१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा २६ जनामा डेंंगी संक्रमण

देशभर फैलिएको संक्रामक डेंगी रोगी उदयपुरका २ दर्जन बढीमा पहिचान भएको छ। काठमाडौं उपत्यकामा केही महिनाअघिदेखि नै फैलिएको डेंगी बिस्तारै देशभर फैलिएपछि रोकथाम र उपचारको प्रयास गर्ने क्रममा जिल्लामा २६ जनालाई डेंगी भएको पाइएको हो।  

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लाका सबै स्थानीयतहमा डेंगी रोगीको पहिचान गर्ने क्रममा सो संख्यामा संक्रमितहरु भेटिएका हुन्। जनस्वास्थ्य अधिकृत रामनरेश ठाकुरका अनुसार जिल्लाका ८ वटा स्थानीयतहमध्ये हालसम्म ३ नगरपालिकामा डेंगीका संक्रमित भेटिएका छन्।  

जस अनुसार सबभन्दा बढी बेलका नगरपालिकामा १३ जना संक्रमितको पहिचान भएको छ। त्यस्तै त्रियुगा नगरपालिकामा ८ र कटारी नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको ठाकुरले बताए।  १ नगरपालिका र ४ गाउँपालिकामा भने डेंगी फेला परेको रिपोर्ट अहिलेसम्म आएको छैन।  चौदण्डीगढी नगरपालिका र गाउँपालिकाहरु लिमचुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीमा अहिलेसम्म डेंगी संक्रमितहरु भएको रिपोर्ट नआएको उनको भनाई छ।  

डेंगी संक्रमणबाट बच्न र बचाउन स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीयतहसँग समन्वय गर्दै रोकथाम र उपचार प्रक्रिया थालेर दैनिक रिपोर्ट लिने कार्य गर्दै आएको ठाकुरले बताएका छन्।  डेंगीको उपचार र रोकथामका लागि स्थानीयतहस्तरमै काम भईरहेको स्वास्थ्यले जनाएको छ।  प्रायः सबै स्थानीयतहमा पालिकास्तरीय अस्पताल र स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेकाले संक्रमितहरुको त्यहीँ उपचार र रोकथाम गर्ने काम भईरहेको र संक्रमित २७ मध्ये धेरैजसो निको भएर डिस्चार्ज भईसकेको तथा केहीको उपचार भईरहेको ठाकुरले बताए।  

चिकित्सकहरुका अनुसार डेंगीको मुख्य लक्षण भनेको ज्वरो आउने, टाउको दुख्ने र हात खुट्टा तथा पुरै शरीर दुख्नु हो।  त्यस्तो भएको बेला नियमित तातो पानी खाने, पारा सिटामोलजस्ता सामान्य रोकथामका औषधि खाँदा पनि यो संक्रमण पच्न सकिन्छ।  ढिलोमा सातादिनभित्र जस्तोसुकै बिरामी पनि निको हुने स्वास्थ्यले जनाएको छ।  जटिल अवस्थामा पुगेको खण्डमा मात्र सुविधा सम्पन्न अस्पताल रिफर गर्नुपर्ने अन्यथा सुरुवाती अवस्थामै रोग पत्ता लागे सामान्य उपचारले नै रोग निको हुने स्वास्थ्य कार्यालयले जनाएको छ।  

सदरमुकामस्थित उदयपुर जिल्ला अस्पतालमा भने हालसम्म २ जनामा मात्र संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रशासन अधिकृत बृखबहादुर खत्रीका अनुसार पछिल्लो ४ दिनको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ।  भदौ २८ देखि ३० गतेसम्ममा १६ पुरुष र ११ महिलासहित २७ जनाको रक्त परीक्षण गर्दा २ जना पुरुषमा डेंगी पोजेटिभ भे्टिएको खत्रीले बताए।  

उनीहरुलाई तत्काल उपचार थालिएको छ।  डेंगी संक्रमणलाई बढ्न नदिन अस्पताल, स्वास्थ्य कार्यालय, पालिकास्तरीय अस्पताल र स्वास्थ्य चौकीतहसम्म रोकथाम र न्यूनिकरण पहल थालिएको छ। फोहोरमा बसेको लामखुट्टेको टोकाईबाट हुने यो संक्रमण बढ्न नदिन खाल्डाखुल्डीमा पानी जम्न नदिने, जमेको पानीमा किटनाशक औषधि छर्ने, तातो पानी, झोलिलो पदार्थ, सागसब्जी तथा स्वास्थ्यबद्र्धक खानेकुरा खाने गरेमा रोग लाग्नबाट बँचिने स्वास्थ्यकर्मीहरु बताउँछन्।

प्रकाशित: ३१ भाद्र २०७९ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App