१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुरु भयो कुकुरको मासुको फेस्टिभल

चीन–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको विरोधका वावजुद चीनमा कुकुरको मासुको फेस्टिभल सुरु भएको छ । उत्सवका दौरानमा १० हजार भन्दा बढी कुकुर र बिराला काटिने अनुमान गरिएको छ ।

अधिकारवादीले फेस्टिभललाई क्रुर र हिंस्रक भन्दै रोक्ने प्रयास स्वरुप १ करोड १० लाखको हस्ताक्षर संकलन गरेका थिए । तर उनीहरुको प्रयास सफल भएन । फेस्टिभल चीनको दक्षिणी प्रान्त युलिनमा चल्नेछ । स्थानीय सरकारले फेस्टिभललाई औपचारिक रुपमा सहयोग गरेको छैन तर उसले हुन नदिन कुनै पहल पनि गरेन । फेस्टिभल स्थानीय व्यापारीले आयोजना गरेका हुन् ।
फेस्टिभलको पक्षमा रहेकाहरुले फेस्टिभल ५ सय वर्ष अगाडिदेखि चलिआएकाले रोक्नु नहुने जिकिर गरेका थिए । चीन बाहेक दक्षिण कोरिया र अन्य देशमा पनि यस्तो उत्सव मनाउने चलन छ । परापूर्व कालमा जाडो सुरु हुनै लाग्दा यस्तो उत्सव गर्ने चलन थियो तर चीनमा अहिले भइरहेको युलिन फेस्टिभल भने मध्य गर्मीमा चल्ने गरेको छ जुन भर्खरै सुरु भएको हो ।

उत्सवका लागि ल्याइने कुकुरहरु हजार माइल टाढाबाट आउने गर्छन् । यो क्रममा यस्ता कुकुरले कैयौं दिनसम्म खाना र पानीको मुख देख्न पाउँदैनन् । अधिकारवादीहरुले कुकुरमाथि यस्तो गर्नु अन्यायपूर्ण भएको बताउँदै आएका छन् । युलिन फेस्टिभलमा स्टल राख्नेहरुले उत्सवको समयमा काटिने कुकुरहरुलाई इज्जत साथ काटिने गरेको दाबी गरेका छन् । तर अधिकारवादीहरुले त्यसो नगर्ने गरेको जिकिर गरेका छन् । उनीहरुको दाबी छ ,‘कुकुरलाई क्रुर तरिकाले काटिन्छ, मर्ने गरी कुटिन्छ र कहिलेकाही जिउँदै पनि जलाइन्छ ।’
उत्सवभन्दा अगाडि कुकुरलाई सानो खोरमा राख्ने गरिएको पनि उनीहरुको आरोप छ । कुकुरको मासु खानु चीनमा वैध मानिन्छ । वर्षमा कम्तीमा पनि १ करोड कुकुर काटिने अधिकारवादीहरुको तथ्यांकले देखाउँछ ।

युलिनको यो फेस्टिभललाई स्थानीयले गर्वको रुपमा लिने गरेका छन् । तर सिन्हवाले हालै गरेको सर्वेक्षणले ६४ प्रतिशत मानिस यसको विपक्षमा रहेको देखाएको छ । यसको पक्षमा रहनेहरुको प्रतिशत जम्मा १६ प्रतिशत छ । सिन्हवाले नै गरेको सर्वेक्षणले ५१ प्रतिशत मानिस चीनमा कुकुरको मासु पूर्णतया रोक लगाउनु पर्ने पक्षमा देखाएको थियो भने ६९ प्रतिशत मानिसले जीवनमा कहिलै पनि कुकुरको मासु नखाएको दाबी गरेका थिए ।
क्याप्सन ः इटलीको रोमस्थित चाइनिज दूतावास अघि चीनमा मंगलबारबाट सुरु भएको युलिन फेस्टिभलको विरोधमा उत्रिएका सर्वसाधारण । १० दिनसम्म चल्ने फेस्टिभलमा हजारौं कुकुर मारिने गरिन्छ ।

 

प्रकाशित: ८ असार २०७३ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App