१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वर्षासँगै सप्तरीमा बाढीको त्रास

राजविराज- शनिवार आएको बाढीले अझै सप्तरीको दर्जन वढी बाढी प्रभावि बस्तीहरुको जनजीवन सामान्य हुन सकेको छैन। विचल्लीमै रहेका बाढी पीडितहरु मंगलवार देखि पुनः प्रारम्भ भएको बर्षाले बाढीको त्रासकाबीच झन् पीडा भोग्न बाध्य भएका छन्।

                शनिवार आएको बाढीका कारण सप्तरीको रायपुर स्थित पौवां टोल, राजविराज नगरपालिकाको मलेठ, जोलहरी लगायतका गाउँलेहरु पीडित बनेका छन्। ‘बाढी आउँछ भनेर हामीले सोचेका पनि थिएनौ, दशकौ देखि गाउँमा बाढी नआएका कारण त्यसतर्फ ध्यान नपर्नुपनि स्वाभाविकै हो’, मलेठकी ललिता मण्डलले भनिन्, ‘घरमा भएजतिको चामल, धान, गहुँ सहितका खाद्यानहरु पानीमा भिजेर नष्ट हुन पुगेको छ, चुल्हो समेत वाल्न सकिने अवस्था छैन।’

                कञ्चनरुप नगरपालिकाको रघुनाथपुर, तिरहुत गाउँपालिकाको त्रिकौल, मैनाकडेरी तथा तिलाठी गाउँ पालिकाको तिलाठी, बेल्ही, सरकारपुरा र राजविराज नगरपालिकाको मलेठ बाढीले सवभन्दा बढि प्रभावित भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार मलेठका ६ परिवारको घर क्षतिग्रस्त भएको छ।

                कञ्चनरुप नगरपालिका–८ रघुनाथपुरका ३ परिवारको ८ घर सुन्दरी खोलाको बाढीले कटान गरेका छन् । स्थानीय नवल यादव, घनश्याम यादव, राजकुरमा यादव र देवु यादवको २/२ वटा घर बाढीले कटान गरी बगाएको जिल्ला समन्वय समिति सप्तरी अन्तर्गत विपद् कार्यक्रमका संयोजक राजेश झाले जानकारी गराए । उनले भने, ‘घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ, पीडितहरु छिमेकिको घरमा शरण लिएर बस्न बाध्य छन्।’

                यता तिरहुत गाउँपालिका–२(साबिकको लोहजारा–८)मा महुली नदिले ४ ठाउँमा बाँध कटान गरी गाउँमा बाढी पस्दा स्थानीय विरक्ष मुखिया, जिबछ मुखिया र लक्ष्मण रामको परिवार नै विस्थापित भएको छ। उक्त वस्तीका ४० परिबार बाढीवाट पूर्ण रुपेण प्रभावित भएका छन् ।

                यसका अतिरीक्त बाढीले सडक, कलभर्ट लगायतका भौतिक पुर्वाधार समेतमा नराम्ररी क्षति पु¥याएको जिल्ला समन्वय समितिका झाले जानकारी गराए । यता तिलाठी, सकरपुरा र बेल्हीमा अझै पूर्ण रुपमा बाढीको प्रभाववाट मुक्त हुन सकेको छैन।

                मंगलवार दिउँसो देखि प्रारम्भ भएको बर्षा तथा बाढीको पानी सकरपुरा, तिलाठी र भेडियोको तल्लो बस्तीमा पस्न थालेपछि स्थानियहरु निकै त्रासमा रहेको झाले बताए । ‘सकरपुरा र भेडियाका झण्डै ८० घर डुवामा परिसेको छ’, झाले भने, ‘तिलाठी लगायत अन्य स्थानहरुको तथ्यांक जुटाउन हामि जनशक्ति परिचालित गरिसकेका छौ।’

‘भत्किएका बाँध वनाउन सेना खटाईने’

                यता बुधवार विहानै बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सप्तरीको मैना कडेरी, तोपा तथा लौनियाँ स्थित कटान भएको खाँडो तथा महुली नदिको बाँध बनाउन आजै वाट नेपाली सेनालाई खटाउने निर्णाय भएको समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी गराए ।

                ‘बाँध मर्मतका लागि जाली, बोरा लगायतका सामग्री जलउत्पन्न प्रकोप नियन्त्रण विभागले उपलब्ध गराउने छन्’, प्रजिअले भने, ‘सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिने छ ।’ यसका अतिरीक्त राहत वितरण कार्यलाई एक द्वार प्रणालीवाट व्यवस्थापन गरिने, तथ्यांक संकलन कार्यलाई द्रुत गतिमा अगाडी बढाइने, बाढीका कारण उत्पन्न खानेपानी तथा सरसफाईको समस्या समाधानका लागि फिल्टर, ह्याण्ड पम्प लगायतका सामग्री युनिसेफवाट माग गरिने र विस्थापितहरुलाई राहत उद्धारका लागि विभिन्न दात्रिनिकायहरुसँग पहल गरिने प्रजिअ कटुवालले जानकारी गराए ।

प्रकाशित: २१ असार २०७४ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App