१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महिनौंदेखि सिटामोलसमेत छैन

झापा- स्वास्थ्यमन्त्री गगन थापा विभिन्न स्वास्थ्य प्रतिष्ठानहरुको दौडाहामा जाँदा आफूलाई ‘तत्कालै सकरात्मक नतिजा चाहिएको’ बताउँदै स्वास्थ्यकर्मीहरुलाई लगातार निर्देशन दिइरहेका छन् । तर, उनले नेतृत्व गरिरहेको मन्त्रालयको कार्यसम्पादन चाहिँ यति कमजोर छ कि सरकारी अस्पतालहरु महिनौंदेखि औषधिविहीन अवस्थामा छन् । स्वास्थ्य मन्त्रालयको लापरबाहीकै कारण औषधि अभावको समस्या चुलिएको छ । 

सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने भनेकै औषधिसमेत जिल्लाहरुमा छैन । ज्यादै दुर्गमका जिल्लाहरुको कुरै छाडौं, झापा जत्तिको सुगम ठाउँका सरकारी अस्पतालहरुमा महिनौंदेखि सिटामोलसमेत उपलब्ध छैन । ‘खरीद प्रक्रिया जारी रहेको र छिट्टै आइपुग्ने’ सरकारी जवाफ महिनौदेखि एउटै छ । तर,  दिनहुँ ठूलो परिमाणमा आवश्यक पर्ने औषधि नै नहुँदा सरकारी अस्पताल धाउने धेरै सर्वसाधारण मारमा परिरहेका छन्  ।

सिटामोल तथा एन्टिबायोटिक्स जस्ता औषधि मात्रै होइन,  दीर्घरोगका लागि नियमित सेवन गर्नुपर्ने औषधिसमेत सकिएपछि धेरै विरामी निजी औषधि पसलबाट महँगो दरमा किनेर सेवन गर्न बाध्य छन् ।  ठूला र कहलिएका अस्पतालसम्म जान र महँगो शुल्क तिरेर चिकित्सक भेट्न नसक्ने अवस्थाका विरामी अस्पतालहरुमा औषधि नहुँदा सबैभन्दा बढी मारमा परेका छन् । 

महिना दिन अघि मात्रै झापा आएका बेला स्वास्थ्यमन्त्री थापाले मेची अञ्चल अस्पतालको निरीक्षणका क्रममा जिल्लास्थित स्वास्थ्यकर्मीहरुलाई उस्तै निर्देशन दिएका थिए, जुन उनले मन्त्री भएपछि राजधानीमा दिएका थिए । ‘मलाई तत्कालै नतिजा आउने गरी काम चाहिएको छ’, उनले भनेका थिए ‘त्यसैले जनताले प्रत्यक्ष अनुभव हुने गरी राम्रो सेवा पाउनुपर्यो ।’ जवाफमा स्वीकृतिसूचक टाउको हल्लाएका झापाका स्वास्थ्यकर्मीहरु भने सरकारले दिने भनेकै औषधिसमेत सर्वसाधारणलाई दिन नसक्ने अवस्थामा छन् । 

स्वास्थ्यकर्मीहरुका अनुसार तीन महिनायता झापाका सरकारी अस्पतालहरुमा निशुल्क दिने भनिएका धेरै औषधि छैनन् । सबैभन्दा धेरै प्रयोग हुने  औषधि नै नहुँदा स्वास्थ्यकर्मीहरु पनि दबाबमा छन् । ‘हाम्रो केन्द्रमा के–के छैन भनेर नसोध्नुस्, कुन चाहिँ औषधि छ भनेर सोध्ने बेला भएको छ’, झापा कनकाई नगरको सुरुङ्गास्थित प्राथामिक स्वास्थ्य सेवा केन्द्रका निमित्त प्रमुख इन्द्रहरि भट्टराईले भने ‘लामो समय भयो निशुल्क दिने भनेको धेरै औषधि छैन । विरामीलाई रित्तै फर्काउनु परिरहेको छ । ’ उनका अनुसार दम रोगबाट पीडित ५० भन्दा बढी विरामीहरुले यही केन्द्रबाट साल्बुटामोल नामक औषधि नियमित सेवन गर्थे । दुई महिनायता उनीहरुलाई दिन सकिएको छैन । ‘मजदुरहरु छन् अधिकांश’, भट्टराईले भने ‘बाहिर किनेर खान सक्ने अवस्थाका छैनन्, अब चिसोमा दमले झन् सताउँछ, के गर्ने गर्ने भइएको छ ।’ 

