९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेरूका प्रधानमन्त्रीद्वारा राजीनामा

पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलाले एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि राजीनामा दिएका छन्।

मङ्गलबार ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु।’ 

ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुन्। उनले राष्ट्रपति डिना बोलुआर्टेको चीफ अफ स्टाफको रूपमा कामसमेत गरेका थिए।

ओटारोलाले एक २५ वर्षीया युवतीलाई क्यानाडाको आधिकारिक भ्रमणबाट घर फर्कन आदेश दिएका थिए।

गत हप्ताको अन्त्यमा, टेलिभिजन कार्यक्रम प्यानोरमाले यस वर्ष सरकारको लागि अभिलेख र प्रशासनिक काम गर्न कूल १४ हजार अमेरिकी डलरको दुई सम्झौताहरू प्राप्त गरेकी २५ वर्षीया याजिरे पिनेडो नामकी एक महिलालाई उक्त सम्झौता गरिदिन पदीय मर्यादा विपरीत निर्देशन दिएको उल्लेख गर्दै विपक्षी नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

सम्झौता गर्दा अनियमितता भएको हुनसक्ने आधार मानिएको रेकर्डेड कुराकानीमा प्रधानमन्त्री ओटारोलाले ती युवतीलाई भनेका छन्, ‘प्रिय, तिमीलार्ई थाहा छ ‘यी प्रसङ्ग’ ले दुःख दिएका छन्। तिनीहरू हाम्रा लागि पीडा हुन्। तर तपाईंलाई यो पनि थाहा छ कि म तपाईंलाई माया गर्छु।’

पिनेडोका अनुसार उक्त कुराकानी ओटारोलासँग उनी क्याबिनेट मन्त्री हुनुअघि सन् २०२१ मा भएको हो। पिनेडोले प्रधानमन्त्री ओटारोलासँग आफ्नो छोटो ‘भावनात्मक सम्बन्ध’ भएको कुरा स्वीकारेका छन्।

यसैबीच, ओटारोलाले पेरूको श्रम कानूनको उल्लङ्घन वा अन्य गलत काम गरेको आरोप अस्वीकार गरेका छन्।

अभियोजकहरूले ओटारोलालाई सम्भावित स्वार्थको द्वन्द्व र ‘अवैध प्रायोजन’ को लागि अनुसन्धान गर्ने बताएका छन्।

प्रधानमन्त्रीको युवतीसँगको घटनालाई जोडेर राष्ट्रपति बोलुआर्टेको राजीनामा र नयाँ निर्वाचनको माग गर्दै विभिन्न शहरमा केही समयदेखि हिंसात्मक प्रदर्शन भएका छन्। सन् २०१८ को मार्चपछि अहिलेसम्म पेरूमा छ जना राष्ट्रपति भइसकेका छन्।

ह्युमन राइट्स वाचको एक अनुमानअनुसार सुरक्षा बलको कारबाहीमा अहिलेसम्म करिब ५० जनाको मृत्यु भएको छ। रासस

प्रकाशित: २३ फाल्गुन २०८० १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App