"

कुरा फेरि भ्रष्टाचारकै

शुक्रबार, २० साउन २०७४, १० : १८ डा.सरोज धिताल


भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका (वा पर्न सक्ने) साना/ठूला 'माछा'लाई तौलेर वा गनेरमात्रै नेपालमा भ्रष्टाचार कति छ भनेर मापन गर्न सकिन्न। यति व्यापक भइसक्यो यहाँ भ्रष्टाचार कि दुर्लभ अपवादबाहेक कुनै पनि सरकारी कार्यालय भ्रष्टाचारमुक्त छैनन्। 'घुस लिन्या/दिन्या भन्याका जनताका सत्तुर हुन्' भन्ने कुरा यो देशका सबैलाई कण्ठै छ। तर यही देशमा 'घुस लिन्या' को जालो कुनै पनि निकायका पियन/पालेदेखि लिएर सर्वोच्च हाकिमसम्मै फैलिएको हुन्छ भन्ने कुरा पनि सबैलाई थाहा छ। सरकारी कार्यालयहरूमा काम गराउनका निम्ति कसरी घुस दिनुपर्छ भनी 'गाइड बुक' कसैले लेखे भने लोक सेवा आयोगको जाँच पास गर्न पढिने किताबहरू भन्दा बढी बिक्ने थिए होला। यस्ता किताब लेख्ने र बेच्ने मानिस अरबपति त हैन, करोडपति भने सजिलै बन्ने थिए होलान्!

सरकारी कार्यालयहरूमा काम गराउनका निम्ति कसरी घुस दिनुपर्छ भनी 'गाइड बुक' कसैले लेखे भने लोक सेवा आयोगको जाँच पास गर्न पढिने किताबहरू भन्दा बढी बिक्ने थिए होला।

विभिन्न सरकारी निकायमा तल–माथि, भित्र–बाहिर जताजतै घुस्याहाहरूको दर्शन पाइने भए तापनि अरबौं रुपियाँका ठूला लेनदेन र गडबडीचाहिँ सामान्य मानिसका निम्ति दरबारका कथाजस्तै हुन्छन्– देखिनेभन्दा सुनिने बढी। त्यस्ता ठूला भ्रष्टाचारका कारण देशको हालत जर्जर भइरहेको, राष्ट्र पराधीन भइरहेको र हजारौँ किसिमले जनताका जीवनमा कहर पोखिरहेको कुरा बु‰न सकिने भए तापनि जनसाधारणका दैनिकीमा प्रत्यक्ष झेल्नुपर्ने व्यवहार त सामान्य तहकै कर्मचारीको हुन्छ, ठूला खेलाडीका ठूला भ्रष्टाचारका कथा भने पत्रपत्रिकामा पढेर जिब्रो टोक्नलाई मात्र हुन्छ। सामान्य कर्मचारीकै व्यवहारका कारण प्रत्यक्ष सास्ती भोग्नुपरिरहेको हुन्छ धेरैले। भ्रष्टाचारका विभिन्न रूपलाई संस्कारकै तहमा हुर्काउन र मलजल गर्ने थलो पनि सामान्य तहका कर्मचारीकै मेच/कुर्सी हुने गरेका छन्। स्थिति कतिसम्म डरलाग्दो भइसक्यो भने भ्रष्टाचार निर्मूल हुनुपर्छ भनेरै लागिरहेका सामाजिक अभियन्ताहरूसम्म पनि बेला बेलामा कुनै न कुनै रूपमा घुस दिन बाध्य भएँ भन्छन्। कि हतार भएको निहुँमा कि 'महत्वपूर्ण' कामको निहुँमा, कि 'व्यावहारिकता' का नाममा...। अभियन्ताहरूलाई समेत यसरी भ्रष्टाचारका दृश्य/अदृश्य कुनै न कुनै रूपको छिटा लागिरहेको छ। हरिवंशजीको उपन्यास 'हरिबहादुर' को प्रमुख पात्र जस्तै निरीह, गरिब, दुःखी, टीठलाग्दो तर भ्रष्ट, चोर, बेइमान, पापीको छवि बन्दैछ समग्र नेपालीकै।

