"

चुनावी राजनीति र परम्परावाद

शुक्रबार, २९ बैशाख २०७४, ०९ : ३३ डा.सरोज धिताल


अनेक अन्योलबीच होला कि नहोला भन्दाभन्दै अब त पुरै चुनावी वातावरण बनिसक्यो। गए रातिदेखि त प्रचारप्रसारमै रोक लागिसकेको छ। त्यसैले यी अक्षरको उद्देश्य चुनावी प्रचार हुन सक्दैन। सुरुमै यो स्पष्टीकरण दिनुको कारण भने चुनावको वरिपरि देखिएका केही प्रवृत्तिबारे मन्थन गर्ने कोसिस गर्दा कतै केही पक्षधरता देखिइहाल्छ कि भन्ने पीर हो। तथापि यी हरफले मतदानमा कुनै प्रभाव पार्ने छैनन् भन्ने कुरा स्पष्टै छ।

नयाँ पार्टीसमर्थित  कुनै उम्मेदवारले जित्छ कि जित्दैन भन्ने कुराको पक्कै महत्व छ। तर त्योभन्दा ठूलो महत्वको सवाल हो– परम्परागत राजनीतिको विकल्प सम्भव छ भन्ने सन्देश यो चुनावले देखाउन सक्छ कि सक्दैन?

दुई दशकपछि हुन लागेको स्थानीय चुनाव हुनाले थोरैमात्र राजनीतिक चेत भएका मानिसले समेत धेरै कुरामा नौलोपन अनुभूत गर्दैछन्। दुई दशकअघिको तुलनामा हरेक हिसाबले परिस्थिति परिवर्तित भएको छ। गणतन्त्रमा प्रवेश गरेपछि नेपालमा पहिलो पटक स्थानीय चुनाव भइरहेको छ। संघीयताको अवधारणालाई आआफ्नै किसिमले व्याख्या गरिरहेका विभिन्न शक्तिबीच विवाद, संवाद, असमझदारी, समझदारी, छलफल आदिको सिलसिला कायमै छ एकातिर। अर्कातिर समान बुझाइका बुँदाहरूसमेत व्यवहारमा अनुदित हुने क्रममा अनेक जटिलता देखापरिरहेका छन्। तर यस्तै तरल परिस्थितिमा पनि जाँगर, सक्रियता र प्रशस्त ऊर्जाका साथ स्थानीय तहको चुनाव हुँदैछ। यसले अनिश्चितताकै बीचमा पनि अचम्मको सकारात्मक प्रभाव सिर्जना गरिरहेको छ।

स्थानीय तह पहिलेभन्दा फरक भएका छन्। नगरपालिका थपिएका छन्। लामो समयदेखि हाम्रा कान अभ्यस्त भएको 'गाविस' भन्ने एकाइ नै अब छैनन्। स्थानीय सरकार पहिलेभन्दा कता हो कता शक्तिशाली हुँदैछन्। अघिल्लो पटकको स्थानीय चुनावको बेलामा भन्दा अहिलेको परिस्थिति बिल्कुलै फरक भएको छ।

सहजै देखिने यी परिवर्तनबाहेक, त्यत्तिकै महत्वपूर्ण थप नौलोपन ल्याइदिएको छ सञ्चार प्रविधिमा भएको क्रान्तिले र त्यसको उपज सामाजिक सञ्जालले। प्रतिस्पर्धी उम्मेदवार, मतदाता, दलका नेता, सामाजिक अभियन्ता, सबैको मनोविज्ञानमा, व्यवहारमा, शैलीमा परिवर्तन आएको छ। स्थापित पुराना दलहरूसँगै यसैपालि मात्र देखापरेका केही नयाँ प्रतिस्पर्धीले पनि यो सामाजिक सञ्जालको उपयोग गर्न पाइरहेका छन्। अझै पनि औपचारिकरूपमा 'प्रस्तावित' नै भन्नुपर्ने नयाँ पार्टीका यी उमेदवारले छोटो समयमा पाएको चर्चामा सामाजिक सञ्जालले भूमिका ननिभाएका हैन। तर त्यतिले मात्र यी चर्चामा आएका हैनन्। आफ्नै विशिष्टता छ यिनको। यो विशिष्टतामध्ये एउटा हो– यान्त्रिक किसिमले कुनै 'वाद' मा बाँधिनुभन्दा वस्तुगत गतिशीलता अंगालेको दाबी गर्छन् यी। विधि, प्रणाली, शीलपालन, पारदर्शिता, प्रवीणता जस्ता सर्वकालिक गुणलाई आफ्नो मूल्य, मान्यता र स्वधर्म बनाउने संकल्प गरेका छन् यिनीहरूले। नयाँ उद्घाटित र प्रमाणित सत्यलाई सहजताका साथ स्वीकार्ने कुरा गर्छन् यी। यसरी हेर्दा नयाँ 'दल' मात्रै नरहेर नयाँखाले गतिशील राजनीतिकै संवाहक हुने चाहना देखिन्छ यिनमा।

