१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका–मेक्सिको सीमामा थप सेना परिचालन

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप तीन हजार सात सय अमेरिकी सेना परिचालन गरेको छ।

सीमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाका लागि ती सेनालाई पठाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले समाचार लेखेको छ। 

अमेरिका–मेक्सिको सीमामा शुल्क उठाउन र सिमाना रक्षाका लागि कूटनीतिक अधिकारीहरूको तैनाथी पनि बढाइने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। ‘उनीहरुलाई अहिले थप ९० दिनका लागि खटाइएको छ। सुरक्षा निकायहरूको सिफारिसका आधारमा फेरि निरन्तरता दिन पनि सकिनेछ। देशको दक्षिणी सिमानाको रक्षाका लागि उनीहरुलाई खटाइएको हो,’ पेन्टागनद्वारा जारी गरिएको वक्तव्य उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।

मेक्सिकोमा सीमा सुरक्षाका लागि बजेट छुट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावप्रति सांसदहरुले बिमति जनाएपछि सम्झौताको प्रयास भइरहेका बेला सिमा क्षेत्रमा थप सेना पठाइएको हो। राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने प्रस्ताव पटक पटक गर्दै आएका छन्। पर्खाल लगाउनका लागि कोषको व्यवस्था नगरेमा राष्ट्रिय संकट घोषणा गर्ने पनि उनले बेलाबखत चेतावनी दिँदै आएका छन्। उनले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने चुनावी अजेण्डालाई प्रमुख प्राथमिकता दिएका थिए। आफूले चुनावका बेला अगाडि सारेको अजेन्डालाई कार्यान्वयन गर्न राष्ट्रपति ट्रम्पसँग संसद् छल्नसक्ने अवस्था छैन भने पर्खाल निर्माणका लागि ट्रम्पले गरेको मागलाई स्वीकार्न संसद्ले पनि सकेको छैन।

अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने महत्वाकांक्षी योजनाका लागि राष्ट्रपति ट्रम्पका लागि माग गरिएको बजेट देशको संसदले स्वीकार नगरेपछि उनले बजेटमा समेत हस्ताक्षर नगर्दा अमेरिकाका संघीय कार्यालय ३० दिनभन्दा बढी आशिंक रूपमा बन्द भएका थिए, जसका कारण आठ लाखभन्दा बढी कर्मचारी तलबविहीन बन्न पुगेका थिए। गत नोभेम्बर महिनामा अमेरिकामा मध्यावधि निर्वाचन हुनुअघिसम्म राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको देशको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा बहुमत थियो। तर मध्यावधि निर्वाचनपछि भने डेमोक्रेट पार्टीले देशको तल्लो सदनमा बहुमत पुर्‍याएपछि अहिले राष्ट्रपति ट्रम्पलाई अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने आफ्नो महत्वाकांक्षी योजना कार्यान्वयनमा चुनौती बढेको छ।
देशको दक्षिणी सीमाबाट गैरकानुनी आप्रवासी प्रवेश गरिरहेको र अपराधमा वृद्धि हुनुका साथै देशकै सुरक्षामा खतरा उत्पन्न भएको भन्दै ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनु पर्ने तर्क अघि सार्दै आइरहेका छन्। विपक्षी डेमोक्रेट पार्टी भने ट्रम्प विचारको विपक्षमा छ र उसले पर्खाल लगाउने कार्य अनावश्यक खर्च भएको बताउँदै आएको छ।

प्रकाशित: २२ माघ २०७५ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App