१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहन्छौं’

संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान ताई सङ। तस्बिर : एजेन्सी

जेनेभा – उत्तर कोरियाले संयुक्त राज्य अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको खुलासा गरेको छ। संयुक्त राष्ट्रसंघीय प्रायोजनमा जेनेभामा भएको निःशस्त्रीकरणसम्बन्धी एउटा सम्मेलनमा जेनेभास्थित राष्ट्र संघका लागि उत्तर कोरियाली राजदूत हान ताई सङले कोरियाली प्रायःद्वीपमा स्थायी र दीगो शान्ति संयन्त्र स्थापनाका लागि प्योङयाङले निरन्तर काम गरिरहने बताउँदै अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको बताएका हुन्।

निःशस्त्रीकरणका लागि उत्तर कोरियाले विश्वसनीय र प्रयोगात्मक तरिकाले गरिरहेको प्रयासलाई वासिङ्टनले प्रतिक्रिया जनाए अमेरिकासँगको सुन्दर सम्बन्ध तीव्र गतिमा विकास हुने राजदूत हानले मंगलबार सो सम्मेलनमा बताए।
इतिहासमै वहालवाला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच गत वर्षको जुन १२ का दिन एसियाली मुलुक सिंगापुरमा भएको शिखर बैठकमा दुई नेताबीच कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्न मिलेर काम गर्ने विषयमा सहमति भएको थियो। सिंगापुर वार्तापछि अमेरिका र उत्तर कोरियाबीच लामो समयदेखिको शत्रुतापूर्ण सम्बन्धमा नाटकीय रूपमा सुधार भएको  थियो।

‘पृथ्वीमै सबैभन्दा शत्रुतापूर्ण सम्बन्ध रहेको उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा गत वर्ष भएको शिखर सम्मेलनले नाटकीय परिवर्तन ल्याएको र त्यसले विभाजित कोरियाली प्रायःद्वीपमा शान्ति तथा सुरक्षाको प्रत्याभूति गर्न योगदान पुर्याएको छ,’ राजदूत हानलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

उत्तर कोरियाली सर्वोच्च नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पले सिंगापुर बैठकपछि जारी गरेको संयुक्त विज्ञप्तिलाई उद्धृत गर्दै राजदूत हानले भने, ‘संयुक्त विज्ञप्तिमा सहमति भएबमोजिम हामीले न त कुनै आणविक हतियार बनाउँछौ वा परीक्षण गर्छौं न नै बनेका हतियार शक्ति देखाउनका लागि प्रयोग गर्छौं। हामीले कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरणका लागि निश्चित रूपमा कैयौं प्रायोगिक तरिका पनि अपनाएका छौं।’

‘यदि हामीले गरिरहेको प्रयासलाई अमेरिकाले सही तरिका र प्रयोगात्मक शैलीले प्रतिक्रिया जनायो भने दुई देशबीचको द्विपक्षीय सम्बन्ध एकदमै तीव्र गतिमा सुन्दर ढंगले अघि बढ्ने छ,’ राजदूत हानलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच कहिले दोस्रो शिखर बैठक हुँदैछ भन्ने रोयटर्सको प्रश्नमा राजदूत हानले यसबारे आफूसँग कुनै सूचना नभएको बताए। उत्तर कोरियाले आफ्नो आणविका हतियार कार्यक्रम त्यागेकोबारे ठोस र देखिने काम गर्नु पर्ने दक्षिण कोरियाका विदेशमन्त्रीले गत साता स्विजरल्यान्डको डाभोसमा रोयटर्ससँग बताएको थिए। उनले प्योङयाङले उसको प्रमुख आणविक कम्पलेक्सलाई ध्वस्त बनाउनु पर्ने र सो प्रक्रियाको निरीक्षणका लागि अन्तर्राष्ट्रिय समुदायलाई अनुमति दिनुपर्ने बताएका थिए।

अमेरिकी अधिकारीले फेब्रुअरी महिनाको अन्त्यसम्ममा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच दोस्रो शिखर बैठक हुनसक्ने तर्फ संकेत गरे पनि मिति र स्थानबारे भने केही बताएका छैनन्। केही दिनअघि उत्तर कोरियाली नेता किम ट्रम्पले पठाएको पत्र पढेर अत्यन्तै खुसी भएको समाचार बाहिरिएको थियो। उत्तर कोरियाली नेता किमले नयाँ वर्षको सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पसँग आफू कुनै पनि समयमा जहाँ पनि भेट्न तयार रहेको बताएपछि गत वर्षको अन्त्यतिर केही सुस्ताएको अमेरिका–उत्तर कोरियाको सम्बन्धमा ऊर्जा थपिएको थियो।

प्रकाशित: १६ माघ २०७५ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App