झण्डै तीन शताब्दीदेखि कुनै न कुनै 'वाद' का अनुयायी हुनुलाई नै राजनीतिक चेत मान्दै आएको विश्वमा, मानवीय सद्गुणमा आधारित मूल्य, मान्यता मात्र कुनै दलको निर्देशक सिद्धान्त हुनसक्छ कि सक्दैन भन्ने प्रश्न स्वाभाविक प्रतीत हुन्छ। अर्कोतिर पुराना दलहरू आफूले अंगीकार गरेको सिद्धान्तबाट मात्र निर्देशित नभई रणनीतिका नाममा तात्कालिक उपलब्धिबाट मात्र निर्देशित भएको तथ्यले भने आत्मनिरीक्षणको आवश्यकता देखाउँछ। यथार्थमा पुरानाको जस्तो ठूलो परम्परागत 'जनाधार' नभएको ठानिएका नयाँ दलको सोचका कारण पुराना दलमा समेत सकारात्मक दबाब पर्न थालिसकेको सुनिन्छ। मतदाताको परिवर्तित उमेर समूहले सिर्जना गरेको दबाब पनि त्यत्तिकै चर्को हुनु स्वाभिवक हो।

पुरातन परम्परागत दलहरू आआफ्ना इतिहास, अनुभव, र 'भोट बैंक' का कारण ढुक्क भएको देखिने प्रयत्न गरिरहेका छन्। यी पुराना दलका अधिकांश कार्यकर्ता आफ्नो पुरानै शैलीमा रमाइरहेका छन् भने तिनका केही बुद्धिजीवी भने नयाँ वैकल्पिक दललाई खिसिट्युरी गरेर उडाउन लागिरहेका पनि देखिन्छन्। नयाँ देखापरेका (प्रस्तावित) पार्टीसमर्थित  कुनै उम्मेदवारले जित्छ कि जित्दैन भन्ने कुराको पक्कै महत्व छ। तर त्योभन्दा ठूलो महत्वको सवाल हो– परम्परागत राजनीतिको विकल्प सम्भव छ भन्ने सन्देश यो चुनावले देखाउन सक्छ कि सक्दैन?

अढाई दशकभन्दा अघि पनि तत्कालीन राजनीतिक माहोलमा परम्परालाई चुनौती दिँदै नयाँ संस्कार स्थापित गर्ने गरी नयाँ दल स्थापना गर्ने प्रयत्न भएको थियो। त्यो चानचुने साहस र सिर्जनशीलताको कुरा थिएन। खास ऐतिहासिक परिस्थितिमा बोकेका आफ्ना मान्यताप्रति भन्दा पनि समयको आवश्यकता र सत्यप्रतिको समर्पण र खुलापनमा आधारित प्रयत्न स्तुत्य भए पनि विभिन्न कारणले त्यो प्रयत्न टुङ्गोमा पुग्न सकेन। फलतः त्यस अभियानमा लागेका केही राम्रा बुद्धिजीवी दिक्क मान्दै आआफ्नै पुरानो 'थलो' मा फर्किए। यसरी फर्किनेहरू सम्भवतः कहिल्यै 'आफ्नो' दल र दलभित्रको परिस्थितिका बारेमा सन्तुष्ट रहन सकेनन् र उनीहरूमध्ये अधिकांशको हैसियत पार्टीभित्र करिब–करिब स्थायी प्रतिपक्षकै जस्तो रहिरह्यो। पार्टीभित्र पद्धति, पारदर्शिता, इमानदारी, लोकतान्त्रिक संस्कार, दिशाको सुस्पष्टता आदिको अभावबारे यिनीहरु खुलेरै कुरा गरिरहे। चिनेजानेका पुराना साथीसँग कुरा गर्दामात्रै हैन, आमसञ्चारमाध्यममा अभिव्यक्त हुँदासमेत आफ्नो पार्टीको भविष्यकै बारेमा प्रशस्त चिन्ता प्रकट गरिरहे। तर ऊ बेला नयाँ दल निर्माणका क्रममा झेल्नुपरेको आफ्नो पुरानो असफलताले तर्साएकाले हो कि किन हो, अढाई दशकपछिको परिवर्तित परिस्थितिमा अर्को पुस्ताका मानिसको संलग्नतामा हुन लागेको प्रयत्नप्रति यिनीहरू सकारात्मक हुन नसकेको स्पष्टै देखिन्छ। पञ्चायतकालीन अत्यन्त कठिन परिस्थितिमा समेत साहस, इमानदारी र परिवर्तनको उद्देश्यप्रति समर्पणको नमुना बनेका, सम्मानका यी हकदारहरू आफूले गर्न खोजेको काम अरुले गरेर देखाइदेलान् कि भन्ने सोचले ग्रस्त होलान् त भन्नै सकिन्न। नयाँ वैकल्पिक राजनीति सफल हुन नसकोस् भन्ने आशय यिनीहरूमा कदापि नहुनुपर्ने हो। तर सामाजिक सञ्जालमा यिनीहरूको अभिव्यक्ति हेर्दा भने एक किसिमको असहिष्णुता सहजै देखा पर्छ। 

