१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्धविराम निरीक्षण गर्न राष्ट्रसंघीय पर्यवेक्षक यमनमा

क्याप्सन ः यमनको होडेडामा लागू भएको युद्धविरामको अनुगमन गर्न एडेन पुगेका अवकाश प्राप्त डच जनरल प्याट्रिक क्यामार्टकाे टाेली। तस्बिर : एजेन्सी

न्युयोर्क – युद्धग्रस्त यमनको होडेडामा लागू भएको युद्धविरामको अनुगमन गर्न संयुक्त राष्ट्रसंघीय पर्यवेक्षण टोलीका प्रमुख यमन पुगेका छन्। राष्ट्रसंघीय सुरक्षा परिषद्ले शुक्रबार युद्धग्रस्त यमनमा जारी युद्धविरामको अवस्था अनुगमन गर्न पर्यवेक्षक पठाउने प्रस्ताव पारित गरेको थियो। केही दिनअघि इरानी समर्थन रहेको हुथी विद्रोही र साउदी समर्थन रहेको यमन सरकारबीच रणनीतिक महत्व बोकेको बन्दरगाह सहर होडेडामा युद्धविराम लागू गर्ने सहमति भएको थियो।

बेलायतको मस्यौदा प्रस्तावमाथि राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा परिषद्मा लामो छलफलपछि शुक्रबार युद्धविराम पर्यवेक्षक पठाउने विषयमा मतदान भएको थियो। सर्वसम्मत रूपमा प्रस्ताव पारित हुनुपूर्व धेरैपटक संशोधन गरिएको थियो। बैठकले गत साता स्विडेनमा राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताको नतिजालाई स्वीकार गरेको बताइएको छ। गत मंगलबारदेखि कार्यान्वयनमा आएको युद्धविरामको सहमति बमोजिम होडेडाबाट लडाकुलाई फिर्ता गर्न थालिएको छ। यमनमा सहायता र खाद्यान्न यही होडेडा हुँदै भित्रिने गर्छ।

भोकमरिको जोखिममा रहेका लाखौं यमनी नागरिकका लागि होडेडा बन्दरगाह मुख्य आधार हो। साउदी नेतृत्वको सरकारी फौज र इरानी समर्थन रहेको हुथी विद्रोहीबीचको सशस्त्र द्वन्द्व अन्त्य गर्ने यो एउटा महत्वपूर्ण अवसर भएको विश्लेषकहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। यमनमा चार वर्षदेखि सशस्त्र युद्ध जारी छ। स्विडेनमा भएको सहमतिअनुसार एकअर्काले कब्जामा राखेका झण्डै १५ हजार व्यक्ति पनि मुक्त हुने भएका छन्।

होडेडाका लागि भएको युद्धविराम सम्झौताको सबै पक्षले पूर्ण कार्यान्वयन गर्नेमा सुरक्षा परिषद्ले विश्वास व्यक्त गरेको छ। राष्ट्रसंघको प्रस्तावमा युद्धविरामको अनुगमन सुरु गर्न नेदरल्यान्डका अवकाशप्राप्त वरिष्ट सैनिक अधिकृत जनरल प्याट्रिक क्यामार्टको नेतृत्वमा एक टोली पठाइने निर्णय भएबमोजित उनी शनिबार यमन पुगेको संयुक्त राष्ट्रसंघ र स्थानीय समाचारमाध्यमले जनाएका छन्।

साउदी अरबले राष्ट्रसंघको प्रस्तावको स्वागत गरेको छ। युद्धविरामले हुथी विद्रोहीले युद्धको तयारीका लागि स्रोतसाधन जुटाउने सम्भावना घटाएको साउदी सरकारका लागि राष्ट्रसंघमा उप–स्थायी प्रतिनिधि खालिद मन्जलावीले बताए। उनले कुवेत र साउदी अरबका सहयोगी राष्ट्रको निरन्तरको प्रयास सफल भएको पनि बताएका छन्।

राष्ट्रसंघीय सुरक्षा परिषद्को शुक्रबारको निर्णयअनुसार सुरुमा ३० दिन होडेडामा लागू भएको युद्धविरामको अनुगमन जनरल प्याट्रिक क्यामार्ट नेतृत्वको टोलीले गर्ने छ। एडेन विमानस्थलमा पुगेपछि क्यामार्टले साउदी समर्थन रहेको अधिकारीसँग भेट गरेको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। त्यसैगरी उनले राजधानी सानामै हुथी विद्रोहीसँग पनि भेट गर्ने अनुमान गरिएको छ।

विद्रोहीसँग पनि भेटेपछि उनी होडेडा जाने र त्यहाँ लागू भएको युद्धविराम र त्यस क्षेत्रबाट फौज हटाइएको अवलोकन गर्ने बताइएको छ। क्यामार्टको टोलीले कुनै पनि सैन्य पोशाक नलगाउने र कुनै पनि हतियार पनि नबोक्ने बताइएको छ। यद्यपि सो टोलीले दुवै पक्षलाई प्राविधिक सहयोग भने उपलब्ध गराउने संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ।

प्रकाशित: ८ पुस २०७५ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App