भ्रष्टाचारविरुद्धको लडाइँ हाम्रो मात्रै समस्या हैन। विश्वव्यापी नै हो। तर हाम्रो जस्तो गरिब देशमा भ्रष्टाचारको स्वरूप झनै जटिल र दुरुह हुने गरेको छ। अनेक तत्वले धानेका छन्, हुर्काएका छन् र मलजल गरिरहेका छन् भ्रष्टाचाररूपी विषवृक्षलाई। योसँग जोडिएर विभिन्न कुचक्र (भिसियस सर्कल) को सिर्जना भइरहेको छ। उदाहरणका लागि, भ्रष्टाचारले गरिबी बढाउँछ र गरिबीले भ्रष्टाचारका निम्ति अवसर प्रदान गर्छ। यी दुई एकार्काका निम्ति अनन्य अन्तर्निर्भर प्रेमी जस्ता भएका हुन्छन्। भ्रष्टाचार र परनिर्भरताको अर्को कुचक्र छ जसले राष्ट्रिय अस्तित्वमै संकट निम्त्याएको निम्त्यायै छ। भ्रष्टाचारसंँगै घनिष्टरूपमा जोडिएको छ पछौटेपन र यी दुईले पनि एकअर्कालाई मलजल गर्ने काम गर्छन्। अनियमितताबाट फाइदा लिन कति सजिलो वा गाह्रो हुन्छ भन्ने कुराले कानुन बनाउने कुरासम्ममा असर गर्छ र यहाँ भ्रष्टाचार र बेकाइदाको अर्को कुचक्र बन्छ...। यसरी हेर्दा हाम्रो जस्तो देशमा भ्रष्टाचार भनेको सैतानको यस्तो कामुक अवतार जस्तो देखिन्छ जसका अनगिन्ती पैशाचिक प्रणयसंगी छन्। यो सैतानी शक्ति आफ्ना हरेक पैशाचिक पार्टनरसँग जोडिँदा झन् झन् बलियो बन्छ।

भ्रष्टाचारका यी विभिन्न कुचक्र कसरी तोड्ने? कहाँ प्रहार गर्‍यो भने ती तोडिन्छन्? देशले झेलिरहेका अनेक प्रश्नको लामो सूचीमा यो प्रश्नले अत्यन्त महत्वपूर्ण ठाउँ ओगटेको छ। नियम/कानुनलगायत उपयोगी संयन्त्र  हुँदै नभएका हैनन्। भएका नियमको पालनामात्रै हुने हो भने पनि धेरै कुरा सप्रिन्थ्यो होला। भएका संयन्त्रको उचित प्रयोगले पनि धेरै कुरा सही मार्गमा आउँथ्यो होला तर नियमहरू पालना गराउनै सकिने उपाय के हुन्छ त? यसको पनि स्पष्ट उत्तर हामीसंँग छैन।

बेलाबेलामा अलोकतान्त्रिक हाकिम वा नेता, हिंसाप्रिय राजनीतिक समूह, विदेशी खेलाडीका खेल आदिका कारण संकुचित हुनुपरे पनि धेरै देशका तुलनामा स्वतन्त्र नै छ हाम्रो सञ्चार जगत। तर यति हुँदाहुँदै पनि सञ्चार जगतलाई समेत भ्रष्टाचारकै विभिन्न रूपले निलेको तथ्य बेलाबेलामा अनुभूत हुन्छ। अनि यो सबकै बीच पनि, कुरिकुरी नै हुने गरी भ्रष्टाचारका अनेक रूपबारे प्रत्येक दिनजस्तो रिपोर्टिङ भइरहेकै छ भने कति व्यापक होला त देशलाई चपाइरहेको यो राक्षसको जालो? 

सार्वजनिक यातायातका साधनभित्र, चिया पसलमा, पेट्रोलको लाइनमा, सिनेमा हलमा... जताततै मानिसका आक्रोश सुनिएकै छन्। तर यो व्यापक तथ्यबोध र आक्रोश हुँदाहुँदै पनि प्रहरी, न्यायालय, कर कार्यालय, भन्सार, सार्वजनिक खरिद, सार्वजनिक सुविधा, विश्वविद्यालय र अन्य शिक्षा नियमक संस्था.... कुनै क्षेत्र छैन जहाँ घुसलगायत भ्रष्टाचारका कुनै न कुनै रूप देखा नपरोस्। एउटा संस्थासँग अर्को संस्थाले समेत हाकाहाकी घुस लिने चलन बसिसक्यो।

विडम्बना, कुनै पनि पुराना राजनीतिक पार्टीका अजेन्डामा भ्रष्टाचार प्रमुख निशाना बनेको छैन। बरु उल्टो, यसैपालिको स्थानीय चुनावमा समेत सबैजसो 'स्थापित' पुराना पार्टीभित्र टिकटको किनबेच नै हुने गरेको कुरा प्रकाशमा आयो। अस्वाभाविक र अपारदर्शी ढंगले पार्टीलाई पैसा बुझाउने मानिस पार्टीको नेताकै तहमा समेत आसीन गराइएका कथा सुनिइरहेकै हुन्। जब यी सब पार्टीभित्र सहज स्वीकार्य घटनाक्रम बन्न पुग्छन्, भ्रष्टाचार विरोधी आन्दोलनले कसरी उपलब्धि हासिल गर्न सक्ला?

