनुपर्छ र भारतीय सेना बोलाउनपर्छ’ भन्ने नेताले नेपालमा प्रधानमन्त्री हुन पाएका छन् ।
कुनै क्षमता, धरातल, आदर्श, नैतिकता र मूल्यमान्यता नभए पनि वा चौतर्फी रूपमा असफल र बदनाम भएपछि ‘सफल’ (?) हुन सकिने पेसा बन्दैछ, नेपालमा राजनीति । सजिलै करोडौँको सम्पत्ति जोड्न र सात पुस्ता पुरानो दरिद्रता हटाएर सम्भ्रान्त बन्न पाइने हुँदा राजनीतिका उच्च पदमा पुग्न तँछाडमछाड भइरहन्छ । शिक्षित, सभ्य, कुलीन र समझदार भनेर परिचित कैयन् बुद्धिजीवी, चेतनशील र क्षमतावान्हरूले समेत अपराधी, भ्रष्ट तथा कर्तव्यच्युतहरूलाई ‘अच्युत’ ठान्दै आर्थिक रूपले कमजोर तर बौद्धिक दृष्टिले अब्बल व्यक्तित्वहरूको अवहेलना गरिरहेको पाइन्छ । तर ती हेपाहाहरू शाश्वत होइनन् ।
रणनीति स्पष्ट छैन भने रण (लडाइँ) जित्न सकिँदैन । पहिलेका सैनिकलाई ‘म्याप टु ग्राउन्ड एन्ड ग्राउन्ड टु म्याप’ सिकाइन्थ्यो । किलिङ जोन (चक्रव्यूह) बनाउन सिकाइन्थ्यो । आज बाह्यशक्तिले लेखक, कूटनीतिज्ञ, विश्लेषक लगायतका बुद्धिजीवीलाई आर्थिक प्रलोभनमा पारेर गुप्त सूचना संग्रह गर्छन् । सन् १२४१ मा पोल्यान्डलाई ध्वस्त पार्दै हंगेरी कब्जा ग¥यो, मंगोल सेनाले । उत्कृष्ट रणनीतिका कारण मंगोल सेनाले दिग्विजय गरेको इतिहासकारहरूको तर्क छ । हंगेरीमा गुप्तचरहरूबाट सम्पूर्ण सूचना लिएपछि मात्र मंगोल सेनाले हमला गरेका थिए र त्यसबेला पनि हंगेरीका शिक्षिक, ज्योतिषी र साहित्यकार जस्ता चेतनशील लोभीहरूलाई गुप्तचर बनाइएको थियो । तसर्थ, अनपढ किसान, मजदुर वा निम्नवर्गीय जनताभन्दा शिक्षित, सचेत र टाठाबाठा नै मतिभ्रष्ट भए भने उनीहरू विदेशीका मतियार र हतियार बन्न सक्छन् । नेपालमा पनि त्यही देखिएको छ ।
भोल्तेयरले सम्राट् लुई (चौधाँै) अत्यन्त मेधावी, योग्य, लोकप्रिय, सुसंस्कृत एवं विकासप्रेमी भएको चर्चा गर्दै ‘द एज अफ लुई फोर्टिन्थ’ ग्रन्थ लेखे । चन्द्र शमशेरको प्रशंसा गर्दै ‘गोरखापत्र’का सम्पादक बैजनाथ सेढाईले लेखेको ‘चन्द्र–मयुख’ ग्रन्थजस्तो व्यक्तिपूजा (पर्सनालिटी कल्ट) थिएन त्यो । बुद्धिजीवीले इमानदारीपूर्वक विचार व्यक्त गर्दैछन् कि पेट पाल्ने बाध्यताले, त्यो त समयले नै निरूपण, मूल्यांकन र फैसला गर्छ ।
राजा (जार) पिटरलाई बिर्सन सक्दैन रसियाको इतिहासले । हिटलरले हमला गर्न लाग्दा स्टालिनले ब्रिटेनलाई पत्र लेखेका थिए, “ब्रिटेन जस्तै रसिया पनि राजतन्त्रकै कारण संसारमा समृद्ध भएर उभिएको थियो । हिटलरले हमला गरे भने ध्वस्त हुन्छ । तसर्थ हामीलाई बचाउनुहोस् ।” पृथ्वीनारायण शाह र राजा महेन्द्रका सालिक भत्काउने कपुत र त्यस्तालाई समर्थन गरेर पेट पाल्ने नेपालका कतिपय घिनलाग्दा बुद्धिजीवीहरू (?) आज भन्दैछन्, ‘पृथ्वीनारायणप्रति हाम्रो दूराग्रह छैन ।’ यो पाखण्डको पराकाष्ठा हो । कहिले दक्षिणतिर, कहिले उत्तरतिर अनि कहिले पश्चिमतिर फर्केर अस्तित्वरक्षाको भिख माग्ने माओवादी आज कंगारुको बच्चाजस्तो केपी ओलीको काखमा शरण लिन पुगेको छ । ओलीबा किन लुतो बोकेर हिँडेका छन् भनेर उनकै कार्यकर्ता प्रश्न गरिरहेका छन् ।
बोलिभरले बोलिभिया बनाएझैँ, जोमो केन्याताले केन्या बनाएझैँ, जर्ज वासिङ्टनले अमेरिकालाई स्वाधीन गराएझैँ, हो–चि–मिन्हले भियतनामको रक्षा गरेझैँ वा सुकार्नोले इन्डोनेसियाका जनतालाई स्वतन्त्रतामा बाँच्न सिकाएझैँ कुनै नयाँ दर्शन, स्वाभिमानको बाटो वा नयाँ गति दिएको भए घरघरमा नेपाली जनताले आजका गणतन्त्रवादी नेताका तस्बिर राख्ने थिए । मानव होइन, उपमानव समेत हुन नसकेका विदेशीका यन्त्रमानवहरू प्रायोजित ढंगले महिमामण्डित गरेकै भरमा इतिहासमा स्थापित हुन सक्दैनन् । तसर्थ, बुद्धिजीवीहरूले कुतर्क गरेर आफूलाई कसैको ‘करिया’ बनाउनु उचित हुँदैन । किनभने हामी सबै स्वतन्त्र राष्ट्रका स्वतन्त्र जनता हौँ । जनता सार्वभौमसत्ताका मालिक हुन् भने स्वतन्त्र भएर निर्णय गर्नुपर्छ, दास बनिरहनु आवश्यक छैन ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...