१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा पहिलो ‘बुलेट ट्रेन’

अहमदाबाद- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी सिन्जो आबेले बिहीबार भारतको पहिलो बुलेट ट्रेनको संयुक्त रुपमा शिलान्यास गरेका छन् । जापान सरकारको सहयोगमा निर्माण हुने उक्त दु्रत गतिको रेल सेवा गुजरात राज्यको अहमदाबादबाट भारतको आर्थिक राजधानी मुम्बईसम्म चल्ने बताइएको छ । भारतका प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री आबेले भादोदारामा रहेको बुलेट ट्रेन रिसर्च इन्सिच्युटको भिडियो कन्फेरेन्सिङको माध्यमबाट उद्घाटन गरेका थिए । दुई प्रधानमन्त्रीले भादोदारामा रहेको करिब चार हजार मानिसलाई बुलेट ट्रेन प्रोजेक्टका लागि तालिम दिने इन्स्च्यिुटको पनि संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा यो रेल सेवाको सुरुवातको सहमति भएको छ ।
    अहमदाबादबाट मुम्बईसम्म सञ्चालन हुने पाँच सय किलोमिटर लामो यो रेल सेवा जापान सरकारको १७ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोगमा निर्माण हुन लागेको हो । यस रेल सेवाअन्तर्गत १२ वटा यात्रु स्टप हुने बताइएको छ । यो रेलसेवासम्बन्धी आयोजनाको निर्माण सन् २०२२ सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ ।  यो रेल सेवा सञ्चालमा आएपछि अहमदाबादबाट मुम्बईबीचमा रहेको पाँच सय किलोमिटरको दूरी केबल दुई घण्टा ५८ मिनेटमा पार गरिने बताइएको छ ।
‘जापान सरकारले ८८ हजार करोड भारतीय रुपैयाँ ऋण अत्यन्तै कम ब्याजदर अर्थात् ०.१ प्रतिशतमा दिन लागेको र त्यो अबको ५० वर्षभित्र तिरिसक्नुपर्ने हुनेछ,’ भारतको आर्थिक मामिलासम्बन्धी विभागका सचिव सुभाषचन्द्र गर्गले बताएका छन् । उनका अनुसार भारतले ऋण र सहयोगका लागि जापानसँग चारवटा डकुमेन्ट आदानप्रदान गरेको छ र त्यसमा ६ सय करोड ऋण बुलेट टे«न प्रोजेक्टलाई हुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वकांक्षी र चुनावी अभियानको एउटा महत्वपूर्ण अभियानका लागि जापानले अत्यन्तै न्यून दरमा ऋण उपलब्ध गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस आयोजना भारतीय रेल सेवा र जापानी सिन्कानसेन टेक्नोलोजीको संयुक्त योजना रहेको बताइएको छ ।
भारतका रेलमन्त्री पियुष गोयल, गुजरातका मुख्यमन्त्री विजय रुपानी र उनका महाराष्ट्र समकक्षी देवेन्द्र फडनाभिस पनि बुलेट ट्रेनको शिलान्यास कार्यक्रममा सहभागी भएका थिए । आफ्नो महत्वकांक्षी बुलेट ट्रेन आयोजनाको शिलान्यास कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले यो आयोजना प्रमुख कदम भएको बताएका छन् । उनले यो तीब्र गतिको रेल सेवाको सुरुवात मात्रै नभई यस रेलसेवा भारतीय नागरिकको जीवनरेखाको सिद्धान्तका रुपमा आफूले लिएको बताएका छन् ।

बुलेट टे«नको शिलान्यास गर्नु अगाडी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको थियो । जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा रहेका छन् ।  दुई प्रधानमन्त्रीबीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भेटवार्ता भएको थियो ।

    भारतमा सबैभन्दा सहज र सस्तो यात्रु सेवामा रेल सेवालाई लिइन्छ । एक अध्ययनका अनुसार रेल सेवाले मात्रै प्रत्येक दिन कम्तीमा दुई करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ । तर बेलायती उपनिवेशकालीन कतिपय रेल सेवाका कारण भइरहेको हजारौं भारतीय नागरिकले वर्षेनी मृत्युको शिकार हुने गरेका कारण भारतमा रेल सेवा सुधारका माग विभिन्न क्षेत्रबाट हुँदै आएका छन् ।

प्रकाशित: ३० भाद्र २०७४ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App