कहिले कर्मकाण्डको पराकाष्ठामा, कहिले नयाँ प्रयत्न र सिर्जनाको निषेधमा, कहिले आफूइतरका सबैको दानवीकरणमा, कहिले अरुका कुरा सुन्नै नचाहने श्रवणहीनतामा र कहिले जतिसुकै फोहोर भए पनि 'मेरो' भनी गरिने रागमा प्रकट हुने परम्परावाद कति शक्तिशाली हुँदोरहेछ भन्ने कुरा 'धर्म' का नाममा गरिने अनौठा गतिविधिमा मात्रै हैन, राजनीतिलगायत हरेक किसिमका सामाजिक क्रियाकलापमा देखिने गर्छ। कुनै बेला त एक किसिमको परम्परावादको विरोध गर्दागर्दै अर्को किसिमको परम्परावादको वकालत गर्ने अनौठो स्थिति पनि देखापर्छ। जुनसुकै किसिमको परम्परावादले प्रगतिको वेग रोक्ने 'स्पिड ब्रेकर' कै काम गरिरहेको हुन्छ।

पुराना जति सबै परम्परावादी हुन्छन् र नयाँ जति सबै गतिशील हुन्छन् भन्ने कुरा ठीक हैन। आमजनताको मनोविज्ञानको दुरुपयोग गरेर भएका कतिपय 'क्रान्ति' हरू जनताको दीर्घकालीन दुःख र दुर्गतिका कारण बनेका छन् र तिनले सकारात्मक परिवर्तनका सबै ढोका बन्द गरिदिएका छन्। अर्कोतिर हजारौं वर्षपहिले प्रकट पुरातन विवेकले मानिसको जीवनमा अझै दिशाबोध गराइरहेका छन् र मानिसले अहिलेभन्दा असल हुन ऊर्जा प्रदान गरिरहेका छन्। तर सामान्यतया चुनावले जुन वातावरण र आममनोविज्ञान सिर्जना गर्छ, त्यहाँ बुद्धि विवेकले भन्दा पनि 'म' ले आफ्ना विभिन्न रूपमा प्रकट हुने अवसर पाउँदो रहेछ। 'म' का अनेक छद्मभेषमा 'वाद' को खोल पनि पर्ने गरेको छ। प्रेम, करुणा, सदाचार, सामाजिक न्यायको पक्षधरता, आपसी सद्भाव जस्ता मानवीय सद्गुण बेलाबेलामा 'वाद' को चिसो छायाँमा पर्ने गरेका छन्। र, यो छायाँमा परेका बेला सामान्यतया साहसी, विवेकी, सदाचारी असल मानिसका चित्त पनि साँघुरो देखिन पुग्छन्। 

विभिन्न 'म' को खेलको नतिजा यो चुनावमा कस्तो आउँछ, सबै उत्सुकतापूर्वक पर्खिरहेका छन्। र, यो उत्सुकता कुनै पार्टीविशेष वा उम्मेदवारले जित्छ कि हार्छ भन्ने कुरामा त होला नै। तर यसको महत्व, त्योभन्दा बढी नेपाली समाज यतिबेला राजनीतिक चेतको कुन स्तरमा पुगेको रहेछ भन्ने कुरामा छ। त्यस अर्थमा, यो चुनावको परिणाम साँच्चै महत्वपूर्ण बन्न पुगेको छ। नतिजा जस्तो आओस्, देशको लोकतान्त्रिक यात्रामा यसले कोशेढुंगाको काम भने गर्नेछ।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...