१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मतदान अघि ध्यानमा लिन हुँदै मोदी

भारतमा जुन १ मा अन्तिम चरणको लोकसभा निर्वाचनका लागि मतदान हुनेछ। भारतीय चुनाव आयोगले विभिन्न चरणमा गरी यसपटक निर्वाचनको तालिका सार्वजनिक गरेकोमा अन्तिम चरणको चुनाव शनिवार हुनेछ। अन्तिम चरणको चुनावमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव लगायतका दिग्गजहरू मैदानमा रहने छन्।

चुनाव आयोगका अनुसार भारतमा हुने अन्तिम चरणको निर्वाचनका लागि आजबाट मौन अवधि सुरु हुनेछ। चुनावी प्रचारप्रसार सकिएसँगै भारतीय प्रधानमन्त्री मोदीको निकै चर्चा भइरहेको छ।

पछिल्लो १० वर्षदेखि सत्ता सम्हालिरहेका मोदी तेस्रो कार्यकालका लागि पनि तयार रहेको भारतीय राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन्। सन् २०२४ को निर्वाचनमा पनि भारतीय जनता पार्टीले नै जित हासिल गर्ने र मोदी नै भारतको प्रधानमन्त्री बन्ने आँकलन भइरहेको छ।

यी सबकाबीच मोदीको धार्मिक यात्रा पनि अहिले चर्चाको विषय बनेको छ। धर्ममा निकै विश्वास राख्ने भारतीय प्रधानमन्त्री मोदीले आफ्ना पछिल्लो निर्वाचन जस्तै यसपटक पनि धार्मिक यात्रा सुरु गरेका छन्।

चुनाव प्रचारप्रसार बन्द भएसँगै उनी कन्याकुमारीमा ध्यान गर्न जाँदैछन्। भोलिबाट सुरु हुने ध्यान जुन १ सम्म जारी रहने छ। २४ घन्टासम्मको ध्यानका लागि प्रधानमन्त्री मोदी आजै कन्याकुमारीका लागि प्रस्थान गर्नेछन्। यसअघि सन् २०१४ को निर्वाचनका बेला उनी शिवाजीको प्रतापगढ र २०१९ मा उत्तराखण्डस्थित केदारनाथ गुफा गएका थिए।

कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा १३२ वर्ष अघि स्वामी विवेकानन्दले ३ दिनसम्म ध्यान गरेका थिए। प्रधानमन्त्री मोदीले पनि सोही स्थानमा गएर ध्यान गर्नेछन्।

पौराणिक र ऐतिहासिक दुबै प्रकारले निकै महत्त्वपूर्ण मानिएको उक्त शिलामा देवी पार्वतीले एउटै खुट्टामा उभिएर भगवान शिवका लागि उपासना गरेको धार्मिक मान्यता रहेको छ। साथै भारतको दक्षिणी भागको यो महत्त्वपूर्ण स्थान पनि हो। भारतको पूर्वी र पश्चिमी तट रेखा यहाँ जोडिन्छ भने हिन्द महासागर, बङ्गालको खाडी र अबर सागरको यो मिलन बिन्दु पनि हो।

भारतीय प्रधानमन्त्री मोदीले लोकसभा निर्वाचनका लागि उत्तर प्रदेशको वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दिएका छन्।

प्रकाशित: १७ जेष्ठ २०८१ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App