सुरुङ्गा मात्रै एक्लो सरकारी स्वास्थ्य प्रतिष्ठान होइन, झापाका सबै सरकारी स्वास्थ्य संस्थाहरुमा औषधि अभावको पिरलो छ । जनस्वास्थ्य कार्यालय स्रोतले झापामा मात्रै नभई देशैभरी यस्तै अवस्था रहेको जनाएको छ । झापामा ६ वटा प्राथमिक स्वास्थ्य सेवा केन्द्र, ४३ वटा स्वास्थ्य केन्द्र , एउटा अञ्चल अस्पताल ,५ वटा सामुदायिक स्वास्थ्य इकाइ र १५ वटा सहरी स्वास्थ्य केन्द्रसहित ७० वटा स्वास्थ्य केन्द्र छन् । अहिले ती  सवै स्वास्थ्य केन्द्रमा निःशुल्क औषधिको चरम अभाव छ । ‘तीन महिना भयो हामीले विरामीलाई सिटामोल दिन पनि पाएका छैनौं’, काँकडभिट्टा स्वास्थ्य केन्द्रका एक स्वास्थ्यकर्मीले भने ‘एन्टिलर्जिन, सिटामोल, भिटामिन बी कमप्लेक्स जस्ता अधिक चाहिने औषधि छैनन् । एन्टिबायोटिकक्सहरु त झनै छैनन् । हामीले औषधि छैन भन्दा–भन्दा विरामीको कुटाई खाने बेला भइसक्यो ।’ 

स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधि आम नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । तर, तीमध्ये धेरै औषधि अहिले सरकारी स्वास्थ्य केन्द्रमा छैनन् । यसअघि अभाव नहुँदै पनि निशुल्क औषधि आफूहरुले नपाउने गुनासो सर्वसाधारणले गर्दै आएका छन् ।जनस्वास्थ्य कार्यालय औषधि अभावका कारण ज्यादै ठूलो दबाबमा छ । तर, कहिलेसम्म यस्तो अवस्था रहन्छ भन्नेबारे कार्यालय पनि बेखबर छ ।  ‘औषधि अभाव छ’,  जनस्वास्थ्य झापाका प्रमुख मधुसुदन कोइरालाले भने—‘तर, औषधि खरिद प्रक्रियाका लागि टेण्डर भइसकेको छ ।’ अभावको कारणबारे उनले थप खुलाउन चाहेनन् । अबको दुई सातापछि केही औषधि आइपुग्ने उनले बताए । उनको भनाईले नै जिल्लामा भएको औषधि अभावको अवस्था प्रष्ट गर्छ । 

सरकारले जेन्टामाइसिन, अक्सीटोसिन, डेक्सामेथासोन, एट्रोपिनलगायतका इञ्जेकसन एन्टीबायोटिकमा सिप्रोफोक्सासिन मलम, ड्रप, ट्याब्लेट, एमोक्सीसिलिन क्याप्सुल, ट्याप्लेट, भिटामिन बी कम्प्लेक्स ट्याब्लेट,  पारासिटामोल झोल र  ट्याब्लेट, इञ्जेक्सन, जुकाका लागि चाहिने अलबेन्डाजोल ट्याब्लेट, झाडापखालाका लागि चाहिने मेन्ट्रोनिडाजोल ट्याब्लेट, जीवनजल लगायतका औषधिे निःशुल्क वितरण गर्ने व्यवस्था गरेको छ । यसबाहेक कुष्ठरोग, क्षयरोग, औलो जस्ता रोगका औषधि पनि निशुल्क नै छ । कुष्ठरोग, क्षयरोग, औलो का औषधि पर्याप्त रहे पनि दैनिक अधिक खपत हुने खालका औषधिको स्टक दसैंअघि नै सकिएको हो । अहिलेसम्म त्यसको पूर्ति भएको छैन । 

प्रकाशित: २२ मंसिर २०७३ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App