३ चैत्र २०८१ आइतबार
image/svg+xml ६:४७ पूर्वाह्न
अन्तर्राष्ट्रिय

जेलेन्स्कीले भने– यूक्रेन वार्ता गर्न तयार छ, ट्रम्पसँगको भेट ‘दुर्भाग्यपूर्ण’

यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत हप्ता ह्वाइट हाउसमा भएको भेटलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै मंगलबार आफू शान्ति वार्ताका लागि तयार रहेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा लामो विज्ञप्ति जारी गर्दै जेलेन्स्कीले यूक्रेन वार्ताका लागि तयार रहेको जनाए। उनले गत हप्ता ट्रम्पसँगको भेट ‘अपेक्षा गरेअनुसार नभएको’ भन्दै अब सही निर्णय गर्ने बेला आएको उल्लेख गरे।

‘मेरो टोली र म शान्ति स्थापनाका लागि राष्ट्रपति ट्रम्पको नेतृत्वमा काम गर्न तयार छौँ,’ उनले लेखेका छन्।

उनले युद्ध अन्त्य गर्न द्रुत रूपमा अघि बढ्नुपर्ने बताउँदै पहिलो चरणका रूपमा युद्धबन्दीको अदला-बदली, आकाशमा युद्धविराम (मिसाइल तथा लामो दूरीका ड्रोन आक्रमण बन्द), ऊर्जा तथा नागरिक पूर्वाधारमा आक्रमण रोक्ने व्यवस्था र समुद्री क्षेत्रमा तत्काल युद्धविराम हुनुपर्ने बताए। उनले यदि रुसले पनि यस्तै कदम चालेमा शान्ति वार्तालाई तीव्रता दिन सकिने उल्लेख गरे।

‘अमेरिकाले यूक्रेनको सार्वभौमिकता तथा स्वतन्त्रता कायम राख्नका लागि दिएको सहयोगको हामी उच्च मूल्यांकन गर्छौँ। जब राष्ट्रपति ट्रम्पले यूक्रेनलाई जाभेलिन उपलब्ध गराए, त्यही क्षणबाट परिस्थिति परिवर्तन भएको हामी सम्झन्छौँ। त्यसका लागि हामी आभारी छौँ,’ जेलेन्स्कीले थपे।

उनले ह्वाइट हाउसमा शुक्रबार भएको भेट सकारात्मक नबनेको भन्दै भविष्यमा सहकार्य र संवादलाई परिणाममुखी बनाउन चाहेको बताए।

खनिज स्रोत र सुरक्षासम्बन्धी सम्झौताबारे जेलेन्स्कीले यूक्रेन जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको र यसलाई स्थायी सुरक्षा प्रत्याभूतिको दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिएको उल्लेख गरे।

वाल्ट्जले जेलेन्स्कीको ट्रम्पसँगको असहमतिको विषयलाई निराधार बताउँदै जेलेन्स्कीले पछिल्ला घटनाक्रमप्रति खेद व्यक्त गर्दै शान्ति वार्तामा संलग्न हुन तयार रहेको सन्देश दिनु आवश्यक रहेको बताएका थिए।

जेलेन्स्कीले उल्लेख गरेको युद्धविरामको प्रस्ताव युरोपेली नेताहरूले आइतबार पेरिसमा भएको बैठकमा अघि सारेको योजनासँग मेल खान्छ।

बेलायती प्रधानमन्त्री कीर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले ३० दिनका लागि आकाश, समुद्र तथा ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने प्रस्ताव गरेका थिए

 म्याक्रोँले उक्त अवधिलाई व्यापक शान्ति सम्झौताका लागि अवसरका रूपमा प्रयोग गर्न सकिने बताएका थिए।

राष्ट्रपति ट्रम्पको प्रशासनले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएको छैन।

जेलेन्स्कीको विज्ञप्ति ट्रम्पले सोमबार राति यूक्रेनलाई दिइने सबै सहायता रोक्ने निर्णय गरेपछि आएको हो।

ट्रम्प प्रशासनका एक उच्च अधिकारीले फक्स न्युजसँग कुराकानी गर्दै ‘यो सहायता स्थायी रूपमा बन्द गरिएको नभई अस्थायी रूपमा रोकिएको’ स्पष्ट पारेका थिए। ‘हालका आदेशहरू कार्यान्वयन भइरहेका छन्,’ ती अधिकारीले बताएका थिए।

(फक्स न्युज र एजेन्सीको सहयोगमा)

प्रकाशित: २० फाल्गुन २०८१ २३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App