१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपतिले देश छाडे, निसानामा प्रधानमन्त्री

फाइल तस्बिर

श्रीलंकाका राष्ट्रपतिले बुधबार सबेरै देश छाडेपछि प्रदर्शनकारीको निसाना प्रधानमन्त्री बनेका छन्। यसअघि बुधबार राजीनामा गर्ने वाचा गरेका राष्ट्रपति गोटबाया राजपाक्षे पत्नीसहित सैनिक विमानबाट मालदिभ्स पुगेको एयरफोर्सले विज्ञप्तिमार्फत जनाएको छ। एयरफोर्सले रक्षा मन्त्रालयको स्वीकृतिमा राष्ट्रपतिलाई माल्दिभ्स जान दिएको उल्लेख गरेको छ।  

राष्ट्रपति विदेश पलायन भएपछि प्रदर्शनकारीको निसाना प्रधानमन्त्रीको कार्यालय बनेको छ। प्रदर्शनकारीले प्रधानमन्त्रीले पनि देश छाड्नुपर्ने माग गरेका छन्। हजारौंले बुधबार प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन गरे। कतिपय कार्यालयलाई घेरिएको पर्खाल चढेको तर कतिपयले कार्यालयभित्र प्रवेश गरी छतमा श्रीलंकाको झन्डा फहराएको देखिन्थ्यो। प्रदर्शनकारीलाई झन् आक्रोशित पार्नेगरी राजपाक्षेले प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको सभामुखको कार्यालयले जनाएको छ। राजपाक्षेले औपचारिक रूपमा अझै राजीनामा गरेका छैनन्। सभामुख महिन्दा यापा अवेयवर्दनाले भने बुधबार नै राष्ट्रपतिको राजीनामा आउने बताएका छन्।  

‘हामी दुवै घर फर्कून् भन्ने चाहन्छौं,’ प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालयअगाडि प्रदर्शनमा सहभागी २८ वर्षीय सुपुन इरांगाले भने। उनले प्रधानमन्त्रीले दुई महिनामा केही गर्न नसकेको र राष्ट्रपति राजपाक्षेको सुरक्षामा बढी ध्यान दिएको बताइन्। तर प्रधानमन्त्री विक्रमासिंघेले अर्कोसरकार नबनेसम्म आफूले राजीनामा नगर्ने बताउँदै आएका छन्। प्रहरीले बुधबार प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरे पनि उनीहरूलाई तितरबितर पार्न सकेन। संकटबीच प्रधानमन्त्रीले देशमा संकटकाल घोषण गरेका छन्। बुधबार पनि प्रदर्शनकारी राष्ट्रपतिको निवासमा प्रवेश गरे। दुवै नेताले राजीनामा नगरेसम्म प्रदर्शन जारी रहने प्रदर्शनकारी इरांगाले बताए।  

केही प्रदर्शनकारीले दोषी नेतालाई देश छाड्न दिन नहुने बरु जेलसजाय दिनुपर्ने माग गरेका छन्। ‘उनीहरूलाई जेल सजाय दिनुपर्छ,’ ४९ वर्षीया सिथारा सेडारारियनागेले भनिन्। 

प्रकाशित: ३० असार २०७९ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App