भ्रष्टाचारबाट मुक्त नहुने हो भने, जनताका आन्दोलनका उपलब्धिहरूको रक्षा हुन सक्दैन। राजनीतिका पुराना खेलाडी यो सरल तथ्य किन बेवास्ता गरिरहेका छन्? संविधानमा यो पुगेन त्यो पुगेन भनेर यतिबेला अनेक झगडा भइरहेको छ तर यसरी नै भ्रष्टाचारमा चुर्लुम्म डुबिरहने हो भने त तानाशाहीको अर्को कुनै नयाँ तथा आक्रामक रूपले निहुँ पाउने खतरा बाँकी नै छ। त्यसो भयो भने भ्रष्टाचार त यथावत् नै रहला वा अझ चर्को होला तर राष्ट्र भने अझै घना अन्धकारमा प्रवेश गर्नेछ।

नागरिक समाज, राजनीतिक पार्टीहरू र सरकारका प्रयत्नमात्रै हैन, शिक्षा, संस्कृति, आध्यात्मिकता र नैतिकतापूर्ण व्यवसायलगायत सबै क्षेत्रको सहकार्य नभई यति डरलाग्दो भइसकेको भ्रष्टाचारविरुद्ध लड्न र विजय हासिल गर्न सम्भव हुँदैन। नागरिक आन्दोलनले यतिबेला गति लिन सकेको छैन। सिंगै नागरिक आन्दोलनको प्रतिनिधिका रूपमा फेरि पनि उनै साधु (गोविन्द केसी) अनशनमा छन्। सत्तामा हुनेहरू अझै ब्युँझेका छैनन्, फेरि पनि उही पुरानो खेल खेल्दैछन्। फेरि पनि आफैँ संलग्न व्यापारसम्बन्धी कानुनलाई आफूअनुरूप बनाउन सांसदका भेषमा व्यापारी तल्लीन् छन्, व्यापारमा पनि नैतिकताको स्थान हुन सक्छ भन्ने चेत तिनमा अझै आएको देखिन्न। र, 'स्थापित' भनिएका पार्टी तिनै व्यापारीका खेलौना बनेका छन्– आफ्नो स्थापनाकालका सुन्दर ध्येय तिनले भुलिसकेका छन्। भ्रष्टाचारका हजारौंँ रूप स्वास्थ्य र शिक्षाका विभिन्न पक्षमा प्रवेश गरिरहेका छन्, भित्रैबाट तिनलाई रोगी बनाउँदैछन्। 

गोविन्द सरल छन्। लगातार यही रणनीति लिएर लड्दा संघर्ष कमजोर हुनसक्छ भन्ने सल्लाह उनी सुन्दैनन्। आफूले सक्ने काम यही हो, यही गर्छु भन्छन् उनी। आफ्नो संघर्षका क्रममा मर्नका निम्तिसमेत उनी तयार छन्। उनीसंँगै नेपालीको विवेककै अन्त्य नहोस् भन्ने भयाबह चिन्ता विस्तारै बढ्दै गइरहेको छ। योभन्दा दुखद् अरु के हुन सक्छ?

सिंगो राजनीतिलाई नै सकारात्मक मोडतिर उन्मुख गराउने ध्येय भएका अभियन्ताहरूका निम्ति यतिबेला ठूलो चुनौती छ– विविधताका बीचमा समानताको खोजी गर्ने। सामाजिक न्याय, प्रगति र समृद्धिका निम्ति नागरिक समाज र विभिन्न पार्टीमा रहेका असल मानिससँग सहकार्य गर्ने। आफू जाग्रत रहने र अरुलाई बिउँझाउने।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्। ...

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

नायक अनमोल केसी आफू अभिनित फिल्मको प्रमोसन र रिलिजपछि हलमा दर्शकसँग भेट्न बाहेक अन्य समयमा कहाँ के गर्दैछन् भन्ने उनको...

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

साहित्यकार डा. डिआर उपाध्यायको उपन्यास ‘अतिरिक्त’ र एल्बम ‘प्रणय’ एकसाथ सार्वजनिक भएको छ। ...

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

पत्रकार तथा कवि फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव’मा उत्कृष्ट बनेको छ। ...