६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम अझै अनिश्चित, मध्यस्थता र वार्ताको प्रयास जारी

इजरायल र हमासबीचको युद्ध सातौं महिनामा प्रवेश गरेको छ। युद्धविराम र बन्धक रिहाई सम्झौताको मध्यस्थताका लागि अमेरिका र अन्य वार्ता टोली कायरोमा भेट्ने कायक्रम तय भएको छ।

इजिप्टको ‘अल–काहेरा न्यूज’का अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक बिल बन्र्स, कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी र इजिप्टका मध्यस्थकर्ताले इजरायली र हमास प्रतिनिधिमण्डलबीच अप्रत्यक्ष वार्ताका लागि इजिप्टले मध्यस्थता गर्नेछ।

गाजामा पूर्ण युद्धविराम र इजरायली सेनाको फिर्ताको मुख्य माग रहेको पुष्टि वार्ताअघि हमासले गरेको छ। इजरायली सेनाले गाजामा सात जना सहायताकर्मीको हत्याको आरोपमा दुई जना अधिकारीलाई बर्खास्त गर्न लागेको बताएपछि युद्धविरामको प्रयास भएको हो।

गत अप्रिल १ मा मानवीय सहायता समूह ‘वल्र्ड सेन्ट्रल किचेन (डब्लुसिके)’ का कर्मचारीको मृत्यु भएको इजरायली स्वीकारोक्तिपछि घटनाको स्वतन्त्र छानबिनको माग गरिएको छ।

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच भएको वार्ताले इजरायललाई वार्तामा बस्न बाध्य बनाएको छ। राष्ट्रपति बाइडेनले ‘तत्काल युद्धविराम’ गर्न, नागरिकको हत्या कम गर्न र मानवीय अवस्था सुधार गर्न वा त्यसो नगरेमा अमेरिकी सहयोग रोकिन सक्ने पहिलो पटक सशर्त दबाव दिएपछि इजरायल वार्ताका लागि तयार भएको हो।

गाजामा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्धको कारण बनेको अक्टोबर ७ मा हमासका लडाकूले इजरायली भूमिमा गरेको अकल्पनीय आक्रमणमा एक हजार १७० जनाको मृत्यु भएको इजरायली तथ्याङ्कले देखाएको छ। उक्त आक्रमणपछि प्यालेस्टिनी लडाकूहरूले करिब २५० इजरायली र विदेशी बन्धकहरूलाई पनि बन्धक बनाएका थिए जसमध्ये १०० को हाराहारीमा गत नोभेम्बर महिनामा भएको युद्धविरामपछि फिर्ता भएका थिए। बन्धक बनाइएका करिब १३० व्यक्ति गाजामा रहेका र ३० भन्दा बढीको मृत्यु भइसकेको हुनसक्ने इजरायली सेनाले बताएको छ।

इजरायली सेनाले आइतबार गाजामा आफ्ना थप चार सैनिक मारिएको घोषणा गरेसँगै अक्टोबरको अन्त्यमा स्थलगत कारबाही सुरु भएयता मृतक इजरायली सैनिकको सङ्ख्या २६० पुगेको जनाएको छ।

हमासविरुद्ध इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा कम्तीमा ३३ हजार १३७ जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन्।

नोभेम्बरमा भएको एक साता लामो युद्धविराममा इजरायलले हिरासतमा लिएका प्यालेस्टिनी कैदी र केही बन्धकको आदानप्रदान भएको थियो । त्यसपछि भङ्ग भएको युद्धविरामले पुनः चर्चा पाएको छ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार नेतन्याहूसँग बाइडेनले बिहीबार गरेको कुराकानीमा सम्झौताका लागि आफ्ना वार्ताकारलाई सशक्त बनाउने विषयमा छलफल भएको थियो।

वासिङ्टनले सम्झौता हुन नसक्नुमा हमासले बिरामी र अन्य जोखिममा रहेका बन्धकहरूलाई रिहा गर्न इन्कार गरेको आरोप लगाएको छ। कतारले विस्थापित गाजावासीको स्वदेश फिर्तीमा इजरायलको आपत्ति नै मुख्य बाधक भएको बताएको छ। रासस

प्रकाशित: २६ चैत्र २०८० ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App